हामी चुचुरामा पुग्दा केबलकारमा मान्छे बस्दै थिए ।
‘तल जाने अन्तिम केबलकार कहिले जान्छ ?’ मैले सोधेँ ।
‘यही हो ।’ प्राविधिकले जवाफ दियो ।
हामी भर्खरै माथि पुगेका थियौँ । राम्ररी सास पनि फर्केको थिएन । २ हजार २ सय २४ मिटर अग्लो कुहिरेसिंको चुचुरोमा गाडेको धन चिह्न आँखा अगाडि थियो । हामी केबलकार लिएर तल जाने योजनाका साथ माथि उक्लेका थियौँ ।
‘ब्रो, हामी त आउन नपाउने भयौँ । टिकट काटिसकेपछि माथि जाने केबलकार छैन भन्यो । के गर्ने ?’ तलबाट अमनले फोन गरेर सुनाए ।
‘उनीहरु आउँदैनन् ?’ माथि पुगेका साथीमध्ये खै कसले हो सोध्यो ।
‘अँ, हामीलाई कुरेर नबस । अन्तिम केबलकारमा जाऊ । त्यतिञ्जेल हामी पुगे ठीकै छ । नपुगे जाऊ । नत्र सामनालाई तल जान गाह्रो हुन्छ ।’ दुई तीन पटकको फोनमा हुँदै गरेको कुराकानीपछि
बाटोको अन्तिम अन्तिम तिरबाट फर्केका अमन र सामनालाई सुनाएँ ।
‘ल, अब चाँडै फोटोहरु खिचौँ । अनि जान पर्छ ।’ माथिका साथीहरुलाई अत्याउँदै सुनाएँ ।
…..
ओबस्र्टडोर्फको पहिलो यात्राको कथा रोचक छ । २०२२ को पहिलो पदयात्रा या भनौँ पहिलो लामो पदयात्रा यही नै थियो । ९ युरो टिकटले ट्रेन यात्रा सस्त्याएपछि गन्तब्यहरुको खोजी गर्ने क्रममा सामाजिक सञ्जालको एक समूहमा लेखेको कुराबाट यो सुरु भएको हो । ओबस्ट्रडोर्फ पहिले पनि गएको भए पनि हिउँ र कोरोनाको कारण खासै देख्न पाइएको थिएन । अझ मौसम पनि गुम्म बादल लागेकोले चुचुराहरु आक्कल झुक्कल मात्र चिहाउन पुग्थे । हुन त त्यसै बेला पनि जेआल्पजे जाने भनेर हिँडेको हो । तर हिम पहिरोको खतरा भएको अनि बाटो पनि असहज रहेको जानकारीले हामी रोकिएका थियौँ । नेबेलहर्न भनेर त्यही बेला नाम सुनेको हो । नेबेल अर्थात् कुहिरो र हर्न अर्थात सिंः कुहिरेसिं ।
सुरुमै कुहिरेसिं चढ्ने मन भए पनि त्यो अलि निकै अग्लो र बाटो पनि लामो भएकोले गाइसआल्पजे हेर्दै गाइसआल्पहर्नसम्म जाने प्रस्ताव राखेको थिएँ । १ हजार ९ सय ५३ मिटर अग्लो गाइसआल्पहर्नको तस्वीहरु देख्नु भयो भने तपाईँले पनि प्रस्ताव सहजै स्वीकार्नु हुन्छ । त्यस्तै भयो ।
यसअघिको पदयात्रामा म गुगल म्याप बोकेर हिँडेको थिएँ । बाड हिन्डेलाङको त्यो यात्रामा राउहर्न जाने बाटोमा अलमलिएँ । गुगल म्यापले बाटो देखाएको ठाउँमा त आकास छ । अनि त्यो बाटो काट्ने मध्येको एक यात्रुलाई सोधेपछि उसले आफूले प्रयोग गर्ने विशेष खाले नक्सा देखायो । त्यही बेला थाहा पाएको थिएँ कि पदयात्राका लागि बाटो समेत देखाइएका छुट्टै नक्साहरु हुन्छन् ।
