१. व्याकरणको सामान्य परिचय
भाषाका २ रूप हुन्छन्, कथ्य र लेख्य। कथ्य वक्ता र श्रोतामा बोलेर व्यक्त गरिने माध्यम हो। लेख्य चाँहि लेखेर व्यक्त गरिने नियमबद्ध, अनुशासित रूप हो। एउटै भाषा विभिन्न ठाँउ, प्रान्त र देशमा बोलिन्छ। यसो हुँदा विभिन्न ठाउँको एउटै भाषालाई एउटै नियमले बाँध्ने, एउटै सूत्रमा जोड्ने साझा व्यवस्था हुन्छन्। त्यस्ता साझा व्यवस्था, प्रकृति र विशेषतालाई अध्ययन गर्ने भाषाको कानुनलाई व्याकरण भनिन्छ। यसले नै भाषा प्रयोगमा एकरूपता र व्यवस्था मिलाउँछ। यसलाई भाषाको केन्द्रीय तथा महत्वपूर्ण व्यवस्था मानिएको छ। भाषा प्रयोगमा कुन ठिक, कुन बेठिक, कुन शुद्ध, कुन अशुद्ध आदि कुरालाई छुट्याउने आधार व्याकरण हो। अतः भाषाको अध्ययन, अध्यापनलगायत सम्पूर्ण क्षेत्रमा शुद्ध र एकरूपता कायम गर्न व्याकरणको महत्व र आवश्यकता रहेको हुन्छ।
सामान्यः व्याकरण भनेको भाषाको निर्देशिका हो। यसले भाषाका आन्तरिक पक्षको चिरफार गरी त्यसका त्यसमा रहेका विकारलाई केलाइदिन्छ। यद्यपि भाषा व्याकरणका पछि लाग्दैन बरू व्याकरण भाषाको पछि कुद्छ। भाषाका कथ्य र लेख्यका दुई पक्षमध्ये व्याकरणले दुवैलाई निर्देशन गर्छ। यद्यपि कथ्यभाषामा चाँहि व्याकरणको लगाम हलुका हुन्छ औ लेख्य भाषामा चाँहि कसिलो हुन्छ। व्याकरणले भाषालाई एकरूपता दिन्छ। यदि भाषामा व्याकरण पक्ष कमजोर भइदियो भने भाषामा अराजकता हुन्छ। व्याकरण भनेको भाषाको नियम-कानुन हो। एउटै भाषा पनि विभिन्न ठाउँ, प्रान्त र देशहरूमा बोलिन्छ। यसो हुँदा विभिन्न ठाउँको एउटै भाषालाई जोड्ने केही साझा बेहोरा, प्रकृति र विशेषतालाई व्यवस्थित अध्ययन गर्ने ज्ञानानुशासन व्याकरण हो। अतः भाषाको अध्ययन, अध्यापनलगायत सम्पूर्ण क्षेत्रमा शुद्ध र एकरूपता कायम गर्न व्याकरणको महत्त्व र आवश्यकता रहेको हुन्छ। मान्छे बाटामा हिँड्दासमेत नियम चाहिन्छ भने भाषाजस्तो व्यापक कुरामा व्याकरणको ठुलो भूमिका हुन्छ।
१.२. व्याकरणको अध्ययन क्षेत्र – व्याकरण शुद्धसँगले भाषाप्रयोग गर्ने, लेख्न एकरूपता ल्याउने भाषिक साधन हो । यसले शब्ददेखि वाक्यसम्मका भाषिक एकाइहरूको प्रयोगका साथै तिनका संरचनाको समेत अध्ययन गर्दछ । यसभित्र भाषाशास्त्रका थरीथरीका विषयहरू पर्दछन् । यसमा शब्दहरूका क्रम, क्रियाको प्रकार, वर्गीकरण, वाच्य, भाव, काल, पक्ष, करण, अकरण, कारक आदि पर्दछन्। पदावलीको बनोट तथा प्रकार, वाक्यको बनोट तथा प्रकार आदि कुराहरू पनि व्याकरणअन्तर्गत नै पर्दछन्।
२. भारतमा नेपाली व्याकरण लेखनको परम्परा–
नेपाली व्याकरण लेखन परम्परा सर्वप्रथम अँग्रेजहरूले शुरू गरेका हुन। नेपाली भाषाको पहिलो व्याकरण सन् १८२० को जेम्स ए एटनको ग्रामर अव् नेपालीज् ल्याङ्ग्वेज् हो। यसमा नेपाली भाषाको व्याकरणिक व्यवस्थाबारे अँग्रेजी भाषामा लेखिएको छ। यो कलकत्ताको फोर्ट विलियम कलेजबाट प्रकाशित भएको हो। त्यसपछि सन् १८९२ को मेजर ए जी एफ ब्राउनको म्यानुअल अव् खस् गोर्खाली अर् पर्वतीय, १९९९ को लेफ्टनेन एम इ डोपिङ- होपिन्स्टलको खस गोर्खाली ग्रामर एण्ड भोकाबुलेरी कलकत्ताबाट प्रकाशित भए। सन् १९०७ मा पाराडिगम् अव् दी नेपाली भर्व्स् गोर्खा प्रेस दार्जीलिङबाट, क्याप्टन पी मोनेको गोर्खाली म्यानुअल (सन् १९१८), एफ डेवारको नेप्लीज भोकाबुलेरी (कानपुरबाट) सन् १९५० मा कर्नेल जी जी रोजर्सको कोलोक्वेल नेपाली प्रकाशित भए।
