दुई पटक बुकर पुरस्कार जितेकी हिलारी मन्टेलको ७० वर्षको उमेरमा निधन भएको छ । जुलाई ६, १९५२ मा जन्मिएकी उनले वल्फ हल र ब्रिङ अप द बडिज उपन्यासबाट उनले दुई पटक बुकर पुरस्कार जितेकी थिइन् । उनले बेलायती इतिहासका प्रमुख पात्र थोमस क्रमवेलको तीन शृंखला उपन्यास लेखेर दुई वटाबाट बुकर पुरस्कार हात पारेकी थिइन् ।

उनका उपन्यासहरूका सम्पादक निकोलस पियर्सनले हिलारीले जे जति लेखेर गइन्, ती अबका सदियौँसम्म पढिने उपन्यास छाडेर गएको प्रतिक्रिया दिएका छन् ।

इन्डोमेट्रिओसिस नामक दुर्लभ रोग २७ वर्षकै उमेरमा लागे पनि आफ्नो सिर्जनात्मक कार्यलाई निरन्तरता दिएकी थिइन् । सो रोगको लक्षणका कारण उनलाई मानसिक रोगी मानेर औषधि दिने गरिएको थियो । तर पछि जब औषधि विज्ञानले प्रगति गर्दै गयो, उनको सो दुर्लभ रोगका बारेमा बढीभन्दा बढी जानकारी हुन थाल्यो । यो रोगका कारण प्रेमविवाह गरेकी हिलारीको बिहे झन्डैझन्डै टुटेको थियो । यही रोगका कारण उनको गर्भाधान अवरूद्ध हुन पुग्यो ।

उपचारका कारण उनलाई जुन थेरापी दिइएको थियो, जसका कारण उनी फुलेर बेलुनजस्तो हुन पुगेकी थिइन् । रोगको दुसाध्य पीडाका बीच उनले १९७४ मा पहिलो उपन्यास अ प्लेस अफ ग्रेटर सेफ्टी लेखेकी थिइन् तर छापिने बेलामा यो पाँचौँ उपन्यास बन्न पुगेको थियो । यो उपन्यास १९९२ मा प्रकाशित भएको थियो ।

उनले १७ वटा पुस्तक लेखेकी छन् । २० वर्षको उमेरमा सन् १९७२ मा भूगर्भविद् गेराल्ड म्याकइभनसँग बिहे गरेयता उनी लेखनमा लागेकी थिइन् । उनले १९८० को दशकबाट थोरबहुत चर्चा बटुले लगत्तै सन् १९९० मै रोयल सोसाइटी अफ लिटरेचरको फेलोका रूपमा चयनित भएकी थिइन् । उनका पति गेराल्डसँग मतभेदका कारण सन् १९८० मा पारपाचुके भएको थियो तर लगत्तै १९८२ मा पुनः विवाह गरेका थिए ।

सन् १९८६ ताका उपन्यास लेखेर जीवन नचल्ने देखेपछि उनले पुस्तक समीक्षकका रूपमा द स्पेक्टेटर म्यागेजिनका लागि नियमित रूपमा चार वर्षसम्म लेख्न थालिन् ।

सन् २००९ मा बेलायती राजा हेनरी आठौँको शक्तिशाली सल्लाहकार थोमस क्रमवेलमाथि लेखेको वल्फ हल उपन्यासले उनलाई अन्तर्राष्ट्रिय रूपमा ख्याति दिलाएको थियो । उनले सो उपन्यासको दोस्रो शृंखला ब्रिङ अप द बडिज् तीन वर्षभित्रै लेखिसिध्याएकी थिइन् र सो उपन्यासबाट पनि पुनः बुकर पुरस्कार हात पारेकी थिइन् ।

यसरी दुई पटक उही उपन्यास शृंखलाबाट यो पुरस्कार हात पार्ने एकल बेलायती महिला लेखिका बन्न पुगिन् । त्यसो त क्यानडेली लेखिका मार्गरेट एटवुड, आयरल्यान्डका जेजी फरेल, दक्षिण अफ्रिकी लेखक जेएम कोत्जी, अस्ट्रेलियाका पिटर केरीले पनि दुई पटक यो पुरस्कार हात नपारेका होइनन् तर बेलायती लेखिकामा उनी मात्र अहिलेसम्म एकल लेखिका बन्न पुगिन् । रोचक त, उनको ट्रियोलजीको तेस्रो उपन्यास द मिरर एन्ड द लाइट पनि २०२० को बुकरको लामो सूचीमा पर्न सफल भएको थियो । उनका ट्रियोलजी उपन्यास २००० पृष्ठका बन्न पुगे ।

उनका ऐतिहासिक उपन्यासहरू ज्यादै रूचाइनुका पछाडि उनको लामो अनुसन्धानले भूमिका खेल्ने गरेको थियो । खासगरी ट्युडर इंग्लान्ड भनेर चिनिने समयावधिको उनी ज्ञाता नै थिइन् । उनले वल्फ हल शृंखला उपन्यास लेख्नका लागि १३ वर्ष लामो शोधअनुसन्धान गरेकी थिइन् ।

उनीअघिका ऐतिहासिक उपन्यासलाई समीक्षकहरूले उति राम्रो मान्दैनथे । हल्का मनोरञ्जनका उपन्यासका रूपमा ती चिनिन्थे । उनले भने यस विधालाई नै ओजिलो र पुरस्कारयोग्य बनाउन सफल भएकी थिइन् ।

वुल्फ हल शृंखलाअघि उनका १० वटा उपन्यास बजारमा आएका भए पनि तिनले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिन सकेका थिएनन् ।

मन्टेल उपन्यासबाहेक गैरआख्यानमा पनि उत्तिकै कलम चलाउने लेखिका थिइन् । उनको संस्मरणात्मक कृति गिभिङ अप द गोस्ट पनि निकै रूचाइएको कृतिमध्येमा पर्छ । इङ्क इन् द ब्लड निबन्ध पनि उनको रूचाइएको कृति हो ।

कुनै समय समाजवादी विचारधाराबाट प्रभावित उनी कलेजताका योङ कम्युनिस्ट लिगको सदस्यसमेत थिइन् । उनी राजतन्त्र विरोधी भएको केहीले आरोप लगाउने गरेका छन् । उनले सोबारे भने कुनै टिप्पणी गर्न रूचाइनन् । उनी मार्गरेट थ्याचरको भने कडा आलोचक थिइन् । उहिल्यै उनले द असासिनेसन अफ मार्गरेट थ्याचर कथा लेखेकी थिइन् ।

उनको निधन गएको साता २२ सेप्टेम्बरमा भएको थियो ।