साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निर्मल तलाउमा तरङ्ग : कवितामा विविधता

समुद्रझैं गहिरा, आकाशझैं फराकिला, उज्याला फाँटका कविता संस्कार, संस्कृति, देश, विदेश, परिवेश, समसामयिक अनेकन विविधताका आयामले तिनका बिम्ब र प्रतिबिम्बलाई परिष्कृत रूपमा सजाइएको कृति पठनीय एवं प्रशंसनीय छ ।

Chovar Blues Mobile Size

कवयित्री शशी भट्टराई श्रेष्ठ साहित्यिक फाँटमा उदीय प्रतिभाको कृति चिटिक्क ३५ वटा गूढ सारगर्भित सम्भूतिका गुम्फनले सज्जित ९६ पृष्ठको निर्मल तलाउमा तरङ्ग (कवितासङ्ग्रह) अजम्बरी पब्लिकेसनबाट २०७८ मा प्रकाशित अब्बल दर्जाभित्रको पुस्तक हो ।

सर्वश्रेष्ठ मेरी मम्मी श्रेष्ठको सम्मानले युक्त  आफ्नै छोरी सिंदियाको भूमिका लेखनले बेजोडको उत्साह जगाई कवितासङ्ग्रह भित्रका केही पङ्क्तिहरु उद्धरण गरी प्रसङ्ग वर्णन लेखाइले आमा शशीको लागि मात्र नभई हामी पाठकवर्गका लागि विदुषीका श्रेणीमा उदीयमान हुनको परिचय भूमिकाले जताइसकेकाले भाञ्जी सिंदियालाई अजस्र आशीर्वादसहित उज्ज्वल भविष्यको कामना । मामा ।

श्रष्टाकै शब्दमा आफ्ना श्रीमान्ज्यूको असीम प्रेरणा, छोरीको भूमिका, छोरा सैयमको सहयोगको सराहना गराइले असल श्रीमान् र छोराछोरीकी धनी शशी भाग्यशाली ठहर्छिन् । यो खुसीको अनुभूति हो । भाउजू डा. अञ्जनाको किताब निकाल्नको लागि सल्लाह सहितको उत्प्रेरणा साथै दाजु डा. गोविन्दराजको त्यो भनाइको आसयलाई सकारात्मकसँग आत्मसात् गर्नाले यति ठूला दर्जा मिल्यो, त्यही ऊर्जाले आफूलाई साहित्यिक संसारमा सैर गराइरहेकोले ठूलो आत्मविश्वास र उत्साहका भरले यो कृति तयार भएकोमा सो सुकार्यको प्रशंसा गर्नै पर्दछ ।
साहित्यानुरागी साहित्यका साधकहरुकी भगिनी शशीमा आफ्ना परिवारजनबाट प्राप्त आशीर्वादको प्रताप साथ स्वयं उनको आफ्नो जाँगर, उत्साह सहितको मिहिनेत एवं इच्छाशक्तिले रङ्ग भरिदिएको भान हुन्छ । भाग्यशाली भगिनी शशीप्रति अजस्र शुभकाना । धन्य ।

प्रस्तुत कविता सङ्ग्रहभित्रका कवितामा जीवनरुपी ओह्राली उकालीका यथार्थताका आयाम, प्रकृति, सौन्दर्य, प्रेम, यौवन, आक्रोश, कुण्ठा, संवेग, सभ्यता, समाज, श्रृङ्गारजस्ता अनेकन अन्तर कुन्तरका पाटालाई छुँदै, केलाउँदै हृदयरुपी तलाउमा भयंकर त्यो शक्तिशाली शक्तिले प्रस्फुटन गरी फैलिएका तरंगहरु, हाउभाउका उहापोह जोडले समुद्रबाट उठ्ने ज्वारभाटा भन्दा कम लाग्दैन र ती निष्पृय लाग्छन् भन्ने मेरो ठहर हो ।

समुद्रझैं गहिरा, आकाशझैं फराकिला, उज्याला फाँटका कविता संस्कार, संस्कृति, देश, विदेश, परिवेश, समसामयिक अनेकन विविधताका आयामले तिनका बिम्ब र प्रतिबिम्बलाई परिष्कृत रूपमा सजाइएको कृति पठनीय एवं प्रशंसनीय छ ।

sagarmani mobile size

‘आमा’

