साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कला र समाजको अन्तर सम्बन्ध

Chovar Blues Mobile Size

नवजात शिशु जन्मदै हुने उसको रोदन समाजमा उसको उपस्थिति जनाउँछ भने, नवजात शिशुको जिउमा आमाको मृदुल-कोमल हस्तस्पर्श सामाजिकताको पहिलो अनुभव हो ।

प्रत्येक बच्चाको सम्बन्ध उसको जन्म दिने आमा-बुबासँग मात्र हुँदैन । उसको सम्बन्ध अनेक पुस्तासँग हुन्छ। परिवार एवं छरछिमेकमार्फत परेको प्रभावलाई संस्कार भन्न सकिन्छ । युगौँयुगदेखि विभिन्न परिवर्तित भाषा उसले अन्य मानिससँग संवाद स्थापित गर्न प्राप्त गर्छ । उसले खाने अन्न, फल, प्रयोग गर्ने लुगाफाटो वा अन्य चिजबिजको सम्बन्ध यानी श्रम-सम्बन्ध, मानव समाजसँग हुन्छ ।

एससी सुमन

समाजसँग हाम्रो के सम्बन्ध अथवा समाजले हामीलाई के दियो ? यस्ता प्रश्न हास्यास्पद हो । प्रत्येक मानिसमा उपस्थित अन्तर्चेतनाको अंश अन्त:प्रेरणा कहलिन्छ । यो प्रेरणाले नै जगतमा गरिने कार्यले उसको भूमिका निर्धारित गर्छ । यसैलाई नै हामी सामाजिक ऋण भन्ने गर्छौं । जसको सचेतन स्तरमा ऋणमुक्तिलाई हामी सामाजिक प्रतिबध्दता भनी नाम दिन सक्छौँ । प्रत्येक मानिसको माता-पिता तथा सँगसँगै समाज प्रतिको ऋणबाट मुक्ति अनिवार्य हुन जान्छ। सजिलोसँग बुझ्न समाज प्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ ।

मानव प्राणीमा श्रेष्ठ छ । त्यसरी नै मानिसमा पनि प्रतिभाशाली, सृजनशील, आविष्कारक, इन्जिनियर, वैज्ञानिक, चिन्तक, राजनीतिज्ञ, कलाकारको सृजनशीलताको फलस्वरुप नयाँ खोज हुन्छ । यिनीहरूले गर्दा समाजमा परिवर्तन आउँछ । कलाको उद्भव नै सामाजिक हो । कलाकार समाजको हिस्सा हुन्छ र उसको सामाजिक परिवेश उसको कलालाई प्रभावित गर्छ। मात्र कलाकारको कलालाई उसको सामजिक परिवेश प्रभावित गर्दैन, कला पनि सामाजिक हुन्छ । सृजनाले समाजलाई बदल्न भूमिका निर्वाह गर्छ । हाम्रो पुर्खासँग विरासतमा प्राप्त कलाकृति र कलात्मक ज्ञान वा संवेदन नै आधार बनाई कुनै कलाकारले नवकलात्मक कृतिको सृजन गर्छ ।

sagarmani mobile size

कलाकारले आफ्नो सृजनामा वाह्‌य जगतको रूप-स्वरूप, गतिविधि र समाजको भावनासँगको सम्बन्ध नै सृजित गर्छ । उसको सृजनमा सामाजिक भावनाको मानव-वृत्तिसँग सम्बन्ध रहन्छ । कलात्मक सृजनमा यिनै भावना अभिव्यक्त हुने गर्छ । जसले गर्दा कलाको रूप पनि विश्वव्यापी हुन्छ । कलाकारको प्रतिभा, उसको आत्मशक्ति र उसको कलात्मक तत्त्व, कलाको रूपमा समाजको स्वरूप र भावनासँग सामञ्जस्य जोडेर, समाजलाई व्यापक स्वरूप प्रदान गर्ने गर्छ ।

