साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भरिया बने देशको चर्चित चित्रकार

जीवित खड्का मगर

Chovar Blues Mobile Size
डिबी राई

काठमाडौँ, पुतलीसडकदेखि रत्नपार्कको चोकसम्म बागबजारको गल्ली गल्लीमा आर्ट पसल, ढोकाढोकामा आर्ट पसल । जथाभावी रंगैरंग पोतिएका भित्ताहरू र भित्तामा उँघिरहेका पेन्टर असनबजारका कपडा व्यापारीझैँ ।

त्यही समय काम खोज्दै हिँडेको थियो एउटा अल्लारे केटा । वल्लो छेउ, पल्लो छेउ हिँड्दैजाँदा उसको आँखामा आइबस्यो चौतारी आर्ट । अधिकांश फुटपाथको नाङलो पसलमा खैनीचुरोट बेचिरहेझैँ लाग्ने स्तरको तर त्यो हेर्दैमा सो रूम जस्तो । जहाँ ढोकैनेर गोलो टेबल र टेबुलमुनि आधा कम्मर ढाकेर घुम्ने कुर्सीमा बसिरहेका थिए, भोलामणि हार्तम्छाली । भोला दाइको टाउकोमाथि सेम्पलै सेम्पलले ढाकिएको भित्ता तर अर्को भित्तामा बिपी कोइराला, मदन भण्डारी, पासाङ ल्हामू शेर्पाका पोट्रेटहरू ।

• ‘ए, भाइ ! के चाहियो ?’
– ‘काम पाइन्छ दाइ ?’
• ‘तिमी आर्टिस्ट हो ?’
– ‘हजुर !’

भोलादाइले अन्तरवार्ता लिनुभयो, पास भएँ म । संयोग, डिबीजीले चौतारीलाई छाडिजाने र छाडिगएको चौतारीमा म घुम्दै आउने । त्यही चौतारीमा उनले कोरेका पेन्टिङहरू देखेपछि मभित्र झन् कौतुहलता लाग्यो —
“यति राम्रा चित्र बनाउने कस्ता मान्छे होलान् हँ ?”

( यो कुरा थियो सन्ताउन्न/अन्ठाउन्न सालतिरको।)

sagarmani mobile size

काठमाडौँ बसुन्जेल यी मान्छेसित कहिले भेट भएन । त्रिसठ्ठी सालमा जब म गएँ साउदी अरब, उनी पनि लगत्तै उतै गएछन् । “उतै रैछ भेट जुरेको, साउदी अरबमा कुरेको, बल्लै भेट भयो ।” अब भेट मात्रै भएन, भेट भैरह्यो त्यसपछि । प्रायः विहीबार साँझमा उनी हाम्रो कम्पनीमा आउने । राग रमाइलो गर्ने । दारु पिउने । कहिले जान्थ्यौँ नजिकैको समुद्रमा रातभरि माछा मार्न । डिबीजी, राम्रो बाँसुरी बजाउने र माछा मार्न सिपालु । अगर उनी आर्टिष्ट नभएको भए यतिखेर कुनै रेकर्डिङ स्टुडियोमा बाँसुरी बजाइरहेका हुन्थे होलान्! त्यो पनि नभए, अरुण नदीमा जाल हानिरहेका जालहारी त पक्कै हुन्थे!

केही वर्षको अरब बसाइपछि डिबी नेपाल फर्किए। विदेशी कलाको अनुभव र निखारताले उनका सिर्जनाहरू अँध्यारोमा टल्किने काँसको सामानझैँ झन्झन् उज्यालिँदै आयो । पेन्टिङमा उनले गरेको गहिरो अध्ययन र लगनशीलताले आज उनी नेपालका समकालीन चित्रकारमध्येका एक अब्बल चित्रकार मानिन्छन् । यही प्रसिद्धिले नै उनका चित्रहरू नेपालभन्दा बाहिर चाइना, इन्डिया, मेक्सिको, जापान, कोरिया, युएई, पाकिस्तान, चेक रिपब्लिक, अमेरिका, इन्डोनेसिया, बोलिभिया, फ्रान्स, बाङ्लादेश, थाइल्यान्ड लगायतका देशहरूमा सामूहिक प्रदर्शनी र बिक्री भइसकेका छन् । उनी स्वयं चित्र प्रदर्शनीको सिलसिलामा चाइना, इन्डिया, इन्डोनेसिया, बाङ्लादेश लगायतका देशहरूमा भ्रमण गरिसकेका छन् । त्यसोर, कुनै अग्लो पहाडको शिखरमा बसेर, जसरी आज उनले वरिपरिका दृश्यहरू क्यानभासमा पोतिरहेका छन्, त्यहाँ पुग्ने बाटो कुनै अक्करको भीरभन्दा कम्ता अप्ठ्यारो थिएन । र, पनि भीरको उकालो उक्लिरहे …!

