हजारौं असफलता सयौं सपनाहरूको हत्या कतिपय जान-अन्जानमा गरिएका गल्तीहरुको अपसोच अनि अनगिन्ती निराशा बिच आफूले आफैसँग लाज पचाएर बनावटी हाँसो हाँस्दै चलिरहेको जिन्दगीमा आफू र आफ्नो भाग्यप्रति गुनासो त कति हो कति । हरेक बिहान नयाँपनसँगै एउटा नयाँ सुनौलो बिहानी आउथ्यो तर मलाई कहिल्यै नयाँ लागेन । बिहानको उदय दिउँसोको दैनिकी र रातको अस्तित्वसँग म जबर्जस्ती आफ्नो सहभागिता जनाइरहेको छुझैँ लाग्थ्यो । मैले आफूलाई नियालेर हेर्दा हरेक पटक गोरुसँग तुलना गरेर हेर्थेँ अनि त्यो उचित लाग्थ्यो किनकि असारको महिनालाई एकपटक स्मरण गरौँ बिहान सबेरै गोठमा कोही आउँछ, केही खानेकुरा दिन्छ रुचिनरुची खायो, घाँटीको बन्धन फुकाइदिन्छ अनि गोठदेखि नै लठ्ठीको प्रहार सुरु हुन्छ । बल्लतल्ल मन नलागी नलागी खेतमा पुग्यो । अब लठ्ठीको प्रहारले तीव्र गति लिन्छ । सकिनसकी जोतिनै पर्छ , दगुर्नै पर्छ। मैले यसरी नै आफूलाई मूल्याङ्कन गरिरहन्छु कि मन नलागी नलागी बाच्नु अनि हरेक परिस्थितिको प्रहारमा पनि सकिनसकी आफूलाई हिँडाउनै पर्नु । त्यति सहज थिएन तर पनि आफूलाई हिडाइरहेँ ।
यो सब सोचभित्रको यथार्थ निकै कहालीलाग्दो छ कुनै समयमा व्यक्त गरौंला बाच्न मन नभएर पनि बाचिरहेको एउटा सत्य हो । जिन्दगीमा एकपछि अर्को बज्रपात पर्नु सामान्य जस्तै भए पनि हरेक बज्रपात सहनु उत्तिकै कठिन थियो । आफ्नो क्षमताभन्दा ठुलो बोझ उठाउन कहाँ सकिने रहेछ र ठुलै बाढी आएर सर्वस्व बगाएको जस्तो चुनौती अगाडि आइलाग्यो । मैले क्षणभरमै आफूलाइ शून्य पाएँ । परिस्थिति अहिलेसम्मकै नाजुक बन्न पुग्यो । त्यसको नतिजा मैले अब देश नै छोडेर वैदेशिक रोजगारलाई अङ्गाल्नुपर्ने बाहेक मेरो अगाडि अरु विकल्प भेटिएन । त्यसैको प्रभाव हो म अहिले विगत एक वर्षदेखि युनाइटेड अरब इमिरेट्स (यु.ए.ई.) मा छु ।
सयौं चुनौतीको सामना गरेर पनि आफ्नो एउटा पहिचान बनाउन सङ्घर्ष गरिरहेको पत्रकार सुजन यो मेरो एउटा लुकेको यथार्थ हो अहिले खाडीमा सङ्घर्ष गर्दै छु भन्ने कुरामा कत्ति पछुतो छै,न किनकि देशको राजनैतिक स्वार्थ र खेलको कारण मजस्ता लाखौं युवा युवतीहरु वैदेशिक रोजगारमा छन् । आफ्नै बाबा-आमाले अनाथ आश्रममा लगेर छोडेको सन्तानले कसको स्नेह पाउन सक्छ र ? त्यस्तै हो केवल परिवारको बिहान बेलुका खाने आवश्यकता पूरा गर्न स्वदेश नै छोड्न परेपछि अर्काको देश सहज त कसरी हुन सक्छ र ? असहज नै हुँदा पनि परदेशमा हरेक नेपालीको अनुहारमा खुसी देख्छु तर त्यो खुसी आफ्नोपन र आफ्नाको स्पर्श बिना प्रष्टसँग खल्लो देखिन्छन् ।
