‘गीत, कुत्ता र कोर्ट’ हात पर्दा मलाई लागेको थियो – यो पनि आजभोलीका अरु ल्यागल्याँगे गन्थन अथवा वर्णनको पट्यार लाग्दो पोको होला । सयौंले सयौँचोटि भनिसकेका बासी कुराहरुलाई नै यसमा पनि कथाको नाममा फेरि एकपटक पस्किइएको होला। सस्ता नारा, सस्तो क्रान्तिकारिता, सतही भावुकता अथवा हाम्रो समाज र परम्पराप्रतिको घृणा भाव नै यसको केन्द्रिय विषयवस्तु होला । पुस्तकको नामले पनि त्यस्तै आभाष दिलाएको थियो।

त्यसैले मन नलागी नलागी पुस्तक पल्टाएकी थिएँ । तर पहिलो कथा ले नै मेरो मन यसरी तरंगित गरिदियो कि म अर्को दिनसम्म त्यसको प्रभावबाट बाहिर निस्कन सकिनँ । ३२ वटा कथाहरुको सङ्ग्रह रहेछ यो, तर एकदिनमा एउटा कथाभन्दा बढी पढ्नै सकिनँ । हरेक जसो कथाले यति गम्भीर र विचारमग्न बनाउँथ्यो, अफिसमा काम गर्दा र राती सुत्न लाग्दा समेत दिल र दिमाग त्यसैका वरिपरि घुमिरहेको हुन्थ्यो।

म कुनै समीक्षक होइन, न त कुनै पुस्तक बारे लेखेकी नै छु। यहाँ पनि केवल पाठकका रुपमा आफ्नो भावना र प्रतिक्रिया व्यक्त गर्न मात्र लागेकी हुँ। यसका लेखक हरिराज भट्टराईले यसअघि कुनै पुस्तकलेखेका छन् कि छैनन त्यो पनि मलाई थाहा छैन। अरु लेखकले झैँ उनले आफ्नो बायोडाटा पुस्तकमा टाँसेका पनि छैनन्। तर अनुमान गर्छु, पक्कै लेखेका होलान् र ती पनि यस्तै अथवा यो भन्दा पनि विचारोत्तेजक , कल्पनापूर्ण र कलात्मक लेखाइका नमुना होलान्। यस पुस्तकमा प्रकट भएको विशिष्टभाषा शैली , गम्भीर सामाजिक -सांस्कृतिक चेत , अद्भूत कल्पनाशीलता, मौलिक बिम्व र प्रतीक योजना अनि समकालीन नेपाली साहित्यमा दुर्लभ हुँदै गएको तीब्र व्यङ्ग्यचेतले उनी चानचुने उचाइका लेखक होइनन् भन्ने घोषणा गर्छ। अचम्म लाग्छ साहित्यिक बजारमा यिनको चर्चा किन नभएको होला? कृतिलाई नै आफ्नो परिचय र प्राप्ति मानेर स्वान्त: सुखाय साहित्य साधना गर्ने आधुनिक तपश्वी पो हुन् कि उनी?

अब लागौँ पुस्तकतिर। लेखकले पुस्तकलाई ‘कथासङ्ग्रह’ भनेर चिनाए पनि यो वस्तुत: व्यङ्ग्य कथासङ्ग्रह हो । गम्भीर व्यङ्ग्यको जीवन्त कृति। अधिकांश कथा नेपालको नयाँ संविधान तथा त्यसले सृजना गरेका र गर्न सक्ने बहुआयामिक विकृति-विसङ्गतिमा केन्द्रित छन् । स्त्री-पुरुष सम्बन्ध, यौनभाव र स्त्री मनोविज्ञान अन्तरसम्बन्धित पत्रहरुको उद्घाटनमा पनि लेखक प्रशस्त रमाएका छन् । मुलुकको भू-भाग अरुको कब्जामा पुगेको र धर्म, संस्कृति विधर्मीहरूको छायामा परेको चिन्तासमेत सङ्ग्रहमा समेटिएको छ । कथाहरूमा व्यङ्ग्य यति गहिरो, तीव्र र सूक्ष्म छ कि कहिलेकाहीँ त स्वैरकल्पना जस्तो लाग्छ।