आज,
मैले सपनामा मेरी आमा देखेँ
जीवनभरि देखेको भन्दा भिन्न
एक दिव्य विदुषी आमा ।

नारायणप्रसाद शर्मा फुँयाल

आमा शब्द सुन्दैमा कर्णप्रिय यो शब्द, त्यो आनन्दनाभूति गराउने शब्दलाई उजागर गर्ने ममतामयी, क्षमाकी खानी यथार्थमा होइन र विपनालाई छाडेर सपनामै आमालाई देख्न पाउनुको जुन अनुभूति श्रष्टाले जगाएकी छिन् । आमाको महिमा अपार, सपनामा आमालाई देख्न पाउनु पनि स्वर्गतुल्य हुन्छ । आफ्ना अनेकन सन्तानलाई जीवन्त राखी हुर्काउने बढाउने आमालाई विदुषीको दर्जाले सम्मान गर्नु प्रशंसनीय उदाहरण हो ।

‘सुइना’

बाँकी एक–दुई सुइनाहरु
उसको अँगालोमा बेरिएर
रसियन स्याम्पिनको प्यालामा
चियर्स भएर रितिए ।

सपना पनि नानाथरिका, कतै होटल र रिसोर्टहरुमा, ठमेलका गल्ली, पाटनका हिटी, तलाउमा आकाशको रङ्ग बदलिएझैं उपहासै उपहासले रित्तिएको रंगहीन जिन्दगी आधुनिकीका नाममा ती सपनाहरु मात्र होइनन् यथार्थमा विपना पनि उराठलाग्दो रंगहीन लाग्दछन् । आफ्ना आदर्शता विर्सिदिनाले पनि सपना अधुरै रहन्छ ।

साहुको ऋण’

वर्षौं बितिसक्यो
सयौं ढाकार ओसारिसकेँ
तर
त्यो ऋण वर्षहरुसँगै बढेको बढ्यै छ ।

नेपाली समाज, गरिबी, अशिक्षाको कुहिरोले ढाकेको गरिबीमाथिको शोषणको चित्रणले भित्री हृदयलाई चसक्क घोच्छ । गरिब गुरुबाहरुले कहिले ऋणबाट उन्मुक्ति पाउलान् र सुखको अनुभूति गर्लान् ?

‘कान्छाको योजना’

प्रत्येक पटक निन्द्राबाट ब्यूँझदा
ऊ,
आफूलाई ठूलो मान्छे सम्झन्छ,
आफ्नो एक–एक भावी योजनाहरु
गिट्टी कुट्दाकुट्दै निक्लेको
लय र ताल सँगै
आफ्नी प्यारीलाई सुनाउँछ ।

कविताले कता–कता ‘मदन’को झल्को दिएझैं लाग्ने, तर ऊ मदन उसबेलाको परिवेशले परदेशिएको र यसबेलाको कान्छो सपना बुन्छ र आफूलाई ठूलो मान्छे सम्झन्छ । ठूलो आँटले योजना बनाउँछ । भ्रष्टाचार निर्मुल पार्न, टेण्डर भर्ने, आफ्ना सन्तान सँगै पढाउने स्कुल खोल्ने, समावेशीका सपनाजस्ता पक्षले देशको उदाङ्गो स्थितिलाई व्यङ्ग्यले दरिलो झापट हान्नु कान्छा त प्रतिनिधि पात्र मात्र हो । उसले त बगरमाथि नै सुतेर भए पनि सपना सम्झ्यो भने ऊजस्तै धेरै कान्छा साउदीको प्रचण्ड तापले शरीर डढाई विप्रेशनले देश थाम्छन् त कोही बाकसमा कैद भई चिरनिद्रामा फर्किन्छन् । यो कान्छाको योजना निराकार लाग्छ । किनकि यहाँको चलन यस्तै यस्तै छ ।

‘मेरो मणि’
मस्त यौवनले ढकमक्क भएकी सुन्दर स्त्रीले
परदेशमा रहेको श्रीमान् सम्झिए जसरी
म तिमीलाई बेस्सरी सम्झन्छु ।

पोखिएर जताततै छताछुल्लसँग पोखिएका प्रेमिल जोडीका भावनालाई कतै दुखान्त, वियोगमय प्रेमीका उदाहरणले सुखान्तको मुस्कानसँगै अमरत्वको इच्छा जगाइएको आभासले हृदय छुन्छ नै ।

‘आमा–२’
मेरो फोनले दुई दिन अगाडि नै
आमा सम्झायो त के गल्ति गर्यो ?
के आमा सम्झिन निर्धारित समय नै
तोकिएको हुन्छ र ?

