साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः म नजन्मेकै भए वेश थियो

Chovar Blues Mobile Size

अर्जुन उप्रेती (अप्रतिम)

अहिले धेरै फुर्सत छ मलाई
हुन त शारीरिक, घर‑घरायसीको
कुरो गरेको हो मैले
सोचको मैदानमा भकुण्डोको पछिपछि कुद्न
धौधौ परेको छ मलाई
यहाँ फुर्सत कहाँ छ मलाई ?
घोत्लिएको छु केही अनुत्तरित प्रश्नहरूसँग
रुवाबासी गर्दै
झोक्राएको छु पानी छर्केको
बलिको निरीह प्राणीझैँ
जुन उत्तरदायित्वका साथ धरतीमा पाइला टेकेँ
जीवश्रेष्ठको तक्मा छातीमा टाँसेर आएँ
त्यो तक्माको मर्यादा धुजाधुजा पारेको
झलझली याद आइरहेछ
यति मात्र हो र ?
सम्झेर ल्याउँदा आङ जिरिङ्ग भएर आउँछ
कहाँ लुकुँ ? कहाँ भागुँ ?
क्षणभरको निम्ति
धरती दुई कप्टेरो भई दिए
हावाको भरमा फाल हाल्ने थिएँ
कसैले नदेख्ने ठाउँमा पुग्ने थिएँ
फेरि अर्को पल्ट, आफ्नो मुर्खतामा
आफैँ शर्माउँछु, मनै मन आफैँलाई
लछारपछार पार्छु
सबैसँग भागौँला
येनकेन प्रकारेण
सबैका आँखामा छारो हालौँला
सबैलाई थाङ्नामा सुताउँला
तर आफ्नो अन्तरात्मालाई ?
कसरी छलौँ म ?
दशै दिशा थुनिएर
वृत्तमा थुनिएको
यौटा विवश प्राणीको रूपमा पाएँ आफैँलाई !
र नै मेरो यो स्वीकारोक्ति
सधैँ विपरीत दिशामा अवस्थान मेरो !
यही हो सही भन्दै
सधैँ दुषित वायु गरेँ सेवन
विशुद्ध, निर्मल पवन भन्दै
पावन शरीर अपवित्र बनाएँ
नशामा मातेर लट्टु भएँ
मदिरा हैन, अमृतको प्याला भन्दै
नगर्नु जति सबै गरेँ, शुभ कार्य ठानेर
तामसिक प्रवणता बढाएँ
सात्विकता के हो ? उहिल्यै हराएँ
सेवा के हो जान्दै जानिनँ
सेवाका उपादानहरूलाई
रत्तिभर गन्दै गनिनँ
नाता, सम्बन्ध आत्मीयता
सबैलाई डाँडा कटाएँ
शनै शनै मैले
मानवको दर्जा गुमाएँ
न आमाको सेवा गरेँ
न बुबाको मान राखेँ
न देशको भलो गरेँ
न जाति को निम्ति लडेँ
न दीनदुःखीको चाह गरेँ
न जीवप्रति सहानुभूति उमारेँ
अहिले, यहाँ आइपुगेर बल्ल थाहा पाएँ
धिक्कार छ मलाई !
मैले यो अनमोल जुनी
सौभाग्यले पाएर चरम दुर्भाग्यले बाटैमा गुमाएँ
मानिस् बनिनँ म
त्यो दर्जा मैले उहिल्यै हराएँ
त्यो तक्मा छैन अहिले
त्यहाँनेर (भन्नै सकिनँ)
यौटा अपवित्र तक्मा
झुण्डिरहेको छ अहिले
झुण्डिरहेको छ अहिले !

प्रतिक्रिया
Loading...