सद्गुरु ओशोको नव-संन्यास दीक्षापछि यो आत्माको घर अर्थात शरीरले पाएको पुनर्जन्मको नाउँ बदलेर आध्यात्मिक यात्रामा शिक्षादीक्षा प्रदान गर्नुहुने ओशोका सच्चा भक्त बोधिसत्व स्वामी आनन्द अरुणले दिनु भएको नाउँ राखेँ (ओशो शरीरमा हुँदा पनि वहाँले आध्यात्म जगतमा जन्म भएको भन्ने अर्थमा नयाँ नाउँ दिनुहुन्थ्यो) । अरुण स्वामीजीले `माँ प्रेम भावना’ नाउँ दिएर आध्यात्मिक यात्रामा मेरो न्वारन गरिदिनुभयो ।

परम् प्रेममा लिन भएर साधना गर्दै आएकी र साधनामै रमाउने म र मेरो स्त्रैय गुणका कारण मलाई स्वामीजीले दिनुभएको नाउँ अत्यन्तै प्रिय लाग्यो – माँ प्रेम भावना । गुरु ओशोकप्रतिको मेरो प्रेमभावना र समर्पणका आधारमा यो नाउँ अत्यन्तै प्रिय रह्यो मेरो लागि । आफुले यहि नव नाउँबाट नव-संन्यास ग्रहण गरेर नव यात्रामा हिँड्ने अठोटले सामाजिक सन्जालमा नाउँ परिवर्तन गरेँ – माँ प्रेम भावना । नाउँ परिवर्तन गर्नुका पछाडि अनेक आध्यात्मिक कारण छन् । अँ साँच्चै, सामाजिक बुझाइका कारणहरू पनि छन् ।

ओशो कुनै छुट्टै धर्म होइन न त हो कुनै सम्प्रदाय । ओशोको धर्म केवल `प्रेम´ को धर्म हो । प्रेम अर्थात `उत्सव´ । ओशोले भन्नुभएकोछ ” मेरो धर्म `उत्सव´ हो र गोत्र `आनन्द´ यसको अर्थ हो – हरेक पललाई प्रेम गरौँ । उत्सवमय बनाऔँ र आनन्दमय बनौँ । र मलाई लाग्छ, हामी प्रत्येक मानिसले अन्त्यतह खोजेको पनि प्रेम ,उत्सव र आनन्द नै हो ।

नयाँ नाउँ देखेपछि धेरैले सोध्नुभयो – नाउँ फेर्नु भएछ त किन ? को नयाँ साथी थपिनु भएछ फेसबुकमा भनेको त हजुर पो हुनुहुँदो रहेछ त !

– संन्यास रे वाइयात ! यस्तो माला लगाएर यस्तो परिधान लगाएर कोही संन्यासी हुन्छ ? संन्यासको अर्थ घरबार परिवार त्यागेर, कमण्डलु बोकेर हिँड्नु हो ! संन्यासलाई यति सस्तो नसम्झ !

उपरोक्त प्रश्न र विचारहरू भिन्न मानिसले भिन्न मस्तिष्क सोच क्षमताबाट निसृत गरेका हुन् । ती सबै भावप्रति मेरो साक्षीभाव रहयो यद्यपि नव – संन्यासबारे केही लेख्ने उत्कण्ठा अन्तस्करणमा पलायो ।

गुरु ओशो र नव-संन्यासका बारे मानिसमा गलत बुझाई र दृष्टिकोण रहेको छ जसको चिरफार हुनु अत्यन्तै जरुरी छ । यतिखेर भने केवल नव-संन्यासका बारे लेख्ने जमर्को गर्दैछु ।

यो कोसिस हो- हजुरको खुल्दुली समेट्ने र मेट्ने ।

ओशोको नव-सन्यास दर्शन हो कि आवश्यकता ?