हिँड्दा होस नगरे ठेस लाग्छ । त्यो चोटले आमा सम्झाउँछ, ‘ऐया नि ! आमा’ शब्द अनायास मुखबाट निस्कन्छ भने आमालाई सम्झन भने प्रविधि भन्दा पछाडि पर्ने मातातीर्थ औंसी नै पर्खिनु पर्छ र ? ज्यूँदै छँदा होस् पुर्याउन र फोटोमा खादा र माला त आडम्बर हुन् । सन्तानप्रति चेतनामूलक सन्देश पुर्याउँछ नै ।

‘म कसरी लेख्न सक्छु तिम्री कविता’

तिम्रो इशारा बुझ्ने परेवा
झिसमिसेमै ब्यूँझाउन आउने सिमकुखुरा
दिनभरि तिमीलाई गफ सुनाउन
रुप्पी र बकुल्लाका सन्तानहरुले
आँगनमा चारो छरिदिने हात खोजी रहेको कुरा
कसरी सुनाउँ तिमीलाई ?

आज सो आँगन शून्य छ । आमाको अनुपस्थिति सबैमा खट्किएकाले अलाप विलापले हृदय घरिघरि जोडले घड्किन्छ । आमा परलोक गइसक्नु भो । अवर्णनीय छ, त्यो वियोग अनि हृदय विदारक पनि छ । केवल स्मृतिपटमा सम्झना गढिएका छन् । एउटा आमाको मृत्युसँग जोडिएका पीडासँगै त्यो भाङ्गबारीको घर–आँगन बेरमाइलो लाग्दछ । रुप्पी बकुल्लाहरु पनि सबै कता गएको नि ? नियास्रो त तीनलाई पनि त लाग्दो हो नि ? त्यहाँ भान्साघरको वरण्डा पनि त छैन नि ! त्यहाँ प्रायः बस्ने गर्नु हुन्थ्यो ती सबै, सबै कवितामा रचिएर साटिएछन्, स्मृतिमा ।

‘त्यो लुसिड ड्रिम’
नजिकै बसेर
अँगालोमा कस्दै उनले
तान्त्रिक ज्ञानको भण्डार खोले ।

त्यो अन्धकारले छोपेको युग अशिक्षा, अन्धविश्वासको कुहिरो भित्रका विगत, तन्त्र मन्त्र, लीलामय सन्नाटाले छोपेको दासत्वको इतिहास, राजादरवारका भारदार, कुमारीहरु, हिटीले सपना कुल्चँदै मूकदर्शक भई मात्र देखेका र अनुभूत गरेका दुःखद विरहका कथा व्यथा भित्रका कालो इतिहास र सतीहरुले गर्त भित्रैबाट ‘उन्मुक्तिको नारा गुञ्जायमान भएझैं’ को आभास छरिएका हुन् पक्कै नी ।

सम्सरा’

पर गुम्बाको उज्यालोमा
लुङदरको फरफर आवाजसँगै
‘ॐ मणि पद्मे हूँ’ मन्त्र गुञ्जिरहेको छ
मृत्यु सत्य हो ।

बौद्ध धर्मग्रन्थले मृत्यु हुनुजस्तो महासत्य निर्वाणलाई यथार्थमा मोक्षमा सावित हुन्छ । “मृत्यु” सत्य हो ।

‘नारी र पुरुष’
उसको उत्तराधिकारी उर्फ सानो भिल्ल बाबुको सिको गर्दै
नयाँ पर्खालको ईटा बनाउँदैछ ।

नारी र पुरुष बिचको पितृसत्तात्मक विभेदकारी पारिवारिक ढाँचा एवं सोच भित्रका असमान प्रथा (रीत)लाई सतह देखिनै उधिन्दै सुन्दर सपना रच्दै आफ्नै कोख फुटाएर जन्माएको र हुर्कदै गरेको पुरुष सन्तानले नि पुरुषवादी सत्ता र शक्तिको महल निर्माणार्थ ईटहरु थप्दो छ, यही शब्द काफी छ । लैङ्गिक विभेद माथिको व्यङ्ग्यले पक्कै चेतनाको दीयो सल्काउँछ जस्तो अनुभूति हुन्छ ।

‘भद्र मान्छे’
उसका कथाहरु अनौठा हुन्छन् ।
त्यहाँ, वुद्ध बन्दुक बोकेर दौडन्छ
अनि
हिट्लर शान्ति वार्तामा बस्छ ।

युद्धपछिको शान्ति र शान्तिपछिको युद्ध । जताबाट जोडे पनि उही एक दुना दुई नै हो । युद्धको विकल्पमा शान्ति चाहने “शान्ति दूत” बुद्ध र जो युद्ध नगरी बाँच्नै नसक्ने खुंखार युद्धखोरीलाई विपरीत ध्रुवमा उभ्याई उपमा साटी दिन कवयित्रीको दुःसाहसलाई सलाम छ । विश्वशान्तिको वैश्वीकरण ‘वसुदैव कुटुम्बकम्’लाई नाराका रुपमा अघि सार्दै ती शान्तिका दूत र युद्धको विभीषिका अनुयायीलाई सचेत गर्ने सन्देशमूलक परिष्कृत भावले भरिभराउ छ ।

