
जर्ज त्राकल
ताराहरूको छानामुनि निर्जन एक्लो रातमा मध्यरात बित्छ
एउटा केटो बोझिलो सपनाबाट अचानक ब्यूँझन्छ;
उसको प्रतिरुप खिइएको चन्द्रमा देखिन्छ;
आमा चूपचाप गाउँछिन् निद्रामा
शान्तपूर्वक केटो रातलाई हेर्छ
ती आँखा जो साँच्चै सत्य हुन् ।
डाकबङ्गलामा हाँसो चम्किन्छ ताराहरूको छानामुनि निर्जन एक्लो रातमा मध्यरात बित्छ एउटा केटो बोझिलो सपनाबाट अचानक ब्यूँझन्छ/उसको प्रतिरुप खिइएको चन्द्रमा देखिन्छ आमा चूपचाप गाउँछिन् निद्रामा शान्तपूर्वक केटो रातलाई हेर्छ ती आँखा जो साँच्चै सत्य हुन् डाकबङ्गलामा हाँसो चम्किन्छ –
‘रुमानी रात’ शीर्षकको यो कविता अझै सम्झिन्छु । यही समयको हाराहारीमा मैले निर्मल बर्माको हिन्दी गद्य ‘धुन्ध से उठती हुई धून’मा कतै पढेँ, उनका यस्ता पङ्क्ति जहाँ बर्माले आफ्नो यात्राक्रमको व्याख्यामा यस्तो लेखेका छन् –
‘….तर छिमेकीको रुख अँधेरोमा छ । एउटा विचित्रको एबनर्मलजस्तो चन्द्रमा जङ्गलका रुखका भित्र छापिएको शून्यता जस्तो त्राकलको कविताको परिवेश हुन्छ……
“आत्मा यो धरतीमा एउटा अपरिचित जस्तै हो ।” -जर्ज त्राकल

प्रकाश सायमि
निर्मल बर्माले उनको यो भनाइलाई सबभन्दा पहिले किताबमा उतारे ।
त्यसपछि उनलाई खोजेर मागेर पढ्न थालियो । तर यो काम ढिलो शुरु भयो काठमाण्डूमा । आज दश वर्षपछि अझै पनि जर्ज त्राकलका कविता नयाँ घाऊजस्तै दुखिरहन्छ । त्राकल भन्छन्- “आत्मा यो धरतीमा एउटा अपरिचितजस्तै हो ।” यति भनेर उनी गए यस धरतीबाट ।
सन् १९१४ को नोभेम्बर महिनाको ३-४ मा उनले आत्महत्या गरे, अधिक कोकिन सेवन गरेर । उनलाई बौद्धिक परामर्श दिइरहेका र अन्य उपचारिक सर-सङ्गत भ्याइरहेका उनका मित्र लुड विट्टगेन्स्टाइनले उनको आत्महत्याको चिरेटो पाउँदा तीन दिन बितिसकेको थियो वा अनुमान मात्र पनि हुनसक्छ ।
अस्ट्रियाका अभिव्यक्तिवादी कवि जर्ज त्राकलले प्रथम विश्वयुद्धको पहिलो तीन महिना लडाईं लडे- अस्ट्रियन सेनाका रुपमा । त्यसपछि उनले कैयौँपटक सैनिक-शिविरमा आत्महत्या गर्ने कोशिश नगरेका होइनन् । उनले आत्महत्या गरेको तीनवर्षपछि उनकी दिदीले पनि आत्महत्या गरेरै यो धरती छाडिन् ।
१८८७ फेब्रुअरी ३ तारिख साल्जवर्गमा जन्म लिएका त्राकलको जन्म प्रोटेस्टेंट परिवारमा भए पनि अध्ययनका निम्ति उनी क्याथोलिक परिवारमा गए । सानैदेखि भावनात्मक अस्थिरताका कारण त्राकलका परिवार उनकी आमा उनीबाट बढी असन्तुष्ट वा दुःखी देखिन्थे । आमाको व्यवहारबाट उनले आफ्नो बचपन आफ्नै किसिमले विकसित गरे र आफ्नै दायरामा आफूलाई हुर्काउँदै लगे । बिस्तारै उनका साथीभाइको घेराबाट उनी पलायन र परिवारको वृत्तबाट उनी टाढिँदै गए ।
उनका पिता तोवियास एक हार्डवेयरका व्यापारी थिए भने आमा मारिया एक घरेलु महिला थिइन् तर तिनी सङ्गीत र कलामा बेजोड रुचि सम्पन्न महिला थिइन् ।
उनले जम्मा अठार वर्ष साल्जवर्गमा बिताए । सानैमा मदिरा, अफिम, क्लोरोफोमको सेवन गर्न थालेपछि उनी पढाइमा पनि एकदम कमजोर र असफल हुँदै गए । यही असफलताको दौरानमा उनी आफ्नी बहिनी ग्रेटीसित भावनात्मक रुपले निकट र आत्मीय हुँदै गए । सामाजिक दृष्टिकोणले यो सम्बन्धलाई अनैतिक र यौनपरक मान्न थालेपछि उनीहरू दुवैमा समाजप्रति आक्रोश देखिन थाल्यो । सन् १८९७ मा उनले स्यालज्वर्ग स्टास्जिमानजियज्मबाट म्याट्रिक गरे, यहाँ उनले ल्याटिन ग्रीक र गणित पढे ।
