मभित्र यात्राको एक गहनतम प्यास लुकिबसेको छ क्यारे । मौसम बेसौसम यो भित्रभित्रै चल्मलाउने गर्दछ । यात्राको अनुकूलतम स्थिति देख्यो भने कहिलेकाहीँ यो व्यूँझिने गर्दछ । र, मलाई अलमस्त डुलुवा फकिर जस्तो अज्ञात अन्जान स्थलतिर कुदाउँछ, शयर गराउँछ, अस्तित्वका अनगिन्ति रंगहरु पिलाउँछ ।

यसले मलाई नयाँनयाँ लोकमा परिभ्रमण गराउँछ । जबजब यात्रामा निस्कन्छु, तबतब म आफ्नो वैयक्तिक घरायसी संसार बिर्सिन्छु । सो घडी म एकैतत्त्व चिन्तनमा एकोहोरिएको हुन्छु कि आस्तित्वको विराट आयामलाई सबै इन्द्रियको सचेतन प्रयत्नबाट पिउन सकूँ, चाख्न सकूँ, सुँघ्न सकूँ, सुन्न सकूँ, हेर्न सकूँ । यस्तो यात्रामा निस्किँदा मेरा पञ्च ज्ञानेन्द्रिय सर्वथा चनाखो बन्दछन् । त्यो बखत मेरो अभ्यन्तरलाई एक हार्दिक उत्तेजनाले संस्पर्श गरेको हुन्छ ।

यात्राप्रति यति विराट अनुराग हुँदाहुँदै पनि मैले आजसम्म मनचित्य यात्राको दौडमा निस्कन पाएको छैन । अझ मेरै आँगनको हिमाल मैले छुन पाएको छैन । अझ मेरै खप्तडमा खुट्टा टेक्न पाएको छैन । मेरै पाथीभरा र स्वर्गद्वारीमा पयर राख्न सकेको छैन । मेरै रारा र रामारोसन उक्लिन सकेको छैन । मेरै पान्धारे र पाङबोचेमा आङ अड्याउन सकेको छैन ।

एक त रोजीरोटी कमाउनु पर्ने पेसागत कामको बन्धनले मलाई यसरी फनफनी बेरेको छ । भनेको बेला त्यो बन्धन खुस्काएर हिँड्न पाउँदिन । अर्को कुरा यात्राको निम्ति आर्थिक तत्त्वको जोहोजतन महत्त्वपूर्ण कुरा रहेछ । न्यून वेतनमा बाँच्ने हामी नेपालीले पैसाकै कारण चाहेर पनि मनचिन्त्य यात्रा गर्न सक्तारहेनछौँ । दैनदिन जीवनका अनेकन परिवन्द, स्वास्थ्यका प्रतिकूलता र अप्ठ्यारा स्थितिहरुले यात्राका असीम आकाङ्क्षालाई हृदयमै सीमित पारिदिन्छन् । मूलतः पैसा र समयले यात्राको सुयोग र वियोग निर्धारण गर्दछ ।

पुण्य कार्की

जब बाह्रैमास कामैकामको चपेटामा परेपछि केही दिनलाई सुस्ताउन म झोला बोकेर अल्पिदिन्छु । हप्ता दस दिनमा यात्राबाट फर्किदा रिचार्ज गरेको ब्याट्री जस्तो ऊर्जाको अतिरेक कम्पनले मलाई भरभराउँदो र तरुणो बनाएको हुन्छ । यात्राबाट मेरो हृदयमा एक नूतन जीवन प्रवाह सल्बलाउन थाल्दछ । नसा नसामा जीवन्त स्पन्दनको रागताल सुन्न सक्तछु । सो घडी मस्तिष्कबाट निराशाहरु हट्तछन् । उदासीहरु विदा लिँदछन् ।

