कविवर माधव घिमिरेको हालै प्रकाशित महाकाव्य “ऋतंभरा” को शिरविन्दुलाई लिएर केही कवि तथा भाषामा रुचि राख्ने व्यक्तिहरूले चर्को बहस गर्न थाल्नुभएको छ । यस विषयमा चासो राख्ने केही व्यक्तिहरूले मलाई “तपाईं किन चुप् ? तपाईं र देवी नेपाल किन नबोलेको ? तपाईंहरूको छन्दमा मानकीकरणको अभियान यसबारेमा के भन्छ ?” जस्ता प्रश्न गर्न थाल्नुभएको छ । त्यसैले केही कुरा राख्न चाहन्छु ।

डा. रामप्रसाद ज्ञवाली

१. फलानाले लेखेको हुँदा ठिक वा बेठिक भन्नु अनुचित तर्क हो । माधव घिमिरे महान् कवि हुन्, त्यसैले उनले लेखेकाले स्वीकार्य छ भन्ने कुरा अत्याग्रह हो ।

२. उनले किन अशुद्ध लेखे ? भन्दै उखर्माउलो मच्चाउनु पनि अनावश्यक छ । यसो गर्नु पूर्वाग्रह हो ।

३. के ठिक हो के बेठिक हो भन्ने कुरामा तथ्यसहित तर्क राख्नु उचित हो । यसले नै हामीलाई वस्तुवादी बन्न सघाउँछ; उचित दिशाबोध गराउँछ ।

४. शास्त्रीय छन्द कवितामा कोशीय मानक भाषा प्रयोग गर्ने कि छुट पनि दिने भन्ने विषयमा सर्वमान्य निष्कर्ष निस्कन बाँकी नै छ, त्यसैले बहस र विमर्श जारी छ । यो स्वाभाविक नै हो । यो बहस चलिरहने छ ।

५. शिरविन्दु र म् का सन्दर्भमा मात्र नभई ह्रस्वदीर्घ, स-श, र्, य्, व् ले शब्दोच्चारणमा पार्ने प्रभाव र हुने ह्रस्व वा दीर्घ उच्चारण, पछिल्लो हलन्त वर्णले अघिल्लो अजन्त वर्णलाई दीर्घ पार्ने नपार्ने अवस्था, कथ्य भाषिक रूपलाई प्रयोग गर्ने छुट हुने वा अस्वीकृति लगायतका अनेक पक्षमा अझै समान धारणा बन्न सकेको छैन । त्यसैले पनि यो बहस र विमर्श चलिरहने छ ।

६. जहाँसम्म ऋतंभरा र ऋतम्भरा शब्दको प्रयोगमा कुन सही भन्ने कुरा छ, संस्कृत व्याकरणमा दुवै प्रयोग स्वीकृत छन् । हिन्दीमा त परसवर्ण (ङ, न, म आदि) को प्रयोग लगभग छैनबराबर छ । उनीहरूले अलंकार, संवर्द्धन, लंका, मूल्यांकन जस्तो प्रयोगलाई बढी चलाउन थालेका छन् ।

७. अब हामीले के गर्दा उचित होला ? यो नै विमर्शको मुख्य विषय हुनुपर्छ र विमर्श र बहस गर्दा आफू निकै जान्ने छु र अरूलाई केही आउँदैन भन्ने किसिमका तर्कले हामीलाई सस्तो, उद्दण्ड र असहिष्णु बनाउँछ । त्यसैले सभ्य, शालीन र शिष्ट भाषामा कुरा र तर्क राखौँ ।

८. म चाहिँ सकेसम्म वैकल्पिक प्रयोगमा नजाँदा ठिक हुने र यस्तो गर्न सकियो भने एकरूपता र मानकीकरणमा सहयोग पुग्ने ठान्छु । तर अहिले नै यो नै हुनुपर्छ भनेर जिद्दी गर्ने पक्षमा छैनँ ।

९. केही गम्भीर सोच राख्ने साथीहरूजस्तै म पनि छन्द कविताको मानकीकरण हुन सके हुन्थ्यो भन्ने अभियानमा लागेको हुँदा समस्या देखाउनु मात्रलाई नै मैले आफ्नो दायित्व ठानेको छैनँ । त्यसैले म अहिले “शास्त्रीय छन्द कविताको नेपाली व्याकरण” शीर्षकमा यथासम्भव आधिकारिक हुने किसिमको किताब तयार गर्ने प्रयास गर्दै छु ।

१०. तर म यो किताब प्रकाशन गर्नुपूर्व यस सम्बन्धमा चासो राख्ने जिज्ञासुदेखि यस विषयमा जिम्मेवारीका साथ लागिरहेका ज्ञाता, प्रयोक्ता र अभियन्ताहरूसँग एकल र सामूहिक छलफल चलाई उहाँहरूबाट प्राप्त भएका सुझावहरूमाथि गम्भीर मनन गरेर बढीभन्दा बढी स्वीकार्य र वस्तुपरक हुने गरी यो किताब प्रकाशनमा ल्याउने सोचमा छु ।

११. जहाँसम्म कविवर माधव घिमिरेको यो महाकाव्य छ, यसमाथि समालोचकीय दृष्टिले मूल्याङ्कन गर्नु नै उचित बाटो हो । पुरानो र नयाँ भनेर भावुक र आग्रही बन्नु जरुरी छैन । आज नयाँ भनिएका तपाईं हामी पनि भविष्यमा पुराना हुने छौँ । उहाँसँग उहाँले प्रयोग गर्ने भाषाका बारेमा मेरो धेरैपटक छलफल भएको हो । उहाँ भाषाको शुद्धतालाई भन्दा कविताको मिठासलाई बढी महत्त्व दिने कवि हुनुहुन्थ्यो । मैले उहाँको भाषाप्रयोगलाई लिएर उहाँ जीवित छँदै आलोचना गरेको छु र उहाँले स्वीकार पनि गर्नुभएको हो ।

१२. कृतिको पठन, आस्वादन र समालोचना-आलोचना गर्न हामी स्वतन्त्र छौँ तर पूर्वाग्रह र अत्याग्रहबाट जोगिनु जरुरी छ । प्रत्येक कविका आआफ्नै प्राप्ति र सीमा हुन्छन् । हामीले ती दुवै पक्षमा वस्तुपरक र सापेक्षित मूल्याङ्कन गर्नुपर्छ ।

१३. अन्तिममा रुचि भएका साथीहरूलाई यस महाकाव्यको गम्भीर अध्ययन गरी आफूलाई लागेका कुरा तथ्यपरक बनाई समालोचनाका रूपमा प्रस्तुत गर्न सुझाव दिन्छु ।

(साभारः ज्ञवालीको फेसबुकबाट)