त्राकलले प्रारम्भिक समयमा केही कविता र स्थानीय पत्रिकामा स्तम्भ पनि नलेखेका होइनन् तर उनी त्यति सफल देखिएनन् । यसैबेला उनले केही एकाङ्की र पूर्णाङ्की ‘सबै आत्माका दिन’ र ‘फाटा मोरागाना’ नाटक पनि लेखे तर उनी असफल नै ठहरिए । सन् १९०५ मा विद्यालयबाट निष्काशित गरिएपछि उनी आफ्नो इच्छा मुताविक औषधिविज्ञका निम्ति सन् १९०८ मा प्राभ्यासमा भियनामा पढ्न गए । यहाँनेर गएर उनी पक्का लागूपदार्थका सेवी बन्न पुगे । र सन् १९१० मा आफ्ना पिताको असमयमै मृत्यु भएपछि उनले आर्थिक विपन्नताका कारण अध्ययन अधुरै छोड्नु पर्यो । यसलाई उनको जीवनको एउटा ठूलो परिवर्तनगामी मोड मान्न सकिन्छ ।
स्पष्ट मानसिक समस्या देखिएर सामान्यावस्थामा नागरिकीय जीवनमा फर्कन नसकेपछि त्राकल यही समय अस्ट्रियाई सेनामा प्रवेश गरे । सैनिक सेवामा प्रवेश गरेकै ताका उनमा धेरै रोग वा विकृति देखिन थाल्यो र उनी स्वास्थ्यलाभका निम्ति इन्सब्रक्मा उपचार गर्न थाले । त्यहीं उनले केही अवु-गार्डका कलाकार समूह भेटे । त्यसमध्येका डन ब्रेनरका सम्पादक लुडविग फाने फिक्करसित उनी नजिकिए । फिक्करकै सभा-सङ्गतमा त्राकलले अब्बल दर्जाका कविता लेखे, छपाए । कवितामा उनले ईश्वरको खोज साहस र क्षयका बारेमा नै व्याख्या गरे । उनी चर्चाको शिखरमा हुँदै काफ्का किताबका प्रकाशक कुर्ट वोल्फ उनको पुस्तक प्रकाशन गर्न राजी भए । र, सन् १९१३ को वर्षादी महिनामा लेप्जिङ्गमा उनको पहिलो कविता सङ्कलन ‘गेडित्च्ते’ प्रकाशन भयो । यसपछि उनको परिचय विविध हुँदै गयो ।
अस्ट्रियन औषधोपचार कर्पोरेशनका तर्फबाट सैनिक जीवनमा प्रवेश गरेपछि सन् १९१४ को अगस्टमा युद्ध मोर्चाको दौरानमा उनले लुडविग विट्टगेन्स्टाइनबाट उपहार स्वरुप चन्दा पाए तर उनीहरुको भेट जीवनकालमा हुन सकेन ।
प्रथम विश्वयुद्धको दौरानमा उनलाई ग्लेसिया (हालको पोल्याण्ड ) र उक्रेन पठाइयो । त्यहाँ रुसी सेनासित भएको भीडन्तमा उनी एक्लैले नब्बेजना सैनिकको सुरक्षा गर्नुपर्ने कारणले उनी भयावह नैराश्यमा जान थाले । कयौँपटक उनले तनावमा आफैँलाई गोली हानेर मार्ने कोशिश पनि गरे तर उनको त्यो कदमको उनका अधिकृतहरूले विरोध गरे । अब यसपछि के गर्ने भनी उनले आफ्ना मार्गदर्शक फिक्करलाई सल्लाह मागी पठाए ।
चरम नैराश्यताका कारण उनी कडा निगरानीमा उपचारका निम्ति क्राकोउ अस्पतालमा भर्ना भए र त्यहीँबाट उनले फिक्करलाई सल्लाह मागे । फिक्करले विट्टगेन्स्टाइनसित भेटेर सल्लाह गर्ने उपाय पठाए । त्राकल अस्पतालमा बारम्बार आत्महत्याको धम्की दिइरहन्थे । यसबारे उनले लुडविग विट्टगेन्स्टाइनलाई खबर पनि पठाए । तर विट्टगेन्स्टाइन उनलाई साहस बढाउन आउँदा उनले आत्महत्या गरिसकेका थिए ।
उनकी बहिनी ग्रेटे जो लामो समयदेखि लागूपदार्थको व्यसनी थिइन्, उनले पनि तीन वर्षपछि आत्महत्या गरिन् । त्राकलका कवितामा अकालका सङ्कट र संघर्षका विम्बहरू खतरापूर्वक दृश्यित हुन्छन् तर त्यो नै उनको पहिचान हो जस्तो देखिन्छ । उनको आत्महत्यापछि उनकै चिहानमा लेखिएको र मुदित भएको एउटा चर्चित कविता यहाँ प्रस्तुत गर्न चाहन्छु –
“झरना गाउँछ बादल उठ्छ
स्पष्ट नीलोमा सेतो र क्लिष्ट ।
मौन मान्छे विचार्दै हिँड्छन्
सन्ध्याकालमा पुरानो बगैंचाको बाटो भएर
पुर्खाका चिहानको चिप्टो खैरोमा परिणत हुन्छ
परेवाका लहरहरू दुरीमा फरक देखिन्छन्
एउटा टुँडाल मृत्त आँखाहरूले हेर्छन्
प्राचीन रुखबाट पातहरू रातै झर्छन्
र ती खुल्ला झ्यालभित्र फन्फन्ती घुम्छन्
अग्निज्वाला कोठरीभित्र बल्छन्
अनि रङ कठ्याङ्ग्रिएर धमिलो देखिन्छन्
एउटा श्वेत अजनबी घरभित्र पस्छ
एउटा कुकुर खिइएको गल्लीमा चाट्छ
नोकर्नी बत्ती देखिनेगरी बाल्छिन्
मध्यराततिर कानहरू एकालापका ध्वनिहरू सुन्छन्”
(‘मीराबेलमा सङ्गीत’ शीर्षकबाट साभार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 