‘अधिकारको रक्षा ‘ शीर्षक पहिलो कथा “ मेरो शरीर मेरो अधिकार” थिममा आधारित छ। ‘परिबन्द मिलाएर मेरो कौमार्य हरण भएको छ चर्चको छायाँमा ‘ भनेर संघीय अदालतमा बयान दिने यसकी नायिका छात्रा आफ्नो सन्तानको बाबु कसैलाई पनि स्वीकार्न तयार छैनन् र सन्तानलाई स्तनपान गराएर समय भन्दा पहिले बुढी देखिन पनि तयार छैनन्। भन्छे, न्यायमूर्तीज्यू , सम्भोग विवाह हुने गर्दैन, सम्भोग फरक हो र विवाह फरक हो । कति ठाउँ कति पटक र कतिसँग सम्भोग हुन्छ , सबैलाई विवाह र पति मान्दै हिँड्ने? र, अदालतले पनि उसको निर्णय अनुकूल निर्णय गर्छ।

यही थिममा आधारित अर्को कथा ‘भर्खरै पढे’ मा एघार र १२ कक्षामा पढ्ने छात्राहरु प्रहरी चौकीमा पुगेका छन्। अभिभावकले उनीहरुको व्यक्तिगत स्वतन्त्रतामा अंकुश लगाए भनेर। भोट हाल्ने अधिकार उनीहरुसँग रहेकाले ‘आफ्नो शरीर आफ्नो अधिकार’ को निर्बाध प्रयोग , उपयोग गर्न कसैले छेकबार लगाउन पाउँदैन भनेर उनीहरुले प्रहरी चौकीमा ठिग्याएका छन्।

‘शरीर मासेको अभियोग ‘ अझ अर्को कथाको थिम पनि आफ्नो शरीर आफ्नो अधिकार नै रहेको छ । होटलमा बसेर यौन सम्पर्क गरेबापत पक्राउ परेका दुई युवक र चार युवतीलाई यहीँ मान्यताको आधारमाअदालतले मुक्त गरिदिन्छ। घट्नालाई जातीय छुट दिँदै वकिल भन्छ , ‘ यस्ता घट्ना त हाम्रो समुदायमा सामान्य र प्राकृतिक कुरा हुन्।’

तारा भट्टराई (अमेरिका)

‘खुला दण्ड’ त्यस्तो महादेशको कथा हो जहाँ पुगेको लेखकले टाउको पुरै मुडुलो पारिएको, आधा रातो आधापहेंलो टाटेपाटे लुगा लगाएको मानिस भेट्छ, जसले प्राइभेट कार चढ्न पाउँदैन सार्बजानिक यातायात नै प्रयोग गर्नुपर्छ । उसको निधारमा स्त्री योनीको डाम हुन्छ। लेखकलाई अर्को व्यक्तिले रहस्य खोलिदिन्छ। यो उसले बलात्कार गरेबापत राज्यबाट पाएको दण्ड हो। यो टाढैबाट चिनिन्छ पोशाकले , सामुन्नेबाट चिनिन्छ निधारको डामले र नाङ्गै पारेर चिनिन्छ उसको ठुटे लिंगले। थुप्रै मानिस त्यहाँ त्यस्तै पोशाक र डाममा देखिन्छन्।

पुस्तकको नाम बनेको ‘गीत कुत्ता र कोर्ट’ चाहिँ त्यस्तो मुलुकको कथा हो , जहाँ एउटा गीतमा त्यहाँका मानिसहरुसँग कुकुरको तुलना गरिएबापत कुकुरहरुले मानिसहरु विरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेका छन्। वकिलहरुले धुवाँदार बहस गर्छन् र अन्तत: कुकुरहरुको जीत हुन्छ। अदालतले गाईको ठाउँमा कुकुरलाई राष्ट्रिय जनावरको रुपमा स्थापित गर्छ र कुकुर पुजाका दिन कुकुरलाई राज्यले सलामी ट्क्र्याउने व्यवस्था गर्न आदेश दिन्छ।

‘भतेर’ कथामा संविधानले किटेर वर्गीकरण गरेका जातजाति र समुदायका लागि त्यहीँ बमोजिम छुट्टाछुट्टै ल टाँगिएका छन् र तिनीहरुले निर्धारित पालमा बसेर छुट्टा छुट्टै बिहे भोज खानुपर्ने व्यवस्था छ। भतेरको आयोजक त्यसलाई संविधानको पालना गरेको भनेर ब्याख्या गर्छ। ‘पत्रकार र ट्राफिक प्रहरी’ कथाले दिन तोकेर त्यसदिन जाति विशेषले मात्र गाडी चलाउन र चढन पाउने व्यवस्थाको वर्णन गर्छ।