कलाको अधिकांश विषय तत्कालीन समाजको समस्या नै हुन्छ । यिनै उद्‌देश्यले गरिएको सृजनामा व्यक्तित्व गौण रूप लिन्छ । चित्रकला, साहित्य र संगीतले अल्पसंख्यकहरूको आवाज बोल्छ। त्यो मात्र दर्पण हो, भनेको समाज र देश निर्माणकर्ताहरूले नदेखेको पाटो यसले देखाइदिने गर्छ । समाजको आवश्यकताको प्रतिबिम्ब उसको सृजनमा स्पष्ट झलक देखिन्छ । जहाँ कलाकारको विचार समाजमा प्रेषित हुन्छ, जो धैर्य र साधनाले मात्र सम्भाव हुन्छ ।

कलाकार यस्तो स्थितिमा उद्‌देश्य अभिव्यक्तिको माध्यमले आत्मशान्ति प्राप्त गर्न चाहन्छ । यस्तो स्थितिमा उद्‌देश्यको प्राप्तिको लागि स्वयं आफ्नो बाटो छान्दछ, तर समाजबाट कहिले पनि छुट्टै रहन सक्दैन । तर तकनिकी सिद्धान्तसमक्ष दर्शकको आनन्द र आत्मशक्तिको लक्ष्य रहन्छ । सिद्धान्तको आधारमा पहिलो स्थितिमा सृजित कलाको रूप शुद्ध र मौलिक हुन्छ तथा दोस्रो स्थितिमा लक्ष्यपूर्तिको लागि कलाको रूप व्यावहारिक एवं मौलिकता ऊबाट टाढा भैहाल्छ। फलस्वरूप विभिन्न प्रकारको तकनिकको ग्रहण गर्नु तथा त्यसलाई शिल्पको रूपमा प्रस्तुत कलाको मूल तत्त्व हो ।

बच्चाको विकासमा कला, बा- आमा, गुरुको आ-आफ्नो भूमिका हुन्छ । बच्चालाई सही दिशा दिनका लागि उसलाई सकारात्मक वातावरणको आवश्यकता पर्छ । जसमा समाजको प्रत्येक इकाई मिलेर काम गर्नु जरुरी हुन्छ । यही हाम्रो असली पुँजी हो, जो अगाडि गएर समृद्ध राष्ट्रको निर्माणमा प्रमुख भूमिका निर्वाह गर्छ ।

मिथिला चित्रकार एवं मिथिला संस्कृतिलाई उठान गर्दै आएका कलाकार लेखक देवेन्द्र थुम्केलीका अनुसार, मिथिला चित्र नै मैथिल नारीहरूका लागि शक्ति हो । मैथिल नारीहरूलाई घुंगटबाट बाहिर ल्याउने काम मिथिला चित्रले गरेको छ। आर्थिक क्षेत्रमा समेत महिलाको पहुँच बढेको छ। आफ्नो संघर्षले समाज बद्लिएको छ । मिथिला कलामार्फत नै वर्गीय, लैंगीय तथा सामाजिक विभेदलाई बाहिर ल्याउन सक्नु नै ठूलो महिला जागरणका रूपमा लिन्छन्, चित्रकार एवं लेखक देवेन्द्र थुम्केली । मिथिला कला मैथिल र मधेसी समाजको मात्र नभएर मुलुककै कला निधि भएकाले राज्यले मूलधारमा ल्याउनुपर्ने उनको बुझाइ छ। आधुनिकीकरणले भौतिक संरचना र नयाँ पुस्ताको सोचमा समेत केही परिवर्तन आएकाले मिथिला कलालाई पुस्तान्तरण गर्न पाठ्यक्रम नै बनाएर शैक्षिक पहुँचमा ल्याउनुपर्ने आवश्यक हुँदै गएको छ ।

