नेपाली वाङमय साहित्य जगतमा स्रष्टा विश्वराज अधिकारीलाई नचिन्ने छैनन होला । नेपाली वाङमयका सुप्रसिद्ध र सिद्धहस्त अधिकारी संस्कृत भाषाका पनि ज्ञाता रहेको भन्ने लाग्छ । स्रष्टाले गहन अध्ययन क्षमता राखेको देखिन्छ । अमेरिकामा बसेर निर्न्तर नेपाली साहित्यको उन्नतिका लागि कर्म गरिरहेका स्रष्टा अधिकारीले संस्कृत काव्य मेघदूतको नेपाली भाषामा व्याख्या गरेर ठूलो पूर्ती भरेको देखिन्छ । नेपाली भाषीका लागि स्रष्टा अधिकारीको “मेघदूत र प्रेम” कृति अमूल्य छ । सामान्य पाठकले आफ्नै भाषामा मेघदूत बुझ्न सक्ने गरि यो पुस्तक प्रकास भएको छ ।

विश्वराज अधिकारीले मेघदूतको व्याख्या गर्दा, महाकवि कालिदासको मेघदूत परिभाषित गर्न स्रष्टाले हिन्दु प्राचीन ग्रन्थहरू पढेको देखिन्छ । प्रेमको अर्थ लाएका विश्वमानव जगतका प्रेम दर्शनका किताब पढेको भेटिन्छ । मेघदूतलाई बुझाउन लेखकले अन्य पुस्तक पढेर प्रेमको वास्तविक चरित्र, प्रेम दर्शन, प्रेमसँग जोडिएका वास्तविक घटना र प्रेमको परिभाषा खोजेका छन् । मेघदूत भाष्य गर्न प्रेम सम्बन्धि रचना गरिएका अन्य रचनाहरू अध्ययन गरेर “मेघदूत र प्रेम” नामाकरन गरि यो कृति तैयार पारेको देखिन्छ ।

भर्तृहरिले पनि पुरुषले दुईमध्य एक जिवन रोज्न भनेका छन् । पुरुष कि परमात्मासंग मिलोस कि सुन्दरीको प्रेममा रतिसुक्ख भोग गरोस । यि दुईमा एकमार्गि होइन भने त्यो पुरुषलाई पुरुष भन्न सकिदैन ।

“या तिष्ठेत् वारिणीम् मध्ये पापवारिणी वारिणीम् ।

या तिष्ठेत् कामिनिम् मध्ये मनोहारिणीम् ।।”

(भर्तृहरि नीति शतक)

या त नदी किनारमा गएर भगवान्को ध्यान गरेर बस, पापनाश होस् । या त सुन्दरी स्त्रीको संगमा रमण गरेर बस जो मनोहारिणी छन् ।

विश्वराजले प्रेमको अर्थ चरितार्थ पार्न “मेघदूत र प्रेम” नामको पुस्तकमा अनेक प्रेमका उदाहरण राखेका छन् । यि उदाहरणमा पाप छैन र प्रत्येक प्रेम अर्थपूर्ण रहेका छन् । मेघदूतको व्याख्या  गर्न विश्वराजले सबै शब्दहरूको सुक्ष्म भन्दा सुक्ष्म अर्थ खोजेको देखिन्छ ।

यहाँ हामी विश्वराज अधिकारी रचित “मेघदूत र प्रेम” पुस्तकमा गरिएको मेघदूतको भाषा व्याख्या बारे कुरा गर्ने छौं जो महाकवि कालिदासको मेघदूत नामको शृङगारीक काव्यरस लेखक अधिकारीको भाषामा सजिलै बुझ्न सकिन्छ । कालिदासको मेघदूत पूर्णरूपमा काव्य हुनाले यसमा काव्यिक शृङगार रससंगै प्रेम दर्शनमा नीति उपदेश पनि भेटाउन सकिन्छ । स्रष्टा अधिकारीले यस पुस्तकबाट मेघदूतमा रहेको रतिसुक्खलाई संसारका विभिन्न प्रेमका घटनाको उदाहरन दिएर बुझाउन खोजेका छन् ।

