आधुनिक नेपाली कथा साहित्यको उदयका साथसाथै उदाएका कथाकार गुरुप्रसाद मैनाली आख्यान विधाको कथासाहित्यका एक विशिष्ट व्यक्तित्व हुन् । वि.सं.१९५७ मा पूर्व १ नं. कानपुर र पछि पश्चिम १ नं.ले चिनिने कविलासमा जन्मिनु भएका मैनालीको देहवसान ७१ वर्षको उमेरमा वि.सं. २०२८ सालमा काठमाडौंमा भएको हो । उनले निजामती सरकारी जागिरेका हैसियतमा पहाड तथा मधेशका अनेक अड्डामा कार्यरत रहेर सेवा पुर्याएका थिए । कालान्तरमा काठमाडौं जिल्ला अदालतको विचारपति (न्यायाधीश) समेत भएका थिए ।
मैनालीले आफ्नो जीवीकोपार्जनका लागि सरकारी जागिरको सहारा लिँदै नेपाली साहित्य सिर्जना गर्ने क्रममा ‘शारदा’ पत्रिकामा वि.सं. १९९२ मा प्रकाशित ‘नासो’ कथा प्रकाशित गराउने कार्य गरे । सो कथा छापिएपछि नेपाली कथासाहित्यमा मैनालीले बेग्लै छाप छोड्न सफल भएको पाइन्छ । जुन कुरा ‘झ्यालबाट’ का सम्पादक ईश्वर बरालले ‘सामाजिक कथाका अग्रलेखक’ तथा आधुनिक नेपाली कथासाहित्यको जग बसाउनेमध्ये …प्रमुखमा स्थापित भए’ भनी उल्लेख गरेका छन् । यसबाट पनि स्पष्ट हुन्छ कि गुरुप्रसाद मैनालीको नेपाली कथा साहित्यमा महत्त्वपूर्ण योगदान रहेको छ ।

तर उल्लिखित कुरालाई मनन गरिए पनि वास्तवमा अन्वेषणको क्रममा गुरुप्रसाद मैनालीको सिर्जनाको प्रारम्भ कथाबाट नभई नियात्राबाट भएको पाइएको छ । उक्त तथ्य अच्युतरमण अधिकारीको सम्पादकत्वमा प्रकाशित साहित्यिक त्रैमासिक ‘उन्नयन’ को वि.सं. २०५१ श्रावण, भदौ, असोज, अङ्क १५ मा गुरुप्रसाद मैनालीद्वारा सिर्जित नियात्रा प्रकाशित भएबाट स्पष्ट हुन्छ ।

गुरुप्रसाद मैनाली

उक्त पत्रिकाको प्रस्तावनामा नेपाली साहित्यका साधक एवम् विद्वान् प्रकाश ए. राजले पनि यसरी उल्लेख गरेका छन्– ‘…सिद्धहस्त कथाकारको रुपमा नेपाली भाषाको साहित्याकाशमा उदाउनुभन्दा एक दशकअघि नै यात्रासाहित्यकारको रुपमा मैनाली देखा पर्छन् । यस पङ्क्तिकारलाई थाहा भएसम्म उनको पहिलो साहित्यिक रचना यही (नियात्रा?) हो र यसलाई लेख्न प्रेरणा दिने हेमराज देखिन्छन् ।’’

उक्त नियात्रा धेरै समयसम्म अप्रकाशित रहेकोले पनि मैनालीको नियात्रा बारे अन्वेषक तथा समालोचकहरुले कही कसैले बोल्न वा लेख्न सकेनन् । तर पनि नियात्राकार मैनालीको नियात्रा प्रकाशित भएको करिब तीन दशक बित्दा पनि ओझेलमा पारिनु दुःखदायी छ । यसले नेपाली नियात्रासाहित्यमाथि गहन पठन नेपाली समालोचक र विद्वानहरुबाट नहुनु खेद जनक कुरा हो भन्न सकिन्छ । साथै नेपाली विद्वानहरुले अनदेखा गर्न खोज्नु नियात्रा विधा माथि नै अन्याय हो भन्ने लाग्नु स्वभाविक छ ।