इन्टर्नेटमा भेटिएका धेरै विकल्पहरुमा रियालिटी म्याप्स मैले मोबाइलमा राखेको थिएँ । इन्टरनेटसँग जोडिएको बेला कुनै बाटो हेर्यो भने पछिसम्मै पनि बिना इन्टर्नेट बाटो देखाउने भएपछि कुना काप्चा पुग्दा पनि सजिलो हुने । त्यसै एप्लिकेसनले हामीले गन्तव्य राखेको ठाउँको यात्रा १३ किलोमिटर देखाएको थियो ।
सबैलाई पदयात्राका लागि नचिप्लिने जुत्ता र पर्याप्त पानी बोक्ने सुझाव सहित बाटाका केही तस्वीर र गन्तव्य सम्बन्धी धेरथोर जानकारी राखेको थिएँ । दूरीका बारेमा लेखिहाल्न मन थिएन । न टाढा भनेर कोही नजाने हो कि भन्ने पनि थियो । तर कसो कसो आठ जना पुगे ।
‘बाटै बाटो त के जाने । बरु यो बाटो भएर जाऊँ ।’ सचितले हामी हिँडिरहेको पिच रोडबाट छुट्टिने एक बाटो देखाएर भन्यो ।
नक्सा मैले बोकेको अनि मैले नै यो पदयात्रा प्रस्ताव गरेकोले अघिअघि मोबाइल बोकेर हिँडेको थिएँ । उसले देखाएको बाटोमा खोला र झरना थियो । मोबाइल एप्लिकेसनमा देखिएको बाटोमा सडक थियो । तर खोलाको बाटोबाट पनि पछि गएर त्यहाँ जान सकिन्छ होला भन्ने भएर सचितको प्रस्तावमा सहमती जनाएँ । अनि अर्को लोभ के पनि लाग्यो भन्दा खोला र झरनाको बाटो भएर अघि बढ्दा नेबेलहर्न समेत पुग्न सकिन्थ्यो ।
झरना भनेकै उचाइबाट झरेको खोला न हो । अलि पहाड या हिमालतिर खोला पछ्याउँदै गयो भने झरना त कति हो कति । हामी हिँडेको बाटोमा पनि साना र ठूला गरेर थुप्रै झरनाहरु भेटिए । यात्राको सुरुवातमै देखिएको यो सबै दृश्यले मन एकदमै खुसी बनायो । हामी चुचुरो तलको ताल र चुचुरोका लागि आएका थियौँ । झरना हाम्रो लागि बोनस थियो । यो बोनसले हामी सबै धेरै नै खुसी भयौँ । फाल्टेनबाखको फेँददेखि जेआल्प सम्मकै ठाउँ–ठाउँमा झरनाहरु देखिए । केही ठाउँमा बाँधबाट झारिएको पनि थियो । अनि एक ठाउँमा बिजुलीको लागि पनि प्रयोग गरिएको थियो ।
झरनाको बाटो सकिएपछि शीरमाथि केबलकार राखेर केही बेर सडकमा हिँड्यौँ । नेबेलहर्न जानका लागि केबलकार चढ्ने दोश्रो बिन्दुमा पुग्यौँ । त्यहाँ नजिकै एक रेष्टुरेन्ट पनि थियो । साथीहरुले थकाइ मार्दै जर्मन बियरको स्वाद लिए ।
‘फ्रान्कफर्टमा भएको भए त गोटी खाने भइसक्नुहुन्थ्यो !’ बाबुरामले रबीलाई जिस्काउँदै सुनाउँदै थिए ।
रबी नेपाल छँदासम्म खासमा केही खाँदैनन् भन्ने थियो । तर आएदेखि भेटघाटमा बोली राख्नैको लागि लिँदालिँदा अचेल नाइँ भन्न छोडेका थिए । त्यसैलाई ब्यङ्ग्य गर्दै बाबुरामले थपेका थिए । फ्रान्कफर्ट त्यसै पनि अम्मलीहरुका लागि कुख्यात ठाउँ हो । ट्रेन स्टेसनकै छेउछाऊ हिँड्दा पनि गाँजा बेच्नेहरु ठोकिन पुग्छन् । हामी बसेको स्टुटगार्ट त्यतिसम्म पुगेको छैन ।
