साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अभिनेताको ‘कुकुरको आत्मकथा’देखि पत्रकारको ‘विचारभन्दा माथि देश’सम्म

‘साताका पुस्तक’मा यो साता छ पुस्तक । स्थापित अभिनेताको 'कुकुरको आत्मकथा'देखि सफल पत्रकारको 'विचारभन्दा माथि देश'सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

Chovar Blues Mobile Size

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । स्थापित अभिनेताको ‘कुकुरको आत्मकथा’देखि सफल पत्रकारको ‘विचारभन्दा माथि देश’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

====

१. धेरैको धपेडी – जीवनकुमार प्रसाईं

डा. जीवनकुमार प्रसाईंको स्वास्थ्य तथा जीवशैलीसँग सम्बन्धित अनुसन्धानमूलक कृति हो, ‘धेरैको धपेडी’ । डा. प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रुपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्त्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् ।

sagarmani mobile size

‘…जीवनको जतन धेरैमा होइन, तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ भन्ने चेतना आज हराउँदै गएको छ ।’, पुस्तकमा डा. प्रसाईं लेख्छन्, ‘त्यसैले सनातनदेखि चलिआएका संस्कृति र सम्पदाको संरक्षण र संवद्र्धन गर्नु आजको आवश्यकता बनेको छ । यस पुस्तकमा यिनै कुरा आम पाठकलाई वैज्ञानिक तथ्यका आधारमा जानकारी दिन प्रयत्न गरिएको छ ।’

पुस्तकलाई पब्लिकेसन नेपालयले प्रकाशनमा ल्याएको हो । २ सय २६ पृष्ठमा फैलिएको यो पुस्तकको मूल्य ४ सय २५ रुपियाँ रहेको छ । यसअघि डा. प्रसाईंका खानपान, जीवनशैली र वातावरणमा आधारित ‘जीवन जिउने काइदा’, ‘सधैं तन्नेरी’ र ‘वरिपरि नै सर्वोपरि’ नेपालयबाट प्रकाशित छन् ।

 

२. फरैना – सन्तोष श्रेष्ठ

सन्तोष श्रेष्ठ नेपाली सुगम सङ्गीतको प्रसिद्ध नाम हो, र उनै श्रेष्ठको पहिलो उपन्यास हो ‘फरैना’ । श्रेष्ठले विश्व सङ्गीतको इतिहासमा अन्तर्राष्ट्रिय ५० भाषाका गीतमा सङ्गीत भरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो साङ्गीतिक कीर्तिमान कायम गरिसकेका छन् । सङ्गीतका अलावा आफैं गीत लेख्ने र गाउने श्रेष्ठका यसअघि गजलसङ्ग्रह ‘आँसु’ र लघुकथासङ्ग्रह ‘अधुरो सपना’ प्रकाशित छन् ।

‘फरैना कैयन् शोषित पीडित नेपाली नारीहरुको एक प्रतिनिधिमूलक पात्र हो ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘भोक, प्यास, पीडा, अभावहरु झेल्दै उज्यालो भविष्यको लागि यात्रारत् कयौं फरैनाहरु अझै पनि यो समाजमा गुमनाम नै छन् । तिनका अठोट र आत्मविश्वासमा सुनौला रङ भरिन बाँकी नै छ । मनमा दृढ सङ्कल्प बोकेर बाधाहरु छिचोल्दै अघि बढ्ने काम कति कष्टकर छ भन्ने कुरा फरैनाको माध्यमबाट देखाइएको छ ।’

पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । २ सय २६ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ९९ रुपियाँ रहेको छ ।

 

३. विचारधारात्मक सङ्घर्ष – इन्द्रमोहन सिग्देल

इन्द्रमोहन सिग्देलकृत समीक्षात्मक सिद्धान्तपरक पुस्तक हो, ‘विचारधारात्मक सङ्घर्ष’ । पुस्तकमा नेपालको बामपन्थी धार, जनआन्दोलन, कम्युनिस्ट एकतादेखि माक्र्ससम्मको समीक्षात्मक अध्ययन गरिएको छ । ‘प्रचण्डलाई रुपान्तरण गर्ने मेरो प्रयत्न’बाट सुरु भएको पुस्तक ‘भूकम्पपछिको विपद्व्यवस्थापन र सघन बस्ती विकास सम्बन्धी अवधारणा’मा गएर टुङ्गिएको छ ।