यात्राले संसारलाई हेर्ने मेरो नयन क्षितिज त्यसैत्यसै फराकिलो पारे जस्तो लाग्छ । जगत् हेर्ने दृष्टिकोणमा यसले व्यापकता थप्तछ । जीवनमा यसले नवीनताको भाव थप्तछ । मुटु र मस्तिष्कमा विराट चैतन्यको आयामलाई समायोजन गर्दछ । यही अद्भूत अनुभूतिको लालसाले यात्रामा निस्किन म तुलबुलिन्छ, हतारिन्छु ।

यसपालीको दिल्ली–मथुरा यात्रापनि अनयास जुरेको यात्रा थियो । विना तयारी विना योजना यस यात्रामा हामी पतिपत्नी नै घरबाट निस्केका थियौँ । अघिल्लो दिनमात्र लाहानबाट जीवन मेहमानले पर्सि १२ बजेको गरिवरथबाट हामी दिल्ली प्रस्थान गर्नेछौँ, सात बजे भित्र लाहान आइपुग्नु होला, सन्देश छोड्नु भयो ।

हतारमा आइलागेको यस यात्रामा निस्किनको लागि तानावाना मिलाउन थालेँ । त्यो दिन तिजको दर खाने दिन थियो । भोलिपल्ट २०७६ भदौ १५ गते विहानै विद्यालय गएँ । आफ्नो जिम्मामा रहेका सारा कामकाज साथीहरुलाई सुम्पेँ । अध्यक्षजीसित विदा स्वीकृत गराएँ । छुट्टिपछि बैङ्क आए र आवश्यक खर्चबर्चको बन्दोबस्त मिलाएँ । राति कुम्लोकुटुरो मिलाएर रात्रि विश्राम ढल्केँ ।

साढे ६ बजे नै कोठाचोटा तालाबन्दी गरेर गाईघाट लाहानको विङ्गर गाडी चढ्यौँ, लाहानमा हल्का खाजा खाएर नौ बजे जयनगर प्रस्थान गरियो । एघार बजे जयनगर पुगियो । र बाह्र बजे “गरिवरथ” रेलबाट दिल्ली प्रस्थान गरियो ।

झ्यालका खिड्कीबाट विहारी गाउँका दृश्यहरु नियालेँ । खुल्ला खेतबारीमा हग्नेको हुल देख्ता मोदीको स्वच्छ भारतको सपना तुषारापातमा परे जस्तो लाग्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई नै खुल्ला दिशामुक्त देश घोषणा गरिरहेको अवस्थामा जताततै दिशा गर्नेको हुलले विरोधभास ल्याइदिएको छ । ग्रामीण एरियामा गरिबीका रुग्ण दृश्यहरु मात्र देखिँदैन, रेलभित्रै छिनछिनमा घस्रिँदै आउने अन्धा, अपाङ्ग र मगन्तेहरुको लाबवन्दीले वाक्कदिक्क बनायो । कतिपय सफेदपोश यात्रीमा पनि मिचाहापनको प्रवृत्ति टड्कारो देखिन्थ्यो । झगडा गरीगरी यात्रुसित पैसा छिन्ने मगन्ते, र हिँजडाको बथानले यात्रीलाई घरी न घरी सास्ती थपिरहेको हुन्थ्यो । यी सबै विखरावहरु सभ्य, स्वच्छ र आधुनिक भारतका कलंक हुन् भन्दा अत्युक्ति नहोला ।

रेल मधुवनी पुगेपछि नितु छोरी र सत्यार्थीको आगमन भयो । उहाँहरुले हाम्रा लागि घरमै बनाएको नास्ता (चना–चिउरा) लिएर आउनु भएको थियो । हामीलाई रेलमै नास्ता खुवाउनु भयो । बरौनी पुगेपछि सत्यार्थीको छोरी ज्वाइँको होटलबाट खान प्याकिङ भएर आयो । सोही खाना खाएर स्लीपरमा रात्रिविश्राममा पसियो । निद्रा नपरुन्जेलको समय ज्ञान साहिल गुरुका ज्ञानगुनका कुरा सुनेर चित्तलाई शान्त पारियो ।