नियात्राकार गुरुप्रसाद मैनालीले वि.सं. १९८१ पौष २८ गतेदेखिको ऐं. फागुन ८ गतेसम्मको यात्रालाई दैनिक्यात्मक नियात्राका रुपमा ‘श्री ५ मुमाबडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ शीर्षक अन्तरगत सिर्जना गरेका छन् । उक्त नियात्राको पाण्डुलिपि विद्वच्छिरोमणि हेमराज पाण्डेको संकलनमा भेटिएको र सो को फोटोकपी लेखक प्रकाश ए.राज मार्फत प्राप्त गरी उल्लिखित नियात्रा प्रकाशित गरेको कुरा सम्पादकले स्पष्ट उल्लेख गरेका छन् ।

जय छाङ्छा

नियात्राकार मैनालीले जे जस्तो परिस्थितिमा सिर्जना गरेको भए पनि उक्त पत्रिकामा प्रकाशित हुन आएकोले सो नियात्रा विधाको लागि महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ । नियात्रा सर्जक गुरुप्रसाद मैनालीलाई सिर्जनाका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु हुने विद्वच्छिरोमणि हेमराज पाण्डे, पाण्डुलिपि उपलब्ध गराउनु हुने प्रकाश ए. राज र प्रकाशनको जिम्मेवारी लिनु हुने सम्पादक अधिकारीलाई कृतज्ञता ज्ञापन नगरी रहन सकिन्न ।

हुन त नेपाली साहित्यका अन्य विधामा स्थापित हुनु भएका धेरै सर्जकहरुले नियात्रालाई माया गर्ने क्रममा नियात्राहरु सिर्जना गर्ने गरेका उदाहरणहरु प्राप्त भएका छन् । जसमध्ये नाटककार बालकृष्ण सम (वर्दहामा शिकार), चित्रकार एवं उपन्यासकार लैनसिंह वाङ्देल (युरोपको चिठी, स्पेनको सम्झनामा, रोमको काँडा पेरिसको फूल), कथाकार भवानी भिक्षु (शिमलासम्म), कथाकार दौतल विक्रम विष्ट (वायुयानमा पैतालीस मिनेट), नरेन्द्रमणि आचार्य दीक्षित (विलायत यात्रा– चन्द्र शमशेर), शिखरनाथ सुवेदी (तीर्थयात्रा), भाषाशास्त्री महानन्द सापकोटा (पश्चिम जर्मनीमा पन्द्र दिन), चिरञ्जीवी शर्मा (युरोप यात्रा–चन्द्र शम्शेर स्तुतिकाव्य), पारसमणि प्रधान (काठमाडौंमा दशदिन), हृदयचन्द्र सिंह प्रधान (काशी यात्राको अनुभव), जनकवि केसरी धर्मराज थापा (सगरमाथाको सेरोफेरो), हिन्दु धर्मका शीर्ष अभियन्ता योगी नरहरिनाथको (हाम्रो देश दर्शन) आदिको नाम उल्लेख गर्न सकिन्छ ।

उल्लिखित नियात्रा सर्जकहरुका बारेमा मन्थन गर्दा साहित्यका अन्य विधामा शीर्षस्थ स्थान सुरक्षित गर्नुहुने सर्जकहरुले कुनै न कुनै किसिमले नियात्रा विधालाई रोजेको स्पष्ट हुन्छ । तर अपवाद नै भन्नु पर्छ नियात्राकार मैनालीले प्रथम सिर्जना नियात्रा भए पनि आख्यानसाहित्यमा स्थापित भए । उनले अन्य विधामा शीर्ष स्थान ओगट्नु अगावै नियात्रा सिर्जना गरेको पाइनु पनि एउटा उदाहरणीय कार्य भनेर मान्न सकिन्छ । तर आजसम्म कसैले नियात्राकारका रुपमा मैनालीलाई उल्लेख गरेको पाइँदैन । कुनै समालोचकहरुको आँखामा नियात्राकार मैनाली नपरेको भए पनि उनी नेपाली नियात्रा साहित्यको उद्भवकालीन समय (वि.सं.१९१० देखि वि.सं. २०२५) का नियात्राकार हुन् । यसबाट कोही कसैलाई स्थापित हुन वा सर्जक हो भनेर भनाउन कुनै किसिमको लिस्नो आवश्यक पर्दैन भन्ने कुराको अनुपम उदाहरण नियात्राकार मैनाली हुन् भन्दा कत्ति पनि फरक पर्दैन ।