‘यति’ लाई प्रेम प्रस्ताव

तिमी पैसाको प्रेममा,
म तिम्रो प्रेममा

प्रकृतिप्रेमीहरुका लागि प्रेमिल जोडीहरुको पवित्र प्रीतिजस्तै निश्चलता भावले त्यो सोलु रिसोट, सगरमाथा, त्रिशुली, गण्डकी, मञ्जुश्री र चोभार प्रकृतिका सुन्दर सिर्जनामा तिमी र म (प्रकृति) यसै शताब्दी भित्रका अनुरुप जोडी थियौँ । तर सपना हो या विपना तिमी कतै देखिदैनौ किन ? प्रकृतिको सुन्दर सिर्जना भत्किसक्यो । विज्ञापनशैलीले तिमी पैसाको प्रेममा……. प्रेममा । आकाशमा लागेको कालो बादल फाट्नु नै पर्छ । गहिरो प्रकृति प्रेम माथिका सुन्दर झलक कलात्मक शैलीका सुन्दर छन् ।

‘मन’

अचानक,
शीतल बतासले चिसो सिरेटोसँगै
तिम्रो सुगन्ध लिएर मेरै छेउ आउँछ,
प्रत्यक्षदर्शी प्रिय समय पनि
मेरो छेउमा आएर टक्क अडिन्छ ।

सुटुक्क, कहिले, सल्लाघारीमा दौडदै तिमीलाई नभेटे पनि आकृति खोज्ने यो मन कति हलुङ्गोसँग उड्न सकेको हैट, अचानक चिसो सिरैटोले सँगै ल्याइदिएको सुगन्धको उर्जाले समयलाई नै टक्क अड्याउने सामथ्र्य राख्दछ भन्ने भावले गाउँ, पहाड, हुस्सु त्यो सुन्दर राराको गहिराई सँगै दाँजिएको सपना भित्रको मनले बुद्धलाई बुढो ठानेर कतै सुरक्षित स्थानको खोजी रहस्यमय हो क्यारे । विचारेर भने ।

‘भ्रम’

तर
देवताहरु ढुङ्गा होइनन् ।
आहा ।
कस्तो मिठो भ्रम
हामी यही भ्रममा छौँ

रहिरहनेछौँ
सँधैभरि ।

हामीमा अर्थात् हाम्रो मनमा जब सम्म चेतनाको दीयो सल्किँदैन, तबसम्म हामी ढुङ्गारुपी देवताको भ्रममा अल्झिरहने छौँ । ढुङ्गो बोल्दैन नै, हाम्रो भ्रमपूर्ण आस्था मात्र हो । र भ्रमलाई चिर्न सक्यौँ भने विम्ब झल्किन्छ ।

‘त्यो एक रात ओहो’

म डराउँदै ब्यूँझेँ
कस्तो ऐठन पार्ने रात …..
के यस्ता कहाली लाग्दा सपना
पुरुषले पनि देख्लान् त ?

धृतराष्ट्रहरु र दुशासनहरु जस्ता नारीवादी पुरुषहरुप्रतिको व्यङ्ग्य पनि हो । र पुरुषसरह आधा आकाश थाम्ने नारी जननी माथिको गिद्धे व्यवहार गोसखान भन्दा फरक नभएकोले नारी माथिको यौनिक बलात्कार, हिंसाले सँधै नारीहरु पीडित रहनाले पुरुष पात्रमाथिको व्यङ्ग्यले सकारात्मकता र समानताको ढोका खोल्ने चेतना पस्किएकी हुन् भन्ने ठानेँ ।

‘जीवनको अन्तिम सार’

के थाहा ! कुन बेला म शान्त हुनेछु,
कहिल्यै नबोल्ने गरेर …….।

जन्म जति सत्य छ, मृत्यु पनि सत्य हो । रात पछिको दिनझैं यथार्थ जन्मदै मृत्यु, स्वीकारिएको हुन्छ । यसैलाई टपक्कसँग जीवनरुपी गोरेटो, यात्रा कथा व्यथा आदिलाई टिपेर त्यो गह्रुङ्गो भारीहरु बिसाउँनै पर्छ । खाली हात आयौँ, खाली जान्छौँ, तर जीवनको अन्तिम सार मृत्यु भए तापनि यो अन्तिम रात रोमान्सले भरियोस् र यति मिठो कविता बनोस् कि म सम्झिरहने छु, आजको अन्तिम रात ….।

‘एक मुठ्ठी सम्झना’

उसले,
मरुभूमिमा उभिएर
एक मुठ्ठी बालुवा हत्केलामा लियो ।

देशका युवाहरु मरुभूमिको तातो बालुवामाथि उभिएर आँखा चिम्लिएर मुठी कसेर सबैलाई सम्झिन बाध्य छन् । ऊजस्ता धेरै नेपालीका छोरा कति विवश जिन्दगी बाँच्न र बचाउन बाध्य छन् ? यो मर्म कसले बुझिदिने हो ? प्रश्न थपिएको अनुभव गरेँ । आखिर कहिलेसम्म ? संघीयता त छिप्पिसक्यो त !