एटनको व्याकरणको प्रकाशनको ठिक एकसय वर्षपछि पारसमणि प्रधानको नेपाली व्याकरण (सन् १९२०) प्रकाशित भएको देखिन्छ। भारतमा यस व्याकरणले ऐतिहासिक महत्व कायम गरेको छ। एकल र अन्यको सहलेखनमा रहेका गरी पारसमणि प्रधानका लगभग् दशवटा जति नेपाली व्याकरण पुस्तक प्रकाशित छन्।
३.भारतबाट प्रकाशित नेपाली व्याकरण पुस्तकहरूको सूची-
पारसमणि प्रधानपछि भारतमा नेपाली व्याकरण लेख्नेहरूको सूची छोटो देखिन्छ। तीमध्ये केही वैयाकरण र व्याकरण पुस्तकको सूची निम्न लिनसकिन्छ-
१. प्राथमिक नेपाली व्याकरण- नगेन्द्रमणि प्रधान
२. सजिलो नेपाली संस्कृत व्याकरण- बाबुलाल प्रधान (सन् १९५६)।
३. आधुनिक नेपाली व्याकरण- भाइचन्द प्रधान
४. सुगम नेपाली व्याकरण र रचना- भाइचन्द प्रधान र मनबहादुर प्रधान
५. हाम्रो सरल व्याकरण र रचना- जगत छेत्री
६. जोर कि विजोर- सन् १९८४ मा प्रकाशित शिवराज शर्माको भाषा र व्याकरणविषय चिन्तन र तर्कप्रधान पुस्तक जोर कि विजोर? नेपाली व्याकरण अध्ययनको एउटा कोसेढुङ्गो हो। यसमा मूल रूपमा भानुभक्तको नेपाली भाषा र शब्दप्रयोगका आधार लिएर लेखिए तापनि यसमा नेपाली व्याकरणको परम्परा, नेपाली भाषाको शुद्ध रूप केलाउँदै पहाड़तिर बोलिने नेपाली भाषालाई अधिक महत्त्व दिइएको छ। पारसमणि प्रधानको नेपाली भाषाको एकरूपताको तर्कलाई खण्डनका साथै तारानाथ शर्मा, सूर्यविक्रम ज्ञवालीलगायतका भाषासम्बन्धी विचारको पनि तार्किक रूपमा खण्ड़न गरिएको छ।
७. विकास प्रक्रिया : नेपाली सर्वनाम र अव्यय शब्द- शिवराज शर्मा (१९८६)।
८. माध्यमिक नेपाली व्याकरण र रचना – शिवराज शर्मा र अन्य
९. सरल नेपाली व्याकरण- राजनारायण प्रधान।
१०. माध्यमिक नेपाली व्याकरण र रचना– डा घनश्याम नेपाल र पुष्कर पराजुली-नेपाली व्याकरण परम्परामा यस पुस्तकको महत्वपूर्ण स्थान छ। माध्यमिक स्तरका विद्यार्थीका लागि तयार पारिएको यो व्याकरण भाषावैज्ञानिक आधारमा लेखिएको पाइन्छ। यसमा वर्णमाला परिचयमा नेपालीमा लेखिने र बोलिने वर्णमाला भनी दुईवटा वर्गीकरण गरिएको पाइन्छ औ बोलिने वर्णमालाको स्वर वर्णमा अ आ इ उ ए ओ तथा व्यञ्जन वर्णमा क् ख् ग् घ् ङ् च् छ् ज् झ् ट् ठ् ड् ढ् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् स् ह् गरी उनन्तीसवटा मात्र पाइन्छन्। लेखिने व्यञ्जन वर्णमा चाँहि ञ् ण् श् ष् थप गरी जम्मा तेत्तिसवटा देखाइएको छ। यस्ता व्यञ्जन वर्ण तत्सम शब्दसहितका नेपालीमा मात्र चाहिन्छन् भन्ने मान्यता रहेको छ। जब कि दार्जीलिङका जम्मै व्याकरणमा ड़ र ढ़ सहित क्ष त्र ज्ञ संयुक्त वर्णलाई वर्णमालाभित्र समावेश गरिएको पाइन्छ। यसबाहेक यसमा व्याकरणका सामान्य विषयबाहेक द्वित्व प्रक्रिया, उपवाक्य, कोटिकार, संवाद लेखन, डायरी लेखन, विज्ञापन लेखन आदि अरूभन्दा भिन्न विषयवस्तुलाई पनि समेटेको देखिन्छ।
११. उच्च माध्यमिक नेपाली व्याकरण- डा घनश्याम नेपाल र डा कविता लामा(२००६)- उच्च माध्यमिक तहका लागि तयार पारिएको घनश्याम नेपाल र कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण र रचना पुस्तकमा पनि केही मौलिक पक्ष रहेका छन्। यसमा नेपाली वर्णमाला केही विस्तृतता, व्यतिरेकी र परिपूरक वितरण, मानस्वरका आधारमा पनि नेपाली वर्णहरूको अध्ययन गरिएको पाइन्छ
१२ आदर्श नेपाली व्याकरण – डा द्रोणकुमार उपाध्याय र तारापति उपाध्याय (२००७)-
१३ नेपाली व्याकरण प्रकाश – डा घनश्याम नेपालको नेपाली व्याकरण प्रकाश (१९९६) नेपाली व्याकरण लेखनका सन्दर्भमा महत्त्वपूर्ण पुस्तक हो। यसमा नेपाली भाषाको स्वरूप र प्रवृत्तिहरूलाई आत्मसात गरी तयार पारी लेखिएको छ। यसमा सरलता, सहजता, वस्तुनिष्ठता, वैज्ञानिकता तथा सामयिकता जस्ता गुणहरू पाइन्छन्। यस व्याकरणमा वर्ण विचार, पदविचार, वाक्यविचार र संकथन विचार पनि पाइन्छन्।
