साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गायत्रीको ‘भरपाई’ : एक कोसेढुङ्गो

सामाजिक रूपान्तरणका नाममा प्रेमको खोक्रो नाटक रचेर समाजलाई दिग्भ्रमित बनाउनेहरू कम छैनन् । कुन समयमा के काम गर्ने हो भन्ने नजान्ने व्यक्तिहरू कानुनको हवाला दिएर मानिसहरूलाई त्रसित तुल्याउने कुतत्वहरू यत्रतत्र सर्वत्र देखिन थालेका छन् ।

Chovar Blues Mobile Size

गायत्री लम्साल नेपाली साहित्यकी उम्दा साहित्यकार हुन् । हास्यव्यङ्ग्य निबन्धलाई लिएर निरन्तर साधनारत गायत्रीले कविताका क्षेत्रमा समेत गहिरो उपस्थिति जनाइसकेकी छन् । यस सन्दर्भमा उनको परिचय दिइरहनु आवश्यक पर्दैन किनकि कवितासङ्ग्रहसमेत प्रकाशित गरिसेकेकी छन् । लामो समयदेखि साहित्य लेखनमा क्रियाशील व्यक्तित्वका रूपमा परिचित उनले आत्मपरक र वस्तुपरक दुवै शैलीका यथेस्ट मात्रामा निबन्ध पस्किसकेकी छन् । उनका निबन्धका विषय राजनीतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा देखिएका छन् । यसभित्र छद्म रूपमा रहेका विकृति विसङ्गति बढो जीवन्त किसिमले पस्कने काम गरेकी छन् । त्यसमा पनि आफै नेपाल सरकारको निजामती सेवाभित्र प्रशासनमा बसेर काम गरेकी हुनाले त्यहाँ देखिएका ढिलासुस्ती, टेबुलमुनिबाट गरिएका लेनदेन, बिचौलियाका माध्यमबाट गरिने कारोबार, भ्रष्टाचार, सरुवाबढुवा गर्दा कुम्ल्याउने मोटो रकमजस्ता आदि विषयलार्ई मिहिन तरिकाले उठाउँदै घुमाउरो पाराले व्यङ्ग्य प्रक्षेपण गरेकी छन् । कुटनीतिक शैली र भावमा उनका निबन्धहरू घोत्लिएको देखिन्छ ।

सकारात्मकजस्तो लाग्ने व्यङ्ग्यात्मक कथनले गम्भीर प्रकृतिका वस्तुसत्य उजागर गर्दै जीवन्त रूप अभिव्यक्त गर्न सक्नु उनको चातुर्यपन र निबन्धकारिता नै हो । उनका भरपाईसहित पाँचओटै निबन्धसङ्ग्रह हाँस्यव्यङ्ग्यसँग सम्बन्धित छन् । उनका हरेक निबन्धसङ्ग्रहहरू लेखिएका निबन्धबाट नै नामकरण गरिएका छन् । हाँस्यव्यङ्ग्यको समुच्चय रूप उनका प्रायः सबै निबन्धमा देख्न सकिन्छ । आफ्नो लेखनगत व्यङ्ग्य प्रवृत्तिलाई धारावाहिक रूपमा सँगसँगै लिएर हिँड्न सक्नु उनको वैशिष्ट्य नै हो । भुँडीपुराणबाट प्रकाशित यस कृतिमा जम्मा २९ ओटा निबन्धहरू सङ्कलित छन् ।