ओशो नव-संन्यासको अर्थ हो – साहस । आफ्नो हुने साहस । स्वतन्त्रताको साहस । साधारण हुनु वा हुने प्रयासमा रहने साहस ।

माँ प्रेम भावना

नव-संन्यास जीवनलाई सही ढङ्गले देख्ने कला हो । संन्यासी र गृहस्थमा घरवारको फरक होइन मात्र ज्युने र सोच्ने ढंगको फरक हुन्छ । त्यही क्रममा गृहस्थावस्थामै रहेर मानिसको मन रुपान्तरण गर्ने एउटा प्रकृया हो नव – संन्यास । आफैंले आफैंलाई बुझ्ने बाटोमा हिँड्ने शाश्वत सत्यको नव-यात्रा हो नव-संन्यास ।

नव-संन्यास र पारम्परिक संन्यासमा निकै ठूलो भेद छ । पारम्परिक संन्यासमा घर व्यवहार त्यागेर हिँड्नु पर्थ्यो जुन पुरुष साधकका निम्ति कतैकतै सहायक सिद्ध थियो तर स्त्री साधिकाका निम्ति थिएन । एउटा पुरुष परमतत्व प्राप्तिका निम्ति जिम्मेवारीबाट भाग्दा उसको परिवारका धेरै सदस्यलाई प्रत्यक्ष परोक्ष प्रभाव पारिरहेको हुन्छ । श्रीमान् भएरै पनि श्रीमती विधुवाझैँ ज्युन बाध्य हुन्छिन् ।

एउटी स्त्री विवाहपछि अनेक साइनोमा बाँधिन्छिन् जसलाई परिवार र बच्चा चटक्कै छोडेर ब्रह्मप्राप्तिका निम्ति हिँड्न सहज छँदै थिएन र हाम्रो समाजमा कहिल्यै हुने पनि छैन । आत्मज्ञान, आत्म रुपान्तरण र मोक्षको बाटोमा हिँड्ने चाह वा अधिकार पुरुष र स्त्री दुबैको हुन्छ त्यसैले गृहस्थ अवस्थामै रहेर स्त्री पुरुष सङ्गै संन्यासको बाटोमा यात्रा गर्न सक्छन् भन्ने अभिप्रायको जन्म हो नव-संन्यास ।

विज्ञानको यो युगमा भौतिकतामै रहेर ज्युने कलाको विकास गर्छ नव – संन्यासले । जागिर खाँदै, सम्बन्धमा रहँदै, अत्यावश्यक भौतिक उपभोग्य वस्तुको भोग गर्दै आत्म रुपान्तरणको यात्रामा यात्रा गर्न सकिन्छ । ओशो संन्यासीले परम्परागत संन्यासीको जस्तो केही छोड्नु पर्दैन जस्तो कि, लत्ताकपडा, घरपरिवार, सम्बन्ध र संसार आदि ….। सांसारिकता त्यागको माग गर्दैन नव – सन्यासले । संसारको भोग गर भन्छ तर साक्षी भावले ।

मानिसले त्याग्न नसक्ने भनेको मन हो । मनको अवस्था हो । नव-संन्यासले केही त्यागको माग गर्छ भने त्यो हो – मनको त्याग विचार र अहंकारको त्याग । चाहना र वासनाको त्याग ।

ओशो भन्नू हुन्छ, “मनलाई मालिक हुन नदेऊ । मन त्याग र परिवारमै बसेर घरलाई मन्दिर बनाऊ । घरमै तपस्या गर । साधना र तपस्याले वेचैन मन विस्तारै तिरोहित हुन थाल्दछ र जीवन आनन्दमय बन्दछ । जीवनमा आनन्द भएपछि नै जीवनको उत्सव मनाउन सकिन्छ । आनन्दले रहन सकिन्छ । संसारमा नै बस तर संसारिक नबन । संसारिक मोहले मन नबाँध ।”

ओशो संन्यासीले घरवार, सम्बन्ध र भौतिकता त्याग्दैनन् । भौतिकतामै रहेर कर्म गर्दछन् र कर्मलाई पूजा ठान्दछन् । हरेक पल हरेक दिन परमात्माको देन हो भन्ने बोध गरेर परमतत्त्वप्रति अनुग्रहले भरिँदै आफैंलाई बदल्ने कोसिस गर्छन् । भौतिक जीवनका आँखाले अनेक दृश्य देख्छ तर ओशो संन्यासी मनको संसारभित्र प्रवेश गर्छन् । भौतिकतामै रहेर मन नियन्त्रण गर्ने अभ्यास गर्दै बुद्धत्वको यात्रामा हिँड्नु निकै ठूलो चुनौती हो ।