१४. नेपाली व्याकरण- राधाकृष्ण शर्मा र पूर्ण राई- सिक्किमका विद्यालयहरूमा पाँचौं र छैटौं श्रेणीका निम्ति सन् १९८१ सालमा तयार पारिएको नेपाली व्याकरण हो।
१५. पूर्वोत्तर नेपाली व्याकरण र रचना- शिवराज शर्मा र अन्य।
१८. नेपाली लेखन शैली- भारतीय भाषा संस्थान, मैसूरको प्रकाशकत्वमा सन् २०११ मा प्रकाशित नेपाली लेखन शैली सामूहिक लेखनमा रहेको नेपाली भाषा अध्ययनको निम्ति अति महत्त्वपूर्ण पुस्तक हो। यो मूलतः व्याकरण पुस्तक नभए तापनि व्याकरणका अनेक पक्षबारे चूडान्त रूपमा छलफल गरिएको छ। यो पुस्तक सिकागो म्यानुअल स्टाइलका आधारमा कुनै प्रकारको लेखन, शोधकार्य लेखन र पुस्तक लेखनका निम्ति तयार पारिएको देखिन्छ। यसमा भाषा संरचना, प्रभावकारी लेखन, वर्णविन्यास, विरामादि चिह्न, संक्षेपीकरण, नेपाली भाषाको वाक्य, प्रधान र गौण व्याकरणिक कोटिलगायत पुस्तक तयार पार्नलाई चाहिने तकनिकीगत कुराहरूबारे चर्चा गरिएको पाइन्छ। यो पुस्तक शोधकर्ता, उच्च शिक्षा लाभ गर्ने विद्यार्थीदेखि लिएर सबैका निम्ति लेखन शैली र लेखनगत नियमका जानकारी दिई उपयोगी बनेको छ।यीबाहेक अन्य केही व्याकरण पुस्तक प्रकाशित छन् जो प्रकाशकले बजारिया मुनाफा हेरेर जबर्जस्ती कुनै स्थापित कवि लेखकका नाममा रहेका छऩ्। यस्ता व्याकरण पुस्तकको उल्लेख यहाँ गरिएन।
४. भारतका केही व्याकरणकारहरूको संक्षिप्त व्याकरणात्मक लेखन प्रवृत्तिको चर्चा-
१. जे ए एटन– नेपाली व्याकरणको इतिहासमा जे ए एटन कहिल्यै नबिर्सिने नाम हो किनभने उनले नै नेपाली व्याकरण लेखनको शुरूवात् गरेका हुन्।
२. पादरी टर्नबुल– सन् १८८७ मा प्रकाशित पादरी टर्नबुलको व्याकरण र कोशको मिश्रित पुस्तक Nepali Grammar & English-Nepali Nepali –English Vocabulary नेपाली भाषा परिचय सम्बन्धी प्रारम्भिककालीन ग्रन्थ हो। चियाकमान र फौजका अँग्रेज अफिसरहरूलाई दार्जीलिङको सम्पर्क भाषाको रूपमा रहेको नेपाली भाषा सिक्न सहयोग मिलोस् तथा दार्जीलिङमा इसाई धर्म प्रचार प्रसार गर्नका निम्ति भन्ने उद्देश्यले यो पुस्तक लेखिएको बुझिन्छ। यसमा रहेको व्याकरणिक पक्ष अँग्रेजी व्याकरणको संरचनात्मक ढाँचामा लेखिएको छ। यसमा नेपाली लिपि, वर्णमाला र नामदेखि क्रियायोगीसम्म चर्चा गरिएको छ।
३. पारसमणि प्रधान– नेपाली भाषाको व्याकरण लेखनमा पारसमणि प्रधानको नाम अति आदरका साथ लिइन्छ। सन् १९२० मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित नेपाली व्याकरण विशेषगरी अँग्रेजी व्याकरण र भाषा-भाष्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको छ। पारसमणि प्रधान एक्लैले र सहलेखनमा तयार पारेका व्याकरण पुस्तकहरूमा सजिलो नेपाली व्याकरण (१९३५), नेपाली रचना कुसुम (भाग १, नगेन्द्रमणि प्रधानको सहलेखन), नेपाली रचना भारती (भाग १ र २, अमरमणि प्रधानको सहलेखन,१९५४), नेपाली व्याकरणको परिवर्द्धित र वर्तमान रूप (१९७०), व्याकरणको दन्त्य कथा (१९७०), नेपाली व्याकरण भारती, नगेन्द्रमणि प्रधानको सहलेखन, १९५४), प्राथमिक नेपाली व्याकरण (१९५४), प्रवेशिका व्याकरण र रचना (१९५५, टिकाराम शर्माको सहलेखन) नेपाली व्याकरण (पहिलो भाग, १९७०), माध्यमिक नेपाली व्याकरण र रचना, १९८२)। यद्यपि उनको सन् १९२० मा प्रकाशित व्याकरणकै कहिले सजिलो नेपाली व्याकरण, कहिले व्याकरण भारती अनि कहिले प्रवेशिका नेपाली व्याकरण र रचना जस्ता विभिन्न नामहरू लिएर देखा पर्छन्।