नेपाल सरकारको प्रशासनिक क्षेत्रमा काम गर्दै गर्दाको अवस्थामा देखिएका ढिलासुस्ती, सेवाग्राहीहरूको भावनाका विरुद्ध गरिएका विद्रुपताले उनका मनमा वितृष्णा बोध गराई सिर्जनाका माध्यमबाट ती भावनाहरूलाई ओकलेकी छन् । भ्रष्ट कर्मचारीका मानसिकतालाई बढो शालीन र शिष्ट शैलीका माध्यमबाट व्यङ्ग्य गरेकी स्रष्टाले आफ्नो अनुभवलाई जीवन्तता दिने कामसमेत निबन्धमा गरेकी छन् । भ्रष्ट आचरण राखेर कार्यालय जाने र बेलुकी कति कमाइ भयो भनेर औँला गन्ने कलुषित मनोवृत्तिका कर्मचारीप्रति पनि व्यङ्ग्यको झटारो हान्न उनी चुकेकी छैनन् । सुविधा सम्पन्न ठाउँमा सरुवा माग्ने र गराउने अनि रातारात धनी बन्ने मनशाय बोकेका तमाम स्वार्थी समूहको अवस्था देख्दा निबन्धकारलाई दया र घृणा जागेर आउँछ । पशुका नाममा समेत सम्पत्ति जोडेर आफूलाई समाजको प्रतिष्ठित व्यक्तिको हैसियतमा उभ्याउन चाहने ढोँगी र अहङ्कारीहरूप्रति निबन्धकारको कटाक्ष प्रस्ट देखिन्छ । यस्ता मनोवृत्ति बोकेका मानुषले समाजमा सद्भाव, सहिष्णुता र सदाशयता देखाउनुको सट्टा समाजलाई दूषित तुल्याइरहेका छन् । “कर्मचारीको सरुवा गर्न हो कि संघ संस्थाको सदस्य बन्न, हिमाल चढ्न होस् कि कुनै खेलको खेलाडी बन्न, नेता, सभासद् र मन्त्रीका … प्रतिस्पर्धा छ ।” (भरपाईः पृ. ५२) । व्यक्तिको क्षमता, योग्यता र कामले नभई चाकडी र चाप्लुसीका आधारमा लाभको श्रेणीमा जाने प्रवृत्तिले दक्ष र योग्य व्यक्ति सधैँ पछि परिरहनु दुर्भाग्य हो । अतः यस किसिमका हर्कतले देश आर्थिक संवृद्धिको बाटोमा जानुको सट्टा कङ्गाल बन्दै गएको छ । तसर्थ समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा नारामा मात्रै सीमित रहनु खेदको विषय हो ।

राज्यपक्षबाट नागरिक सुरक्षित हुने र शिक्षा, स्वास्थ्य, रोजगारजस्ता अपरिहार्य तत्त्वबाट वञ्चित नहुने कुरा प्रत्याभूति गराउनु सरकारको दायित्व र कर्तव्य हो तर यी दुवै क्षेत्रमा राज्यले निरिहता प्रदर्शन गरिरहेको छ । सरकारी सुरक्षाको आडमा लगानीका बाटाहरु खोजी गर्ने र समाजसेवाको हुइँया चुटेर लुट्ने वैधानिक लाइसेन्स बोकेका ललुटेराहरू अकुत सम्पत्तिको मालिक बनेको देख्दा स्रष्टाको पारो बढेर आएको छ ।

पूर्वको उज्यालो ज्ञान, सभ्यता र सहिष्णुताको देखिन्छ । सनातन हिन्दु सभ्यताभित्र कुरूपताले क्रमशः डेरा जमाउन थालेको देख्दा वैरभाव उत्पन्न भएको छ । नेपाली संस्कृतिका विरुद्ध धावा बोल्नेहरू यत्रतत्र सर्वत्र देखिएका छन् । मिसिनरी कार्यक्रम ल्याएर त्यसैका नाममा धर्म प्रचार गर्ने र शताब्दीऔँ पुरानो रीतिस्थितिलाई समाप्त पार्ने खेलमा लागेका छन् । यस्ता बज्रस्वाँठहरूले खसीको टाउको झुन्ड्याएर कुकुरको व्यापार गर्ने द्रव्यपिचासहरूले दिन दहाडै लुटिरहेका छन् ।