ओशो भन्नू हुन्छ, “संन्यास सत्य पाउने महत्वाकांक्षा होइन, महत्वकाङ्क्षाको त्याग हो । मोक्ष पाउने चाहना होइन, सारा चाहनाका व्यर्थताको साक्षी भावले हेर्नु हो ।”

संन्यास अर्थात् कुनै कुराको महत्वाकांक्षा नराख्नु बस् हरेक अवस्थाको प्रकृतिलाई साक्षीभावले हेर्नू । हरेक कुरा अनित्य हो भनेर बुझ्नु हो ।

भौतिक जीवन भोग्दै संन्यास अर्थात् आत्म रुपान्तरणको बाटोमा हिँड्नु आजको आवश्यकता हो यसर्थ: संन्यास कुनै कुरा, अवस्था वा वस्तुप्रतिको निषेध होइन । उपलब्धी हो ।
परम्परागत संन्यासले त्याग्न सिकायो अबको समय त्याग्नेको होइन जोड्नेको हो ।

आज सम्म आममानिसले संन्यासलाई त्याग्ने / छोड्ने अर्थमा बुझ्दै आयौं तर ओशो संन्यासलाई त्याग्ने होइन प्राप्त गर्ने हिसाबले बुझ्नुहुन्छ त्यसैले ओशोले आजको र आउने समयका लागि आवश्यकता महसुस गरेर 26 सेप्टेम्बर 1970 का दिन मनालीमा कृष्ण जीवनीका बारे प्रवचन दिँदै गर्दा नव – संन्यास आन्दोलनको सुरुवात गर्नु भयो ।

ओशोका अनुसार संन्यासको अर्थ वैराग्य होइन । जीवन विरोध होइन । संन्यासको अर्थ हो, जीवन `अहोभाव´ले ज्युनु । प्रभुको अनुकम्पाले मात्रै मानिस, मानिस भएर ज्युन सक्छ त्यसैले परमात्माप्रति आभार प्रकट गर्दै उदासिनताले होइन प्रफुल्लताले ज्युनु हो ।

जीवनमा फैलिनु , गहिरिनु हो । निचोरिनु र खुन्चिनु होइन । घरपरिवार र जिम्मेवारी त्यागेर, मागेर खानु संन्यास होइन । सन्यासी त त्यो हो जो भौतिकतामै रहेर पनि साक्षीभावले परमात्माले दिएका सबैखाले उतारचढाव सुखदुःख सहेर अघि बड्छ ।

तसर्थ : जीवन र दायित्वबाट नभागी परम सत्यको खोजीमा सारा इच्छा आकाङ्क्षा व्यर्थ र अनित्य हुन् भन्ने बुझेर साक्षीभावले हेर्दै अघि बढ्नु ओशो संन्यास मान्यता हो ।

संन्यासीले संसार होइन अज्ञानता छोड्नु पर्छ ।

संसार त्यागको अर्को नाउँ संन्यास होइन । ज्ञानको जागरण, आत्मज्ञानको जागरण संन्यास हो । संसारबाट सांसारिक मोह होइन आशक्ति छुट्नुपर्छ । संसार साधकका लागि परिवर्तन हुँदैन, त्यसैले साधक परिवर्तन हुनु जरुरी छ । संसार त जहाँ जस्तो छ त्यस्तै रहन्छ । साधकको दृष्टि र विचार परिवर्तन हुनुपर्छ ।

ओशोको नव-संन्यास अर्थात ज्ञान/आत्म जागरणको यात्रामा सांसारिक भौतिकता केही छोड्नु पर्दैन । जो व्यर्थ छ, आत्म ज्ञान जागरणको मुल फुट्दै गएपछि स्वत: समयसँगै स्वत: छुट्दै जान्छ जस्तो कि इच्छा आकाङ्क्षा ।