पारसमणि प्रधानको अनुसार भाषाको व्याकरणमा समयोचित हेरफेर हुनु जीवित भाषाको लक्षण हो। नेपाली भाषाको व्याकरणका नियममा पनि समय समयमा धेरथोर हेरफेर भइरहनु पर्छ। उनका आफ्नो जीवनकालभरि भाषाको एकरूपताका लागि संघर्ष गरिरहे।
४. शेषमणि प्रधान– नेपाली व्याकरण क्षेत्रमा शेषमणि प्रधानको त्यति नाम देखिन्न यद्यपि सन् १९२० मा प्रकाशित नेपाली व्याकरणमा पारसमणि प्रधानसित उनको नाम पनि सहलेखकका रूपमा देखिन्छ। यस पुस्तकमा रहेका चित्रहरू चाँहि शेषमणि प्रधानले तयार पारेका हुन्।
५. नगेन्द्रमणि प्रधान– नगेन्द्रमणि प्रधान पनि पारसणणि प्रधानसित मिलेर नेपाली व्याकरण भारती नेपाली रचना कुसुम (भाग १), प्राथमिक नेपाली व्याकरण आदि तयार पारेका हुन्। उनी आफैं प्रेसका मुख्य कार्यकर्ताका साथै भाषाको राम्रो ज्ञान भएका हुनाले उनकामा मुद्रित हुनआएका धेरै लेखक-साहित्यकारहरूका नेपाली पुस्तकहरूको सठिक र शुद्धतासँग भाषा, वाक्य र प्रुफ संशोधनमा उनको ठुलो योगदान रहेको छ।
६. अमरमणि प्रधान– अमरमणि प्रधानले पनि पारसमणि प्रधानसित मिलेर नेपाली रचना भारती तयार पारेका हुन्।
७.टिकाराम शर्मा – टिकाराम शर्माले पनि पनि पारसमणि प्रधानसित मिलेर प्रवेशिका नेपाली व्याकरण र रचना तयार पारेका हुन्। उनी संस्कृतमा समेत स्नातक गरेका हुनाले पारसमणि प्रधानलाई ठुलो सहयोग पुर्याएका हुन्।
८. मनबहादुर प्रधान– मनबहादुर प्रधानले पनि भाइचन्द प्रधानसित मिलेर सुगम नेपाली व्याकरण र रचना तयार पारेका हुन्। उनी पनि व्याकरण लेखनका एक सचेत र सफल व्यक्तित्व हुन्।
९. बाबुलाल प्रधान– नेपाली भाषामा उल्लेखनीय योगदान दिने बाबुलाल प्रधानले नेपाली व्याकरण लेखनमा पनि सरिक देखिन्छन्। उनको सजिलो नेपाली संस्कृत व्याकरण (१९५६) प्रकाशित छ। यसको मुख्य उद्देश्य नेपाली विद्यार्थीलाई संस्कृत भाषा ज्ञान दिनु। अँग्रेजीमा पारिभाषिक शब्द तथा अभ्यासका बारेमा लेखिएको यस व्याकरण नेपालीमा अनुवाद गर जस्ता अभ्यास पनि दिइएको छ।
१०. दयानन्द श्रीवास्तव– यिनलाई नेपाली व्याकरणकार मान्न नसकिए तापनि नेपाली भाषामा विद्यावारिधि गर्दा यिनले नेपाली व्याकरणका केही पक्षमा चर्चा गरेका छन्।
११. गोकुल सिन्हा- नेपाली व्याकरणका क्षेत्रमा गोकुल सिन्हा एक चिन्तक र पथ प्रदर्शक हुन्। उनको व्याकरण पुस्तक प्रकाशित नभए तापनि फूटकर रूपमा उनका थुप्रै व्याकरणसम्वन्धी लेखादि प्रकाशित देखिन्छन्। उनले नेपाली व्याकरणसम्बन्धी अँग्रेजीमा Nepali Transformational Structure : A Sketch (1967), A Treatise on Nepali Language (1978) लेख प्रकाशित गरेका छन्। यीबाहेक नेपाली भाषामा एकरूपताको प्रश्न आदि व्याकरण विषयक विचारोत्तेजक लेखहरू लेखेका छन्।
१२. इन्द्रमणि प्रधान– इन्द्रमणि प्रधानले An Introduction to the Nepali Vowel and Consonant Sounds, 1969) भन्ने पुस्तक प्रकाश गरेका छन्। नेपालीका ध्वनिलाई ध्वनिवैज्ञानिक रूपमा विश्लेषण गर्ने काम गरेका छन्। उनले नेपाली वर्णलाई उच्चारण अवस्थाका चित्र र मानस्वरमा देखाएर विश्लेषण गरेका छन्।
