५ मंसीर शुक्रबार २०७७

कालु कुमालबारे

केही समय पहिले मलाई रामु पाण्डे भाइले एक अनुरोध गरे— यस कृतिको बारेमा सरबाट केही शब्द प्राप्त गर्ने आशा गर्दछु भन्दै, इमेलमा ४२४ किलो वाइट पाण्डुलिपि पठाए ।

त्यति मात्रै । कालु कमालको नाम लिएका थिए । मैले पनि ठम्याउन नभ्याई राखिरहेँ । भर्खर मनका आतङ्कजस्ता दशैँतिहार टरेपछि कालु कुमाले शीर्षक पाण्डुलिपि फुकाएँ र सामान्य नोटहरू गर्दै दुई दिनमा पढी सिध्याएँ । अनि मलाई छर्लङ्ग भयो— यो यो मूर्तिकारको रुपमा नेपालको नामलाई विश्वतिर चम्काउने एक महान् कलाकारको जीवनी रहेछ । हालको कक्षा १० को अंग्रेजी पाठ्यक्रममा फ्रान्सका अनेकौँ कलाकारबारे निबन्ध लेख्ने म, विशेष गरी रोदाँको मूर्तिकारी र पिकासोको दृष्टान्त दिने म आफ्नै देशका रोदाँ र पिकासोहरूबारे अनभिज्ञ रहेछु ।

यसको एउटै कारण ललितकलामा साधकको भाषा अर्कै हुन्छ, उनीहरु हाम्रो भाषामा बोल्दैनन् । कालु कुमाले जस्तै, हामी उनीहरुले बोलेको क ख बुझाउने पाठहरू कतै समावेश छैनन् । मूर्त अमूर्त कर्ममा बोल्छन् ।

यो अत्यन्तै राम्रो पढिरहुँ जस्तो लाग्ने साहित्यिक भाषा र शैलीमा प्रस्तुत कृति रहेछ । सम्पूर्ण रुपले नेवारी संस्कृतिको अतल गहिराइमा पसेर निकालेको एक रत्न । त्यसो त्यो अत्यन्तै सफल सिद्धहस्त मूर्तिकारको जीवनयात्रा हो । भर्खरै ८८ वर्ष पुग्नासाथ यो तयार पारिएको जस्तो ।

या लीलपुर शहरमा जन्मी हुर्केका एक कुम्भक (प्रजाति) परिवारका विलक्षण प्रतिभा भएका व्यक्तिले बितेका आठ दशकको संक्षेपमा एक झल्को हो । उनले पैतृक संस्कारबाट खेल्दाखेल्दै आफ्ना पिताले गर्ने कुमाले कर्मबाट मृत्तिकामा केही आकार दिन सके।

कुम्भकहरूलाई यतिखेर प्रविधिले अनावश्यक बनाइदिए पनि हिजोसम्म उनी हरेक सभ्यताका केन्द्रीय निर्माताझैँ थिए । बाटाबाट मइन अनि धातुका, केटाकेटीका खेलौनादेखि, पशुप्राणी देवीदेउतामा गर्दागर्दै अजङ्गका, भीमकाय मूर्तिसम्म, नेपालका अगणित स्थानदेखि सिक्किम, दार्जिलिङ गर्दै दक्षिण भारतसम्म, उता उता मलेसिया, श्रीलङ्का जापान कहाँ कहाँ पुग्यो होला उनको कलाकृति । चीनको मुन्नान प्रान्तको भ्रमणमा जाँदा मैले यो अरनिकोले बनाएको चैत्य भनेर रञ्जना लिपिमा लेखेको देख्ता हामी गौरवले नाच्यौँ । कालु कुमाले त्यस्तै एक अरनिको हुन् ।

यो कृतिको अन्त्यमा मुग्धकारी शैली नेवारी संस्कृतिको अति सम्पन्न परम्पराको गम्भीर प्रतिध्वनिले गर्दा पढ्नेको हृदयमा काठमाडौँ उपत्यकाप्रति नै शिर निहुरिन्छ । नेपालको जति कलाकौशल हो केवल काठमाडौँले जन्माएको हो । इतिहासभन्दा पुराना कलाकार नेवार जातिले अझ मूर्तिकला सम्पूर्णरुपले त्यसमा पनि बुद्ध धर्मको प्रभावले ।

काठमाडौँ तीन शहर र परिवेश बौद्धधर्मावलम्बीको एउटा प्राचीनतम सीट हो । यसको विशालता महत्ता र व्यापकतालाई शब्द दिन म सक्तिनँ । यहाँ पाइला राखेको पाँच दशक पुग्न लागेछन् तर यसलाई नचिनी नचिनेझैँ गरी यो मेरो पुखाएको भूमिझैँ गरी म रमाएरै बसेको छु । देशको रसामृत पान गर्दैछु काठमाडौँका फाँचैमा मुख लगाएर ।

नेवारहरू अनेकका पूजाआजा गर्छन्, बाजागाजा गर्छन्, संस्कार पर्व गर्छन्, देवीदेवता दिनभरि बोकेर नाच्तछन् । उनीहरूको शरीर आत्मा दुवै यही प्राचीन रसले आप्लावित छ, त्यसले नै कालु कुमाले जन्माएछ संगतले, परिवेशले, आस्थाका पूजकहरूको आशीर्वाद र भक्तिले ।

तर आज त्यो प्राचीन स्वर्णभूमि सबैसबै पाखे नेपालीहरूको क्रीडाभूमि भइसक्यो । जसरी पचास वर्षमा नेवार संस्कृति नसिकी म बसेँ, बसैको कुरा त्यस्तै हो । लोकसेवा आयोगको भाषा सिक्न मात्र यही यस्तो रहेछ जो पनि । त्यो विश्वकै एक प्राचीनतम भाषा र संस्कृति नेवारी परित्यक्त यात्रीझैँ छ, वासस्थान भत्किँदै गरको । आफूलाई भाषाले गर्दा मनोभाव व्यक्त गर्न कठिन परेको छ भनेको कालु कुमालेको वाणी सुन्दा कत्रो दुःख लाग्छ ।

