
- नेपालभाषाको ४५० वर्षअघिको पहेली गीत
सिंहको जगर समाई
सिंहको जगर समाई ख्याल गर्दछ भ्यागुतो !
पोखरीबीच बलेछ आगो — माछा त भुट्छु रे
अचम्मलाग्दो घटना सुनेँ — माछा त उड्छु रे!
अद्भुत भयो संसारबीच अद्भुत घटना
कागले लग्यो दुईटा हात्ती रुवाई छिनमा !
ल्याएछन् हात्ती कमिला मिली चाटेर खान रे
लोकले देखि तानेर लिए उपकार सम्झी रे!
सुमेरु माथि बसेछ बास ब्वाँसोको बगल
मृगले लग्यो लखेटीकन दुइटा कुकुर !
हीराको रुखमुन्तिर राखी छोडेछन् कुकुर
स्वरूप आफ्नो आफैँले देखीभएँ म थर्थर ।
श्रीपार्थीवेन्द्र मल्लले रचे घटना अद्भुत
बाख्राले भन्यो — हात्तीको भारी बोक्तछु अब त ।
अनुवादः हरि श्रेष्ठ
साभारः नेवारी लोकगीत, नेराप्रप्र (२०३१)
नोटः अहिलेसम्म कसैले भावार्थ बुझ्न नसकेको यो गीतलाई सिग्फ्रेड लिनहार्डले आफ्नो पुस्तक संग्स् अफ नेपाल(ई. १९७४) मा रहस्यात्मकगीतको खण्डमा राखेका छन् । उनी लेख्छन्, यद्यपि यो गीत उच्चकलात्मक शैलीले लेखिएको छ, आजसम्म कसैले यसको अर्थ सुल्झाउन सकेको छैन । अनुमानतः, रहस्यवादी रचनकारले संसारको विसंगतिलाई अभिव्यक्त गर्न खोजेका हुन्, वा हुनसक्छ, पार्थिवेन्द्र मल्ल काठमाडौंका राजा हुँदा भएका बेथितिलाई आलोचना गर्न यो लेखिएको छ ।
यो गीत पार्थिवेन्द्र मल्ल (ई. १६८० –१६८७) को शासनकालमा रचिएको हो ।
मूलनेपालभाषामा
(साभारः सं. ठाकुरलाल मानन्धर, पुलांगु म्ये, ने. सं. ११११, नेपालभाषा परिषद)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 










