२.
‘आज मैले तपाईंलाई सपनामा देखेँ ।’
एक्कासी कुनै अपरिचितले म्यासेज पठाउँदा अचम्म लागेको थियो ।
‘ए हो र ?’ यी बाहेक अर्थोक शब्दहरु के नै हुन्छन् र अपरिचितलाई पस्किएर दिन ।
अपरिचित भनेर अपरिचित पनि हैन । आफ्नो फेसबुकमा जतन गरेर सजाएको मान्छे तर चिनजान पनि त भएको छैन । आफ्नो असली नाम नराखेको स्त्रीलिंगी फेसबुक आईडी अपरिचित नै त हो नि! फेसबुकको भित्तोमा सधैँ देखिराखेको भनेर भो त ?
‘के देख्नु भो ?’
‘तपाईं सपनामा पनि चिया बेच्दै हुनुहुन्थ्यो ।’
यो कस्तो खालको कुरा हो ? के म बिपनामा ‘पनि’ चिया बेच्छु र ?
‘हाहाहा,’ म हाँसे । हाँस्न त अनेक बाटाहरु हुन्छन् फेसबुकमा । ताल तालका इमोजीहरु पाइन्छन् । छानी छानी टाँसिदिए भो तर मलाई लेखेरै हाँस्दिन मन लाग्यो । किनकि शब्दमा हाँस्नु भनेको पढ्नेहरुको कानमा दुरुस्तै आफ्नो आवाज गुन्जिनु हो । इमोजीको अनुहार त नमिल्न पनि त सक्छ । गीतै छ नि, नाम गुम जाएगा, चेहरा ये बदल जाएगा, मेरी आवाज ही पहचान है, गर याद रहे…
‘तपाईं जतिबेलै चियाका कुरा गरिरहनु हुन्थ्यो । अहिले त चिया अड्डा नै खोल्नुभो । त्यही पढेर हो वा केले हो, मैले त सपनीमा तपाईंलाई देखेँ । अनि कहिल्यै नबोलेको मान्छेसँग पनि बोल्न मन लाग्यो ।’
कति मीठो कुरा ! कसैको बिपनीमै पनि जान नसकेको म, कसैको सपनीमा जानु, कति रसिलो कुरा ! के मलाई छोडेर गएकी उनी, जो मलाई स्कुटरमा पछाडि राखेर काठमाण्डूका सडकहरुमा कुदाउने गर्थिन्, उनको सपनीमा पनि म पुग्छु होला त ? पुगेँ भने यदि, धेरै भयो नबोलेको भनेर फेसबुकको ब्लक खोलेर मेसेज गर्छिन् होला त ? ल मानौँ, आफ्नै आइडीबाट बोल्न, आफ्नै परिचयबाट भावनाहरु बताउन, संशय लाग्यो अरे, अहंकारले दिएन अरे । के कुनै फेक आइडीबाट बोलाउँछिन् होला त ?
झसंग भएर झसंगिएँ म । के यो कोरियन नायिकाको तस्विर राखेकी निक्की नाम गरेको आइडीवाल उनी नै हुन सक्छिन् त ?
‘बिजी हुनुहुन्छ जस्तो छ । एनिवे, तपाईंको चिया अड्डाको चिया मीठो थियो है ! सपनामा पिएको अनि बिपनामा पढेको पनि । ह्याभ अ गुड डे ।’ यति लेखेर ओझेल परिसकिछन् उनी । मेरा हातहरु टाइप गर्न भन्दा पनि दिउरेमा उम्लिन ठिक्क परेको चियालाई कपमा खन्याउन व्यस्त भएँ ।
लकडाउनका कारण चिया अड्डाहरु बन्द छन् । घरैमा चिया पिउने बानी परेको छ । सोलिच्युड अर्थात् एकान्तवासमा बस्दा चिया अड्डाका हल्लाहरु ध्यान बिथोल्न आइपुग्छन् । उनका सम्झनाहरुले सताएर पुगेको थिएन र अब यो निक्कीको कौतुहलता थपियो मेरो मानसपटलमा ?