सत्र गते विाहान ९:३० बजे दिल्लीको आनन्दविहार रेलवे स्टेसनमा सकुल उत्रियौँ । त्यसपछि रिजर्व बसबाट १२ बजे झटिकरा रोडास्थित ओशोधाम ध्यान केन्द्र पुगियो ।

चिया खाजा खाएर सातदिन रहनका लागि कोठाको बन्दोबस्तमा लागियो । नेपालबाट जाने मध्येका दश जना साथीहरु सामूहिक डोरमेट्री रुममा बसियो । दिल्लीको गर्मी उस्तै उग्र थियो । स्नान गरेर आ–आफ्नो बेडमा विश्राम गर्यौं । भोलिपल्ट प्राप्तकालीन डाइनामिक मेटिटेसनमा सहभागी भएर चियानास्ता खायौँ र नयाँदिल्ली घुम्न निस्क्यौँ । झटिकरा रोडबाट सार्वजनिक बस चढेर द्वारका मोड पुगियो । मेट्रो रेल चढेर सिधै चाँदनी चौक पुग्यौँ । भदौको गर्मी, लामो हिडाइँ र भोकले शिथिलताको तीब्रतम अनुभूति भयो । बिस्कुट पानीको सेवनले ऊर्जा मिल्यो । त्यसपछि लालकिल्ला दरबार घुमियो । सिङ्गो भारतमा ठाउँठाउँमा पुराना राजवंशको अनेकौँ राजप्रशादाहरु रहेछन् । काशीमा काशी नरेशको राजप्रसादा देखेको छु, लखनउ र जवलपुरमा पनि यस्ता राजप्रसादा देखेको छु । लालकिला चाहिँ समस्त भारतभरिका राजप्रसादहरुमा विख्यात राजप्रसादा मानिन्छ । यसलाई दिल्लीको पर्यायवाची किल्ला पनि भनिन्छ ।

यो लालपत्थरबाट बनेको रहेछ । चारैतिर वुर्जादार पर्खलले घेरिएको रहेछ । मुगलकालीन यो दरबार मुगल बादशाह शाहजहाँले बनाएका हुन् । तत्कालीन समयको जहानावादको नगर भन्दा पूर्व चाँदनीचोकको नजिकमा यसलाई बनाएका थिए । यो राजारानीको विलास र शान शौकातका लागि बनाइएको महल हो । यसले अहिले पनि दिनहुँ हजारौँ पर्यटकलाई आफूतिर खिचिरहेको छ ।

मुगल सम्राट शाहजहाँ आफ्नी पत्नी वेगम मुमताजलाई बहुतै माया गर्थे अरे । मुमताजको मृत्युपछि उनको मन आगरामा अडिएन । आगरामा ठाउँको कमी थियो । अत्याधिक गर्मी र उवडखावड जमिन थियो । तैपनि एघार वर्षसम्म त आगराबाटै शासन सञ्चालन गरे । त्यसपछि राजधानी सारेर सन् १६३८ मा दिल्लीको सातौं नगर शाहजहाँवाद ल्याए । तुरुन्तै १६३९ मा आगरा वा लाहोरको किल्ला भन्दा सुन्दर त्यस किल्लाको निर्माण कार्यको सुरुवात गराए ।

नौ वर्ष लाएर यसलाई पूरा गराइएछ । मुकर्रम खाँ, उस्ताद हामिद, अहवद व अली, वर्दी खाँ लगायतको अनेकौँ चर्चित कालिगढ तथा वास्तुकला विद्हरुको दिशानिर्देश र निगरानीमा यो किल्ला बनेको रहेछ । भनिन्छ यो किल्लामा सो समयको एक करोड रुपैयाँ खर्च भएको थियो अरे । सन् १६४८ को अप्रिल १६ मा बादशाह शाहजाँहले पहिलोचोटि यसमा प्रवेश गरेर आफ्नो गद्दी समालेका थिए ।