संन्यासको सम्बन्ध संसारसँग होइन स्व: सँग अर्थात आफैसँग छ । स्व: शुद्धीसँग छ ।

जीवनलाई आत्म अज्ञानले देख्नु संसार हो भने आत्म ज्ञानबाट देख्नु संन्यास हो । संन्यासको अर्थ म शरीर होइन, आत्मा हुँ भन्ने बोध हो । यो बोध हुनेलाई भित्री आशक्तितर्फको मोह रहँदैन बिस्तारै कम हुँदै जान्छ । संसार बाहिरी रुपमा हुन्छ तर ऊभित्र भने शून्यता छाइहेको हुन्छ ।

मानिसको हृदयभित्र संन्यासको जन्म तब हुन्छ,जब अन्तर ज्ञान बढ्छ, दृष्टि बदलिन्छ र स्व: आचरण बदलिन्छ । संसार जहाँ थियो त्यहीँ हुन्छ तर हाम्रो अन्तस्करणमा संन्यासले जन्म लिन्छ । समग्रमा भन्नुपर्दा संन्यास संसार र परमात्मा बिचको सेतु हो । संसारी त्यो हो जो संसारमै रहेर संसारकै हुन्छ । संन्यासी त्यो हो जो संसारमा रहेर पनि संसारको हुँदैन अर्थात गाँस, बास, कपास र समय अनुसार जीवन ज्युन अत्यावश्यक वस्तु बाहेक अन्य अनावश्यक भौतिक सुख सुविधाप्रतिको मोह रहँदैन ।

सद्गुरु ओशो भन्नू हुन्छ, “परम्परागत संन्यासले प्रभुको विरोध गर्दै भन्छ – प्रभु तिमीले गलत गर्यौ यसरी मायामोहको जालमा किन फसाइदियौ ? प्रभु तिमीले जे दियौँ, जे बन भन्यौ त्यसलाई हामी स्वीकार गर्दैनौँ ।

परम्परागत संन्यास प्रभुले दिएको मानव जीवन विरोधी छ जसमा निषेध छ, निराशा र अवसाद छ । पुरानो संन्यास दुख:पूर्ण छ । परम्परागत संन्यासी ब्रह्मचर्यमा बस्नुपर्छ, कुनै पनि स्त्री स्पर्शबाट बच्नुपर्छ । भक्तद्वारा दिएको भोजन ग्रहण गर्नुपर्छ । संन्यासी घरमा बस्नु हुँदैन, मन्दिर वा जङ्गलमा बस्नुपर्छ । शरीरलाई सताएर रुग्ण बनाउनु पर्छ अनि मात्रै परमतत्त्व बोध हुन्छ भन्ने बुझाइ छ त्यसैले म भन्छु – प्रभुले मायामा बाधेँ, बाधिऊ । बाँधिनु आवस्यक छ र त बाधेँ । तिमी आफूलाई प्रभुभन्दा समझदार नसम्झ बरु जे दिन्छन् / दिए प्रभुले अहोभावले स्वीकार गर । नाच, गाउ दु:ख भए दु:खको गीत गाउ । सुख भए सुखको गाउ तर गाउन, नाच्न जीवनको उत्सव मनाउन चाहिँ जारी राख । भौतिक जीवनमै रहेर संन्यासको मार्गमा हिँड । जे गर्छौ जे भन्छौ होसपुर्ण गर / भन । साक्षीभावले हेर । त्यही साक्षीभावमा तिमी एकदिन परम शून्यमा पुग्न सक्छौ। याद राख, परमात्माको आगमन शून्यतामै हुन्छ । निश्चलतामा हुन्छ । एकत्वमा हुन्छ ।”

गृहस्थ हुँदाहुँदै संन्यासी पनि हुन चुनौतीपूर्ण छ तर सङ्कल्प लिए असम्भव केही छैन । घरमै बसेर घरमा नभएको अनुभव गर्नु , हिमालको काखमा वा त तपस्थलीमा भएको महसुस गर्नु, भिडभाडमा बसेर पनि जङ्गलमा बसेको महसुस हुनु, जहाँ जस्तो अवस्थामा रहे पनि परमात्मालाई याद गर्न सक्नु गृहस्थ संन्यासीका गुणहरू हुन् ।

प्रश्न उठ्न सक्छ – गृहस्थ र संन्यास एकैपटक कसरी सम्भव छ ?