‘तपाईंको परिचय दिन सक्नुहुन्छ ?’ टाइप गरेँ तर सेन्ड गर्न हच्किएँ । गुड डे लेखेर गैसकी । के आत्तिएर खोजिनिति गर्नु जरुरी छ र ?
लेखेको हरफ सर्लक्क मेटेपछि ‘यु टु ह्याब अ गुड डे’ लेखेर छाडिदिएँ ।
चियाको पहिलो घुट्को सुरुप्प निल्छु । अनि सम्झन्छु, ‘चिया नखाने साथीहरु भेट्दा अक्सर सोध्ने गर्छु, सास पनि फेर्छौ कि ब्याट्रीबाट चल्याछौ ?’ यस्तै स्टाटस लेखेको थिएँ कुनै दिन । कमेन्टहरुको भीडमा उस्तै हुलियाका एक दुई कमेन्ट थिए । ती कमेन्टहरुले भने, ‘चिया खाँदिनँ तर बाँचिराछु त ।’

[bs-quote quote=”चिया अड्डाहरु विश्वविद्यालय हुन्, जहाँ सिद्धान्त र दर्शनका छलफलहरु पनि हुने गर्दछन् । चिया अड्डा संचारगृह हो जहाँ खबरहरु संकलन गरिन्छन् र सूचना प्रवाह गरिन्छन् । र, कहिलेकाहीँ चिया अड्डाहरुमा बाहिर बताउन नसकिने भित्री चाहनाहरु पनि संकेतले नै व्यक्त गरिन्छन् र अँध्यारा कुनाहरु खोजेर जाने गर्छन् तिर्खालुहरु ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