साथीहरु बियरमा रमाउँदै गर्दा मलाई भने चिन्ता थियो । हामीले जाने भनेर तय गरेको गन्तब्यको बाटो त्यही बिन्दुबाट पूर्वतिर लाग्थ्यो । अनि हामी भएको बाटो अघि बढ्दा कुहिरेसिं पुगिन्थ्यो । जान त कुहिरेसिं नै जाने मन थियो । तर सकिँदैन कि भन्ने डरले छोटो गन्तब्य हेरेको थिएँ । अनि बाटाभरी केबलकार पनि पर्ने भएकोले केहि परे केबलकारमा फर्कन भइहाल्छ भन्ने थियो । साथीहरुलाई हिँड्न सक्ने नसक्ने बारेमा सोध्दा सबैले हिँड्ने नै कुरा गरेपछि जेआल्पको छेवैछऊ हुँदै चौरमा चरिरहेका गाईहरुबाट बच्दै हामी लाग्यौँ कुहिरेंसिंतिर । सन्तोष दाइ हामी सबै भन्दाअघि अघि हिँड्दै हुनुहुन्थ्यो । हामीहरु फोटो खिच्दै पछ्याउँदै थियौँ ।
‘उई…यस्तो उकालो त म जान्न । बरु ह्याईँ बस्दिन्छु ।’ बाटो ठाडो नहुँदासम्म त ठिकै थियो । अलि पर पुगेपछि बाटो ठाडो भएपछि सामनाको सातो गयो ।
अरु सबै जुत्ता लगाएर आएकोमा ऊ मात्रै चप्पलमा थियो । हलुङ्गो चप्पलमा हिँड्न सजिलै हुन्छ भनेकाले र मौसम पनि सफा नै भएकोले खासै वास्ता भएन । तर पछि हामीले योजना बनाए भन्दा बढी हिँडिसकेपछि चप्पलले नै पनि केही गाह्रो भएको हुँदो हो । तर त्यहीँबाट फर्कने मुडमा कोही थिएनन् । सामना पनि थिइनन् ।
गोर्खे बुद्धि हो कि के हो हामी यस्ता पदयात्रामा सडक छोडेर छोटो लाग्ने बाटो समात्ने गर्छौँ । यसपाली हामी उक्लन खोजेको डाँडा जाने बाटो मुनिबाट एउटा झरना झरेको थियो । मौसम घमाइलो अनि झरनाको पानी पनि कम भएकाले ढुङ्गैढुङ्गा समाएर गइ त हालिन्छ भन्नेमा भयौँ । म, बाबुराम र अमनले त्यो बाटो समात्दा अरु सबै रोडै रोड माथि उक्लँदै थिए ।
सुरुमा त रमाइलो भयो । अलि माथि पुगेपछि भने झरना ठाडो लाग्यो । पानीसँगै माथि उक्लन सकिन्थेन । पानीले पुरै ढुङ्गा चिप्लो बनाएको थियो । अनि एकातिर भित्ता थियो भने अर्कोतिर निकै ठूलो ढुङ्गा थियो । हामीसँगको विकल्प भनेको केही गरी त्यो ढुङ्गा वरिपरि घुमेर त्यो बाधा छिचोल्नु बाहेक केही थिएन । उचाइले पदयात्रामा सहजता ल्याउँछ भन्ने त लाग्थ्यो तर यसपाली त्यही उचाइले दुःख दिएको थियो । जुत्ता खोलेर खाली खुट्टामा बाबुराम त्यो ढुङ्गाको छेवैछेऊ उक्लिएर बेपत्ता भयो । हामीले उसैको सिको गर्दै जुत्ता खोल्यौँ । एकछिनमा ढुङ्गा माथिबाट आएर केहि सुझाब देला भनेको उसको अत्तोपत्तो भएन । हाम्रा लागि न आएको बाटो फर्कन सम्भव थियो न नै माथि जाने बाटो स्पष्ट थियो ।
‘दाइ मलाई एक्लै नछोड्नुस् है ।’ अमनको सातो गइसकेको थियो ।