‘माइला’

अब ऊ,
उसका नामको, अक्षरहरुमा
हृदयपान गर्न खोजिरहेछ ।

माइलाले आफ्ना ती विगतका गुलाबी उमेरसँगै त्यही पुरानो इन्चटेपको साहारामा ती दिन कसरी बितेथ्यो । उमेर गयो, वैंश गयो, बुढियो ज्यान सम्झंदै बाँचिरहेछ, समयको के दोष यस्तै हो । जीवन ।

‘प्रश्न’

अब
मेरो, एउटै प्रश्नको उत्तर देउ प्रिय
मलाई तिमी सम्झन्छौ कि सम्झदैनौ ?
अब त भनिदेऊ,
तिमी मलाई कहाँ–कहाँ सम्झन्छौ ?

हिउँले छपक्कै ढाक्दा आगाको राप, वनभरिका सुनाखरी र चुवाको वास्नाले मदहोस बन्दा, वास्नादार प्याला, चौरीको हुलभित्र, भोटे लसुन र यार्सागुम्बा टिप्दै हिँड्ने हिउँदको जवान सूर्य सम्झन्छु । हरघडी साथ दिने म नै हुँ । चिन्यौ नि होइन ?

एउटी प्रियसीले आफ्नो प्रियतमलाई म तिमीलाई यतिविघ्न मायाले सजाउँछु कि त्यसको मापनको हेक्का छैन, तर तिमीले म तिम्री प्रियतमालाई कति पटक सम्झन्छौ ? कतै यो एकोहोरो निष्ठुरी मायाको भ्रम त होइन ? यही बुझेँ सहि या गलत जे होस् ।

‘मलाई दुख्छ’

हो, मलाई आजकल
असहय हुनेगरी दुख्छ ।

कहिले कालापानी, लिपुलेक बल्झिएर दुष्ट छिमेकीका मिचाहा प्रवृत्ति देख्दा निरीह मजदूरको चुल्हो नबल्दा, प्रसव पीडाले आमा बितेकी सम्झम्दा नाकाबन्दीले दुःखेको बेला, भूकम्पले सखाप पारेको देशको घाउ थाक्न नपाउँदै देश फेरि दुःखमा बल्झेकाले देश प्रेमले विह्वल बनाउँदछ । यसभित्र भावना छ, मायासँगै आक्रोश बढी छ । असल छिमेकीको खाँचो दुवैतर्फ सिमाना जोडिएका छिमेकीको अर्घेल्याइलाई संकेत गरिएझैं महसुस गर्न सकिन्छ ।

‘प्रिय, बेहाल छ जिन्दगी’

प्यासी नजरले
म मेरो प्लस खोजिरहेछु,
तिमी आँधी तुफानसँग आऊ
या भेल बाढीसँग आऊ,
जसरी आऊ प्रिय,
तर
मेरो प्लस भएर आऊ ।
तिमीसँगको सामिप्यले नै मात्र
मेरो जिन्दगीको हिसाब मिल्छ ।

अन्न पानीले सिञ्चित यो जिन्दगीमा प्रेमप्रीतिले रङ्ग भर्दोरहेछ र जीवन सार्थक बन्ने भावका बीच शायद माया प्रीतिले सुसज्जित जीवनमा दुई प्रेमिल जोडीको वियोगान्तक अवस्थामा मिलनको इच्छा जाहेर गरेझैं अनुभव हुन्छ । प्रेम बिनाको जिन्दगीको के मूल्य र बेहाल त रहेछ जिन्दगी ।

‘डाक्टर या देवता’

उनै,
जीवन र जगत् चलायमान राख्ने
एउटा अदृश्य शक्तिको नाममा ।
मिठो बोलीसहितको हँसिलो मुहार
मेरो बेडछेउमै ठिङ्ग उभिएको मैले देखेँ

म भुसुक्कै निदाएँ ।
आखिर,
त्यो अदृश्य शक्तिभित्र को थियो
डाक्टर या देवता ?