१३. शिवराज शर्मा– नेपाली वैयाकरण शिवराज शर्माले नेपाली व्याकरणसम्बन्धी धेरै काम गरेका छन्। उनी संस्कृतमा व्याकरणाचार्य हुन् भने व्याकरणतीर्थ पनि उत्तीर्ण गरेका हुन्। उनका व्याकरणिक पुस्तकहरूमा जोर कि विजोर,विकास प्रक्रिया नेपाली सर्वनाम र अव्यय शब्द, नेपाल र नेवाल मूलतः ऋग्वैदिक शब्द, निफन नाफन, नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख (२००९), माध्यमिक नेपाली व्याकरण र रचना (सन् १९६८), राम्रो नेपाली व्याकरण र रचना (सातौं र आठौं श्रेणी), माध्यमिक संस्कृत व्याकरण दीपिका, नौलो नेपाली व्याकरण (पाँचौं र छैटौं श्रेणी), पूर्वोत्तर नेपाली व्याकरण र रचना जस्ता व्याकरण पुस्तक प्रकाशित देखिन्छन्। उनको व्याकरण लेखनको मूल आधार संस्कृत हो। यीबाहेक व्याकरणसम्बन्धी धेरै लेखहरू फूटकर रूपमा प्रकाशित देखिन्छन्। उनका मतानुसार नेपाली भाषाको मूल प्रवृत्ति, पुर्ख्यौली र जरो संस्कृतको हुनाले नेपाली व्याकरणको मूल प्रकृति पनि संस्कृत अनुरूप नै छ। संस्कृतका तत्सम र अधिकांश तद्भव शब्दका मूल जरा पैल्याउन सक्नेले मात्र शुद्ध लेख्नसक्छ। अतः नेपाली व्याकरण लेखनमा संस्कृतको सामान्य ज्ञान हुनु आवश्यक छ।
१४. भाइचन्द प्रधान– पारसमणि प्रधानपछिका एक विशिष्ट वैयाकरण हुन् भाइचन्द प्रधान। उनका आधुनिक नेपाली व्याकरण र सुगम नेपाली व्याकरण र रचना (सहलेखक मनबहादुर प्रधान, १९८५) गरी दुइवटा महत्वपूर्ण विद्यार्थी उपयोगी व्याकरण पुस्तकहरू प्रकाशित छन्। यद्यपि उनको तल्ला कक्षाका निम्ति पनि नव नेपाली व्याकरण र शिशु नेपाली व्याकरण प्रकाशित देखिन्छन्।
१५. जगत छेत्री– विद्यालय तहमा नेपाली पाठ्यपुस्तक तयार पार्ने क्रममा जगत छेत्रीले हाम्रो सरल व्याकरण (भाग १, पाँचौं र छैटौं श्रेणीका निम्ति), हाम्रो सरल व्याकरण र रचना जस्ता पाठ्य व्याकरणहरू प्रकाशित देखिन्छन्।
१६. गुमानसिंह चामलिङ- गुमानसिंह चामलिङको व्याकरण पुस्तक नभए तापनि उनले नेपाली व्याकरणसम्बन्धी एउटा गम्भीर चिन्तनमूलक लेख लेखेका छन्। उनले मौलोमा
१७. राजनारायण प्रधान– राजनारायण प्रधानले पनि विद्यार्थी उपयोगी व्याकरण लेखेका छन्। उनको सरल नेपाली व्याकरण र रचना प्रकाशित देखिन्छ। यसमा व्याकरणसम्बन्धी उल्लेखनीय पक्ष नपाइए तापनि विद्यार्थीहरूलाई जतिसक्दो सरल प्रकारले व्याकरण बुझाउन सहायक सिद्ध भएको छ। उनका भाषामा सातो बोलाउने मात्रै होइन, साँपे विद्यार्थीलाई पनि तत्कालै उठाइवरी दौडाउनसम्मको सामर्थ्य पाइन्छ छोटा, मीठा र शुद्ध वाक्यमा (शिवराज शर्मा, जोर कि बिजोर, पृष्ठ ३३८)। प्रस्तुत व्याकरण माध्यमिक तहका विद्यार्थीवर्गको आवश्यकतालाई ध्यानमा राखी लेखिइएको देखिन्छ। पछिबाट यही व्याकरणको पाँचौंदेखि आठौं श्रेणीसम्मको पाठ्यक्रममा श्याम ब्रदर्स र साझा पुस्तक प्रकाशनबाट सरल नेपाली व्याकरण र व्याकरण प्रवेशका नाममा प्रकाशित देखिन्छ।
१७. द्रोण कुमार उपाध्याय– आदर्श नेपाली व्याकरण (सन् २००५) पुस्तकका लेखकद्वय हुन् द्रोण कुमार उपाध्याय र उदालगढी, आसामका पूर्वशिक्षक तारापति उपाध्याय। आसामबाट प्रकाशित पहिलो नेपाली व्याकरण पुस्तक सम्भवत् यही हुनुपर्छ। यस व्याकरणमा नेपालकै वर्णमालाको ढाँचा रहेको छ। यता दार्जीलिङतिर रहेको तलथोप्ली ड़ र ढ़ वर्णहरू पाइन्न। नेपालीमा भएका सामान्य वर्णमालालाई संस्कृतबाट बाध्यताबस् ग्रहण गर्नुपरेको कुरा उल्लेख गरेका छन्। यस पुस्तकमा वर्णविन्यास, लेख्यचिन्ह नियम, शब्दवर्ग, शब्द रूपायन, शब्दनिर्माण, वाक्यतत्व, व्याकरणिक कोटी, पदसङ्गति इत्यादिका अतिरिक्त परिशिष्ट खण्डमा अनेकार्थी, भिन्नार्थक, पर्यायवाची, विलोम शब्द, उखान-तुक्काहरूका बारेमा चर्चा गरिएको छ। यस व्याकरणको लक्ष्य सातौं श्रेणीदेखि बी ए अनर्ससम्मका लागि विद्यार्थी उपयोगी रहेको देखिन्छ। यसमा द्रोण कुमार उपाध्यायकै बढी श्रम परेको कुरा उल्लेख छ।