‘प्रस्तुत पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जनजति आलेखहरुलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविधजस्ता भागहरुमा वर्गीकरण गरिएको छ ।’, पुस्तकको भूमिकामा मोहन वैद्य किरण लेख्छन्, ‘यी आलेख नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान रहिआएका विभिन्न विचार, प्रवृत्ति तथा अन्तर्विरोधहरु र नेपाली अर्थतन्त्र, नवउदारवादी साम्राज्यवाद, विज्ञान तथा प्रविधिको विकास तथा तिनको वर्गसङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा पार्दै आएको प्रभाव लगायतका विषयवस्तुहरुमा आधारित रहेका छन् । र, तिनमा हाम्रो पार्टीका विचार, दृष्टिकोण र अभिमत सशक्त एवम् प्रभावकारी रुपमा अभिव्यक्त भएका छन् ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय २२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९० रुपियाँ रहेको छ ।

 

४. फुर्के – खगेन्द्र लामिछाने

अभिनयमार्फत सधैं केही न केही नयाँ प्रस्तुति दिइरहेका अभिनेता खगेन्द्र लामिछानेको उपन्यास हो, ‘फुर्के’ । फुर्केले बालकदेखि वृद्धसम्मले पढ्न र बुझ्न सक्ने सहज र सरल भाषामा एक कुकुरको आत्मकथा भनेको छ । उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह(अवरोहमा उपन्यास केन्द्रित छ । लेखकले मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई ‘फुर्के’मा प्रस्तुत गर्न खोजेका छन् ।

‘मानिसका लागि कुकुर कहिले सुरक्षाकर्मी, कहिले सहयोगी, त कहिले साथी बन्दै आइरहेको छ ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘अन्य प्राणीभन्दा अलि कढी संवेदनशील कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन–भोगाइका संवेदनाहरुलाई उसैको भाषामा प्रस्तुत गरिएको किताब हो – फुर्के ।’

बुक हिलले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ५ सय रुपियाँ रहेको छ ।

 

५. विचारभन्दा माथि देश – रवीन्द्र मिश्र

लामो समय बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा काम गरेका प्रसिद्ध पत्रकार रवीन्द्र मिश्रको अवधारणामूलक पुस्तक हो, ‘विचारभन्दा माथि देश’ । पछिल्लो समय पत्रकारिता छोटी बैकल्पिक राजनीतिमा सक्रिय बनेको मिश्रले पुस्तकमा मुख्यत: ‘संवैधानिक राजतन्त्र’, ‘सङ्घीयता खारेजी’, ‘हिन्दु–बौद्ध राष्ट्र’ र ‘कल्याणकारी (सामाजिक) लोकतन्त्र’ गरी चार अवधारणालाई पुस्तकमार्फत् अघि सारेका छन् ।

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको रवीन्द्र मिश्रले पुस्तकमा उल्लेख गरेका छन्। मिश्रले पुस्तकमा लेखेका छन्, ‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०-७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ ।’

पछिल्लो समय बैकल्पिक राजनीति छाडी राजावादीको छवि बनाएका मिश्र राप्रपामा प्रवेश गर्न चर्चा चर्को छ । पुस्तकलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 

६. घर: घर जस्तो छैन – माणिकरत्न शाक्य

माणिकरत्न शाक्यकृत कवितासङ्ग्रह हो, ‘घर: घर जस्तो छैन’ । सङ्ग्रहमा सङ्ग्रहित कविताहरुमा कतै गीतगजल, कतै मुक्तक, कतै हाइकु र कतै झ्याउरेका सुगन्ध फैलिएका छन् । शाक्य देखे–भोगेका विषयवस्तुलाई व्यङ्ग्यरस सहित सहज र सरल तरिकाले कविताका माध्यमबाट अभिव्यक्त गर्न सफल देखिएका छन् ।

‘सबैले चिनेका माणिकरत्न हँसाउन मात्र जान्दछन्, आफू पीडा पचाएर अरुलाई मनोरञ्जन दिन जान्दछन्, यो सत्य हो तर त्यतिमात्र होइन गम्भीर काव्यिक चेतना पनि छ उनीसँग, यो भने कसैलाई थाहा होला ।’, पुस्तकको भूमिकामा लेख्छन्, ‘प्रस्तुत कविताका हरफ हरफले त्यो साबित गरिदिएको छ ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय २२ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

प्रतिक्रिया
Loading...