जेसुकै वा जस्तो किसिम र समय भए पनि यहाँ नियात्राकार मैनालीका नियात्रा वारेमा चर्चा गरिन समीचीन हुने देखिएकोले तपसील बमोजिम छलफल गरिने प्रयास गरिएको छः

नियात्रा सिर्जनाको पृष्ठभूमिः

नियात्राकार मैनालीले उक्त नियात्रा लेखनको सुरुवातका विषयमा यसरी उल्लेख गरेका छन्– ‘गत सम्वत १९८१ साल पौष २८ गते श्री ५ मुमाबडामहारानी (लक्ष्मी दिव्येश्वरी शाह अर्थात् त्रिभुवनकी माता!) को तीन धाम सवारी हुँदा भाइ (श्री ६ गुरुराज विश्वराज पण्डितज्यू) सँग तिमी (गुरुप्रसाद मैनाली) पनि जाउ, सवारी भएका दिनदेखि भित्रिएका दिनसम्मको यउटा छोटकरी रोजनाम्चा (डायरी) लेखेर ल्याये, भन्ने मर्जिभयाको हुनाले सौभाग्य संझि मर्जि सिरोपर धरी तीन धाम गै बालकका अल्य मतिले भेटेसम्म सो तीन धाम सवारीको दैनिक विवरण लेखी पाउमा अर्पण गरेको छू ।

मर्जि भयाका विषयहरु र मर्जि न भयाका भएता पनि सेवकका तुच्छ बुध्दिले पछि काम लागने देखिएका विषयहरुलाइ राखनको विशेष चेष्टा गरेको छु, किन्तु तेस्मा कहाँतक सफल भएँ तेस कुराको सेवकलाई ज्ञान छैन ।’

उल्लिखित कुराबाट के स्पष्ट हुन्छ भने कोही कसैको निर्देशनमा नियात्राकारले सिर्जना गरेका छन् । निर्देशनमा भए पनि, कुनै काम विशेषले यात्रा गरेको भए पनि, आफ्नो सौखले यात्रा गरे पनि एक स्थानबाट अर्को स्थानसम्म गरिएको यात्रा विवरणलाई लिपिवध्द गरिन्छ भने त्यस्तो सिर्जनालाई नियात्रा भनिन्छ । मैनालीद्वारा सिर्जित धार्मिक नियात्रालाई दैनिक्यात्मक नियात्राको ढाँचामा लिपिवध्द गरिएको छ । किनकि नियात्राकारलाई ‘सवारी भएका दिनदेखि भित्रिएका दिनसम्मको यउटा छोटकरी रोजनाम्चा (डायरी) लेखेर ल्याये’ भन्ने आदेश भएको छ ।

यसमा मैनालीको जिम्मेवरी नै किटान भएकोले रोजनाम्चा लेखिन जरुरी देखिन्छ । तर जे जसरी भए पनि नेपाली नियात्रा विधाको उद्भवकालीन समयमा नियात्रा लेख्ने कार्य मैनालीबाट हुन गएकोले र नेपाली नियात्रा सिर्जनाको एउटा ऐतिहासिक नियात्रा हो भनेर मान्न कर लाग्छ ।