यो भव्य राजप्रसादमाथि बेला बेलामा अनेकौ विपत्तिहरु आइलागे । सन् १७१९ मा ठूलो भूकम्पको झट्का यसले व्यहोर्नुपर्यो । सन् १७३९ मा नादिर शाहले यसमाथि आक्रमण बोले । उनले शाहीकोष लुटेर फारस लागेको कुरा इतिहासले बताउँछ । सन् १७५९ मा जाट र मराठीहरुले यस भवनलाई तोडफोड गरे । सन् १७९८ गुलाम कादिरले आगो लगाएर भागे । यो लालकिल्ला अनेकौं ऐतिहासिक घटना, परिघटना र आक्रमणको साक्षी छ । शाहजहाँ र औरङ्गजेवको पालामा यो भवन सौभाग्यको प्रतीक थियो भने अकवरको पालामा राजकीय प्रतिष्ठाको प्रतीक थियो ।

यो दरवार न्यायनिरुपणको निम्ति पनि प्रयोग भएको इतिहास छ । अन्तिम मुगल शासक बहादुर शाह जफर, आजाद हिन्द फौज र महात्मा गान्धीका हत्याराहरुको तीन प्रमुख ऐतिहासिक मुद्दाहरु यहाँ चलेका रहेछन् भने सन् १७३७, १७५९, १७९८, १८५७ मा यस दरबारले भयंकर लुटपाटको सामना गर्नुपर्यो र सन् १९१७ मा भयंकर ठूलो भूकम्पको क्षति व्यहोर्नु पर्यो ।

१५ अगस्त १९४७ मा यसै लालकिल्लामा पहिलोचोटि तिरंगा झण्डा फहराएर पण्डित जवाहरलाल नेहरुले स्वाधिन राष्ट्रको घोषणा गरेका थिए । त्यसैले हरेक वर्ष अहिले पनि देशका प्रधानमन्त्रीले राष्ट्रिय झण्डा फहराएर राष्ट्रलाई यहीँबाट सम्बोधन गर्ने गर्दछन् ।

लालकिलाभित्रको लाहौरी दरवाजा, छत्ताचौक, नौबतखाना, दिवाने आम, कुर्सी रंगमहल, दीवाने खास, खास महल, मीजान व अदल, न्यायतुला, सम्भनबुर्ज, मोति मस्जिद, जफर महल, शाहवुर्ज आदि स्थान घुमियो । त्यसपछि होटलमा खाना खाइयो । सामान्य लुगाफाटो किनमेल गरियो ।
अक्षरधाम घुम्न मेट्रो रेलबाट प्रस्थान गरियो । अक्षरधामको आँगनमा उम्भिरहँदा मलाई आफ्नो जन्मदिवसको याद आयो– आज २०७६ भदौ १८ गते । भदौ १८ मेरो जन्मदिवस । आजबाट म पचास वर्षमा पदार्पण गरेको दिन । आज भन्दा ५० वर्ष अघि २०२७ भदौ १८ को गोधूली बेलामा म धर्तीमा अवतरित भएको थिएँ अरे । पचास वर्ष प्रवेशको गोधूली बेलामा म नयाँदिल्लीको अक्षरधामको आँगनमा छु ।

