बेलायतको जासुसी संस्था जिसिएचक्युले भविष्यमा जासुसहरूको खडेरी पर्ने सम्भावनालाई हृदयंगम गर्दै उसले बालबालिकाका लागि पुस्तक बजारमा ल्याएको छ । जो बालबालिका कोठेपद, पजल लगायतका दिमाग खियाउने कुरा पढ्न रूचाउँछन्, उनीहरूमा जासुस बन्ने पर्याप्त सम्भावना हुने भन्दै उसले यस कार्यतर्फ बालबालिकाको ध्यान आकर्षित गर्न पुस्तक प्रकाशन गरेको हो ।

जिसिएचक्युले हालै दुई वटा त्यस्ता पजलका पुस्तक निकालेको हो । दुईमध्ये एउटा बालबालिका केन्द्रित हो भने अर्को चाहिँ १८ वर्षभन्दा बढी उमेरका मानिसहरूका लागि हो ।

बाल पुस्तकमा बालबालिकाको भाषाक्षमता, इन्जिनियरिङ, कोडब्रेकिङ, विश्लेषण, गणित, इन्टरनेटका कोडिङ र साइबर सेक्युरिटीसम्बन्धी जानकारी र त्यसका पजलहरू राखिएका छन् ।

यस्ता पुस्तक प्रकाशनले भविष्यका जासुसहरू, नयाँ पुस्ताका कोडब्रेकर, भाषाशास्त्री तथा गणितज्ञहरूलाई जासुसीतर्फ आकर्षित गर्न सक्ने विश्वास जासुसी एजेन्सी जिसिएचक्युले लिएको छ ।

पछिल्लो समय बालबालिकाका लागि मात्र ठानिएको कलरिङ बुक पाकाहरूमाझ पनि उत्तिकै लोकप्रिय हुँदै आइरहेको छ । कतिपय मानसिक स्वास्थ्यका लागि लाभदायक मानिएको कलरिङ बुक पनि एजेन्सीले प्रकाशन गरेको छ ।

जासुसी संस्था प्रमुख जेरेमी फ्लेमिङ

 

यी पुस्तकलाई कोलिन नामक एक जासुसीविज्ञले तयार पारेको जनाइएको छ । उनी भन्छन्, ‘जासुस हुनका लागि संक्रामक किसिमको जिज्ञासु हुन जरूरी छ । यो पुस्तकले जिज्ञासुहरूको जिज्ञासा बढाउने काम गर्छ । र, कलरिङ गर्न तथा पजल मिलाउनु जत्तिको रोचक काम अरू कुनै हुन सक्दैन ।

यस्ता कलरिङ बुक वा पजलका समस्याहरू रङमार्फत भर्नुपर्ने हुन्छ र त्यसका लागि जम्मा मुख्य चार रङहरूले समाधान गरिन्छ ।

जासुसी संस्थालाई बढीभन्दा बढी विविध क्षेत्र, जाति र मुलुकका जासुसहरू आवश्यक परेको र खासगरी महिलाको आवश्यकता बढी रहेको, सो विविधताको अभावलाई यस्ता पुस्तकले पूरा गर्न सक्ने आशा लिएको जासुसी एजेन्सीले जनाएको छ ।

जासुस बन्न कक्षाको सबैभन्दा जान्ने विद्यार्थी हुन नपर्ने र सोही मिथक तोड्न बालबालिकाहरूका लागि यो पुस्तक प्रकाशन गरिएको जासुसी एजेन्सी जिसिएचक्युका निर्देशक जेरेमी फ्लेमिङले बताए । उनले यो पुस्तक बालबालिकाका लागि तयार पारिएको भए पनि युवा र वयस्कहरूका लागि पनि उत्तिकै रमाइलो लाग्ने बताए ।

यो पुस्तक देशको समस्या समाधान गर्ने उत्सुकता जाँच्ने एउटा कसी पनि हुनसक्छ, फ्लेमिङ भन्छन्, र, यही पुस्तकले बालबालिकामा समस्या समाधानप्रति चासो, त्यसप्रतिको ढृढता के कसो रहेछ भन्ने पनि बुझ्न सघाउ पुर्याउन सक्छ ।