मैनालीको नियात्रामा पाइने विशेषताहरुः

नियात्रा सर्जक स्वयंले नायकको भूमिका निभाइरहेका हुन्छन् भने सक्रियता पनि देखाइरहेका हुनु पर्ने हुन्छ । यस नियात्रामा बडो चनाखो भै सवारी कसरी, कहाँ र कुन माध्यमबाट चलिरहेको छ, सो बारे स्पष्ट उल्लेख गर्ने कार्य गरेका छन् । जस्तो कि पौष २८ गते (१९८१) वा यात्राको पहिलो दिनको वर्णन यसरी गरिएको छ– ‘… बगडी केम्पबाट २ वजे वगीमा राजभै जितपुरसम्म र जितपुरबाट मोटरमा राज भै सीर्सीयानदीवारी चौकीसम्म सवारी भै, मुमा वैन्हीहरुलाई स्टिसनतर्फ रवाना गरीवक्सी आफु र जनरल ववरसमशेर जङ्ग समेत अर्को मोटरमा राजभै ५:३० बजे वगडी फीरीवक्सियो, महारानीहरुको सवारी ६ वजे रक्सोल स्टेसन दाखीलभै राजभएको मोटर प्लेटफार्म मै लगी ठीक क्यारेजका ढोकामै जोडी अन्तःपुरले आड गरी रेलमा राज भयो ।’ (२८ गते पौष बाट)।
त्यसरी नै यात्राको तेश्रो दिन अर्थात् पौष ३० गतेका यात्रा बारेमा यसरी उल्लेख गरेका छन्– ‘… जेठा जनरल साहेवका छोरा जेठा बाबुसाहेबका हातमा सोडा वाटरको वोतल फोरदा चोट लाग्यो तर तुरुन्त मरहमपट्टी भयो कटकमा केही देर र भुवनेश्वरमा एक क्षण स्पेसल अडी रेलैबाट मन्दीर दर्शन गरी वक्सी साढे चार वजे स्पेसल पुरीमा पुग्यो ।’ (३० गते पौष बाट)।

नियात्राको विशेषता चित्रात्मकता तथा वास्तविक सिर्जना पनि हो । नियात्राकार मैनालीका नियात्रामा उल्लिखित गुणहरु पनि समावेश भएका पाइन्छन् । मद्रास प्रान्तको महेन्द्री सहरमा देखिएका दृश्यहरुलाई यसरी वर्णन गरेका छन्– ‘… यहाँका स्त्री जाति राम्रा रहेछन्, पुरुष पनी संड मुसंड लम्वा चौडा हुँदा रहेछन् यस तर्फका घर वलिया र छपराकाझै माटाका भित्ता भयाका फुसका हुंदा रहेछन् यौटी तैलंगी फोटो ग्राफरले, घाटबाट स्नान गरी सवारी फिर्दा सरको (सरकारको?) २ फोटो लीई तर प्लेटको दाम दी प्लेट फिर्ता लिने काम भयो । यसतर्फ सुर्तिको खेती पनी प्रसस्त हुंदो रहेछ जिला याहीं हुनाले विशेष अड्डा खानाहरु पनी यही रहेछन् । महारानीको दर्शन गर्नालाई धेरै मानिस आएका थिए ।’ (५ गते माघ बाट)।

वास्तविकतालाई कत्ति पनि नलुकाई नियात्रा सिर्जना गर्नमा लागिपरेका देखिन्छन् नियात्राकार मैनाली । रामेश्वर पुगेपछि १४ माइल टाढा रहेको धनुष्कोटी धाममा पुग्दाको कुरालाई यसरी उल्लेख गरेका छन्–

‘सवारीकासाथका धेरै मानिसहरु र नानी सुसारेहरुमा पनी केही जना धनुष्कोटी आयनन् । अड्का (रजस्वला?) परेकाले श्री ५ जेठा शाहजादीको पनी सवारी भयेन ।’ (११ गते माघ बाट)।

त्यसरी नै रामेश्वर दर्शनको क्रममा यसरी वर्णन गर्छन्– ‘नेपाल सर्कारवाहेक अरु कसैले रामेश्वरको स्पर्श दर्शन गर्न पाउँदा रहेनछन् ।’ (१२ गते माघ बाट)।

रामेश्वरको विदाइ दर्शन गर्न जाँदा मेनेजरले भनेको कुरालाई यसरी उल्लेख गरेका छन्– ‘सयन भएपछि आजसम्म कहिल्यै (रामेश्वर मन्दिरको?) पट खोलेको छैन जो हुकुं, भनी विंति चढायेको हुनाले सवारी बंगलामा फिर्यो ।’ (१३ गते माघ बाट)।

उल्लिखित बमोजिमका सिर्जनाको आधारमा उद्भवकालीन (वि.सं. १९१०– २०२५) भए पनि केही भाषिक प्रयोग बाहेक विशेषताहरुलाई विचरण गर्ने हो भने आधुनिककालीन नियात्रा (वि.सं. २०२६ देखि हालसम्म) भन्दा कम छन् भन्ने लाग्दैन । (हेर्नुहोस् जय छाङ्छाको ‘नियात्रा विधाः परिचय, अनुसन्धानात्मक कृति’, प्रकाशकः रत्न पुस्तक भण्डार ।)