कहिलेकाहीँ म सोच्ने गर्छु, सामान्य कुरा लेख्यो भने धेरैले बुझ्छन् तर म गलत रहेछु । मैले सामान्य लेखेकै कारण कहिलेकाहीँ मेरो भनाइको तात्पर्य पाठकले बुझेका नहुँदा रहेछन् । साहित्यमा अलंकारको प्रयोग हुन्छ । लाक्षणिक अर्थको महत्त्व हुने गर्दछ । शब्दमा पढ्नुभन्दा ‘रिडिङ बिटविन त लाइन्स’ भनेझैं शब्दले छोडेका खाली ठाउँका अर्थ बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।
मलाई चिया पिउनु भनेको चिया अड्डामा बसेर स्वतन्त्रताको उपयोग गर्नु हो जस्तो लाग्छ । के के हुँदैन चिया पसलमा ? राजनीति, समाज, खेलकुद, साहित्य, सिनेमा, यौनदेखि लिएर प्रेमसम्मका कुराहरु हुन्छन् । चिया अड्डाहरु संसद् हुन्, जहाँ सत्तापक्ष र प्रतिपक्षको बादविवाद चल्ने गर्दछ । चिया अड्डाहरु विश्वविद्यालय हुन्, जहाँ सिद्धान्त र दर्शनका छलफलहरु पनि हुने गर्दछन् । चिया अड्डा संचारगृह हो जहाँ खबरहरु संकलन गरिन्छन् र सूचना प्रवाह गरिन्छन् । र, कहिलेकाहीँ चिया अड्डाहरुमा बाहिर बताउन नसकिने भित्री चाहनाहरु पनि संकेतले नै व्यक्त गरिन्छन् र अँध्यारा कुनाहरु खोजेर जाने गर्छन् तिर्खालुहरु ।
मलाई चिया पसल सधैँ स्वच्छन्द हुने ठाउँ जस्तो लाग्यो । चिया मेरा लागि स्वन्तन्त्रता, समानता र लोकतन्त्रको उच्चतम प्रतीक जस्तो लाग्छ । चिया पसलमा कहिल्यै यो को हो भनेर सोधिँदैन । यसलाई फरक चिया दिउँ भनिँदैन । यसलाई मात्र अर्कै गिलासमा चिया दिउँ भनिँदैन । आजकल गणतन्त्र आएर होला हरेक चिया पसलमा अपारदर्शी चिनियाँ कपहरु प्रयोग हुन्छन् ! बरु उतिबेलाकै चिया पसलहरु ठीक थिए । कमसेकम भारतीय काँचका गिलास नै भए पनि ती पारदर्शी त थिए !
हातमा भएको चियाको कप रित्तिन लाग्दा रित्तिन लागेको त्यो पुरानो चियाको कपको याद आयो जो बानेश्वरको कुनै एउटा अड्डामा उनको भरिएको कपको छेउमा उभिएको थियो ।
‘तिमीले त चिया पिएनौ त,’ सोधेको थिएँ ।
‘पिएँ त दुई तीन घुट्को’
‘बाँकी नपिउने ?’
‘हजुरले पिएको हेरेरै अघाएँ,’ के यो फ्लर्ट थियो ?
ङिच्च हाँसेर उनका आँखाहरुमा हेर्छु, ती रसिला थिए, न त जिस्किएजस्तो, न त मस्किएजस्तो । एकसुरले हेरेर टोलाएजस्तो । मानौँ मेरा आँखाहरु कतै सुदूरको क्षितिज हो र उनका आँखाहरु दुरबिन हुन् । नियालिरहेछन् मेरो नजरको गोधुलीलाई, जहाँ भावनाका गुलाबी रङहरु पोतेर भर्खर अस्ताएको छ एउटा एक्लोपनको घाम ।
तर मेरो एक्लोपनाको घाम आजकल जहिल्यै उदाइरहन्छ । बिहान, दिउँसो, साँझमा र रातमा पनि । रित्तो कप हातमा लिएर टोलाइरहन्छु, त्यसदिन ‘त्यसरी चिया खेर फ्याँक्न हुन्न’ भनेर मैले उनलाई झक्झक्याएर भनेका कुराहरु । ‘त्यसो भए तपाईं नै पिइदिनु न त,’ भनेर उनले भनेका कुराहरु ।
‘साँच्ची ?’ त्यो चुनौती थिएन, बरु रहर थियो ।

[bs-quote quote=”सायद जीवनमा त्यति मीठो चिया कहिल्यै पिएको थिइनँ । सेलाएको थियो, चिसिएर तरको खोल बाक्लिएको थियो तर त्यो चियामा उनका ओठहरु खसेका थिए । त्यो कपमा उनका छापहरु बसेका थिए ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

सायद जीवनमा त्यति मीठो चिया कहिल्यै पिएको थिइनँ । सेलाएको थियो, चिसिएर तरको खोल बाक्लिएको थियो तर त्यो चियामा उनका ओठहरु खसेका थिए । त्यो कपमा उनका छापहरु बसेका थिए ।
‘मानेँ मैले तपाईंलाई,’ भनेकी थिइन् उनले ।
उनको जुठो चिया पिउनु कुनै बहादुरी थिएन, यो उनलाई पनि थाहा थियो । आत्मा नै उर्लिएर त्यो चिया पिउने रहर मेरो आफ्नै थियो, यो मलाई पनि थाहा थियो ।
तर कठिन नलागेको चिजलाई कठिन छ भन्नु, साना-साना कुराहरुमा पनि ठूला खुशीहरु खोज्नु, आखिर यही नै त प्रेम रहेछ । भन्नेहरुले त जुठो खायो भने माया गाढा हुन्छ भनेर पनि भन्दिए तर यो फगत दोस्रो भेट थियो हाम्रो । र, हामी जुठो खाने भैसकेका थियौँ । के माया गाढा भयो त ?
म त भन्छु, जति छिट्टो बस्छ माया, त्यति नै छिट्टो छुट्दो पनि रहेछ ।