दिनभरि दस महिने छोरीले जे खाए पनि बान्ता गरिरही, ओखती पनि अडिएन। साँझसम्म छोरी लल्याकलुलुक भई। अनि दौडाइयो अस्पतालतिर।सलाइन पानी लगाएर, सुइबाटै बान्ता रोक्ने औषधि दिएपछि, भर्ना गरियो।स्टाफ भएकोले डिस्काउन्टमा सेमी क्याबिन बेडमा बस्न मिल्थ्यो र त्यहीँ लगेर छोरी सुताएँ, झोला खाटमुनि घुसार्दै थिएँ, अचानक अपरिचित नारी स्वरले बोलायो।

“ओइ छोरी ।”

मैले उनलाई चिनिनँ, म पक्क परेर अनुहारमा घोरिरहेको देखेर उनैले स्पष्टीकरण दिइन् ।

“तिमी शोभा हैनौ र ? मलाई बिर्सियौ ? माया अन्टी के त ? विक्रम विनोदको ममी ।”

मलाई बल्ल उनको अनुहार स्पष्ट हुँदै आयो, त्यही मीठो मुस्कान, चिउँडोको कोठी, उही पोइल गएकी माया अन्टी ।

“आमै नि अन्टी, कहाँबाट आइपुग्नुभयो ? अलि मोटाउनुभएछ नि, मैले त ठम्याउन नसकेकी । हजुरले त मलाई चिनिहाल्नुभो त कसरी ?”

“तिमीलाई त म कति सम्झिन्थेँ नि शोभा, तिमी त मेरी छोरी ,साथी दुबै थियौ। यो मेरी छोरी जन्मिँदा पनि तिमीलाई कति धेरै सम्झिएँ, यो छोरी हुँर्कदा, टुकुटुकु हिँड्दा नि तिमीजस्तै देख्थेँ, कति सम्झिन्थेँ कति।”

है! अन्टी, बहिनी हुन् ? कति वर्षकी भइन् ? के भयो बिमार ?

“अहिले ठ्याक्कै पाँच पूरा भएर छ वर्षमा लागी। गाडीमा हिँडाएर भमिट भएको पछिसम्म रोकिएन । त्यही भएर यहाँ ल्याएको, भर्ना गरिदियो ।”

“कहाँ हुनुहुन्थ्यो अन्टी यतिका वर्षसम्म ? मैले गम्भीरतापूर्वक सोधेँ ।

ऊ उहाँ अँकल, हामी त चितवन बस्छौँ, नारनघाटमा।

मैले अन्टीले अङ्कल भनेर चिनाएको मान्छेलाई “नमस्ते” भनेँ।

गोरो गोरो, ठिक्क मोटो, मँगोलियन अनुहारको मोहडा भएको लक्का जवान मान्छे रहेछ । अलिकति हाँस्दै नमस्ते फर्कायो।मैले उसलाई नियालेर हेरेँ, यो व्यक्ति त्यो गाडीको सहचालक “रिखे” त हुँनै सक्दैन । गाउँभरिका मान्छेले त माया अन्टीलाई “रिखे”सँग पोइला गई भनेर भन्थे।

लगभग रातको बाह्र बज्न आँटिसकेको थियो, दुईवटा बिरामी बच्चाहरु मस्त निन्द्रामा थिएँ। अब हामी पनि सुतौँ भनेर, माया अन्टी आफ्नी छोरीसँगै बेडमा सुत्नुभयो। अङ्कल बेडमा निदाए। मलाई भने माया अन्टीसँग बिताएका बाल्यकालका पलहरु झलझली स्मृतिमा नाच्न थाले । त्यसबेला उहाँ सुत्केरी हुनुहुन्थ्यो, मेरो आमा दुधमा पकाएको सुत्केरी कुराउनी एउटा कचौरामा लिएर उहाँलाई भेट्न जाँदा म पनि सँगै गएकी थिएँ।

शोभा लामिछाने

आफूलाई ल्याइदिएको कुराउनी एकचम्चा मेरो हातमा राखिदिनुभयो, मैले खाइहालेँ बहुत मीठो थियो । मैले मुख मिठ्याएको देखेर उहाँले सोध्नुभयो, ‘अझै खान्छेउ ?’