म यहाँ कथाहरुले पक्रेका विषयबस्तु र पक्रेका चित्रहरुको सामान्य झलक मात्रै प्रस्तुत गरिरहेकी छु। यो संकेत मात्र हो, कथाहरुले सिर्जना गरेको बेग्ला बेग्लै ‘संसार’ को स्वाद लिन त कथा नै पढनुपर्छ जहाँ लेखकले प्रसङ्ग , उपप्रसङ्ग, तर्क , प्रतितर्क , हाँस्य छेडपेच, पीडा , संवेदना, मनोविज्ञान र घट्ना क्रमको संयोजनले पाठकलाई बारम्बार चकित , तरंगित र आनन्दित पार्छन्।

‘अर्को जन्म’ झुक्किएर आततायी अर्थात् माओवादीका सन्तानका श्रीमती बन्न पुगेका दुई युवतीको कथा हो। यथार्थ थाहा भएपछि उनीहरु ज्यानमाराका बुहारी भएर बस्न तयार हुँदैनन् र अदालत पुग्छन् । विवाह-विच्छेद हुन्छन् र अर्को जन्म पाएको अनुभव गर्छन्। अर्को विवाह गर्न असजिलो हुँदैन ? भन्ने वकिलको प्रश्नमा भर्भराउँदो उमेरकी एउटीको जवाफ हुन्छ “ आम्मै हुँदैन नि, हाम्रो त रगत नै चोखो छ, शरीर नै चोखो छ, मनै पवित्र छ। राम्रा राम्रा तन्नेरीले हाम्लाई पर्खिरहेकै हुन्छ।”

‘कुमारीको तरुणभाव’ ले चाहिँ अर्कै भावभूमि समेटेको छ। यसमा ‘योगा क्याफे’ मा भेला हुन पुगेका नानाजात र पृष्ठभूमिका युवतीहरु निर्धक्कसँग आफूलाई के कस्तो रुप स्वभाव , रुचि, बेहोरा, उमेर, शारीरिकआंगिक बनोट र प्रेम क्रीडाको भंगिमा अनि कुशलता भएको केटो चाहिन्छ भनेर खुला संवाद गर्छन् । केटाहरुबारे युवतीहरुको रुची , अरुची र प्राथमिकताका यतिविधि आयाम, यति गहिरोसँग लेखकले कसरी प्रस्तुत गर्न सकेका होलान् , थक्क परिन्छ ।

नारीको सौन्दर्य , शरीर, शरीर, अवयव, देह -भंगीमा र प्रेम कलाको परख गर्न नसक्ने पतिबाट छुट्करा पाउनअदालत पुगेकी छ संजु सेवती, ‘समाचार हुन सकेन’ कथामा। आफ्नो पीडा र प्यासको ज्यादै लालित्यपूर्ण तर स्पष्ट वर्णन गरेकी छ उसले । ऊ चाहन्छे त्यस्तो पतिबाट ‘छुटकरा, विच्छेद अनि मस्ति र स्वतन्त्रता’ ‘डर: आशय करणी’ कथामा कीर्तिबाला पनि अदालत पुगेकी छ, तर उसको कथा ब्यथा फरक छ। आफ्नो अनिन्ध सौन्दर्य, अतुलनीय देह भंगीमा, स्पष्ट आमन्त्रणका बाबजुद छिमेकको युवाले आफुलाई बेवास्ता गरेकाले उसमाथि नारी सौन्दर्यको मानहानी गरेको मुकदमा ठोक्नु छ कीर्तिबालालाई। तर लामो जिरहपछिअदालतले त्यो युवालाई दोषमुक्त करार गरिदिन्छ, किनभने,उसको जिकिर हुन्छ , ‘आशय करणीको मुद्दालाग्ने भयले मैले उहाँलाई हेरिन ।’