बाबुराम लगत्तै म पनि उक्लेँ भने ऊ बीच बाटोमा अलपत्र पथ्र्यो । त्यसैले उसलाई जुत्ता खोल्न लगाएर आफू अघि लागेँ । ढुङ्गाको पेट कोपरिएको थियो र अंग्रेजीको सि आकारको बाटो बनेको थियो । होचो बाबुरामलाई हल्का निहुरिएरै त्यो बाटो छिचोल्न पुग्यो । मलाई आपत पर्यो । त्यो चल्तीको बाटो नभएको र पानी निरन्तर बग्ने ठाउँ भएकोले त्यहाँका ढुङ्गा दरा थिएनन् । हल्का गरी समाउँदा लडिएला भन्ने डर अनि दरो समाउँदा कि ढुङ्गै गुर्किन्छ कि समाएको ढुङ्गाको पाप्रा हातमा आउला भन्ने डर । जेनतेन माथि पुगेर फेरि अमनतिर फर्केर उसलाई त्यो बाटो तारियो । अलि माथि उक्लेर हेर्दा त बाबुराम निकै माथि पुगिसकेको थियो । पछि पर्दाको समस्या अमनले पनि बुझी सकेको थियो अनि जति सक्दो चाँडो माथि उक्लने ध्याउन्नमा ऊ पनि छिटो छिटो माथि लाग्यो ।
रोडबाट जानेहरु निकै अघि पुगिसकेका थिए । झन् समय अभाव होला भनेर छोटो बाटो समातेको त ‘लाटो खान्छ एक बल्ड्याङ्ग बाटो खान्छ दश बल्ड्याङ्ग’ भएको थियो । बीचको गाह्रो त के गाह्रो थियो र ! रोड भेटिने ठाउँमा झन् गाह्रो भयो । गोडा टेकेको जति ठाउँ धस्केला जस्तो हुन्थ्यो । समाउनलाई केहि बाँकी थिएन । आँखा अगाडि सडक छ । तर त्यहाँसम्म जाने बाटो छैन । केही गरी गोडा चिप्लिए भने सोझै तल । फर्केर तल जान पनि उति सजिलो छैन । सुरुवाती उक्लने प्रयास असफल हुँदै गर्दा हामी भन्दा निकै अघि गएको बाबुरामले एक खिया लागेको फलामको तार भेट्टायो । पालै पालो त्यसैलाई समाएर माथि उक्लियौँ । माथि पुग्दा हाम्रा हात काटिएका थिए । खिया लागेको तारका त्यान्द्रा उप्किएका रहेछन् ।
यो अबाटोको यात्राले एक शिक्षा भने अवश्यै दियो । छोटा बाटाहरु सँधै छोटा हुँदैनन् । बरु एक नासले हिँड्यो भने लामै भनिएका बाटाबाट चाँडो पुगिन्छ । झरनाको रोमाञ्चक अनि अत्यासले भरिएको यात्रापछि हामी तल ओर्लँदै गरेकालाई गन्तब्यमा पुग्ने समय सोध्दै थियौँ । दिउँसोको करीब ३ बज्न लागि सकेको थियो । बिहान ७ बजेको रेल चढेर करीब साढे ३ घण्टाको यात्रापछि ओबस्ट्रडोर्फको रेल बिसाउनेबाट साढे १० बजे नै बाटो लागेका थियौँ । आँखा अघि केबलकार बिसौनी थियो । एक जना ओर्लीरहेकी महिलासँग अलि लामै कुरा भयो ।
‘यस बेला यहाँबाट चुचुरा पुगेर फेरि हिँडेरै तल रेल छोप्न त गाह्रै होला । बरु तिमीहरु केबलकारबाट माथि पुगेर अनि त्यसैमा तल ओल्र्यौ भने समयमा फर्किने रेल भेट्न सक्छौ ।’ उसले हाम्रो सबै विवरण सुनेपछि भनेकी थिई ।