१८. तारापति उपाध्याय – आदर्श नेपाली व्याकरणका सहलेखक हुन् तारापति उपाध्याय हुन्। यसबारे द्रोण कुमार उपाध्यायकै विषयमा चर्चा गरिसकिएको छ।
१९. घनश्याम नेपाल – नेपाली व्याकरण लेखनमा घनश्याम नेपाल एउटा विशिष्ट नाम हो। आजसम्म उनका तीनवटा नेपाली व्याकरण पुस्तक देखिन्छन्- नेपाली व्याकरण प्रकाश, माध्यमिक नेपाली व्याकरण र रचना (सहलेखक पुष्कर पराजुली), उच्च माध्यमिक नेपाली व्याकरण र रचना (सहलेखक कविता लामा)। उनी नेपाली भाषाको प्राकृतिक स्वरूप र आधुनिक भाषाविज्ञानका आधारलाई नियालेर त्यसमुताविक व्याकरण लेखेका छन्। उनी भाषाका कुशल प्रयोक्ता हुन्।
२०. शान्तिराज शर्मा– शान्तिराज शर्मा र एच बी राईको संयुक्त लेखनमा रहेको भाषा र साहित्यको मुहानदेखि नामक पुस्तकको बाह्रौं खण्डमा लगभग बीस पृष्ठमा नेपाली व्याकरणबारे चर्चा गरिएको पाइन्छ। वाक्य शब्द र वर्णको संक्षिप्तमा नयाँ र मौलिक कुराहरूको तर्कसहित विश्लेषण गरिएको पाइन्छ।
२१. कविता लामा- कविता लामाले उच्च माध्यमिक नेपाली व्याकरण र रचना घनश्याम नेपालसँग सहलेखनमा रही तयार पारेकी हुन्।
२२. पुष्कर पराजुली- पुष्कर पराजुलीले माध्यमिक नेपाली व्याकरण र रचना घनश्याम नेपालसँग सहलेखनमा रही तयार पारेका हुन्।
२३. केवलचन्द्र लामा– पाँचौ र छैटौं श्रेणाका निम्ति केवल चन्द्र लामाले सरल नेपाली व्याकरण (२०१०) तयार पारेका छन्।
२४. शरद् छेत्री– शरद् छेत्रीले अँग्रेजी विद्यालयको सातों र आठौं श्रेणीका निम्ति सुबोध नेपाली व्याकरण तयार पारेका छन्।
२५. मननारायण प्रधान– शिक्षा सामग्रीको प्रयोजनका लागि व्याकरण तयार गर्ने क्रममा मननारायण प्रधानको नाम पनि लिनुपर्दछ। विशेषगरी डुवर्स र सिलगडीका विद्यालयका विभिन्न तहका विद्यार्थीका लागि उनले व्याकरण पुस्तक तयार पारेका छन्।
५. दार्जीलिङ सिक्किममा नेपाली भाषा लेखनमा व्याकरणिक सचेतताको वर्तमान स्थिति–
दार्जीलिङ सिक्किममा नेपाली व्याकरण पठन-पाठन शुरू भएको लगभग सय वर्ष पुग्नै आँटेको छ। यद्यपि वर्तमान समयका नेपाली विषयमा स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन गरिरहेका र गरिसकेका अधिकांश विद्यार्थी र सामान्य मानिसहरूले नेपाली व्याकरणिक तवरले शुद्धसँग लेख्न जानेका हुँदैनन्। व्याकरणका विशेष गरी लिङ्ग, वचन, कारक, पुरूष, आदर र कालका पक्षमा धेरै त्रुटी गरेको पाइन्छ। अधिकांश विद्यार्थीलाई कथ्य भाषालाई मानक रूपमा लेख्ने जाँच लिए उपर्युल्लिखित त्रुटी गर्छन्। तिर्यक कारक, क्रियासँग लिङ्ग, वचन, पुरूष र आदरको सठिक तालमेल हुनुपर्ने सामान्य कुराको ज्ञान पनि नभएको देखिन्छ। यसरी व्याकरणका नियम शिथिल हुनाको केही मुख्य कारणहरूलाई यसरी केलाउन सकिन्छ।
५.१. केही सामान्य कारणहरू-
१. विद्यार्थीमा व्याकरणिक नियमप्रति अरूचि र लापर्वाही।
२. प्राथमिक तहदेखि उच्चमाध्यमिक तहसम्मका विद्यालयमा नेपाली व्याकरण पठन-पाठनमा उदासीनता।
३. विद्यालय तहमा विद्यार्थीहरूलाई व्याकरणका नियमहरूबारे बुझाउनका सट्टा रटाउने पद्धतिको विकास हुनु।
४. शिक्षक-विद्यार्थीवर्गले व्याकरणको अध्ययन, मनन र अनुशीलनको कमी।
५. व्याकरणका नियमहरू एकरूपता नभई अनेकरूपता हुनाले पनि यसप्रति उदासीनता।
६. विद्यालय र विषय शिक्षकले जुनसुकै व्याकरण पाठ्यपुस्तकका रूपमा चयन।
७. अँग्रेजी माध्यम पढ्ने विद्यार्थीहरूको संख्या वृद्धि।
८. विभिन्न सरकारी र निजी विद्यालयमा नेपाली विषयको दक्ष शिक्षक-शिक्षिकाको अभाव र अन्य विषय पढेका शिक्षक-शिक्षिकाले नेपाली पढाउनु र व्याकरणको अवहेलना गर्नु।