नियात्राकार मैनालीले नियात्रा सिर्जना गर्दा आवश्यक पर्ने विशेषताहरूलाई समेत मध्यनजर गरी सिर्जना गरेका छन् । उनको नियात्रा उद्भवकालीन स्वरूप भए पनि आधुनिककालीन नियात्राभन्दा कुनै कमी रहेको आभास हुँदैन । तसर्थ उद्भवकालीन नियात्राको उदाहरणीय सिर्जना हो भन्न सकिन्छ ।

नियात्राकार मैनालीको नियात्रामा पाइने तत्त्वहरुः

अन्य विधाहरुका आफ्नै तत्त्व तथा विशेषता भएझैं नियात्राका पनि आफ्नै तत्त्वहरु हुन्छन् । जसमा पाँच ‘क’ अर्थात् ‘कहाँ, कहिले, कसरी, किन र को ’ नियात्राका आत्मा हुन् । यी कुराहरु समावेश नगरी सिर्जना गरिएको नियात्रा आख्यान हुन जान्छ । त्यसैले एउटा सच्चा नियात्राकारले यी कुराहरुलाई अत्यावश्यक मन्त्रको रुपमा आत्मसात् गर्नु पर्दछ । यी तत्त्वहरुका समावेश नियात्राकार मैनालीका उद्भवकालीन नियात्राहरुमा पाइन्छन् । जसबाट नेपाली नियात्रा विधाको विकासका खुड्किलाहरु प्रारम्भिककालदेखि निर्माण हुँदै आएको पाइन्छ ।
यिनै कुराहरुको सेरोफेरोमा मैनालीका नियात्रालाई विश्लेषण गर्दा निम्न कुराहरुको जानकारी सहज किसिमले पाउन सकिन्छ –

कहाँको यात्रा गरिएको भन्ने प्रश्नको जवाफमा छिमेकी देश भारतको तीनधाम भन्ने स्पष्ट छ ।

कहिले गएको भन्ने सन्दर्भमा वि.सं.१९८१ पैष २८ गतेबाट फागुण ८ गतेसम्मको यात्रा भन्ने कुरा उल्लेख रहेको छ ।

कसरीको प्रत्युत्तरमा बग्गी, मोटर, रेल, स्टीमर (पानी जहाज) आदि प्रयोग भएको पाइन्छ ।

किन भन्ने सवालको जवाफमा धर्मकर्मका लागि तीन धामको यात्रा गरिएको भन्ने छ ।

अन्तिम जिज्ञासाको भन्ने प्रश्नको स्पष्टिकरणमा श्री ५ मुमाबडामहारानी (लक्ष्मी दिव्येश्वरी शाह), पेश्की वा अग्रीम टोलीमा खटिइ जाने सेनाहरु, बिगुल बजाउने, दरबारका अन्य नातेदारहरु, सुरक्षादस्ता लगायत स्वयं नियात्राकारहरुको भ्रमण भएको कुरा पठनबाट स्पष्ट हुन्छ ।

उल्लिखित कुराहरुको साथसाथै नियात्रालाई आवश्यक पर्ने तत्त्व यथार्थपरकता, गतिशीलता आदि रहेको कुरामा शंका गर्ने ठाउँ छैन ।

त्यसरी नै लुप्त रहस्यहरुको उद्घाटन पनि मैनालीका नियात्रामा रहेका छन् । जस्तो रामेश्वर मन्दिरमा पूजा समाप्त भएपछि पर्दा लाग्ने र सो समयमा भगवानले आराम गर्ने कुरा थाहा पाउनु तथा रामेश्वरलाई नेपालका राजा र राजपरिवारले मात्र स्पर्श गरी पूजा गर्न पाउने चलनको उत्खनन समेत गरेका छन् ।

यस्तै रहस्यको उद्घाटित गर्दै लेख्छन्– ‘पैसा कं.रु. । हरएक पानी चलनेसम्म मानिसले द्वारकानाथमा आफ्ना हातले पूजा गर्न पाउँदा रहेछन् । द्वारकानाथको प्रतिमा र मन्दिर मलाई उस्तो प्राचीन जस्तो लागेन यो देश गुजरात कठियावाद प्रान्त रहेछ, यहाँ ‘कठिया’ भन्ने निवासीहरु हुँदा रहेछन् ।’ (२४ गते माघ बाट)।