जर्मनहरु प्रायः सप्ताहन्तमा यस्ता यात्रा गर्छन् । तर हाम्रो जस्तो हतारको यात्रा हुँदैन । बरु एक दिन यस्ता पहाडी क्षेत्रमा बसेरै आरामले यात्रा गर्छन् । हामी आइतबारको दिन बिहानै बाटो लागेर फेरि घर फर्कने गरी आएका थियौँ । रेलकै यात्रा मात्रै पनि झण्डै झण्डै ७ घण्टा पुग्न जान्थ्यो । त्यसमाथिको यो हिँडाई । यो सबै उनीहरुको लागि कल्पना भन्दा बाहिरको कुरा थियो । आँखिर यत्रो हतार केका लागि भन्ने हुँदो हो । हामीलाई सिमित श्रोतमा धेरै कुराको अनुभव गर्ने बानीले यस्तै भए पनि यात्रा गर्न मजा आउँथ्यो ।
‘हामी त्यता तिर जाने हो ?’ सचितले हरियो देखिने डाँडातिर देखाएर भन्यो ।
हाम्रो गन्तब्य ठीक विपरित थियो । २ हजार मिटरमाथि पुग्दा जर्मनीमा रुखहरु हुँदैनन् । केही उचाइसम्म घाँस र त्यसपछि नाँगा पत्थरहरु हुन्छन् । कुहिरेसिं त्यस्तै पत्थरमाथिको एक चुचुरो थियो । केबलकारमै पनि माथिसम्म जान सकिन्थ्यो । तर खर्च अलि धेरै लाग्थ्यो । बरु त्यो भन्दा खाना खाएर ताकत भरेर माथि हिँडिहाल्ने निर्णयमा पुग्यौँ । १ हजार ९ सय ३२ मिटरको उचाइमा रहेको केबलकार बिसौनी भएको रेष्टुरेन्टमा खाना खाँदै आएको बाटो नियाल्न पस्यौँ । उसै त समयको अभाव थियो झन् खानामा भुलिँदा १ घण्टा त्यसै बित्यो । पाउने ४ भएको हुँदो हो केबलकार बिसौनीबाट माथि उक्लँदा ।
माथिबाट ओर्लनेले फरक फरक सूचना दिइरहेका थिए । कसैले आधा घण्टा लाग्छ भनिरहेका थिए त कसैले १ घण्टा त उक्लनै लाग्छ भनि रहेका थिए । मेरो मनमा सके १ घण्टामा तल पुगौँला र केबलकार चढौँला भन्ने थियो । नभए माथिबाटै केबलकार चढेर तल झर्न कसो न भ्याइएला र भन्ने थियो । केही गरी त्यो पनि छुट्यो भने नक्सामा डाँडाको धारै धार हिँडेर बिहान उक्लने भनेको गाइसआल्पजे पुगिन्थ्यो । त्यहाँबाट इत्ति ओर्लने बित्तिकै रेल बिसाउनी आइ त गयो !
यात्राको अन्तिम पडाव हामीले जोशका साथ पार गर्ने प्रयास गर्यौँ । धेरैका लागि त्यो निकै समय पछिको पहिलो लामो यात्रा थियो । झरनाको उक्लाइ अनि समय कम छ भन्ने सूचनाको ज्ञानले मलाई अर्को तनाव थपेको थियो । कहिलेकाहीँ थाहा नपाउनुले पनि तनाब कम गर्छ । मसँगै हिँडिरहेका अरुलाई थाहा नभएरै पनि केही कम तनाब भएको हुँदो हो । ऐनकेन तरिकाले हामी चुचुरा पुग्यौँ ।
…..
बाटा बाटै फर्केका अमन र सामनाको फोन आउँदै थियो । उनीहरु निकै अघि ट्रेन स्टेसन पुगिसकेका थिए । कुरौँ कि के गरौँमा थिए । कुहिरेसिंबाट चारैतिर हेर्दा मर्न काम लाग्ने भीर थियो तर त्यहाँबाट ताल कसै गरी पनि देखिएको थिएन । नक्सा र वास्तविक संसारको अन्तर यही हो । नक्सा हेरेर जति सजिलै मैले विकल्पहरु भेट्टाएको थिएँ यात्रा त्यति सहज थिएन ।
‘५ बजे तल बाट अन्तिम केबलकार झर्छ । कोसिस गरी हेर, न सक्छौ कि !’