प्रसूतिका लागि अस्पताल पुर्याइएकी युवतीको कथा हो, ‘ तामाग फूल’। ऊ चाहन्छे , आफ्नो शरीर अरुले नछोउन् , आफ्नै जातको त्यसमा पनि बौद्ध धर्म अँगालेको डाक्टरले प्रसुती गराइदेओस्। जति खोज्दा पनि त्यस्तो डाक्टर उपलब्ध हुन सक्तैन र आफ्नो अडानबाट टसमस नभएकी ऊ दुर्घटनाको शिकार हुन्छे। ‘मसी सुकेछ’ कथामा चाहिँ जनताले अदालतमा लगेर उभ्याईएकि अनामिकाको तर्क र पक्षमा सहमत भएर पनि न्यायधीशले उसको पक्षमा फैसला लेख्न सक्दैन, किनभने कलमको मसी नै सुक्न पुग्छ । कानूनत: नाबालिक उमेरमा आमा बन्न पुगेकी अनामिका आफ्नो सन्तानको बाबुलाई पति नभएर ‘ब्वाई फ्रैण्ड’ को मात्रै दर्जामा राख्न चाहन्छे, उमेर पुगेपछि विवाह भएको खण्डमा उसलाई बाबुको दर्जा दिन नकारात्मक नभइकन। उसको जिकिर हुन्छ- मेरो शरीरको यौन आवश्यक्ता कुनै कानूनले वा अरु कसैले निर्धारित गरेर हुँदैन । मेरो शरीरमा मेरो अधिकार छ , त्यसलाई कसैले खुम्च्याउन हुँदैन । ऊ भन्छे , हाम्रो जातिमा र जीवन शैलीमा यो सामान्य, स्वच्छ , नितान्त प्राकृतिक अनि स्वीकार्य व्यवहार हो । अर्कै जाति र संस्कृतिको प्रभावमा अप्राकृतिक कानून बनाएर हाम्रो उदार र वैज्ञानिक जीवनशैली बिथोल्ने?

‘जवानी शुल्क’ त्यस्तो देशको कथा हो, जहाँ राज्य पक्षघात ग्रस्त छ र क्षेत्रीय सरदारहरु अनेकनाममा ट्याक्स लगाएर जनताबाट निर्धक्क हप्ता वसुली गर्छन्। चुरा लगाएबापत, मन्दिर गएबापत, बसमा उभिएर यात्रा गरेबापत, आफ्नो छायाँ आफैसँग लिएर हिँडेबापत मात्र ट्याक्स लगाउन उद्दत छैनन्, जवानी शुल् कपनि तिराउने तयारीमा छन्। शिक्षा, स्वास्थ्य, कृषि, यातायात, औषधी , पुरातत्व आदिका माफियाले गरेको लुटका तुलनामा यसलाई शोषण भन्न मिल्दैन भन्ने तिनको ठहर छ। नागरिकहरु आफै रैती नै छन्, जनताको तहमा उक्लेका छैनन्, त्यसैले जे गरे पनि सहन्छन् भन्ने तिनको विश्लेषण छ।

‘सट्टा दण्ड’ कथामा भने नयाँ राजनीतिक व्यवस्था आएपछि ‘सट्टा व्यक्ति ‘ विधेयक पारित भएको हुन्छ, जसले अपराधीलाई आफ्नो अपराधको सजाय भोग्न अर्को सट्टा व्यक्तिको व्यवस्था दिने सुविधा दिन्छ। सबैखाले लुटेरा, हत्यारा, ज्यानमाराहरु निर्धक्क घुम्न थाल्छन्। सबै दृष्टिले पछि परेका दलित रजनजातिहरुलाई ‘सट्टा व्यक्ति ‘ को रोजगारी दिएर।

‘रामधुनी ‘कथामा पौराणिक राम लक्ष्मण र सीता कै प्रसङ्ग भए पनि कथानक जनस्रूतिमा आधारित छ। जहाँ राम रक्स्याहा छन् र सीता खानाको अपमानको प्रतिफल स्वरुप अपहरणमा परेकी हुन्छिन्। ‘फर्कियो सिंहदरबार’ मा चाहिँ गाउमा पुगेको सिंहदरबार लोप्रेकान लगाएर फर्कन्छ, किनभने गौरवशाली किराँत जाति ‘जनजाति’ मा झर्न चाहँदैनन्।

