अध्यायः ४ सन्तान

बच्चालाई काखमा लिएकी महिलाले सोधिन्‌ : हामीलाई सन्तानका बारेमा बताउनुहोस्‌ ।

उसले भन्यो :

तिम्रा सन्तान तिम्रा आफ्ना होइनन्‌ ।

तिनीहरू त जीवनको स्वयंप्रतिको उत्कट अभिलाषाका सन्तान हुन्‌ ।

तिम्रा सन्तान तिमीमार्फत्‌ अस्तित्वमा आउछन्‌ तर तर तिमीबाट होइन ।

तिमीसँगै रहने भए पनि ती तिम्रा होइनन्‌ ।

तिनीहरूलाई तिम्रो माया देऊ तर तिम्रा धारणाहरू नदेऊ । किनभने तिनका आफ्नै धारणा हुन्छन्‌ ।

तिमी तिनीहरूको शरीरलाई तिम्रो घरमा राख्न सक्छौँ तर तिनको आत्मालाई होइन ।

तिनीहरूको आत्मा त आगतको गृहमा रहन्छ जहाँ तिमी सपनामा पनि पुग्न सक्दैनौ ।

तिमी तिनीहरू सदृश’ हुने चेष्टा गर्न सक्छौ तर तिनीहरूलाई तिमीजस्तै बनाउने बनाउने चाहना नगर ।

किनभने जीवन विगततिर हिँड्दैन र यो बितेको दिनसँग पनि रोकिँदैन

तिमी त्यही धनुष हौ जसबाट तिम्रा सन्तान सजीव वाणको रूपमा प्रक्षेपित हुन्छन्‌ ।

त्यो धनुर्धारीले अनन्तको मार्गमा निशाना लगाएको हुन्छ, वेगले वाण टाढासम्म पुगोस्‌ भनी उसले आफ्नो सम्पूर्ण शक्तिले तिमीलाई नुगाउँछ ।

धनुर्धारीको हातमा तिम्रो नुगाइलाई सानन्द स्वीकार गर ।

किनभने उसको उसले प्रक्षेपित वाणलाई त्यत्तिकै प्रेम गर्छ, जति स्थिर धनुषलाई ।

मूल लेखकः खलिल जिब्रान । 

अनुवादकः नेत्र आचार्य र पुष्प आचार्य ।