 मेघदूत र प्रेमका लेखक विश्वराज अधिकारीले मेघदूतको भावात्मक व्याख्या गरे तापनि मेघदूतका शब्दहरूको अर्थ खोजेका छन् । शब्दहरूको अर्थ विभिन्न दृष्टिकोणबाट खोजिएको भेटिन्छ । मुख्यरूपमा शब्दहरूका तीनथरि अर्थ निकालेर काव्यधारा अनुसार व्याख्या गरेको देखिन्छ । यि वर्गहरूहुन अभिधा, लक्षणा र व्यञ्जना ।

अभिधाअन्तर्गत अधिकारीले शब्दको मूल अर्थ लिएकाछन् । लक्षणामा प्रशंग राखेका छन् र व्यञ्जनामा विपरित अर्थबोधक भावले मेघदूतको व्याख्या गरेका छन् । विशेष गरि अधिकारीले मेघदूतको काव्यिक शृङगार युक्त वर्णन भन्दा काव्यको कथात्मक अभिव्यक्ति राख्न रुचाएको देखिन्छ ।

भागवत गीताको व्याख्यात्मक भाषा शैली अनुकरण गरेर अधिकारीले मेघदूतको व्याख्या गरेको भन्ने लाग्छ । सम्पूर्ण मेघदूतलाई बुझाउन लेखकले विभिन्न प्रकारका प्रेमका अट्ठाईसवटा घटनाहरू राखेर कुशल ढङगले मेघदूत व्याख्या गर्न खोजेका छन् । यि अट्ठाईसवटा प्रेमसम्बन्धका घटना संसार भरिका मुख्य र ऐंतिहासिक घटना छन् भने केहि घटनाहरू पुराणादि ग्रन्थका पात्रका लिएका छन् । कुन्ति, व्यास, कर्ण आदि पात्रका प्रेम जनित घटनाहरूलाई उद्धरणका लागि राखेको देखिन्छ ।

कालिदास कृत मेघदूत दूई चरणमा विभाजित छ । प्रथम चरण पूर्वमेघ र दोस्रो चरण उत्तरमेघ । व्याख्याकार अधिकारीले मेघदूतको व्याख्या गर्न पूर्वीसाहित्य सिद्धान्तको धारलाई लिएका छन भने पाश्चात्य साहित्य सिद्धान्तलाई तुलना गरेका छन् र पूर्वीसिद्धान्तलाई महत्व दिदै मेघदुतको भाष्य प्रस्तुत गरेको देखिन्छ । प्रशंगमा अधिकारीले मेघदूतलाई कथात्मक वस्तुका दृष्टिले लिएका छन कि जस्तो लागे तापनि सावधानी पूर्वक यसलाई प्रेम वासनायुक्त शृङगार रस वर्णन काव्यकै वहाव भावमा गरेका छन् ।

मेघदूतको प्रथम चरण पूर्वमेघमा संस्कृत भाषाका कालिदासका चौसट्ठीवटा श्लोक (६४) छन् । प्रत्येक श्लोक चारपंक्तिका छन् ।

दोस्रो चरण उत्तरमेघमा चौवन्न (५४) श्लोक छन् । मेघदूतमा अन्त्य विषादमय रहनाले सुक्ख र खुशीको अन्त्यका लागि पछि केहि श्लोक थपेको भनिएको छ । उत्तरमेघ पनि चारपंक्तिका छन् । अधिकारीले प्रत्येक श्लोकका व्याख्या गर्दा तीस देखि सयसम्म शब्दहरूको प्रयोग गरि सहज सरल शैलीमा व्याख्या गरेका छन् ।

कालिदासको मेघदूतमा कुबेरले आफ्ना एक सेवक यक्षलाई दण्ड दिएका छन् । उचित किसिमले कर्म नगरेका यक्षलाई कुबेरले एक वर्ष रामगिरि पर्वतमा बस्न लगाएका छन् । यक्षले सुन्दरी पत्नी र आफ्नो सुन्दर घर छोडेर बस्दाको प्रेमवर्णन मेघदूतको पूर्वमेघमा गरिएको छ ।