नियात्राकार मैनालीका नियात्रा विधाको सिर्जनाका लागि आवश्यक पर्ने तत्त्वहरु पाइने भएकोले आधुनिककालीन नियात्राकै हाराहारीमा उभिन सक्षम रहेको छ । उल्लिखित आधारमा मैनालीलाई उद्भवकालीन नेपाली नियात्रा विधाका एक सिद्धहस्त नियात्राकार हुन् भन्न सकिन्छ ।

नियात्राकार मैनालीको नियात्रालाई वर्गीकरणको कसीमा पठन गर्दाः

नियात्रा विधाको वर्गीकरणका दृष्टिकोणबाट नियात्राकार मैनालीलाई पठन गर्ने होभने उनका नियात्रा धार्मिक भावनाले ओतप्रोत भएको पाइन्छ । तर सिर्जनाको कोणबाट नियाल्दा दैनिक्यात्मकजस्तो पनि लाग्दछ । किनकि उनको नियात्रामा मितिगत शीर्षकलाई प्राथमिकता दिइएको छ । उनको नियात्राको प्रारम्भिक वा उत्थानको समय र विचारलाई दृष्टिपात गर्दा वर्णनात्मक नियात्रा सिर्जना भएकोजस्तै प्रतीत हुन्छ । तर जेजस्तो अवस्था र समयमा यात्राको थालनी र अन्त्य भएको भए पनि एउटा सफल नियात्राको अभिलेखन गरेको कुरामा दुईमत नहोला ।

वास्तवमा कुनै पनि चिजको सृष्टि भएपछि नै नामकरण हुने र त्यस चिजको लागि चाहिने अन्य कुराहरु बारे विचार विमर्श हुने गर्दछ । यसको तात्पर्य नियात्रा लेखिने क्रम शून्य रहेको समयमा नियात्राका विशेषता, तत्त्वहरु र अन्य आवश्यक अवयवका कुराहरु बारे छलफल, विचार विमर्श नहुने भएकोले नियात्रा सर्जकहरुले आआफ्ना हिसब र तरिकाले लेख्ने काम गरिनु स्वभाविक छ । तर पनि नियात्राका मूलभूत कुराहरु वा नियात्रा किन, कसका लागि र के का लागि भन्ने सामान्य कुराहरुका जानकार सर्जकहरु हुन्छन् र हुनु पर्दछ । नियात्रा सिर्जनाका लागि चाहिने अवयवहरु समावेश गरेर मैनालीले नियात्रा सिर्जना गरेको हुनाले उनको नियात्रा उद्भवकालको भए पनि आधुनिक कालको नियात्राभन्दा कमजोर छैन भन्न कुनै कठिनाइ पर्दैन ।

नियात्राकार मैनालीको नियात्रा शैलीः

जुनसुकै विधाको सर्जक भए पनि आआफ्नै शैलीलाई स्थापित गर्दै आफ्नो बेग्लै पहिचान बनाउने तर्फ उन्मुख हुने हुन्छन् । यस दृष्टिकोणबाट मैनालीका नियात्रालाई पठन गर्ने हो उनले आफ्ना नियात्रामा अभिव्यक्तिमूलक शैलीलाई रोजेका छन् । किनकि यिनले यात्राका विषयवस्तुलाई केन्द्रमा राखेर अभिव्यक्त गर्नमा तल्लीन भएको पाइन्छ । जुन उद्देश्यबाट यात्रा सुरुवात भएको हो सोही उद्देश्यको परिपूर्ति गर्नेतर्फ मैनालीका नियात्रा उन्मुख भएका छन् । अझ स्पष्टसाथ भन्ने होभने मैनालीले अभिव्यक्तिमूलक शैली अन्तरगतको इतिवृत्त शैलीलाई अंगिकार गर्दै नियात्रा लेखेका छन् । नियात्रा अन्वेषक जय छाङ्छाको दृष्टिकोण छ– ‘कुनै पनि नियात्राकारले भ्रमण गर्दाको समयमा देखेका, भोगेका र भ्रमण गरेको स्थानका बारेमा आसक्ति देखाई सिर्जना गर्ने नियात्रालाई इतिवृत्त शैलीको नियात्रा भनिन्छ ।…. यसमा सर्जकको भूमिका तटस्थता रहन्छ ।’ (नियात्रा विधा परिचय, अनुसन्धानात्मक कृति, पृ.१३१) ।