“हा, सुत्केरीको खान्की केटाटीलाई किन दिने तिमी खाउ, खाइहाल ताततातै, जा नानी बाहिरतिर खेल।”मेरी आमाले मलाई थप कुराउनी खानै दिनुभएन। बाहिर पिँढीमा साइली हजुरामा गमक्क पर्दै बोलिरहनुभएको थियो।

“मेरी माइली बुहारी त देबी जस्ती छ, लच्छिनकी, बिहे अर्नी बित्तिकै छोरोको जागिर थाइ भयो, वर्षदिनमा नाती पाइदिइहाली। ऊ जेठीको तिनवर्ष भैसक्यो केही सुरसार छैन, उल्टै यता र उता दशतिर दुख्छ भनेर घरको काम पनि माखो मार्ने होइन।”

“यस्तै त हो, ढिलोचाँडो पाउलिन् नि, ल जान्छन् हामी।” आमा निस्किनुभयो म आमाको पछिपछि लागेँ।

त्यसपछि पँधेरामा, घाँसकाट्न जाँदा, सँधै माया अन्टीको प्रशंसा सुनिन थाल्यो।

“कति टिलिक्क गाग्री टल्काएर माझ्छे ।” “मान्छे पनि उस्तै राम्री।”, “एकैछिनमा घाँसको डोको मुठो भारी पुर्याएर आउँछे अति छरिती ।”

समय बित्तै गयो, अन्टीले अर्को भाइ पनि पाउनुभयो। विक्रम, विनोद र म सँगसँगै चुङ्गी, ढ्याक, अनि छोइडुम खेल्थ्यौँ । भाइहरु खेल्ने साथी थिए भने अन्टी पानी भर्दा र घाँस काट्दाकी। मंसिरमा धान काटिसकेर गाईवस्तुलाई फुकार खुवाउन चराउन जाँदा पनि हामी सँगसँगै जान्थ्यौँ।

एउटा धानको कुन्युको छायाँमा बसेर नुनपिरोमा ढोबेर निबुवा खाँदैगर्दा अन्टीले भन्नुभएको थियो, “मेरो बिहे गरेर आउँदा तिमी टुकुटुकु हिन्थ्यौँ, पुटुपुटु बोल्थ्यौ, तिमीलाऐ देखेर मलाई कस्तो छोरी पाउन रहर लागेथ्यो, भगवानले मलाई ठगेर दुईवटा छोरैछोरा दिए । मेरो छोरी त तिमी नै हौ है, अब अर्कोवर्ष तिहारमा मामाघर नजाऐ है, यहीँ तिम्रो दाइ अनि यी दुईवटा भाइलाई नि टिको लाइदेऊ ल।”

“ल हुन्छ यहीँ बसेभने त लाइदिन्छु टिका । आमाले फेरि मामाघरमै लैजानुहुन्छ कि ।”अर्को वर्ष दशैँबिदामा घर आउनेबेलामा भिरबाट लडेर माया अन्टीको श्रीमान् बित्नुभएछ। मैले भेट्न जाँदा, अन्टीलाई देखिनँ, भकारीले छोपिएर हुँ हुँ गरेर रोइरहेको आवाज मात्रै सुनेँ।

“अलच्छिनीले मेरो होनहार छोरो टोकी, कस्ता दिनमा भित्राइछु नि यो टोकाइलाई” साइली हजुरामा पनि रोइरहनुभएको थियो।
एकदिन अन्टी शिरको पाउ सेतै लुगामा पँधेरामा पानी लिन आउनुभयो । म हान्निएर अन्टीको हात समात्न गएँ।