•••
फ्लास ब्याक :

अति विकट जिल्ला संखुवासभा, नुम गाउँका डिबी राई सानैदेखि चित्र कोर्न र मूर्ति बनाउन भनेपछि हुरुक्कै हुन्थे । रातोमाटो खनेर मूर्ति बनाउने कोसिस गर्थे भने घरका भित्ताहरूमा अंगारले चित्र कोरिरहने बानी रहेछ उनको । उनी एक कक्षामा पढ्दा आफ्नो तीन कक्षामा पढ्ने दाइले ठूलो जुरोवाला गोरुको चित्र बनाएका रहेछन् । दाइको चित्र देखेर यति धेरै प्रभावित भएछन् कि सधैँ उनले गोरुकै चित्र बनाइरहन थालेछन् । उनी भन्छन्, “म रातभर टुकी बालेर चित्र बनाउँथेँ । गाउँमा मट्टितेल पाइन्नथ्यो । तेल-मट्टितेल रासनपानी सबै धरानबाट बोकेर ल्याउन बीस दिनजति लाग्थ्यो । बा’ले मट्टीतेल सकेकोमा साह्रो गाली गर्नुहुन्थ्यो ।”

एसएलसीपछि, एकाउन्न सालमा डिबी राई काठमाडौँ आएछन् । सरस्वती क्याम्पसमा भर्ना भएछन् । त्यहाँ पढ्दापढ्दै उनले क्याम्पसमा पनि चित्रकला पढाइ हुन्छ भन्ने थाहा पाएछन् । आइकम सकेर २०५३ सालमा ललितकलामा भर्ना भएछन् । दुई वर्ष दुःखसुख पढेछन् । उनी भन्छन्, “हाम्रो परिवार ठूलो भएकाले घरदेखि पैसा मगाउन सम्भव थिएन । आफ्नो लागि आफैँ खर्च जुटाउन धेरै पटक खैरेहरूको भारी बोकेर डोल्पासम्म पुगेको छु । तीस/पैंतीस दिन भारी बोक्दा टाउकोमा नाम्लोको डोबै बस्थ्यो । पछि साइनबोर्ड/ब्यानर लेख्न सिकेँ र पढाइ खर्च जुटाउन भारी बोक्नु परेन ।”
यसैक्रममा वरिष्ठ चित्रकार उमाशंकर शाहसँग भेट हुन्छ । उनको स्टुडियोमा निकै वर्ष काम गरे । बिएफएपछि ग्यालरीमा चित्र बनाउन थालेछन् । तर जनयुद्धका कारण देशको अर्थतन्त्र तहसनहस भएपछि पेन्टरहरूलाई बाँच्न गाह्रो भयो ।
उनी पनि अरब हानिए ।

मेरा मित्र डिबी राई बरू अभावमा सस्तो शारीरिक श्रम बेचे होलान् तर आफ्ना सिर्जनालाई कहिले सस्तो बनाएनन् । त्यसैले उनी गर्विलो स्वरमा भन्छन्, ” कलाकार पैसाको पछाडि नभएर कलाकारको पछाडि पैसा र मिडिया लाग्ने कलाकार बन्न सक्नुपर्छ ।” उनको कुरा सुनेपछि मलाई लाग्यो — दुःखको मार्तोल र छिनाको हजारौं चोट खाएर नै बन्दोरहेछन् सुन्दर मूर्तिहरू ।

डिबि. राईले पाएका पुरस्कार/सम्मानहरू
———————-

* प्रथम — नेकआ. संघद्वारा आयोजित चित्रकला प्रतियोगिता — २०५९
* दोश्रो — २८३औं पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस — २०६१
* दोश्रो — नेकसद्वारा आयोजित नेकस प्रथम राष्ट्रिय कला प्रदर्शनी — २०६२
* दोश्रो — योङ पिकासोद्वारा आयोजित खुल्ला चित्रकला प्रतियोगिता — २०७१
* दोश्रो — मकालु हिरक महोत्सव — २०७३
* टप ट्वेन्टी अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव — २०७४
* टप टेन अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव — २०७५
* टप थ्री कोन्टेन्ट अवार्ड — अन्तर्राष्ट्रिय जलरंग महोत्सव –२०७५
* दोश्रो — WS इन्डिया खुल्ला चित्र प्रतियोगिता — २०७६
* नेव्याक संघद्वारा बालकृष्ण स्मृति कला सम्मान — २०७६
* जवाहरलाल नेहरू कलाकेन्द्र राची, मूडस अफ कलरस सम्मान — २०७६

प्रतिक्रिया
Loading...