sagarmani mobile size
बाबुराम लम्साल

सामाजिक रूपान्तरणका नाममा प्रेमको खोक्रो नाटक रचेर समाजलाई दिग्भ्रमित बनाउनेहरू कम छैनन् । कुन समयमा के काम गर्ने हो भन्ने नजान्ने व्यक्तिहरू कानुनको हवाला दिएर मानिसहरूलाई त्रसित तुल्याउने कुतत्वहरू यत्रतत्र सर्वत्र देखिन थालेका छन् । आधुनिकताका नाममा पराइ संस्कृति भित्र्याएर सभ्य नागरिकको परिचय दिने सुकुल गुन्डेहरूका प्रवृत्तिले सारा सनातनी पूर्वीय संस्कृतिलाई धरासाही बनाउने दुष्प्रयास भइरहेको छ । न आफ्नो भन्ने मौलिक स्वरूप केही छ न अरूको नै मौलिकता झल्कने कर्म छ । छ त केवल प्याजे संस्कृति, खोज्दै जाँदा मात्रै शून्य र खाली । त्यसबाट निस्केको ठिमाहा पश्चिमी संस्कृतिले कच्चा वैद्यको मात्रा यमपुरीको यात्राझैं समाप्त पार्ने दिशामा लम्काइरहेको छ । नराम्रा कुराहरूको देखासिकी गर्ने प्रवृत्ति बढ्दै गइरहेको कुराप्रति लक्षित गरी निबन्धकारले तीष्ण वाण प्रक्षेपण गरेकी छन् । टेलिसिरियल हेरेर त्यही किसिमको आचरण गरी सुन्दर परिवारमा झगडाको बिउ रोप्ने, आफैंले पुरस्कारका लागि लगानी गरी खाँदा माला पहिरिएर पुरस्कार थापी ठुलो मानिस हुँ भनेर रवाफ देखाउने कथित साहित्यकार र मानसिक रोगीहरू समाजका भाइरसहरू हुन् । यससम्बन्धी निबन्धकार खरो रूपमा प्रस्तुत भएकी छन् ।

वर्तमान युगीन समयमा हाउभाउ कठाक्ष गरी सस्तो विज्ञापन र अनलाइन पोस्टलाई आफ्नो हातमा लिएर महान् आविष्कारक र सर्जक बनेर मानिसहरूलाई चर्मचक्षुको जालोमा हाल्नेहरू हाम्रो समाजमा कमी छैनन् । दुईचार जना मानिसको झुन्ड तयार पार्यो, हल्लाखल्ला गर्यो अनि सामाजिक सञ्जाल र अखबारका भित्ताहरूमा तस्बिरसहित पोस्ट गर्यो अनि भइएन त समाजसेवी, साहित्यकार, वैज्ञानिक अनि शिक्षासेवी । यस खाले जमातीहरूको सङ्ख्या पनि कम छैनन् । भोजभतेरको आयोजना गरेर राज्यभित्र अनि राष्ट्रियताको खोल ओढेर पश्चिमेली मुलुकमा ढुन्मुनिएकाहरुको देशप्रेम देख्दा उदेक लागेर आउँछ । यस्ता दहीचिउरे सोच बोकेका कथित राष्टवादीप्रति निबन्धकारले धज्जी उडाउने काम गरेकी छन् । त्यसमा पनि विमानमा चढ्नुअघि नागरिकता च्यातेर पराइ भूमिमा सर्वस्व खोज्ने र छ भन्नेहरू पनि कम छैनन् ।

नेपाली समाजको सग्लो चित्र निबन्धकारले भरपाईभित्रकै भरपाई निबन्धमा उतार्ने सत्प्रयास गरेकी छन् । बलात्कारी अनि व्यभिचारी मानसिकता बोकेकाहरूले समाजमा आतङ्क मच्चाइरहेका छन् । दिनमा अछुत र रात सब लुट मच्चाउनेहरूले महाराजको हवाला दिएर एकछत्र रजाइँ गरिरहेका छन् । आर्थिक प्रलोभन देखाएर कानुनलाई हात लिई ताण्डव नृत्य प्रदर्शन गरिरहेका छन् । पैसा होस् वा इज्जत एउटा भरपाई बनाएर कानुनको धज्जी उडाउनेहरू समाजमा कमी छैनन् । “माइला पण्डित मुखियाको गर्भ विधवा सेती सर्किनी दिदीले बोक्दा, न्वारनको दिनमा नाम जुराउन फसाद पर्दा मुखियाले सुटुक्क तल्लो गाउँको लाटे सार्की दाइलाई रु. पचास हजार दिएर विधवा सेती दिदीको गर्भ मेरै हो भन्ने भरपाई बनाएकै हुन्” (भरपाई ः पृ. ९७) । सत्यलाई असत्य र असत्यलाई सत्य सावित गर्ने काम समाजका कथित ठालुहरूले गर्ने र गरिबहरूलाई डाम्ने कुत्सित मनोरोगी समाजका भाइरस हुन् । यिनीहरूले कतिपयको जीवन नै बर्बाद पारिदिएका छन् । आफू मातहतका कथित भद्र भलादमी जम्मा गर्दै भरपाई गराई कानुनी राजलाई कुल्चिँदै सामाजिक मूल्यमान्यतालाई समाप्त पार्ने मुखियाहरूको चङ्गुलमा गरिब, शोषित, उत्पीडित वर्ग परिरहेका छन् ।