“परै बस नछोऊ” अन्टीले भन्नुभयो।

नछुने हुनुभएको हो ? मैले मुस्कुराएर सोधेँ।

“होइन पैंतालीस दिन बारेको भएर ।” उहाँ नमुस्कुराई जवाफ फर्काउनुभयो।

दशैँ बितेर तिहार आउनै लागेको थियो, पँधेरा छेउकै चौतारोमा हल्ली खल्ली मच्चियो।

“आइमाईको बुद्धि कुन्नि काँ हुन्छ भन्थे ।”

“लाजमर्नु, सेतै लुगामा, कति खप्न नसकेकी होली नकच्चरी ।”

“दुईवटा छोरा थिए, पोइको अंश पाइहाल्थी, कुबुद्दी लागेर यो घर न भरको खलासीसँग नि के गएकी होली ।”

मैले घर आएर आमालाई सोधेँ।

“तेरी माया अन्टी पोइला गई रे, त्यै रिखे खलासीसित, वर्षदिन कुरेर गएकी भए नि हुन्थ्यो नि राँणी, घुसघुसे रैछे।”

ममी,,, अचानक छोरी रोएर मेरो स्मृति भङ्ग भयो।

थुमथुमाएर सुताएँ।

यो अङ्कल भनेको मान्छे त रिखे होइन, लौ यी अन्टी कसरी कोसँग कतिपटक पोइला गइन् होला ? मेरो दिमागमा पनि, केटासँग बोल्ने, लभ गर्ने, र पोइला जाने स्वास्नीमान्छे खराब हुन् भन्ने विश्वास थियो । मलाई त्यति माया गर्ने, छोरी मान्ने अन्टीलाई मैले पोइल गएकी अन्टी भनेर घृणाले हेरेँ, अनि हटाइदिएँ आफ्ना यादहरुबाटै। बितेको बाह्र वर्षमा मैले एकपटक पनि अन्टी कहाँ होलिन्, दुखमा, सुखमा, के गरिरहेकी होलिन् भनेर सम्झिइनँ। तर अन्टीले भने मलाई सँधै सम्झिरहेकी रहिछन्। म अर्काकी छोरीलाई त यसरी सम्झिनेले आफैले पाएका ती सुनका पाताजस्ता नाबालक छोरा कति सम्झिइन् होला, कति रोइन् होला ? आफ्नो बच्चाको यतिविध्न माया लाग्दोरहेछ, कसरी छोडेर पोइला गइन् होला ? केही विवशता पो थियो कि ? अचानक मलाई अन्टीप्रति माया र सहानुभूति एकैसाथ पलायो । निदाएकी उनलाई शिरदेखि पाउसम्म नियालेँ। म ननिदाइकनै छर्लङ्ग उज्यालो भयो।

“छोरी चिया नास्ता के खान्छ्यौ ? अङ्कलले ल्याउनुहुन्छ।”

मलाई अन्टीसँग एकान्तमा धेरै गफ गर्न मन लागेको थियो । एकछिन भए पनि अङ्कललाई हटाउने उपाय लगाएँ ।

“यो क्यान्टिनको त मीठो हुन्न, गेटबाहिर मनकामना खाजा घरमा तात्तातो समोसा र मिठो चिया पाइन्छ।”

“त्यसोभए त्यतैको समोसा चाखम् हामी पनि ” अन्टीले समर्थन गर्नुभयो । अङ्कल निस्कनेबित्तिकै मैले झम्टेर अंकमाल गरेँ। मेरा आँखा यसै वर्षिरहेका थिए । अन्टीको मुहार भने खासै परिवर्तन भएको थिएनँ । आँसु पुछ्दै सोधेँ,

“अन्टी तपाईंलाई त रिखेसँग पोइला गएको भन्छन् त गाममा।”