जब परिस्थितिको सामना गर्न सकिन्न, त्यसबाट बाहिर निस्किन निकै हतार हुन्छ हो ,त्यस्तै भएको थियो मलाई पनि त्यसैले हतारलाई नै स्थान दिएर छिटो छरितो हुने भिजिट भिजालाई अङ्गालेर म केही दिनमै नेपाल छोडेर यहाँ आएको थिएँ । एउटा उखान छ नि हतपतको काम लतपत ठ्याक्कै त्यस्तै भयो । देश छोड्नु नै समाधान सोचेर म हिडिहालेँ अब यहाँ आएर गर्नुपर्ने त केही काम हो तर यहाँ कसैले कतिबेला कोही आउला र काम दिउला भनेर हातमा काम लिएर बसेका हुँदैन रहेछन् । उल्टो काम खोज्ने सिलसिलामा कतिसम्म दुख भोग्नु पर्छ र अझ पहिलादेखि नै यही बस्दै आएका नेपालहरुबाट नै नेपालीले कति सास्ती झेल्नुपर्छ भन्ने कुरा त अर्कोपटक लेखौला जे होस निकै कष्ट सहदै करिब दुई महिनाको अलपत्र बसाइपछि बल्लतल्ल एउटा काम भेटेँ ।
परदेश न हो यहाँ जीवनको टुङ्गो हुँदैन । त्यसैमाथि बाच्नुको कुनै अर्थ नभेट्दा पनि बाचिरहेको मेरो जिन्दगी धेरै कठिनसँग बितिरहेको थियो । पल पल मर्ने सोचमा डुबेर पनि मेरो मृत्युपछि हुने परिवारको बिचल्ली सम्झिएर आफूलाई त्यो सोचको गहिराइबाट समतल उचाइसम्म ल्याउने क्रम जारी रहिरह्यो ।
डिजिटल प्रविधिको विकाससँगै आएका सामाजिक सञ्जालका अनेकौं एप्लिकेसनहरु मध्य पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक यो मेरो लागि केवल सामाजिक सञ्जाल थिएन, आफूले आफूलाई सन्तुलनमा राख्नको लागि गरिने प्रयासहरु मध्यबाट मलाई सम्हालिनको लागि सहारा बन्ने केही थियो भने त्यो टिकटक थियो । विगत ३ वर्षदेखि म फेसबुक लगायत अन्य सामाजिक सञ्जालमा थिइनँ । टिकटकमा आफ्नो समयलाई खर्च गरेर केही पीडाहरुको लागि सान्त्वना किनिरहेको थिएँ । मैले टिकटकमा प्रस्तुत गरेको एउटा रचना मुक्तकमा आत्मीय प्रतिक्रिया सहित एकजना युवतीको साथी बन्ने अनुरोध आयो । म त्यति चर्चित अनि लोकप्रिय प्रयोगकर्ता थिइनँ तर पनि आफ्ना साहित्य सृजनाको न्याय हुनसक्ने गरी धेरैजनाले प्रतिक्रिया दिनुहुन्थ्यो त्यसैमा सन्तुष्ट हुने गर्थेँ । नयाँ व्यक्तिको प्रतिक्रिया सहित साथी बन्ने अनुरोधलाई स्वीकार गरेको मात्रै थिएँ, तुरुन्तै म्यासेज आयो । म तपाईँको शब्दको Big fan , मैले तत्काल आभार व्यक्त गर्दै जवाफ दिएँ ।
म साधारणतया कसैको म्यासेजको जवाफ दिने थिइनँ । उसले मसँग भन्दा पनि मेरा शब्दसँग साइनो गासेकी थिइँ। अनि मलाई मन पर्ने कुरा पनि त्यही थियो कि मेरो लागि म भन्दा महत्त्वपूर्ण मेरा शब्द हुने गर्थे जसको माध्यमबाट आफ्ना हरेक पीडा र खुसी पोख्ने गर्थेँ । त्यसै गरी मैले पोखेको पीडालाई जतनसँग सम्हाल्दै उसले गरेको म्यासेज मैले एक पल पनि खेर जान नदिई जवाफ दिएको थिएँ ।
केही समय परिचयात्मक संवाद चल्यो । उसले लेख्ने हरेक शब्द मलाई किन किन यसै प्यारो लागिरहेको थियो यो एउटा घटना जस्तै बन्यो जुन घटनामा पहिलोपटक कुनै क्षति नभएर उल्टो धेरै कुरा प्राप्ति भएको छ । एक्कासि मलाई उसको म्यासेज पनि म्यासेज लाग्न छोड्यो । अब उसले पठाउने म्यासेजको रुप परिवर्तन भएर खुसीको रुप लिएको थियो अर्थात उसले मलाई पठाउने हरेक म्यासेजबाट मैले आफ्नो अनुहारमा खुसी भेटिरहेको थिएँ । यो सब अचानक भयो तर अनौठो भयो उसको म्यासेज आइरहँदा तल तल अरु धेरै जनाको म्यासेज हुन्थ्यो र पनि मलाई अरुको कुनै प्रवाह नै थिएन ।