यस प्रकारले मैनालीको नियात्राले चाहिने अवयवहरुलाई अंगिकार गर्दै लिपिबद्ध भएकोले यो एउटा उद्भवकालीन नियात्राको अनुपम नमुनाको रूपमा लिइनु पर्दछ ।

उपसंहारः

उद्भवकालीन नियात्रा भए पनि मैनालीका नियात्रामा सिर्जनाका लागि आवश्यक पर्ने अवयवहरु समावेश भएका छन् । नियात्रामा चाहिने गति, चित्रात्मकता, वास्तविकता, कल्पनाशीलता, तत्त्व, विशेषता तथा शैली आदिले सजाएर सिर्जना भएको छ । अझै कुनै स्थान र त्यहाँको परिवेशलाई महत्त्व दिनु पर्ने भएमा सो पनि समावेश गरेर प्राथमिकता दिएर वर्णन गर्ने कार्य गरेकाले विशिष्ट किसिमको नियात्रा सिर्जना गरेको स्पष्ट हुन्छ ।

यसको अलबा यात्रामा त्रुटी रहेका विषयलाई पनि आफ्ना नियात्राको अन्त्यको टिपोट मार्फत प्रष्ट्याएका छन् । त्यसरी नै सवारीका समयमा वा दैनिकी लेख्दा छुटेका कुराहरुलाई पाद टिप्पणी जस्तै गरी ‘सवारीका कायदाको केही कुरा’ शीर्षक अन्तरगत उल्लेख गरेका छन् । नियात्रा विधाको लागि उल्लिखित बुँदाहरुलाई मैनालीको मौलिक शैली हो भन्न सकिन्छ । यस प्रकारको लेखन शैली नियात्राको प्राक्कालीनकाल (वि.सं.१५५०–१९०९) सम्म थियो न त उद्भवकाल (वि.सं.१९१० देखि २०२५) वा आधुनिककाल (वि.सं.२०२५ देखि हालसम्म) नै देख्न सकिन्छ । तसर्थ एकप्रकार विशिष्ट वा मौलिक शैलीको नियात्रा मैनालीले सिर्जना गरेको पाइन्छ ।

मैनालीले आफ्नै शीप तथा शैलीले नियात्राको सिर्जना गरेको भए पनि नेपाली नियात्रा विधाको लागि अपूर्व प्राप्ति हो । तसर्थ नेपाली नियात्रा विधामा नियात्राकार गुरुप्रसाद मैनालीको अतुलनीय योगदान रहेको कुरालाई कोही कसैले पनि कदापि बिर्सन हुँदैन ।

सन्दर्भ सामग्री:

१) अधिकारी, अच्युतरमण (सम्पादक), उन्नयन (चिन्तन, मन्थन तथा अनुसन्धानप्रधान त्रैमासिक (२०५१ श्रावण, भदौ, असोज), अङ्क १५, उन्नयन प्रकाशन, काठमाडौं ।

२) छाङ्छा, जय, नियात्रा विधाः परिचय, अनुसन्धानात्मक कृति, प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौं, संस्करण प्रथमः २०७७ ।

३) तिम्सिना, डिल्लीराम र भण्डारी माधव हाम्रो साहित्य र साहित्यकारहरु (एक ऐतिहासिक अध्ययन), प्रकाशकः नभसंगम, वाराणसी, संस्करण पाँचौंः २०४१ ।

४) प्रधान, पारसमणि, काठमाडौंमा दश दिन, प्रकाशकः भाग्यमणि प्रकाशन, संस्करण प्रथम २०३२ (?)।

५) प्रसाई, महेश (सम्पादक), महानन्द सापकोटाका लेख निबन्धहरु, प्रकाशकः नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं, प्रथम संस्करणः २०७४ ।

६) बराल, ईश्वर (सम्पादक), झ्यालबाट, प्रकाशकः साझा प्रकाशन, संस्करण पाँचौं २०४८ ।

६) बराल, ईश्वर (सम्पादक), सयपत्री, प्रकाशकः रानू प्रकाशन, वाराणसी, संस्करण प्रथम २०१३ ।