ढुङ्गाको पूजा गर्ने, देवता मान्ने मानिसका लागि जीवनजगतलाई गतिशील राख्न सक्ने त्यो ईश्वरीय शक्तिमाथि कति ठूलो आस्था होला ? मापन छैन । कोही नास्तिक पनि त छन् । जो–जो जे–जे भए पनि सिर्जनाभित्रका त पक्कै हुन् । एनेस्थेसियाको डोज एवं डाक्टरको मिठो आश्वासनसँगको चिकित्साले कतिले पुनर्जीवन पाउँछन् । त्यस मानेमा सपनामै भए तापनि डाक्टरलाई अदृश्य शक्तिको रुपमा ईश्वरको दर्जा दिन चाहेकी हुन् भन्ने लाग्दछ । र ती अदृश्य शक्तिका मालिकहरु पैसामुखी नभई सेवादायी देवता बनुन् भन्ने सन्देश चाँहि यकिन साथ सत्य हो ।

‘हिजो आज मेरो देशमा’

कोरोना,
तिमी एकपटक फेरि आइदेऊ
तिम्रो चाइनिज मायामा अलिकति दृष्टिलाई लगाइदेऊ
म मेरो नेपाली मुटु र कलेजो तिमीलाई दिनेछु ।

दुराचारी, व्यभिचारी विवेकहाराहरु कति तल झर्न सकेका, मानवता बिर्सी स्वार्थले ‘जु’भित्रका जनावरको भद्रता, मान्छे र भुस्याहा कुकुर बिचको तुलना, उल्का एस्तैले टोल आतंकित छ । किन तिमीले त्यस्तालाई छाडि गयौ कोरोना ? उद्गम यात्रातिरै भए आउ । नजिकै छौ भने आऊ जे होस् प्रिय भ्यालेन्टाइनका निम्ति स्वागत छ । मन्द विष जतिकैको व्यङ्ग्यात्मक लाग्दछ । गहिरो रहस्य भित्रको व्यङ्ग्य ।

‘कठै नेपाली कानुन’

त्यस देशसँग आफ्नो देशको
ऐन–कानुन र यी नेताहरु
सबै सबै
साट्न पाए हुन्थ्योजस्तो लाग्यो ।

सच्चा न्यायप्रेमी कर्तव्य परायणतर्फ पैसा पावरको एकोहोरो छद्मभेषी यस्ता न्याय देख्दा कानुन त नाङ्गले पसलको बिक्रीमा खैनी र सुपारीजस्ता सामग्रीहरु पैसा पावर हुनेले जसले पनि किन्न पाउने । कठै नेपाली कानुनको धज्जी, कानुन मन्दिरमाथि कोही नभएको त्यस्तो देशको चाहनाले व्यङ्ग्य कस्तै ऐन–कानुन, नेता सब बेकम्ममा भए ती राम्रा चाहिँ साटेर ल्याउने अभिलाषाले देशको कानुन, न्यायालय र न्यायमूर्तिहरुको हर्कत देख्दा टिठ लाग्नाले उत्तरकोरियाको सम्झना गर्नु आफ्नो देशको कानुनको खरिद बिक्रीले निम्त्याएको स्थितिको चित्रण कविता बोलेको छ ।

‘आफ्नो मृत्युमा रोएकी म’

म रोइरहेँ,
अनवरत म रोइरहेँ
मेरो मृत्युमा म आफैं रोइरहेँ ।

आफ्नो पूर्वाधको जीवन सुखद नै रहे, सपनाहरु पूरा हुँदै गर्दाको मृत्युले छोराछोरीको रोदन, सँगै जिउने र सँगै मर्ने वचनभरिका श्रीमान्, दाजुभाइको खाली निधार, ती विदेशी कथा, ढोरपाटन, रारा, माछापुच्छ्रे आदि सपनासँगै अधुरै छोड्न परेकोले अतृप्त आत्मा छटपटिएको महसुस हुन्छ । यहाँको चलन यस्तै रहेछ, यहाँ जिउँदा लाशहरु अनवरत रोइरहन्छन्, शरीर दुखेर, देश दुखेर र मन भाँचिएर जो कोही आफ्नो जिउँदो शरीरको मृत्युमा रोइरहेछन् लाग्ने रहस्यमयी सम्प्रेषण गरिएको लाग्छ ।

‘खोलासँगको त्यो एकरात’

उनीहरु मलाई सम्झाउँदै थिए,
मृत्यु समस्याको समाधान होइन,
म आफैंलाई सम्झाउँदै थिएँ,
नारी स्वतन्त्र थिइन
छैन
र, कहिल्यै हुन्न ।