अक्षरधामको गेटमा पाइला राख्ता मनमा एक संकल्पको धुन उठ्यो । अक्षरधाम तिम्रो आँगनीबाट म नितान्त नवीन मनुष्यको रुपमा जन्मिएको छु । अब जन्मिने छु त म अक्षरहरुकै साथमा जन्मिनेछु । अक्षरहरुकै रुप र कलेवरमा जन्मिनेछु । म आजीवन अक्षरहरुकै संगतमा रम्नेछु । आकण्ठ अक्षरदहमै पौडिनेछु । अक्षरकै समीपमा रहनेछु । अबको बाँकी जीवन र समय पनि अक्षर साधनामा नै लीन लवलीन रहनेछु । जहाँ हुन्छु म अक्षर शिविरमै हुन्छु । जो सित बोल्छु अक्षरसितै बोल्छु । जोसित विवाद संवाद गर्छु अक्षरसितै गर्छु । गर्छु त अक्षरब्रह्माकै रचना गर्छु । गाउँछु त अक्षर अर्चनाकै गीत गाउँछु । समयलाई केही चिजमा अनुदित गर्छु भने अक्षर आनन्दमा अनुदित गर्छु । अक्षरकै वन्दना गाउँछु । पुज्छु त अक्षर दिपलाई पुज्छु । रुझ्छु त अक्षरवर्षामै रुझ्छु । हृदयमा यसरी एक पुकार उठ्यो । यसलाई शुभ संकल्पको रुपमा हृदयमा समेटेँ ।

अक्षरधामका दृश्यहरु अवलोकन गर्दागर्दै सन्ध्या ओर्लिन् धरामा । एउटा गाडी रिर्जव गरेर फटिकरा रोड फर्कियौँ । आवास गृह आइपुग्दा रातको नौ बजिसकेको थियो । खाना खाएर विश्राममा पल्टयौँ ।

त्यसपछिका चारदिन मेडिटेसन शिविरको गहन साधनाका बिचबाट गुज्रियौँ । भदौ २३ गते बृन्दावन मथुरा भ्रमणको योजना थियो । विहान ठीक ६ बजे रिजर्व बसबाट मथुरा प्रस्थान गरियो । बाटोमा चियानास्ता खाएर १० बजे बृन्दावन पुग्यौँ । बृन्दावन सुन्दर वनकुञ्जले ढाकेको क्षेत्र होला भन्ने मनमा परिकल्पना थियो । त्यस्तो होइन रहेछ । मन्दिर र सडकमा बाँदर आतंक डरलाग्दो किसिमको थियो । जीवन मेहमानको हातबाट रुमाल थुतेर लाग्यो । अर्को एकजनाको चश्मै उडाइदियो । बाँके विहारी मन्दिरमा एकजना ठग पण्डाले ठग्न खोज्यो । नेपालबाट गएको समूहले उनीहरुको कुटिल हर्कत नंग्याउने काम गरेपछि पण्डासित चर्को भनाभैरी चल्यो । हामीलाई गाइड गर्ने गाइडको बेइमानीले यो सवै घटना घटेको थियो । इस्कोनको कीर्तन मन्दिर हेरियो । होटलमा खाना खाएर त्यसपछि मथुरातिर लगियो ।

मथुरा श्रीकृष्णको जन्मभूमि । यो ठाउँ उत्तरप्रदेशमा पर्दोरहेछ । मथुरा बृन्दावनमा रहेका प्रेममन्दिर, राधाकुण्ड, श्यामकुण्ड, गोवर्धन पर्वत, वरसाना, नन्दगाउँ हेर्न लायक चिजहरु थिए । यो ठाउँ एक ऐतिहासिक स्थल थियो । आज भन्दा ५२५७ वर्ष अगाडि कृष्णजी यही थलोमा जन्मेका थिए । गीता ज्ञानको प्रणेता कृष्णजीको बारेमा अनेकन आख्यान उपाख्यानहरु चर्चित छन् ।

प्राचीन भारतको यही मथुरा सहरमा कृष्णजीको अवतरण भएको थियो । उनलाई आमा देवकीले कंशको कारागृहभित्र जन्माएकी थिइन् । कृष्ण जन्मेको त्यो कारागार पनि अवलोकन गर्न पाइयो । कथाले भन्छ –