“हो है बरा रिखेलाई पो गाल परेछ, मैले त अघिल्लो दिन देवघाट जान के कसरी बस चढ्ने ? कति खर्च लाग्छ भनेर सोधेँकी थिएँ। तँलाई आफ्नो आमाको माया लाग्छ भने, म देवघाट गएको कुरा कसैलाई था नदे है भनेर हिनेकी थिएँ।

“अनि त्याँदेखिबाट रिखे पनि गाममा आएन नि त अन्टी।”

बरा उसलाई कुटे रे नि त गामले ले, बेचेर आइस् ? फिर्ता नल्याए मारिदिन्छम् भनेर धम्की दिएछन् । मोरो डरले भागेर उतै इन्डियातिर काम खोजेर बसेछ । पोहोर साल मेरै होटलमा टुप्लुक्क बास बस्न आयो र थाहा पाएँ मैले।

अनि तपाईं किन जानुभएको ? भाइहरुको माया लागेन ? याद कति आयो होला ? यो अङ्कलसँग कसरी भेट भयो ?

“मैले कसैलाई भनेकी छैन, छोरी तिमी पनि कसैलाई थाहा नदेऊ है। मेरो पीडा अर्कै छ।”

“भन्नू न अन्टी, यो छोरीको कसम, म कसैलाई भन्दिनँ।”

खासमा अङ्कल बितेको पन्ध्र दिनजति पछि, मेरा देवर बाबू मेरो कोठामा आएर मसँग, “भाउजू! तपाईंलाई बिहे गर्छु म” भन्न थाले । यस्तो भन्नु हुँदैन, भाउजू त आमा बराबर हो भनेर सम्झाएँ। अर्को दिन पनि राति कोठामै छिरेर हात हाल्न थालेपछि हजुरामालाई बोलाएर भनेँ, उहाँले उल्टै मलाई नै गाली गर्नुभयो, “मोहनी लगाइस् होला अलच्छिनी बोक्सी” भनेर ।

तेस्रो दिन पनि देवरले त्यही पारा देखाएपछि, मैले मेरा जेठाजुलाई भनेँ, “दाइ भाइलाई सम्झाउनुस्, म यसै दुखमा छु, गाउँमा इज्जतको पनि ख्याल गर्नुपर्यो, कि बाबुको बिहे गरिदिनुस्।”

दाइले त्यो दिन भाइलाई बेसरी गाली गर्नुभयो, अनि त्यस रातदेखि देवर मेरो कोठामा पसेनन्।तर अर्को रात मेरो कोठाको चुकुल अचानक बिगारिएको रहेछ, अग्लो पनि त्यहाँ थिएनँ, ढोका ढप्काएर ननिदाई बसेकी थिएँ, अचानक दाइभित्र पसेर अग्लो बन्द गर्नुभयो।

“दाइ के गर्नुभएको हजुर त झन् मेरो अविभावक भनेर सहयोग मागेकी, बिन्ति बाहिर जानोस्” म रोएँ तर उनले मेरो मुख थुन्दै भने, “हेर, मेरा छोराछोरी छैनन्, यी दुईवटा छोरा मेरै भए, तेरी जेठानी सँधैकी रोगी छे, मलाई खुसी पार, तेरो र छोराहरुको लालनपालन जिम्मा मेरो भयो । बढ्ता कराइस् भने गाम्लेले घरबाट निकाल्ने तँलाई नै हो।” छोराहरुसँगै बस्ने मन भए खुरुखुरु मान् ।”

मैले पन्छाउने स्थिति नै थिएन, अल्नो खाना र पिरले गलेको ज्यान, बाघले सिनो लुछेझै लुछे । मेरा छोराहरु भुइँमा निदाइरहेका थिए । छोराहरुकै मायाले दैनिक त्यो अत्याचार सहेकी थिएँ। एकदिन फेरि जेठाजु र देवर सँगसँगै आए, अनि जेठाजू ले भने, “हेर बुहारी कान्छाले हाम्रो सम्बन्ध थाहा पाइहालेछ, बाहिर भन्दिन्छु भन्छ बरु यसलाई नि खुसी पार्दे।”

म छाँगाबाट खसेजस्तै भएँ । हिजो मेरो श्रीमान जीवित हुँदासम्म कसैले मलाई आखा जुधाएर हेरेको थिएनन् अहिले उनी जानेबित्तिकै घरबाटै यस्तो पाप ?