यो काठमाडौँ कब्जा गरेर बस्ने प्रत्येक पाखेले अनिवार्य रुपले पढ्नै पर्ने कृति हो । यो प्रत्येक विद्यालय कलेजका विद्यार्थीले पढ्नैपर्ने कृति हो । नेवारी भाषाका संस्कार परम्परा मान्यता केही शब्द सिक्ने थिए, कसरी यो जातिलाई धर्मानुशासनले बाँधेको छ । सिक्ने थिए, सबैभन्दा ठूलो चाहिँ उपत्यकाका बासीले कसरी इतिहास भोग्दै आए, कृषण्कको जीवन कस्तो थियो, व्यापार, धर्म, संस्कार स्वास्थ्य शिक्षा कसरी दुर्लभ थिए ती कुराको जीवन्त अभिलेख हो ।

यसमा एउटा कुरा के छ भने हाम्रा ज्ञानहरू कसरी परम्पराबाट सर्दै आएका छन्, कसरी कसरी परिवेशले वातावरणले तिनको रक्षा गर्दै आउँदो रहेछ भन्ने देखाउँछ । शिक्षा मनोविज्ञानमा आनुवंशिका र परिवेशमध्ये शिक्षामा कुन तत्त्वको ब प्रभाव पर्छ भन्ने तर्क चल्छ । तर मृत्तिकाका आनुवांशिक गुण बोक्ने पात्रलाई धातुका परिवेशले छुँदा पनि सर्दोरहेछ भन्ने लाग्छ । वास्तवमा माध्यम मात्र फरक परेछ, शिल्प कला र कल्पना सिर्जनात्मक चेतना उही हो ।

कृति पढिसक्ता दुई कुराले मलाई अन्तहृदयसम्म छोयो । त्यो कहीँ नछोपी प्रस्तुत गरिएको सत्यता उद्घाटित हुँदै जाँदा त्यो सरलता त्यो निस्कपटताबाट अघि बढेर उत्कर्षमा पुग्ने मार्ग देख्ता एकपल्ट अनि शिक्षादीक्षाबाट पूर्व वञ्चित एक कलाकार पनि उत्तरार्धकालमा पुगेर कला–आर्जित यशकीर्तिले गर्दा विश्वका विविध मुलुक पुगेको, सम्मानित भएको परम पावन दलाई लामाले दर्शन दिएको गुरुले समेत चिनेर नजिकै बोलाएका सुन्दा हाम्रो हृदय गौरव र आनन्दले भरिन्छ ।

चेतना र सम्पत्ति दुवैको अभावले जीवन कठोर थियो । तर सृष्टिको सबै क्रम उस्तै हो । उमेरसँगै पात झर्दै जान्छन् । आशीर्वाद दिने पितामाता गुरुजन स्मृतिमा पुग्दछन्, छोराछोरी, आफन्त, खेतबारी, सम्पदा, यशकीर्ति केही पनि अक्षत रहन्न । वृद्धावस्थामा धेरैतिर खाला, छिद्र, धाँजा र चिरा देखिन्छन् । तर सयशी सृष्टि स्वरुपसँग हाम्रो गुनासो छैन । आफैँ धराप चोला थापेर सारा वैभव र आनन्द यसमा अडियून भन्नु छैन । म आफ्ना पिताजीले गाउने गरेको झ्याउरे भजनको एक अंश सम्झिन्छुः

चित्तरुपी छिद्र रे घडा विषय रुपी जाल
जति पानी भरे पनि छैन माथि ताल

कालु कुमालेको जीवन एक त्यागीको रहेछ, एक तपस्वीको । केवल आफ्नै कर्मको निष्ठाप्रति आकण्ठ समर्पित एक योगीको ।

सार्त्र पढ्दै थिएँ । यो सकेर एक आख्यान रचना गरौँला भनी गम्दै थिएँ । तर आज एक भिन्न क्षेत्रका तपस्वीको जीवनी पढ्न पाएँ । “क्रोधकला शिरोमणि” कालु कुमालेलाई प्रत्यक्ष दर्शन गराउने यस कृतिकारको प्रस्तुतिको हार्दिक प्रशंसा गर्दछु । अठासी वर्षे जीवनलाई दुईसय पृष्ठमा प्रस्तुत गर्नुपर्दा कति अंशको पुनरावृत्ति छ, कति ठाउँमा रिक्तता वा फड्को छ, त्यो स्वाभाविक छ । यशकीर्ति भन्ने कुरा अति अक्करमा हुन्छ । सम्पूर्ण प्रकारका जगति तृष्णा, लोभ लालचा, तृप्ति, सुख, क्षणिकता सबै क्षणिकतालाई बिर्सन सक्नेले मात्रै नदेखिएको शिखर टेक्तो रहेछ । कालु कुमाले नेपाली जातिका एक दृष्टान्त हुन् । अँध्यारो सुरुङबाट बाँच्नलाई भाग्दाभाग्दै दीर्घ तपस्याले बनेका एक महान् साधक । आज उनको यशकीर्ति थन्क्याई नसक्नु भएको छ ।

तर यसलाई प्रकाशित गर्ने समयमा शरीर, प्राचीन, पूर्वाधार, बनाई, ठाउँ, फेरि, आशीर्वाद, यही काँठी यस भाषाभूलहरू छन् । तिनैलाई निर्मूल गर्नु पर्दछ ।