हामी बिच संवाद चलिरह्यो । मैले आफ्नो व्यस्तता नै भुलेछु । आफूलाई नै भुलेछु आत्मीयता सहित आउने उसका म्यासेजहरुका एक एक शब्दमा मैले सामीप्यता बढाइरहेँ । महसुस अत्यन्तै असाधारण थियो तर संवाद निकै साधारण जस्तै के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ , खाना खानुभयो कि नाइँ यस्तै यस्तै । मलाई पहिलोपटक कोही युवतीको म्यासेज आएको भएर म यति खुसी भएको भने पक्कै होइन ऊसँगको सामान्य संवादभन्दा तल एकपटक मात्रै रिप्लाई गरिदिनु न भनेर बिन्ती सहितका म्यासेज पनि युवतीकै थिए तर म केवल के गर्दै हुनुहुन्छ भन्ने म्यासेजको हजुरसँग कुरा गर्दै छु भनेर रिप्लाई गर्नमा व्यस्त थिएँ ।
साँच्चिकै थाहा हुँदैन यो समयले कस्तो चाल चलिरहेको छ भनेर । कहिलेकाहीँ जिन्दगीमा अवसरलाई पनि अवसर दिएर हेर्नुपर्ने रहेछ । केही सामान्य कुराकानीमै त्यो दिनको लागि संवाद टुङ्गियो । उसले सुत्ने जानकारी गराएपछि शुभ रात्रिसँगै हामी छुट्टियौँ । भोलिपल्ट बिहानदेखि दिनभर खासै वास्ता भएन कि व्यस्तता भयो एउटा पनि म्यासेज गरिएन दुबै जनाले साँझ पख मैले एउटा भिडियो पोस्ट गरेँ । त्यहा केही शब्दसँगै अन्त्यमा साहित्य प्रेमी लेखेको थिएँ । त्यही शब्दको सहारा बनेर यो साझ पनि खुसीको रुपमा उसको म्यासेज आयो i also साहित्य प्रेमी ! फेरि निकै आत्मीयता सहित संवाद सुरु भयो । हामी आफ्नो बारेमा सुनाउथ्यौँ अनि उसको कुरा सुनेपछि म उसको प्रशंसा गर्थेँ अनि मेरो कुरा सुनेपछि उसले प्रशंसा गर्थी ।
बोल्दै जादा मेरा शब्दहरुको प्रशंसा मात्रै होइन ती शब्दको न्यायका लागि पनि उसले प्रतिक्रिया दिएर भन्दै थिई फेसबुकमा एउटा पेज बनाउनु र पोस्ट गर्नु न । मैले ४/५ वर्ष अगाडि नै त्यो सब गरिसकेको र केही समयदेखि अन्य सामाजिक सञ्जालबाट टाढा रहेको बताएँ तर पारिवारिक संवाद र भेटघाटको लागि फेसबुकमा मेरो एउटा अकाउन्ट चाहिँ थियो जुन मैले यु ए ई आएपछि बनाएको थिएँ । फेसबुक पेजपछि फेसबुक अकाउन्टको कुरा आयो हामी त्यता पनि साथी बन्ने पक्का गरियो । अलिकति अलिकति त टिकटकमा हेर्न पाएँ हजुरको म्युजिक भिडियो पनि रहेछ । त्यसलाई कहाँ हेर्न मिल्छ मलाई पूरा हेर्न रहर छ । उसको यो म्यासेज आएपछि मैले फेसबुकमा साथी बनाएर त्यतै म्युजिक भिडियोको लिन्क पठाइदिएँ ।
पत्रकारिता सँगै सांगीतिक क्षेत्रमा पनि रुचि भएकोले मैले आफ्नो एउटा गीत बजारमा ल्याएको थिएँ । अरु सबै सपना टुटाएर पनि साहित्यलाई भने मैले आफूबाट अलग गराउन सकिनँ । त्यही साहित्यको रुचि समान भएर ऊसँग भेट भएको थियो । हामी फेसबुकमा पनि साथी भएपछि अब म्यासेन्जरमा कुरा हुन थाल्यो । करिब ३ दिनको निरन्तर संवादले यति आत्मीयता बढ्यो कि त्यो ३ दिन हामी लगातार कुरा गरिरह्यौ फोटो भिडियो पठाउदै संवाद गर्न मिल्ने भएर हामीले आफ्नो आफ्नो पीडा खुसी र विगतदेखि वर्तमानसम्मको यात्रा सबै व्यक्त गर्दै गयौँ । एकअर्कामा पोखिएर हल्का हुने प्रतिस्पर्धा यसरी चल्यो कि जीवनमा आफू बाहेक कोही दोस्रो व्यक्तिलाई व्यक्त गर्न नसकिने पीडाबाट गुज्रिएका हामी दुबैले सहजै एकअर्कालाई सुनायौ ।
