माहोल दसैंको छ । सधैंझैं दसैंलाई केन्द्रमा राखेर सेलिब्रेटी लेखकदेखि सेलिब्रेटीबाट लेखक बनेकाहरुकोसम्म पुस्तकहरु धमाधम प्रकाशनमा आइरहेका छन् । र, भदौ महिनामा आएका पुस्तकहरुमध्ये सुबिन भट्टराईको ‘इजोरिया’ आक्रमक देखिएको छ । यसर्थ भन्न सकिन्छ, यो दसैं पुस्तक बिक्रीका हिसाबले सुबिन भट्टराईका लागि विशेष बनेको छ ।

साहित्यपोस्टले आफ्नो स्थापना कालदेखि नै मासिक रुपमा ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’ प्रकाशन गर्दै आएको छ । कोराना तथा अन्य कारणले विभिन्न समयमा सूचीको प्रकाशन स्थगित पनि भएका छन् । सूची प्रकाशन गर्न नसक्नुको मूख्य कारण भने पुस्तकको न्युन बिक्री नै रहेको छ । गत चार महिना (बैशाख, जेठ, असार, साउन) को ‘बेस्ट सेलर सूची’समेत पुस्तक बिक्री ज्यादै न्युन भएका कारण प्रकाशन गर्न सकिएको थिएन । तर भदौ महिनामा आइपुग्दा पुस्तक बजार चलयमान बनेको छ । साथै, केही कृतिहरुले आक्रमक व्यापारसमेत गरिरहेका छन् । परिमाणस्वरुप भदौ महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’ तयार गरिएको छ ।

०७९, भदौ महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’मा सेलिब्रेटी लेखक सुबिन भट्टराईको पाँचौं उपन्यास ‘इजोरिया’ पहिलो स्थानमा रहेको छ । सुबिन भट्टराई विशेषत: किशोर तथा युवा पुस्तामा लोकप्रिय छन् । इजोरिया प्रकाशनमा आएसँगै समर लभ, साया र प्रिय सुफीको बिक्री पनि बढेको रिपोर्ट बिक्रेताहरुबाट प्राप्त भएको छ । सुबिनका अधिकांश आफ्नै पाठक भएका र उनीहरु अरुबेला पुस्तक बजारमा नदेखिने बताउँछन् पुस्तक बिक्रेताहरु । इजोरिया खोज्दै आउनेहरुले बाटोबाटै सोध्ने र नपाए बाटोबाटै फर्किने अनुभव सुनाउछन् चितवनको सम्पूर्ण पुस्तक पसलका सञ्चालक लेखराम सापकोटा । उनी भन्छन्, ‘इजोरिया लिन आएका सयमध्ये ५ जनाले मात्र अन्य किताबहरु पनि हेर्नु र किन्नुहुन्छ । उहाँहरु सुबिनका वास्तविक पाठक हो ।’

सुबिनको पुस्तकको बजारमा आएको केही समयमै एकाएक गायब भयो । अर्थात् बिक्री भयो । छोटो समयमै पहिलो संस्करण बिक्री भइसकेको यो पुस्तकको छपाइमा भ्याइनभ्याई भएको बताउँछन् प्रकाशक नीरज भारी । सुबिनका पाठक र देशको अवस्थामाथि चिन्ता गर्दै उनी भन्छन्, ‘सुबिनका धेरै पाठकहरु देशबाहिर हुनुहुँदो रहेछ जो समर लभ तथा सायाले बनाएका पाठक हुनुहुन्छ । व्यापारलाई अगल्लै राख्दा, यो देशका लागि दु:खद् कुरो हो ।’