निष्पटको अँधेरी रातमा, जून तारा समेत लुकेछन्, मात्र झ्याउँकिरीहरुको मन्द आवाजलाई कालो बादलले ढाक्न भ्याएको रहेनछ र उसलाई पनि विरहले पीरका डङ्गुर उनको इन्भिटेसन स्वीकारी सुन्दर छटाहरु, वनजंगल र खोला किनारै किनार छाल र लहरसँग समाहित भई रमाइ–रमाई गन्तव्यसम्मै पुग्न आतुर भई चुर्लुम्मै डुब्दै गर्दा व्याधाको पञ्जामा जकडिनु नारी स्वतन्त्रताका मुद्दाहरु सम्बोधन हुँदै गर्दाको स्थितिमा पनि हत्या, हिंसा, बलात्कारजस्ता लैङ्गिक विभेदमाथि प्रश्न उठाइएको भान हुन्छ ।

‘ओ प्रिय कवि !’

समय बुढो भइसक्यो,
आजभोलि ऊ कोमामा छ
त्यसैले,
अब तिमी केही लेख ….।

कवयित्रीका कविताहरुले युगान्तकारी परिवर्तनका लागि ऊर्जा दियोस् ताकि निर्दयी समयले कसैको पनि खुसीहरु नखोसियोस्, त्यसैले शक्तिशाली ऊर्जाले खुसी निम्त्याइदेऊ, नत्र त ‘कोमा’बाट ब्यूँझन बेर छैन । समयले पर्खदैन है ।

‘त्रासदीपूर्ण दिनहरु’

मान्छे देख्दा डर लाग्छ,
आफन्त बिच आवतजावत छैन
विज्ञानको हारसँगै हामी कतै
ढुङ्गे युगमा त पुग्दैनौ ?

के गर्नु र ? छन् त हामी सबै छौँ । कोरोनाको त्राससँगै आफन्त बिच आवतजावत छैन, छुइ–लाग्ने भयले सबै अर्थहीन, आँसुको मर्म निवारनको हारसँगै त्रासैत्रासको भाइरसले चेतना शून्य भएका मानवलाई सुत्नुको के अर्थ ? रुनुको के अर्थ ? विरोध न विद्रोह ।
आँसु किन निस्कन्छ ? यसको मर्म कसले बुझिदिने ? हामी त कतै ढुङ्गेयुगमा त छैनौँ ? आज फेरि कोरोनाको त्रासदीको संकेत आइरहेको छ । के कोरोना घरिघरि झुल्किने हो त ?

‘अन्तिम क्यानभास’

मुटुको कुना काप्चामा रहेका सबै
पीर र व्यथाहरुलाई
मायाको रंगसँगै घोलेर
मेरो जीवनको अन्तिम क्यानभासमा
म तिम्रै चित्र कोरिरहेछु ।

मृत्युलाई जित्न खोज्दै दम्भले भरिएका अल्जाइमर ग्रस्त मृत्युको नजिक र प्रलयको घडीमा जीवन र मृत्युको दोसाँधमा तिमीलाई मात्र सम्झिरहेछु । यो प्रकृतिको मधुशालामा मताउने कुराहरु थुप्रै छन् । तिनैलाई रङ्ग ठानेर घोलेर क्यानभासमा चित्र उतारिएको भावले यथार्थता झल्काउँछ ।

‘पारिजात’

वसन्तको काखमा लुटपुटिएर
फेरि पारिजात फुल्ने छौ,
उज्यालो आकाश भन्दा उत्तेजक
लठ्ठ परेको गोधुली साँझमा
हामी फेरि एकपटक हराउनेछौँ ।

वसन्तको आगमनमा मन्दमन्द बहने पवन, सुनसान बस्तीमा, जून–ताराको चाँदनीमा खुसीको अनुभूतिहरु साट्दै फुल्ने स्वप्निल भ्यालिमा प्रेमिल रागहरु अलाप्दै हावाका झोंकाहरु सँगै सुटुक्क आउन वसन्त ऋतुलाई निमन्त्रण गरी उसकै काखमा लुटपुटिई फुल्ने पारिजात गहिरो आकाशलाई कति उत्तेजक, बनाई लठ्ठ पाछ्र्यौ ? पार ! कति पाछ्र्यौ ? त्यो गोधुली साँझमा फेरि हामी एक पटक सँगै हराउने छौँ भन्ने प्रकृतिसँगको प्रेमिल मनोवादको भाव छचल्किएको छ ।

‘त्यो भर्जिन कविता’