“हुँदैन पापीहरु, म आफ्नै भाइ कि विधवा हुँ, अलिकति भगवानको त डर मान ।”म चिच्याएँ

“बड्ता कराइस् भने तेरो र तेरा छोराहरु दुबैको घाँटी निचोरेर लास पारदिन्छम् ।” देवरले जबरजस्ती मुख थुनेर पछारे मलाई।

त्यस रात पालैपालो पहिले देवरले र पछि जेठाजुले मलाई बलत्कार गरे । अब यसरी बस्नुहुन्न । कतिदिन के के सहने?

मर्न मन लागेन, बरु जोगी भएर बाँचे पनि पछि छोराहरू भेट्न पाउँला । नातीलाई त हजुरामाले मायाले हुर्काउलिन् । धन्न मेरा छोरी भएनन्, यी छोरालाई त म नभए पनि कसैले बलात्कार त गर्दैनन् भन्ने ठानेँ। अनि भागेकी हुँ। अन्टी घुँक्क घुँक्क गर्दै रोकिनुभयो।

कठै मेरी अन्टी, यस्तो शोषणमा परेर, जो पोइला पनि होइन देवघाट गएकी थिइन् । उनैलाई समाजले कति गाली गर्यो। हिजोसम्म कत्रो सम्मानले नमस्ते गर्ने ती ठुलबा र अङ्कलको अनुहार सम्झेँ, मलाई भित्रभित्रै तिनीहरुलाई कुट्न मन लाग्यो, तिनीहरुको अनुहारभरि थुक्न मन लागेर आयो। अन्टीलाई कति पीडा भयो होला।

“अनि देवघाटमा कसरी बस्नुभयो त ? अङ्कलसँग कसरी भेट्नुभयो ?

“ल ल तात्तातो समोसा, ल्याउँदा ल्याउँदै सेलाइसक्यो ।”

अङ्कल आइपुगेपछि म रोकिएँ ।

समोसा खाइसकेपछि फेरि अङ्कल होटलमा नुवाइधुवाइ गर्न जानुभयो ।

धन्न फेरि मैले अन्टीसँग कुरा गर्ने मौका पाएँ ।

अनि कसरी भेट्नुभयो अङ्कललाई ?

म देवघाटमा आश्रममा पुगेँ, त्यहाँ बुढाबुढीलाई खाना पकाउने, भाँडामाझ्ने काम गरेर बसेँ। यी अङ्कल छेवैमा रासन दोकानमा काम गर्थें। साहुजीले रक्सी खाएपछि लात्ती लात्तीले कुटेको देखेर माया लाग्यो अनि मैले सोधेँ। घर कता के भनेर।

टुहुरा रहेछन् बरा उतै रिसिङतिरका । अनि मैले उनलाई प्रस्ताव राखेँ, नारनघाटमा खाना दोकान खोलेर बस्ने भने पैसा कमाइन्छ रे, कति साहुजीको कुटाइ खाएर बस्छौ त नि ?

“एक्लैले कसरी भात होटल खोल्ने ? उनले पहिल्यै हरेस खाए।

“म पनि पकाउने भाँडा माझ्ने गरम्ला नि।”

मान्छेले हामीलाई बात लगाउलान् नि सँगै काम गर्दा ?