नागरिता विहीन एउटा किशोर लगौंटी आन्दोलनमा प्रहरीको गोली लागेर मर्छ। उसलाई नागरिक नबनाएसम्म मरेपछिको क्षतिपुर्ती रकम नपाउने र सहीद घोषित गरेर राजनीति चम्काउन सजिलो नहुनेभएपछि मृत्यू उपरान्त नागिरकता दिलाइएको कथा बोकेको छ ‘सहीद लछुमन शरभग’ ले। यहीँ मेसोमा ‘ बच्चा जन्मनासाथ नागरिक हुने’ व्यवस्था पनि गरिदिन्छ अदालतले। ‘ युटर्न च्यांसे’ को कथा भने धर्म परिवर्तन गरेर चार्लस बनेको च्याँग्से दसैं तिहारमा चर्चको कार्यक्रममा सहभागी नभएका कारण साङ्घातिक पिटाइमा परेर बल्लतल्ल बाँचेको घट्नामा उनिएको छ। पछि रहस्य खुल्छ उसलाई विष पनि दिएका रहेछन् र त्यमा संबैधानिक निकायकै प्रमुखको सहभागिता रहेछ। च्यांग्से चाहिँ नयाँ धर्मले निषेध गरेका कारण गाउँघरको दशैंतिहारको रमझममा सम्मिलित हुन नपाएकाले बिक्तिएर एकान्त बासमा बसेको रहेछ।
‘युद्धक विमानको पोर्ट’ र ‘सपना हुन खोज्दैछ बिपना’ बिसुद्ध राजनीतिक अन्तर्गतका कथा हुन्। देशको भूमि अरुसँग रहेको पीडासॅग गाँसिएका तर फरक कोणबाट लेखिएका दुबै कथाले पीडा मुक्तिको सम्भावित क्षितिजतर्फ च्याउने प्रयास गरेका छन्। ‘कर्णाली गुरुकुल’ , ‘नागरिक हार्दैन’, ‘हावा कुरा’ , धेरैले काखी बजाए’ , ‘पीडा यौन विलासको’ र ‘सिन्दुर पुछाउने’ कथाहरुमा शिक्षा व्यवस्थादेखि नागरिकतासम्म रअप्राकृतिक यौन व्यवहारदेखि असहज दाम्पत्य जीवनसम्मका सन्दर्भ समेटिएका छन्।

सामान्य र स्वभाविक प्रतीत हुने व्यवहार परिस्थिति र मनोविज्ञानले सिर्जना गर्न सक्ने असामान्य रअस्वभाविक परिस्थिति एवं परिणामको चित्र खिच्न , त्यसको विद्रुपदा छर्लंग पार्न लेखक बेजोड लाग्छन् । शब्द र भाषामा उनको विलक्षण पकड देखिन्छ भने आफुले भन्न खोजेको कुरो र त्यसमा दम भर्न विराट अध्ययन, सूक्ष्म पर्यवेक्षण शक्ति र मर्मभेदी स्पष्ट दृष्टिकोणले उनलाई निरन्तर सघाइरहेका हुन्छन्। त्यसैले उनका कथाहरु एकदमै शसक्त देखिन्छन्।

‘टीन मदर’ विदेशीको योजनामा उताका तन्नेरीहरु ल्याएर यताका विदेशीहरुलाई गर्भवती बनाउने परियोजनाको कथा हो, जस अन्तर्गत बिना बाबूका सन्तान जन्माइन्छन्। परियोजनालाई देशका लाउकेहरुको समर्थन र संरक्षण छ। किशोरीहरुको कौमार्य मात्र होइन समाज , संस्कृति र देशकै धेरै कुरा सिध्याउने योजना अन्तर्गत सात समुद्र पारिबाट चलाइएको हुन्छ त्यो परियोजना। ‘युवा विहार’ पनि करिब त्यस्तै भावभूमिमा सृजित कथा हो, जसमा यस नामको अड्डामा युवतीहरु ‘भर्ना’ हुन जान्छन् र त्यसरी जन्मने सन्तान कसैले बाबूको दाबी नगर्ने , केवल आफ्नै मात्र सन्तान हो भनेर ‘आत्म गौरव’ गर्छन्। राज्यले , कानूनले र अरु धेरैले यसलाई बल पुर्याएका छन् र तिनीहरु अन्तराष्ट्रिय स्तरमा सम्मानित हुँदै गएका छन्।