यस पर्वमा यक्ष आफ्नी प्राणप्रिय सुन्दरी पत्नी वर्षाका दिनमा यक्षबाट विछोडिदा उनको मनमा जाग्रितहुन सक्ने प्रेम र यक्षको साथ नरहेकाले क्लान्त हुनपुगेकी भन्ने यक्षलाई लागेको छ । यक्षले आफ्नी प्रेमिका सुन्दरी पत्नीलाई संदेश पठाउन चाहेका छन् । मेघदूतमा यक्ष वर्षायामको बादललाई संदेश वाहकका हिसाबले लिन पुगेका छन् ।

पत्नीबाट छुट्टिएर एकवर्ष रामगिरिमा बस्नु पर्दा यक्ष पनि विरक्त हुन पुगेका छन । अलकापुरीको सुन्दरता र मनोहारिणी आफ्नी पत्नीबाट छुट्टिएर बस्नु पर्दा यक्षको शरीर दुब्लाएको छ ।

बादललाई यक्षले भातृबोध गरेका छन् । यक्ष बादललाई पश्चिम दिशाहुँदै बग्दै र उडदै अलकापुरी जानु भन्दछन् । यस समय अनेक सुन्दरी स्त्रीहरू आफ्नो चुल्ठो उठाएर हेरि रहेका छन् ।बादलको आगमनको प्रतिक्षा गरिरहेका छन् । त्यहाँ उनिहरूका पतिहरू उनिहरूसंग छैनन । बादलको आगमनसंगै पतिहरू आउलान भनेर सुन्दरीहरू प्रतिक्षामा बसेका छन् । “बादल तिमीलाई उत्तर दिशातिर जानलाई र त्यहाँ आगलागिबाट परेको सुक्खालाई नाश गर्न ती पर्वतहरूका चुच्चा चुच्चा टुप्पाले सहयोग गर्ने छन् । त्यसबेला चराहरू रमाउने छन्, फूलहरू फूल्नेछन् र ती रमणी स्त्रीहरू पनि तिम्रो आगमनले अत्यन्त्यै खुसी हुनेछन् । तसर्थ हे बादल ! तिमी उडेर जाउ र अलकापुरीमा मेरो सुर्ताले दुब्लाई रहेकी मेरी प्राणप्रिया स्त्रीलाई मेरो समाचार भनि देऊ ।”

कालिदासको मेघदूतलाई विश्वराज अधिकारीले कालजयी अमर कृति भनेका छन् । यसो भन्नुका अनेक कारनहरू मेघदूतमा भेटिन्छ । यसमा प्रेमको विशाल अर्थ खुलेको छ । स्त्री र पुरुष बिचको प्रेम सम्बन्धको काव्यिक रससंग कालिदासले प्रकृतिको सुन्दरता वर्णन गरेका छन् । पृथ्वीको प्यास मेटाउन वर्षाले आफ्नो कर्म गरिरहेको हुन्छ । मेघदूतमा कालिदासले यसकुराको वर्णन गरेका छन् । बादल देख्दा एकै देखिन्छ, तर हातीको जस्तो ठूलोरूपको बादल भिन्न भिन्न छन् । बादलहरूको भिन्न नाम छ । जसरी वतासको भिन्न नाम छ । अधिकारीले यी कुराहरूको मनन गरेका छन् । अधिकारीले श्लोकबाट भाषामा उतारेर यिनीहरूको नाम प्रस्ट उल्लेख गरेका छन् । जसरी विज्ञानले गवेषणा गरेर मौसम ज्ञान प्राप्त गर्यो, मनसुन वायुको आगमनको लक्षण प्राप्त गर्यो कालिदासले मेघदूतमा सो कुरा खृ: पू: मा रचित मेघदूत श्लोकमा वर्णन गरेका छन् ।