बातसँग डराएर लात खाएर बस्छौ त ? यति भनेपछि उनी हाँसे, म पनि हाँसेँ। हामी त्यहाँबाट भागेर नारनघाट आएम्।

तिनवर्षसम्म हामी मात्रै बिजनेस पार्टनर भएर बसेम् कसैलाई दिदीभाइ भनेम् कसैलाई मितिनी दिदी, कसैलाई बुढाबुढी हुम् भनेम् तर तिनवर्षसम्म यिनले मलाई कहिल्यै नराम्रो नियतले हेरेनन् । न कहिल्यै एक्ली महिला भएको फाइदा उठाउन खोजे।

यिनको बानीले बरु म नै यिनीप्रति आकर्षित भएँ हुँला । अनि एकदिन आँट गरेर बिहे गर भाइ, तिम्रो गाउँको केटी खोजेर भनेँ। हाम्रो व्यापार राम्रो चलेको थियो । पैसाले घडेरी किन्न उसलाई नागरिकता बनाउन गाउँ पठाएँ । बिहे गरेर एउटी दुलै लिएर आऊ, मलाई नि काममा सजिलो हुन्छ भनेर हाँस्दै बिदा गरेको त केटो रुँदै फर्किन्छ।

म तिमीसँग बिहे गरे गर्छु नत्र यसै ठिक छु । भन्छ।

मलाई त झन् के खोज्छस् कानो आँखा भनेझैं भयो ।

हामीले बिहे गरेर सँगै उसको गाउँ गयौँ। उसका आफन्तले को ल्याइस् ? कुन जात ल्याइस् भनेनन्, बरु खुसी भएर आशीर्वाद दिए । हामीले दुबैको नागरिकता बनायौँ। घडेरी किन्यौँ । दुई वर्षमा घर बनायौँ, घर बनेपछि छोरी पनि जन्मी । अहिले होटल, गेस्ट हाउस, कामदार राखेर चलाउँछौ । अङ्कलले नयाँ कार किनेको भएर त्यसमै घुम्न पहिलोपटक पोखरा आएको हो, ठ्याक्कै तिमीसँग भेट भयो ।अन्टीको सफलताको कथासँगै उहाँको उच्च आत्मविश्वास र सन्तोष झल्किएको थियो।

अन्टी अङ्कलले फेरि अब सम्पति कमाएपछि तरुनीतिर आँखा लगाउलान् नि, मैले जिस्काउने पारामा सोधेँ।

त्यस्तो हुन्न छोरी, माया, विश्वास र सन्तुष्टिलाई उमेरको मतलब हुँदैन रहेछ ।

त्यै पनि केटामान्छे को के भर हुँदोरहेछ र अन्टी ?

“सबै केटामान्छे खराब हुँदैन रहेछन् छोरी ।”

“ल ल डाक्टर राउन्डमा आउनुभएको छ । के के समस्या छ भन्नू है” सिस्टरले ढोकाबाट चिच्याउनु भयो।

हामी दुबै उठेर डाक्टरको स्वागतमा नमस्ते गर्यौ। डाक्टरले दुबै ठिक भइसके, दुबै डिस्चार्ज भन्नुभयो।

कागजात मिलाएर हामी बिदा भयौँ। जाँदाजाँदै अन्टीले भन्नुभयो, “छोरी, कसैलाई नभन है, भाइहरु र तिम्रै ममीलाई पनि।”

मैले हस् भनेँ ।

अनौठो खुसी साथै अन्टीको पोइला जानुको पछाडिको पीडादायी सत्य बोकेर म घर फर्केँ। माया अन्टीसँगको यो भेटले मलाई दुईवटा कुरा सिकायो – हरेक पोइला जाने नारी गलत होइनन् र सबै पुरुष खराब हुँदैनन् । आशा छ अन्टीसँग फेरि फेरि भेट्न पाउँ, अनि सँधै उहाँको मुहारमा खुसी, र सन्तोषको मुस्कान देख्न पाऊँ।