काठमाडौंका १०, काठमाडौंबाहिरका १० पुस्तक पसल र ४ अनलाइन पुस्तक बिक्रेताहरुबाट प्राप्त रिपोर्टलाई आधार मान्दा भदौ महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को दोस्रो स्थानमा ‘ऐना’का लागि मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको कथासंग्रह ‘बाआमा’ रहेको छ । इजोरिया सुबिन भट्टराई मार्काका पाठकहरुबिच लोकप्रिय बनिरहँदा बाआमा भने साहित्यका नियमित पाठकमाझ लोकप्रिय बनेको छ । सुबिनको इजोरियाभन्दा केही दिनअघि मात्र प्रकाशनमा आएको यो कृति नेपाली साहित्यका नियमित पाठकको पहिलो रोजाइमा ‘बाआमा’ परिरहेको बिक्रेताहरुले बताएका छन् ।

देशका दुई ठुला पुरस्कार (मदन र पद्यमश्री) पाएका पुस्तकहरुको दबदबा बिक्रीमा देखिएको छैन । प्राय: यी दुई पुरस्कार प्राप्त पुस्तकहरुको बिक्री विगतमा उच्च हुने गरेका भए तापनि यसपटक भने ‘इजोरिया’ र ‘बाआमा’को छायामा परेको रिपोर्टहरुले देखाएका छन् । सूचीको पहिलो र दोस्रो दुबै स्थानमा भदौ महिनामै प्रकाशित पुस्तकहरु पर्न सफल भएका छन् । डा. नवराज लम्सालको यस वर्षको मदन पुरस्कार विजेता महाकाव्य ‘अग्नि’ सूचीको तेस्रो स्थानमा रहँदा केशव ज्ञावालीको पद्यमश्री प्राप्त कथासंग्रह ‘अर्को भोर’ सूचीको पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै, सूचीको चौथो स्थानमा सुरेश बडालको पहिलो उपन्यास ‘मायाका मसिना अक्षर’ पर्न सफल भएको छ । प्रेम मनोविज्ञानअन्तर्गत लेखिएको यो पुस्तक पनि किशोर तथा युवापुस्तमाझ लोकप्रिय रहेको बिक्रेताहरुले बताएका छन् ।

पढ्नुहोस्, बिक्रेताहरुको अनुभव तथा पुस्तकको छोटो परिचयसहित भदौ महिनाको बेस्ट सेलर सूचीमा समावेश पुस्तकहरु:

१. इजोरिया – सुबिन भट्टराई

किशोर तथा युवापुस्तामाझ बहुचर्चित लेखक सुबिन भट्टराईको पाचौं उपन्यास ‘इजोरिया’ साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थापन पर्न सफल भएको छ । प्राप्त रिपोर्टका अनुसार फाइन प्रिन्टले प्रकाशनले बजारमा ल्याएको यो पुस्तक पहिलो स्थानमा पर्न सफल मात्र भएको छैन, आक्रमक व्यापार पनि गरिरहेको छ । विभिन्न ठाउँमा पुस्तकहरुको अभाव रहेको बिक्रेताहरुले बताएका छन् ।

इजोरिया मैथिली शब्द हो जसको अर्थ ‘जुनेली’ हुन्छ । उपन्यासमा सुबिनले पारिवारभित्र देखिने प्रेम, घृष्णा र द्वन्द्वलाई कथाका रुपमा उतारेका छन् । यसअघिका उपन्यासहरुमा काठमाडौं केन्द्रित देखिएका सुबिनले इजोरियामा मधेशको परिवेशमा समाएका छन् । पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, “सुबिन भट्टराईका पाठकलाई थाहै छ – उनी विषय होस् वा शैलीस हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध(साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।”

सुबिनका आफ्नै मार्कामा पाठक छन्, जसलाई नेपाली साहित्यप्रति चासो नभए पनि सुबिनको पुस्तक पर्खिएरै पढ्छन् । यस्ता पाठक देशभित्र जति छन्, देशबाहिर पनि उति नै फैलिएका छन् । तिनी सुबिन मार्काका पाठकहरुको संख्या ठुलो रहेको र किशोर तथा युवापुस्तामाझ लोकप्रिय रहेकाले पुस्तकले आक्रामक व्यापार गरिरहेको बिक्रेताहरुले बताएका छन् ।