गुरु नानक, सन्त कविर रामकृष्ण परमहंश आदि गृहस्थ संन्यासीका उदाहरण हुनुहुन्छ । वहाँहरूले आफ्नै घरलाई मन्दिर वा तपस्थली बनाएर साधना गर्दै आफ्नो आचरणमा शुद्धता ल्याउँदै सद्चिदानन्द प्राप्त गर्नु भएको हो ।

सिख गुरु नानकलाई तराजुमा अनाज तौलिँदा तौलिँदै `सतोरी´ अर्थात परमात्माको पहिलो झलक मिल्यो । नानक संसारको विरोधमा थिएनन्, प्रेममा थिए अर्थात गृहस्थ संन्यासीको पक्षमा थिए । उनी भन्थे, ” संसार र संसार बनाउने द्वेत होइन अद्वेत हो । तसर्थ : संसारलाई प्रेम गर, संसारमै बस र संसारमै परमात्मालाई खोज । परमात्माले दिएको संसारिक उपहारको त्याग गरेर हिँड्दा परमात्माको अनादर हुन्छ । नानकको विवाह भयो । बालबच्चा पनि भए । उनले गृह नत्यागी संसारमै रहेर परमात्मा बोध गरे ।”

ओशो संन्यासी पनि गृहस्थ संन्यासी हुन् । तसर्थ : सत्यको मार्गमा हिँड्न परिवार छोडेर, सम्बन्ध सब्बै त्यागेर हिँड्नु पर्छ भन्ने छैन । सबै कुरा व्यक्तिको आफ्नो मन हो । मनले आफूलाई नियन्त्रण गरेर मनलाई शरीरको मालिक बन्नबाट जोगाऔँ । शरीरलाई मनको मालिक बनाउन सकिन्छ तसर्थ : आफू मालिक बन्ने कोसिसमा लागौँ । सत्सङ्ग, सङ्किर्तन गरौँ । ध्यान साधना गरौँ । मनको मालिक आफैं भएपछि अनावश्यक विचार, लालचा, दम्भ, अहंकार बिस्तारै बिस्तारै हट्दै जान्छ्न् ।

हामी मानिसलाई भौतिकताका आकाङ्क्षाले यति धेरै गाँजेको छ कि मानिसले हाँस्न बिर्सिएको छ । बाहिरी ओठमा मुस्कान त देखिन्छ तर हृदय तलमा मानिस खुसी छैन । खुसी खोज्न मानिस कहिले रक्सीको सहारा लिन्छ त कहिले अनेक स्थानमा घुम्न जान्छ । अनेक उपाय खोज्छ यी अनेक किसिमका उसले क्षणिक खुसी त दिन्छ तर फेरि मानिस उही विषाद र बेखुसीको दलदलमा भासिन पुग्छ । तसर्थ : ओशोको नव – संन्यास मार्गले मानिसको अन्तस्करणमा लुकेर बसेको अनन्त सम्भावना, खुसी र सन्तुष्टि खोजेर बाहिर निकाल्छ र आत्म जागरुक गराउँदै आत्म रुपान्तरण गराउँदछ । आजको यो समयमा ध्यान साधनाको अत्यन्तै आवश्यकता छ ।

मानिसमा आत्मरुपान्त्रणको प्यास हुनुपर्छ । प्यास हुनु नै नव-संन्यासको पात्रता हो । आध्यात्मिक प्यास हुने जोकोहीले ओशो नव-संन्यासको दीक्षा लिन सक्छ ।

नोट : संन्यास र ओशोको मालाका विषयमा विस्तृत रुपमा जान्ने चाहना भए ओशोको ” सन्यास और मालाका रहस्य” नामक पुस्तक पढ्न वा प्रवचन सुन्न अनुरोध गर्दछु ।

माँ प्रेम भावना