हामीले घुमीवरी त्यहाँ भएको प्राविधिकलाई तल लगिदिन अनुरोध गरेपछि उसले आँखैले सरर हामीलाई गनेर लैजान अस्वीकार गर्यो । थोरै भए लग्थ्यो कि भन्ने लाग्यो । तर नाइँ भनेपछि गर्न सकिने केही थिएन । हामी चाँडो भन्दा चाँडो तल झर्ने उपाय खोज्न लाग्यौँ । चढ्न त हामी चाँडै चढेका थियौँ । चढेर तस्वीर खिची सक्दा त्यस्तै पौने घण्टा बितेको थियो । अन्तिम केबलकारका लागि त्यस्तै पाँच सात मिनेट ढिला भएका होऔँला । त्यतिमा पनि हामीले तल र्ओन पाएनौँ । अब अन्तिम विकल्प २० मिनेटमा तल ओर्लने र केबलकारमा रेल बिसौनी पुग्ने विकल्प मात्रै थियो ।
माथि उक्लेका मान्छेहरु आएको डाँडाको धारै धार म र बाबुराम अघि लाग्यौँ । आएको बाटो सजिलो देखिए पनि गिट्टीहरुमा गोडा चिप्लिरहन्थे । त्यो भन्दा डाँडाको धारको बाटो सहज थियो । समस्या भनेको दुबैतिर भिर थियो । उचाईसँग समस्या भएकालाई त्यो असहज हुन्थ्यो । सन्तोष दाइ माथि नै अड्किए । तिनलाई तल ओराल्न रबी पनि माथि नै रहे । बरु रानु भाउजु मज्जाले ओर्लिइन् । बाटाभरि कतै केही गुनासो नगरी झर्दा समेत नाच्दै झरिन् । बाहिर बाहिर नथाके जस्तै गरे पनि थकाइ त मलाई पनि खुब लागेको थियो । तर हिँड्नुको बिकल्प छैन भन्ने थाहा थियो । अनि योजना बनाउने आफै भएकोले पनि थकाई लाग्यो भनेर भन्न मिल्दैन थियो ।
‘तिम्ले खासमा हामीलाई सबै कुरा समयमै जानकारी दिनुपर्थ्यो ।’ सचितले दुबै केबलकार छुटिसकेपछि भन्यो ।
मलाई खासमा हामी आधा बाटैबाट फर्कन्छौँ कि भन्ने पीर थियो । तर बाटो लागिसकेको मान्छे गन्तव्य नपुगी फर्कनै मन थिएन । सुरुमा योजना गरेभन्दा फरक फरक गन्तव्य थपिँदै जाँदा हामीलाई समय लागेको थियो । कुहिरेसिं हाम्रो सूचीमा थिएन । सबै साथीहरु तयार भएपछि थपिएको हो । झरनाबाट उक्लदा आफैँले निकै अलमल गराएँ । त्यसपछि साथीहरु निकै थाकेकाले पौने घण्टा त खानैमा समय गयो । अनि फर्केर आउनलाई साँचेको केबलकारहरु नाकैको मुनितिर बाट झरे ।
६ बजेर २३ मिनेटको रेल नसके पनि १ घण्टा पछिको रेल छोपियो । साथीहरु सिटमा बस्ने बित्तिकै मस्तले निदाए । बाटामा रेलको कनेक्सनहरु तलमाथि भएकोले सोचे भन्दा अलि ढिलै घर पुगियो । १२ जुन २०२२ को यो यात्राले २०२२ सालको पहिलो चुचुरो कुहिरेसिं टेकायो । यो सुरुवात मात्रै थियो भन्ने थाहा थियो । यसपछि निकै धेरै चुचुराहरु टेक्न बाँकी थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।