अन्ना आख्मातोभा

थाह छैन, तिमी ज्यूँदै छौ कि मरिसक्यौ

थाह छैन मलाई, तिमी ज्यूँदै छौ कि मरिसक्यौ ।
के तिमीलाई अझै खोज्न सकिन्छ यस धर्तीमा,
वा साँझमा घाम अस्ताएर मलीन हुँदै गर्दा
मनभरि सम्झिएर तिमीलाई

चुपचाप विदीर्ण हुन मात्र सकिन्छ ?

प्रत्येक दिनको प्रार्थना,
रातका अनिदा छ्टपटाइ
मेरा कविता र तिनको कञ्चन उडान
मेरा आँखा, र तिनका नीला ज्वाला
सबै तिम्रा लागि हुन्‌ ।

तिमीभन्दा बढी प्यारो कोही पनि थिएन मेरा लागि,
तिमीलेभन्दा ज्यादा यातना कसैले दिएन मलाई,
यातना दिनकै लागि मलाई धोका दिनेले समेत
त्यति यातना दिएन;
न त त्यसले नै दियो,
जसले मलाई प्रेमले सुम्सुम्यायो
र बिर्सिदियो ।

सुमन पोखरेल