९. भाषिक एकरूपता, वर्णविन्यास, मानक रूपसम्बन्धमा विद्यालय तहका शिक्षक-शिक्षिकाका निम्ति, कार्यशाला, सङ्गोष्ठी, पुनश्चर्या, तालिम आदि जस्ता कार्यक्रमको अभाव।
१०. विभिन्न भाषिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूको कथ्य भाषाको प्रभाव।
५.२. भारतमा व्याकरणिक सुधार र निराकऱणका निम्ति केही उपाय अपनाउन सकिन्छ-
१. सर्वप्रथम विद्यालयदेखि महाविद्यालय तहसम्मका नेपाली विषय शिक्षक-शिक्षिकाहरूलाई भाषिक एकरूपता, वर्णविन्यास र प्रभावशाली र रूचिकर अध्यापनका लागि समय-समयमा कार्यशाला, सङ्गोष्ठी, पुनश्चर्या आदि कार्यक्रम आयोजना गर्न सकिन्छ।
२. नेपाली विषय शिक्षकले नेपाली व्याकरणका मानक पुस्तक अध्ययन र अनुशीलन गर्ने अभ्यास गर्नुपर्छ।
३. पहिलो श्रेणीदेखि नै मानक व्याकरण पुस्तकलाई पाठ्यपुस्तक निर्धारण गर्नुपर्छ।
४. सबै तहका विद्यार्थीहरूलाई व्याकरण पठनमा विभिन्न तरिकाले व्याकरण रूचिकर बनाउने उपाय अप्नाउनु पर्ने देखिन्छ।
६. भारतबाट प्रकाशित नेपाली व्याकरण प्राप्ति र सीमाहरू-
६.१. यहाँबाट प्रकाशित व्याकरणहरू सबै नै शैक्षणिक उद्देश्यपूर्तिका निम्ति तयार भएका छन्। दोस्रो श्रेणीदेखि बाह्रौं श्रेणीसम्मका लागि नेपाली व्याकरण लेखिएका छन्।
६.२. भारतीय परिप्रेक्ष्यमा नेपाली व्याकरण लेखकहरू तीन खाले देखिन्छन्। एक खालका लेखकहरू जो वास्तविक वैयाकरण नभई प्रकाशकहरूले पाठ्यपुस्तक तयार पार्ने क्रममा व्याकरण पुस्तक लेखेका छन्। यस्ता खालका लेखकहरू बढी छन्। अर्का खालका लेखकहरू जो वैयाकरण नै हुन् जसले व्याकरणका हरेक पक्षमाथि ध्यान पुर्याएर लेखेका हुन्छन्। तेस्रो थरीका लेखकहरू भाषाविद् हुन् जो आधुनिक भाषाविज्ञानका विभिन्न सिद्धान्तका आधारमा अध्ययन गरी व्याकरणको लेखेका छन्।
६.३. पारसमणि प्रधानले नेपाली व्याकरणको मूलआधार हेमराज पाण्डेको चन्द्रिकालाई लिएका थिए भने पछिकाले भने पारसमणि प्रधानका व्याकरण पुस्तकको आधार लिएर लेखेका छन्।
६.४.यहाँबाट अधिकांश परम्परित व्याकरण आधारमा लेखिएका व्याकरण पुस्तक पाइन्छन् भने गत दस वर्षदेखि यता भाषावैज्ञानिक आधारमा लेखिएका व्याकरण पाइन्छन्।
६.५. यहाँका व्याकरण विशेष कुनै विषयगत केन्द्रीता आधारमा नभई प्राय सबै पक्षका विषयमा आधारित छन्।
६.६. यहाँका व्याकरणमा एकातिर संस्कृतको परमपरागत ढाँचा पाइन्छ भने आधुऩिक भाषाविज्ञानको प्रभावबाट नेपाली भाषाको प्रकृतिअनुसार लेखिएका पनि पाइन्छन्।
६.७. यहाँको नेपाली भाषा एकातिर व्याकरण अर्कातिर भएको हुँदा व्याकरणले कथ्य भाषा त छाडिदिउँ लेख्य भाषालाई समेत व्याकृत बनाउन सकेको देखिन्न। यहाँ नेपाली भाषा-साहित्यमा उच्च अध्ययन समाप्त गर्नेहरूको पनि भाषामा व्याकरणगत विचलन देखिन्छ।
६.८. यहाँका व्यकरण बढी शैक्षणिक उद्देश्यबाट लेखिएका छन् तर स्वतञ्त्र रूपले भाषाको शुद्ध रूप सिक्ने उद्देश्य कम जिज्ञासुले अध्ययन गर्छन्।
६.९. यहाँका कतिपय व्याकरण बजारको स्कूले विद्यार्थीको माग र खपत हुने उद्देश्यले लेखन र प्रकाशन हुनाले कहिलेकाँही व्याकरणिक विचलन र अनेकरूपता देखा परेका छन्।
६.१०. यहाँका व्याकरण पुस्तकमा वर्णविन्यासगत एकरूपताको साटो बहुरूपता पनि देखा पर्दछन्।
६.११. यहाँका व्याकरणले पनि प्रगतिको मार्ग पक्रेको छ। यसको भविष्य उज्ज्वल नै देखिन्छ।