२. बाआमा – रामलाल जोशी

कथासंग्रह ‘ऐना’का लागि मदन पुरस्कार विजेता रामलाल जोशीको दोस्रो कथाकृति ‘बाआमा’ सूचीको दोस्रो स्थानमा रहन सफल भएको छ । सुबिनको इजोरियासँग तुलना गर्दा ‘बाआमा’को पाठक धेरैहदसम्म फरक छन् । यो पुस्तक नेपाली साहित्यका नियमित पाठकको पहिलो रोजाइमा परिरहेको बिक्रेताहरु बताउँछन् ।

“बाआमा, सन्तान र सम्बन्ध भन्नु सृष्टिको एउटा ऋत हो । हो, यही ऋतको कथा हो( बाआमा ।”, पुरस्तकको अन्तिम कभरपृष्ठमा लेखिएको छ, “जब कुनै श्रष्टाले आफ्नो कथा भन्न छोडेर सृष्टिको कथा भन्न थाल्छ, तब आकाश आफ्नो उही निलाम्य बैंस पाएर पग्लिन थाल्छ, आफ्नो उही ऋतम्भराको रूप पाएर धर्ती रसाउन थाल्छिन्, अस्ताचलमा डुब्न थालेको सूर्यले उषाकालको अरूणिमा वरण गर्दछ, अन्धकारमा बिलाउन थालेको जूनले पूर्णचन्द्रको आभा प्राप्त गर्छ । ठीक यही बेला सृष्टिको ऋतले एकपटक फेरि आफ्ना सन्तानलाई ध्रुवताराको रूपमा स्वीकार गर्छ ।”

बाआमा विशेषत: सृष्टिको कथा हो । सम्बन्धको कथा हो । कथाकार जोशीले सन्तान र बाआमाको सम्बन्धलाई अत्यन्तै गहन र उत्कृष्ट शब्दशिल्पले कथाका रूपमा प्रस्तुत गरेका छन् । कथा बुनिएका मात्र छैनन्, एकअर्कामा उनिएका पनि छन् । कृतिमा सङ्ग्रहित समग्र कथाहरू पढिसक्दा उपन्यास पढेको भान हुन्छ, तर प्रत्येक कथाहरू आफैंमा पूर्ण छन् ।

प्रकाशक बुकहिलको आक्रमक मार्केटिङ, साथै पाठकहरुबाट राम्रो प्रतिक्रिया पाएका कारणले पुस्तकको बिक्री राम्रो भइरहेको बिक्रेताहरु बताउँछन् । साथै, जोशीको ‘मदन पुरस्कार’वाला व्यक्तित्वले समेत पुस्तक बिक्रीमा सकरात्मक प्रभाव रहेको उनीहरुको अनुभव छ ।

३. अग्नि – डा. नवराज लम्साल

डा. नवराज लम्सालकृत महाकाव्य ‘अग्नि’ भदौ महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को तेस्रो स्थानमा पर्न सफल भएको छ । वर्ष २०७८ का लागि देशकै ठुलो र प्रतिष्ठित ‘मदन पुरस्कार’ प्राप्त कृति हो ‘अग्नि’ । विशेषगरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई लम्सालले महाकाव्य ुअग्निुमार्फत उजागर गरेका छन् ।

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि, गीतकार तथा नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति डा। लम्साल लामो समयदेखि रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग सम्बद्ध हुनुहुन्छ । समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने , देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र , प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने सन्दर्भ डा। लम्सालका लेखनका खास विशेषता मानिन्छन् ।
बुक हिल प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो पुस्तकको बिक्री सुखद् हुनुको कारण बिक्रेताहरूले ‘मदन पुरस्कार’का साथै कृतिकारको व्यक्तित्वलाइ मानेका छन् । यसअघि डा. लम्सालका दुईवटा महाकाव्य ‘कर्ण’ र ‘धरा’ प्रकाशित छन् ।