उसले एकदिन एउटा कविता लेखी
लोग्ने मान्छेको हाटबजारमा
ठिङ्ग उभिएर सुनाउन थाली ।

एउटी महिला तिनले ठूलो साहस र धैर्यताले लोग्ने मान्छेको हाटबजारमा आफूले नै रचेको कविता ठूलै स्वरले वाचन गरी सुनाउन भर्जिनको संज्ञा दिँदै आफ्नो शरीरका सबै अङ्गहरु भर्जिन देखाई, भर्जिनिटीको अर्थ खोल्दै दुईचार थान सन्तानहरु यी सबै सबै मेरा लागि भर्जिनिटीका सिम्बोल हुन् । उनको त्यो कविता नि भर्जिन हो । साह्रै अर्थपूर्ण र शक्तिशाली कविताले ठाउँ ठाउँमा कसेको व्यङ्ग्यले कविताको कौमार्य भर्जिन छ ।

‘ऊ र उसको वाइन ग्लास’

आऊ,
मलाई तिम्रा सुकोमल औंलाहरुले च्याप्प समात र
ममाथि मिठो स्याम्पेन भर
म एक्लो वाइन ग्लास
तिम्रा मादक औंलाहरुको स्पर्श गर्दै
प्रत्येक चुस्कीहरुमा तिमीसँग
अलिकति बाँकी जीवन भुल्न आतुर छु ।

सोकेसबाट तिमीलाई नै चियाइरहेको मेरो मन ऊ (ग्लास) बोल्छ, खुबसित जिन्दगीको मजा लिन बन्द कोठाबाट बाहिर निकाल म वाइन ग्लासलाई उराठीला दिनहरु पनि तिम्रो सामीप्यताले रंगीन बनुन्, यात्रा हाम्रो टाढाको ग्रेभयार्डतिर, मन्दमन्द, रमरम भएको बेला मिठो स्याम्पेन भर जिन्दगी रङ्गीन बन्छ ।

‘तिम्रो कविता यस्तो होस्’

त्यस्तो शक्तिशाली कविता सुनेर
लठ्ठी टेक्दै हिँडेकी आमा
भिडको अगाडि ठिङ्ग उभिएर
वान्समोरको हुटिङ्गमा चिच्याइन् ।

माथि नभमा स्वच्छन्द उडेका चराहरुको बिना भेदभावका शक्तिशाली भाव र शैलीको कविता होस्, दुःखको भारी बिसाएपछिको आनन्दानुभूतिझैं, सुन्नेलाई जुरुक्क जुरुक्क पारोस् कि ! ठिहीले क्रक्रिएकाहरु पनि थेरापी पाएझैं जुरुक्क उठुन् भन्दै बूढी आमाको वान्समोर हुटिङ्ग कालजयी रहोस् ।

‘मेरी बज्यै’

मेरी बज्यै,
कहिलेकाहीँ देवतासँग वह पोख्थिन्,
कहिले त आफ्नै छातीमा मुड्की हान्दै
रोइरहन्थिन् धेरैबेर सम्म
तर देवताले मेरी बज्यैलाई
फकाएको मैले कहिल्यै देखिन ।

निष्ठुरी दैव, बज्यैको देवतामाथि कत्रो आस्था अनि विश्वास, अनि त बज्यै उनकै अगाडि मनका वह पोख्थिन् तर देवताहरु मुकदर्शक भएर रमिता हेर्दा मात्र रहेछन् । हाम्री बज्यै भने अन्तिम श्वाससम्म देवतालाई बिर्सन्दैनन् । बज्यैको आस्था कति ठूलो । आँसु रित्तिएका ? कि हुँदै नभएका हुन् देवताहरु, मुक बनिरहे । युगौं युगको चलन जस्तै गरी बज्यै त प्रतिनिधि पात्र मात्र न हुन् । यथार्थमा ईश्वर भक्ति के हो ? उत्तर खोजिरहेका छौँ आफ्नै भ्रान्तिझैं लाग्ने ।

विविधताका विभिन्नतामा कतै घुमाउरा व्याङ्ग्यात्मक, आक्रामक, देशप्रेम, सीमा, स्वाभिमान, भ्रम, युद्ध, आन्दोलन, बुद्ध र हिटलर, लिम्पियाधुरा, कालापानी, दशगजा ती सबमा कतै रगत उम्लिन्छ त कतै चिसिन्छ । कुनै मर्मस्पर्शी तीनलाई टपक्क टपक्क टिप्दै शीर्षकपिच्छेका कुनै बीचका, कुनै माथिका, कुनै तलका र अन्तर कुन्तर सबैतिरका कविताबाट बटुली पंक्तिहरु राखी केलाउने प्रयास मात्र हो । स्रष्टाको उत्तरोत्तर प्रगतिको कामनासहित आशीर्वाद ।

प्रतिक्रिया
Loading...