६.१२. एउटै नाम लिएर केही व्याकरण पुस्तकहरू पनि प्रकाशित भएको देखिन्छ। माध्यमिक नेपाली व्याकरण र रचना नामका पुस्तकहरू पारसमणि प्रधान (१९९२), एल. पी. शर्मा, के. पी. शर्मा, एस. आर. शर्मा र जे. के. छेत्रीको संयुक्त लेखनमा रहेको माध्यमिक नेपाली व्याकरण र रचना (सन् १९६९), जगत छेत्री र जे. एन. प्रधानको माध्यामिक नेपाली व्याकरण र रचना (भाग १-३, १९९८), घनश्याम नेपाल र पुष्कर पराजुलीको माध्यामिक नेपाली व्याकरण र रचना (२००७) बेग्ला-बेग्लै पुस्तक प्रकाशित देखिन्छन्।
६.१३. भारतबाट नेपाली व्याकरण लेखनमा दार्जीलिङ मात्र देखिन्छ। विद्यालय तहका लागि सिक्किम र आसामबाट एक-एकवटा मात्र नेपाली व्याकरण पुस्तक प्रकाशित देखिन्छन्।
७. उपसंहार– भारतमा नेपाली व्याकरण लेखन परम्परा लामो रहेको छ। भारतमा नेपाली लेखनको थालनी भएको लगभग दुई सय वर्ष लाग्यो आँट्यो यद्यपि नेपाली भाषामा लेखिएको चाँहि लगभग एक सय वर्षको लग लाग्दैछ। यस सय वर्ष जतिको अवधिमा नेपाली व्याकरणले क्रमिक विकास गरेको देखिन्छ। शुरूमा अँग्रेज मूलका लगभग दसजना जतिले अँग्रेजी भाषामा अँग्रेज कर्मचारी, अफिसर, इसाई धर्म प्रचारक र सैनिक अधिकारीहरूलाई नेपाली भाषा सिकाउने उद्देश्यले नेपाली व्याकरण लेखेका थिए। त्यसपछि पारसमणि प्रधानले नेपाली व्याकरण र भारतमा व्याकरणिक स्वरूप निर्धारणमा ठुलो योगदान दिएका छन्। हेमराज पाण्डेको चन्द्रिका व्याकरणका आधारमा उनले नेपाली व्याकरण लेखेका थिए। यसपछि उनका व्याकरणलाई मूलआधार बनाई धेरै व्याकरण लेखिए। संस्कृत व्याकरणका सिद्धान्त र सूत्रहरूलाई मूल आधार बनाई नेपाली व्याकरण लेख्ने शिवराज शर्मा हुन्। अन्य मुख्य व्याकरणकारहरूमा भाइचन्द प्रधान, राजनारायण प्रधान, जगत छेत्री, घनश्याम नेपाल आदि मुख्य देखिन्छन्। यताका व्याकरण लेखनका मुख्य गरी दुइवटा आधार देखिन्छन- पहिलो संस्कृत व्याकरणका सिद्धान्त र सूत्र तथा दोस्रो आधुनिक भाषाविज्ञान। यद्यपि भारतमा नेपाली व्याकरण दार्जीलिङ बाट मात्र प्रकाशित भएको देखिन्छ। उता आसाम, सिक्किमतिरबाट नगण्य प्रकाशित देखिन्छन्। जे होस्, भारतमा नेपाली व्याकरणको इतिहास र परम्परा गौरवशाली छ भने यसको भविष्य पनि उज्ज्वल देखिन्छ।
प्रमुख सन्दर्भ सूची-
१. शिवराज शर्मा, जोर कि विजोर, दार्जीलिङ, श्रीराज प्रकाशन,
२. शिवराज शर्मा, नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख, दार्जीलिङ, श्रीराज प्रकाशन,२००९।
३. पारसमणि प्रधान, टिपन टापन, दार्जीलिङ, डा. पारसमणि प्रकाशन, दो सं. १९९३।
४. सम्पादक मण्डली, नेपाली लेखन शैली, भारतीय भाषा संस्थान, मैसुर, २०११।
५.सम्पादक मण्डली, डा. पारसमणि प्रधान, कालिम्पोङ, नेपाली सा. अ. समिति.१९९८।
६. शिव प्रधान (सम्पा.), डा पारसमणि प्रधान अभिनन्दन-ग्रन्थ, गान्तोक, गान्तोक प्रकाशन, १९८४।
७. सुकुम शर्मा, नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, काठमाडौं,वाङमय प्रकाशन,,२०५६।
८. राजकुमार छेत्री, भारतमा नेपाली व्याकरण लेखन परम्परा र दार्जीलिङबाट प्रकाशित नेपाली व्याकरणहरू (सम्पा. डा ऱाधा शर्मा. नेपाली भाषा र साहित्यको समृद्धिमा दार्जीलिङको योगदान, दार्जीलिङ, सन्त जोसेफ्स् कलेज,२००८।
पत्रिकाहरूबाट-
- डा आनन्द छेत्री, नेपाली व्याकरणको भारतीय परम्परा, सन्धान, (अङ्क १) महानन्द पौड्याल (प्र. सम्पादक), २००५।
- जस योञ्जन प्यासी, भारतमा लेखिएका नेपाली व्याकरण परम्परा र नेपाली भाषाको व्याकरणिक स्वरूप निर्धारणमा यिनीहरूको भूमिका, उत्तर बङ्ग विश्वविद्यालय, नेपाली अकादमी जर्नल, १९९५-९६।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।