‘बर्जित भाषा र करणी’ मुद्दामा संस्कृत भाषाले समाजमा असंस्कार फैलाएको निस्कर्ष स्वरुप अदालती लिखत र बहस पैरवीमा संस्कृतका शब्दको निषेध गरिएको हुन्छ। त्यलैबेला दर्ता भएको जबर्जस्ती करणीमुद्दामा संस्कृतका शब्द प्रयोग नगरिकन बहस चल्छ। अरुभन्दा लामो यस कथामा बहस पैरबीको विवरण र त्यस क्रममा घम्साघम्सीहरुलाई मसिनोसँग समेटिएको छ। जो विशेष रोचक र मनोरन्जक छ।

‘रुप बिगार्ने सुन्दरीहरु’ ले प्राकृतिक रुप बिगारेर सुन्दर बन्न चाहनेहरुमाथि प्रश्न उठाएको छ। यो त्यस्तो अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिताको कथा हो, जसमा प्रतियोगीको वास्तविक , प्राकृतिक सौन्दर्यको परख गर्छ। शरीरका रौं काट्न, चुड्न, खुर्किन र उखेल्न नपाएपछि र कृत्रिम सुगन्धको साथ पनि नपाएपछि कथित सुन्दरीहरु आफ्नो रुपबाट आफैं डराउने र आफ्नो गन्धबाट आफै झस्कने अवस्थामा पुग्छन्। कथाले भन्छ‘किन्तु महाआश्चार्य , एकदेखि दशसम्म गनिएका ,मानिएका सुन्दरीहरु शतप्रतिशत मंगोल कित्ताका युवतीहरु थिए, जसले सुन्दरी प्रतियोगिता जितेर अन्त्यमा किर्तिमान स्थापित गरे। सौन्दर्यको गाथा यहीँ हो।’

‘आफ्नी छोरी आफ्नी बुहारी’ कथाको विषय चाहिँ बेग्लै छ। बाबू अथवा आमा कसको नामबाट नागरिकता बनाउने भन्ने विषयमा कामिनी सिटौला र कर्मवीर सङ्ग्रौला बीच सङ्ग्राम चल्छ र उनीहरुबीच सम्बन्ध विच्छेद हुन्छ।छोरो धर्मवीर आमाको भागमा पर्छ र थोरी उर्मि बाबूको भागमा पर्छे। छेराको नागरिकताआमाको थरमा बन्छ र छोरीको नागरिकता बाबूको थरमा । कामिनी र कर्मवीरले उर्मि र धर्मवीरलाई बेग्लाबेग्लै हुर्काउछन् एक अर्कालाई भेट्नै नदिएर । ठूला भएपछि अपरिचित नै भएर पढनलाई विदेश पुग्छन् । उतै भेट हुन्छ , प्रेम हुन्छ र उर्मि गर्भवति हुन्छेर दुबै बीच विदेशमै विवाहको कार्यक्रम आयोजित हुन्छ। बाबूकर्मवीरले आफ्नी छोरीको कन्यादान गर्छ र उर्मिको हात धर्मवीरको हातमा थमाउँछ। कर्मवीर र कामिनी थाहै नपाई पति पत्नीबाट सम्धी सम्धिनी भइसकेका हुन्छन्। कर्मवीरको छोरो ज्वाइँ हुन पुग्छ र कामिनीकी छोरी उसकी बुहारी भइसकेकी हुन्छे।

‘गीत, कुत्ता र कोर्ट’ पुस्तकमा संकलित कथाहरुको छाँटकाँट यस्तै छ । हरेक कथाले दिमाग रन्थन्याउँछन्, झक्झक्याउछन् र विचार मग्न पार्छन्, गम्भीर चिन्तनको लागि खुराक दिन्छन् र मन सन्तुष्ट पार्छन् । शर्त एउटै छ, तपाईँमा ल्याँल्याँगे गन्थन, बासी कुराको पुन: कथन , सस्ता नारा, सतही भावुकता, सस्तो क्रान्तिकारिता र आफ्नै समाज तथा परम्पराप्रतिको घृणाभावमा रमाउने र त्यसलाई साहित्य मान्ने स्वभाव विकसित भएको नहोस्। अनि स्तरीय भाषा, फरक शैली, कलात्मक र गम्भीर कुरालाई मनमा गढ्ने गरी प्रस्तुत गर्ने शील्पले आनन्दित गराओस्। म त एउटा पाठकका रुपमा यो पुस्तक आनन्दित भएँ । विश्वाश छ तपाईं पनि पक्कै आनन्दित हुनुहुनेछ । मेरो टिप्पणी पढेर होइन पुस्तक नै पढेर।