सरकारको काम कहिले जाला घाम भनेर बसेका कर्मचारीतन्त्र त हिसाब किताबको नाममा फर्जी कागजात बनाई जनताको पसिना र रगतमा होली खेल्न र तिनैले तिरेको करबाट गुजारा गर्नेहरू वा सिधा खानेहरू अनि धुकुटीमा जम्मा भएको पैसा हसुर्न पछि पर्दैनन् । “…सरकारी विकासमा, सरकारी कामकाजमा त अझ यसको प्रयोग व्यापक हुन्छ । रु. पचासको पेन किनेर रु. पाँच सयको भरपाई …रु पाँच सय भत्ता दिई रु. पाँच हजार दिएको भरपाई …अमूल्य छ भरपाईको मूल्य । भरपाई मिलेपछि अरु सबै कुरा आपसेआफ मिल्छ” (भरपाईः पृ. ९८) । यस खाले मानसिकता बोकेका राष्ट्रसेवक कर्मचारीहरूप्रति पनि निबन्धकारले कटाक्ष गरेकी छन् ।
उनका निबन्धहरू समय सापेक्ष मात्रै नभएर निरपेक्ष पनि देखिन्छ । वर्तमान अवस्थामा नेपालमा संसदीय चुनावको महोत्सव निकट दिनमा मञ्चन हुँदै छ । यसले सरगर्मी थप्दै गएको छ । राजनीतिक सामाजिक कार्य हो भन्ने भन्दा पनि नेपालको सन्दर्भमा जागिर खाने पेसाका रूपमा हेरिएको छ । जनता जनार्दनलाई भ्रममा पारेर स्वार्थलिप्सा पूरा गर्न राजनीतिक दल लागी परेका छन् । ‘महान् चाड चुनाव’ लाई केन्द्रमा राखेर अकुत सम्पत्ति मालिक बन्न लगानी गरी ब्रह्मलुट गर्न उद्यत देखिने नेताप्रति निबन्धकार खरो रूपमा प्रस्तुत भएकी छन् । प्रत्येक चुनावी नाराले मुलुकको समृद्धिको सपना बुन्छ तर जनतालाई भ्रममा पारी महाजाल ओछ्याएर तानाबाना बुनी भ्रष्टाचारको खेती गरी विलासी जीवन बिताउने दुष्चक्रले समृद्धिको सपना शब्दमा मात्रै सीमित बन्न पुग्छ । वास्तवमा ‘भोट अमूल्य हुन्छ भन्ने हो रहेछ, नत्र भने एक भोट दिएको भरमा भनौँ वा एक भोट पट्याउनको लागि कसैले जागिर … चुनाव आउनभन्दा साठी दिन अघिदेखि दुई खुट्टे र चार खुट्टेको झोल चौटासँग …खान त कति पाउँछन् कति’ (पृ. १२९) । हरेक कुराको प्रलोभनमा पारेर चुनाव जित्ने र फर्केर जनताको घरदैलो नटेक्ने नेतागणप्रति चोटिलो व्यङ्ग्य निबन्धका माध्यमबाट गरिएको छ ।

अन्त्यमा, निबन्ध पठन गर्दा कवितावाचन गरेजस्तो लाग्छ । प्रत्येक निबन्ध सरलता, सहजता र सुबोध्यता छन् । पाठकले सहज रूपमा निबन्धको भाव आस्वादन गर्न सक्दछन् । अतः धेरै कुराको भरपाई गरे पनि जीवनमार्गमा साथ दिने सहयात्रीसँग एकपटक मात्रै भरपाई गरी जीवन चलाउनुपर्ने अनुरोध पनि गरिएकाले निबन्धकारमा पूर्वीय सभ्यताको रक्षा गर्नुपर्छ भन्ने गहन चिन्तन रहेको देखिन्छ ।

प्रतिक्रिया
Loading...