सोच मिल्यो, रहर मिल्यो, सपना मिल्यो जिन्दगीका अनुभव र भोगाइहरु धेरै मिल्दै गए । सबैभन्दा महत्त्वपूर्ण कुरा मनसँग मन कतिबेला मिल्यो थाहै भएन । हामी एकअर्कालाई नै थाहै छैन । हामी मित्रताको हकमा सम्बोधन गरिरहेका छौँ । हाम्रो मनले चाहिँ एउटा मीठो सम्बन्धको परिकल्पना गरिसकेको रहेछ न मलाई थाहा छ न उसलाई । वर्षौंदेखि उजाडिएको जिन्दगी आफ्नै अगाडि हरियाली देख्न थालेँ । कयौं रात अनिधो बसेका आँखा उसलाई हेर्दै निदाउन थाले । सधैं तड्पाइमा बित्ने समयहरुले नयाँ उमङ्ग महसुस गर्न थाले। मभित्र छुट्टै ऊर्जा आयो जिन्दगी जिउनु पर्छ भन्ने अनि मनबाट आवाज आयो, ऊसँगै जिउनु पर्छ भन्ने । उसले मलाई छोडेर नजानु है भन्दै थिई । म भने आफ्नो शरीरमा सासको सट्टा उसको माया , उसको आफ्नोपन अनि उसको विश्वास बगिरहेको देख्न थालेँ ।
अहिले हाम्रो सम्बन्धको ५ महिना पूरा हुन केही दिन बाँकी छ तर हामीलाई यो महसुस कहिल्यै भएन । यति टाढाबाट भेटिएर गासिएको सम्बन्ध हो तर हामी बिच यस्तो लाग्दै लाग्दैन, अझ भनौं हामीले प्रेम गरेर प्रेमी प्रेमिकाको भूमिका निभाउने अवसर नै पाएनौँ । मलाई लाग्छ हाम्रो बिहे भएर धेरै समय बिताएर अनि बाध्यतावश म परदेश आएको हुँ उसलाई घरमा छोडेर अनि उसले पनि यस्तै महसुस व्यक्त गर्छे । म उसलाई श्रीमतीको हकले सम्बोधन गर्छु उसले मलाई श्रीमानको अधिकारले बाधिरहन्छ । यति मीठो प्रेम यति बलियो सम्बन्ध कायम भएको छ कि हामी बिचको दूरीले हरपल रुवाउने गर्छ जुन जिन्दगीमा कहिल्यै आभास भएको थिएन । एकछिन पनि बोल्न नपाउँदा धेरै गार्हो हुन्छ । सम्हालिन तर आजसम्म एकपटक पनि छोएको छैन भन्दै म्यासेज गर्दा आँसु रोकिँदैन । धेरै छन् हाम्रो सम्बन्ध देखेर रिस गर्ने धेरै छन् हामीलाई छुटाउन षड्यन्त्र रच्ने । कतिपय त सामुन्ने नै आएर बाधा बनिरहेका छन् । कति भित्रभित्रै जाल बुनिरहेका छन् तर अलिकति पनि हामीलाई असर गर्दैन ।
यति धेरै बलियो विश्वासको सम्बन्ध यसरी अचानक जोडिनुलाई म भाग्य नै सम्झन्छु । समयको इच्छा यही थियो । नत्र यति गहिरो प्रेमको सम्बन्ध छ तर न मैले प्रस्ताव गरे न उसले प्रस्ताव गरिन् । मनको इच्छा मनले नै बुझेर यो सम्बन्ध यति पवित्र बन्यो । यति निस्वार्थ बन्यो । आखिर माध्यम जे भए पनि कारण जस्तोसुकै भए पनि विगत एक दशकदेखि अँध्यारोमा अलमल्ल भएको मेरो जिन्दगीमा एउटा दिनको सुरुवातझैं बिहानीको घाम बनेर उसको उदय भएको छ ।
सुजन बिश्वकर्मा भावुक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।