४. मायाका मसिना अक्षर – सुरेश बडाल

युवापुस्ताका रुचाइएका लेखक सुरेश बडालको पहिलो उपन्यास ‘मायाका मसिना अक्षर’ बेस्ट सेल सूचीको चौथो स्थानमा पर्न सफल भएको छ । यसअघि कथासङ्ग्रह ‘रहर’बाट साहित्य बजारमा देखिएका बडालको उपन्यासले युवापुस्तामाझ सुखद् बिक्री गरिरहेको प्राप्त रिपोर्टले देखाएको छ ।

मान्छेले गल्ती गर्छ र त्यसलाई स्विकार्छ भने त्यो जति उपयोगी शिक्षा अरु हुँदैन, यस मानेमा यो नायकको कथा होइन, जो सबैलाई पराजित गर्छ । यो त खलनायकको कथा हो, जो आफ्नै अपरिपक्वतालाई जित्छ । लेखनमा रूचि भएको दिवस र काठमाडौंमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरू भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिँदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिँदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको यो कृतिले आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने ‘मायाका मसिना अक्षर’ले पाठकलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ । किशोर तथा युवा पुस्ताको ध्यान खिच्न सफल भएकाले उपन्यासको बिक्री सुखद् भएको बिक्रेताहरुले बताएका छन् ।

५. अर्को भोर – केशव ज्ञवाली

केशव ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’ साहित्यपोस्ट बेस्ट सेलर सूचीको पाँचौं स्थानमा पर्न सफल भएको छ । वर्ष ०७८ को पद्यश्री पुरस्कार विजेता यो कृति ज्ञवालीको पहिलो पुस्तक हो । समसामयिक कथाहरु रहेको यस सङ्ग्रहलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

यो कृतिलाई पद्यश्री पुस्तक पुरस्कार प्रदान गर्ने निर्णय गर्दै विज्ञप्तिमा भनिएको थियो, ‘अर्को भोर कथासङ्ग्रहका कथाहरुको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएका छन् । कथाको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक् सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन् ।’

पुरस्कार पाएसँगै पुस्तकको बिक्री उच्च हुने अपेक्षा गरिए पनि अपेक्षाअनुसार पुस्तकको बिक्री नभएको रिपोर्टहरुले देखाएको छ । यो पुस्तकको बिक्री विशेषत: काठमाडौं बाहिरमा पुस्तक पसलहरुबाट सुखद् भइरहेको छ ।

६. समर लभ – सुबिन भट्टराई

सुबिन भट्टराईको पाँचौं उपन्यास ‘इजोरिया’सँगै पहिलो उपन्यास ‘समर लभ’ पनि भदौ महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको छैटौं स्थानमा पर्न सफल भएको छ । ‘समर लभ’ सुबिन भट्टराईको सर्वकालीक बेस्ट सेलर उपन्यास हो । पछिल्लो समय इजोरिया प्रकाशनमा आएसँगै सुबिनका अन्य उपन्यासहरुको बिक्री पनि राम्रै भइरहेको बिक्रेताहरुले बताएका छन् ।

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स , कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम —साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स । तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो ‘समर लभ’ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुत्कुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरुन्जेल हँसाउने हास्यरस ।

बिक्रेताहरुका अनुसार समर लभ किन्ने पाठक तिनै हुन् जसले इजोरिया किनिरहेका छन् । समर लभसँगै साया र प्रिय सुफीको बिक्री समेत सन्तोषजनक भइरहेको बिक्रेताहरुले बताएका छन् ।

७. कुलचन्द्र गौतमको आत्मकथा

संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका पूर्व उपकार्यकारी निर्देश कुलचन्द्र गौतमको आत्मकथा भदौ महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को सातौं स्थानमा पर्न सफल भएको छ । प्राप्त रिपोर्टका अनुसार काठमाडौं भित्रका पुस्तक पसल तथा अनलाइन बिक्रेताहरुमार्फत पुस्तकको बिक्री सन्तोषजन भइरहेको छ ।

गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुन्छ । एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ ।

नेपालय प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो कृति कुलचन्द्र गौतमको व्यक्तित्वका साथै पुस्तकमा समेटिएका महत्त्वपूर्ण जनकारीहरुका कारण बौद्धिक पाठकको रोजाइमा पर्ने गरेको बिक्रेताहरुले बताएका छन् ।

८. आमाको मुटु – रामेश कोइराला

रामेश कोइरालाको संस्मरणात्मक कृति ‘आमाको मुटु’ साहित्यपोस्ट बेस्ट सेलर सूचीको आठौं स्थानमा रहन सफल भएको छ । फाइन प्रिन्टले प्रकाशनमा ल्याएको यो कृति सूचीको आठौं स्थानमा पर्न सफल भएको रिर्पोटले देखाएको छ । विशेषत: पुस्तकको बिक्री अनलाइन माध्यमबाट सुखद भइरहेको छ ।

अत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति । उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।

 

९. पानीघट्ट – सुरेश प्राञ्जली

सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ यो महिनाको सूचीको नवौं स्थानमा पर्न सफल भएको छ । उपन्यास ‘तुइन’ लेखेर चर्चा कमाएका लेखक प्राञ्जलीको यो दोस्रो उपन्यास हो । पहिलो कृतिले पाठकहरुको छोडेको छाया ‘पानीघट्ट’मार्फत समाएका कारण बिक्री राम्रो रहेको बिक्रीहरुले जनाएका छन् ।

‘लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरू भएको उपन्यास पानीघट्ट गुरूङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्षुलनको साक्षी हो ।’, पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, ‘तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई पानी र घट्टको बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।’

फाइनप्रिन्टबाट प्रकाशनमा आएको यो कृतिलाई पाठकहरुबाट सकरात्मक प्रतिक्रिया मिलेका कारण सुस्त भए पनि बिक्रीमा राम्रो प्रभाव परेको बिक्रेताहरुको अनुभव छ ।

१०. सन्तापको धून – डा. अशोक थापा

डा. अशोक थापाको पहिलो कथासङग्रह ‘सन्तापको धून’ सूचीको अन्तिम अर्थात दशौं स्थानमा पर्न सफल भएको छ । यो डा. अशोकको मात्र पहिलो कृति होइन, प्रकाशक पेज टर्नरको पनि पहिलो प्रकाशन हो । आफ्नो पहिलो प्रकाशन भएका कारणले प्रकाशकले बजार व्यवस्थापनमा विशेष मिहेनत गरिरहेको छ, जसको सकारात्मक प्रभाव बिक्रीमा पनि परिरहेको छ ।

विसङ्गतिवादी लेखनका ज्ञाता डा. अशोकको प्रकाशोन्मुख कथाकृतिमा आजको मान्छे र समाजभित्र विद्यमान अदृश्य विसङ्गति र विपर्यासहरूको सुन्दर उत्खनन् गरेका छन् । रङ्गमञ्चमा अभिनयको अनुभवसमेत सँगालेका लेखक थापाका कथामा नाटकीयता पनि यथेष्ट मात्रामा पाइन्छ । नेपथ्यका पात्रको उपस्थिति, आञ्चलिक भाषाको प्रयोग तथा नवीन आख्यान-शिल्पका कारण कथा पाठनीय छन् ।

‘साहित्यपोस्ट बेस्ट सेलर सूची’मा अटाएका बाहेक नोस्टाल्जिया, लय छुटेको समय, प्रश्न, अन्त:यन्त्रणा, साया, प्रिय सुफी, सती: इतिहास र मीमांसा, कर्णाली ब्लुज, खुसी, हिति प्रणालीलगायत कृतिहरुको बिक्री समेत सन्तोषजनक रहेको प्राप्त रिपोर्टले देखाएको छ ।