उत्तरमेघमा कालिदासले अलकापुरीको सुन्दरता वर्णन गर्दै त्यहाँ रहेको घरको सौन्दर्य वर्णन गरेको भनेका छन् स्रष्टाले । पति बिना प्रेम पीडाले छटपटाई रहेकी स्त्रीको रमणीय दृश्य छ उत्तरमेघमा ।

नेपालीमा भावानुवाद गरेको “मेघदूत र प्रेम” नामको विश्वराज अधिकारीको यो पुस्तक सबै पाठकले सहजै बुझ्न सक्ने गरि व्याख्या गएको छ । श्लोकका शब्दहरूको अर्थ खोजेर भावमा व्व्याख्या शैलीको सिर्जना गरेका छन् ।

उत्तरमेघमा कालिदासले पीडाबोध गरिरहेकी आफ्नी सुकोमल मनोहारिणी पत्नीलाई संदेश लगिदिन मित्र बादललाई आफ्नी सुन्दरी पत्नीको आकर्षक रुपको वर्णन गरेर सुनाएका छन् । यक्षले संदेश दिनजाने बादललाई आफ्नी सुन्दरी पत्नीलाई अलकापुरीमा भेटेर यसो भन्दिनु भनेका छन्- “म यक्षको सुर्ताबाट मेरी अति प्रिया पत्नीलाई चिन्ता मुक्त पारिदिन, हे बादल ! तिमीले उनलाई आफ्नै साथी सम्झिनु । किनकि ती त अहिले म पति यक्षको घोर चिन्तामा र प्रेमको दु:खमा परेर दुब्लाएकी छन् । तिमीले तिनलाई तिम्री साथी बिजुली जस्तै सम्झिदिनु र मेरो समाचार सुनाई दिनु ।”

“हे बादल  ! अलकापुरीमा मेरी प्रियतमालाई मेरो समाचार दिएर फर्कि आउँदा अति सुन्दर ॠतु शरदको पनि आगमन हुनेछ ।” यतिकैमा कालिदासको मेघदूत अन्त्य भएको छ । तापनि यति मनोहर मनलाई हरण गर्ने मेघदूत दु:खले अन्त्य हुनु भन्दा सुक्खको अन्त्य होस् भन्ने विचारले मेघदूतको अन्त्य थप गरिएको भनेका छन् । थपेका श्लोकमा कुबेरको हृदय पग्लिएको छ, यक्ष र यक्ष पत्नीको विछोड अवस्था देख्दा कुबेरको मनमा माया पलाएको छ । कुबेरले यक्ष र यक्षकी पत्नी सुन्दरीको प्रेम पीडा थाहा पाए पछि यक्षलाई शरदसंगै रामगिरिको सन्यास बासबाट मुक्ति दिन्छन् ।

व्याख्याकर्ता विश्वराज अधिकारीले कुशलतापूर्वक मेघदूतको भाषाव्याख्या गरेको देखिन्छ । यस पुस्तकमा प्राचीन साहित्यमा प्रेमरसको आनन्द नेपाली भाषामा राख्ने काम निकै महत्वपूर्ण छ । नेपाली भाषाका पाठकले मेघदूत पठनको आनन्दलिन सक्छन् । यस कार्यले मेघदूतको भाषा व्याख्याको जुन अभाव रहेको थियो त्यो विश्वराज अधिकारीको बौद्धिक विचारले पूर्णता प्राप्त गरेको छ ।

लेखकबाट यस किसिमका शास्त्रीय, प्राचीन ग्रन्थ, संस्कृत भाषाका नीतिउपदेश जस्ता बहुमूल्य र अमर कृतिहरूको भाषान्तरन, व्याख्या र विश्लेषण भैरहुन । नेपाली साहित्यमा पूर्वीय प्राचीन साहित्यको कुनै अभाव नरहोस् । उहाँको कलम यसकिसिकका कृतिका लागि निरन्तर चलिरहोस् । शुभकामना !