तत्कालीन समयमा त्यहाँको राजा कंश थियो । कंशले आफ्नी बहिनी देवकीको विवाह बशुदेवसित गरिदिए । बहिनी ज्वाइँ देवकीवशुदेवलाई रथमा राखेर कंश आफै पुर्याउन गएको थियो । बाटोमा नारदमुनिले कंशलाई भनिदिए–“जसलाई तिमी बहिनी ज्वाइँको रुपमा पुर्याउँदैछौ । उनैको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ ।

यो कुरा थाहा पाएर कंश रिसले आगो भयो । भ्यानबाट तरबार थुतेर बहिनीलाई काट्न खोज्यो । तर, वशुदेवले हात जोडी विन्ती गरे ।

“बरु जति बच्चा जन्मिन्छन् ती सबै हजुरलाई सुम्पिन्छौँ, ज्यान चाहिँ बचाइदिनुहोस् ।” वशुदेवले यति कबुल गरेपछि छोडिदियो ।

सातओटा बच्चा जन्मनासाथ भुइँमा पछारेर मारिदियो । देवकीलाई आठौं गर्भ रहेपछि कडा निगरानीका साथ जेलमा हालियो । जेलको बाहिर भित्र कडा पहरेदार राखियो । कृष्ण जन्मदाको बखतमा सबै पहरेदारहरु निद्राले बेहोश बने । कृष्ण जन्मेको कुरा थाहा भएन ।

वशुदेवलाई निर्देश प्राप्त भयो – गोकुलको नन्दगोपको घरमा भरखरै एक कन्याको जन्म भएको छ । यो नानी लगेर यशोदाको काखमा सुताएर उनकी छोरी लिएर आउनू ।

लिला भयो । वसुदेव र देवकीलाई लगाइएका कंशका सबै नेल-हतकडी खुले । बाटोमा यमुना नदी थिइन् । यमुनाले पनि बाटो छोडिदिइन् ।
यशोदाको काखमा रहेकी छोरी उठाएर कृष्णजीलाई त्यहाँ छोडियो । नानी जन्मेको कुरा कंशले थाहा पाएपछि देवकीको काखकी बच्ची खोसेर ढुङ्गामा पछार्दा नानी आकाशतिरै उडेर भविष्यवाणी गरिदिए– मलाई मार्न सक्तैनस् तलाई मार्ने मान्छे गोकुलमा सुरक्षित छ …।

यस कुराले कंश हतप्रभ बन्यो ।

पिता वशुदेवले कृष्णजीलाई गोकुलवासी नन्दगोपालका घरमा छोडेकाले र उनको बाल्यकाल नन्दगोपालका घरमा बितेको हुँदा उनलाई गोपाल नन्दलाल भनिएको रहेछ । कृष्णजीले आफ्नो जीवनमा गरेका कर्महरु तिलस्मीपूर्ण छन् ।

कृष्णको जन्मस्थली परिभ्रमण गर्दागर्दै त्यत्रो मानव भीडमा सँगैको साथी विन्देश्वर मण्डलजी हराउनु भयो । उहाँलाई खोज्दा दुईघण्टा समय व्यतित भयो । पुलिसलाई सूचना दिइयो । बल्लबल्ल उहाँ भेटिनु भयो । पाँचबजे मथुराबाट दिल्ली फिर्ता भयौँ । राति आश्रममा आएर खाना विश्राम । भोलिपल्ट २४ गतेका दिन आश्रमकी आमा धर्मज्योतिसित विदावारी भएर आनन्दविहार रेलवेस्टेशन आयौँ । गरिब रथ चढेर घर फिर्ता भयौँ ।
समग्रमा दिल्ली मथुराको भ्रमण सुखदै रह्यो । तर अत्याधिक गर्मी, नुनिलो पानी र दिल्लीका सबै ठाउँ घुम्न नपाएका सन्दर्भहरु मनमा बिझाइरहने कुरा थिए । तथापि समग्रमा दिल्ली मथुरा यात्रा सार्थकै रह्यो ।