महिलाहरू बोल्न सक्छन् र उनीहरूले चाहेमा परिवार र समाजमा परिवर्तन ल्याउन सक्छन् भन्ने कलाकार सुधीरा कर्णको धारणा छ। आफूमा आएको साहसको स्रोत नै मिथिला कलाको देन रहेको उनले जिकिर गर्छिन्। ‘मिथला कला नसिकेको भए आज म कसैको घरमा झाडुपोछा लगाइरहेकी हुन्थेँ होला,’ सुधीरा भन्छिन्, ‘अनि त तपाईंहरूसँग भेटै हुने थिएन ।’ आजका मैथिल नारीहरू मिथिला चित्रकलामा मात्र होइन शिक्षा, स्वास्थ्य, प्रविधि सबैजसो क्षेत्रमा संलग्न छन् र हुनुपर्छ भन्ने सन्देश उनले कलामार्फत नै उठान गरेकी छिन् ।

सन् १९९० पछि मिथिला हस्तकलाको सुवास दुनियाँभर फैलिन थाल्यो । जसले महिलालाई आर्थिक रूपले सबल बनाउँदै लग्यो । कलाले मैथिल महिलालाई स्वार्जन, स्वावलम्बन सँगसँगै पहिचानको अनुभूति दिलाउन महत्त्वपूर्ण भूमिका खेल्यो । पुरुषप्रधान मिथिला समाजमा, महिला कला कौशलले परिपूर्ण हुँदा, परम्परागत धारणाका कारणले मैथिल नारी पूर्णरुपमा पुरुषमा आश्रित रहिआएका थिए । यति हुँदाहुँदै समाजिक चेतना तथा केही संघसंस्थाको प्रयास र सहयोगले करिब एक दर्जन पेन्टिङ र क्राफ्टलाई आधार बनाई साना उद्योग सञ्चालनमा आए । अहिले मिथिला कला अन्य हस्तकलाहरूमा समेत रूपान्तरण हुँदैछन्। भित्ता, कागज, कपडा र क्यानभाससम्म आएको मिथिला कलाले फराकिलो पहिचान बनाएको छ। चाँदनी झाजस्ता कलाकारहरूले मिथिलाको जीवन, संस्कृति र सभ्यतालाई सिलाइबुनाइ कलामार्फत अभिव्यक्त गरिरहेका छन्।

इतिहासले वर्तमानलाई दिशानिर्देश गर्छ भने भविष्यको मार्गलाई स्पष्ट र फराकिलो बनाउन मद्दत गर्दछ । कला र कलाकारको योगदानको मूल्यांकनसँगै समाजको अग्रगामी परिवर्तनमा समेत लोककलाको भूमिका विशिष्ट रहन्छ । यही पक्षलाई मैथिली कलाकारले कलामार्फत अभिव्यक्त गर्दै आएका छन् । संस्कृति कहिल्यै स्थिर हुँदैन । मैथिल महिला कलाकार आज सायद तिनीहरूका हजुरआमाले चित्र कोरेजस्तो ठ्याक्कै कोर्दैनन् । तैपनि तिनीहरूले चित्रण गर्ने तिनीहरूको संस्कृतिको प्रतिनिधित्व हो, जुन तिनीहरूले आज अनुभव गर्छन् । जब दुलाहा उनीहरूको परम्परागत पालकीमा मोबाइलमा कुरा गर्दै रेडियोसहित यात्रा गर्छन्, जब बिजुलीले भिडियोहरू देखाउन अनुमति दिन्छ, मोटरगाडी चलाउँदै गरेको वा हवाइजहाज उडाउँदै गरेको, माटोको झुपडीमा जब गर्भवती महिलाले सुँडेनी र डाक्टर दुवैको मद्दत खोज्छन्, त्यो बेला मिथिलाकलामा मिथिला स्त्रीहरूले प्रयोग गर्ने कलामा अवश्य पनि परिवर्तन आउँछ नै ।

समयको प्रवाहलाई केहीबेरका लागि रोकेर राख्न सकिन्छ, सधैँका लागि सकिन्न। यस्तो प्रयास भएमा प्रवाह बाँध भत्काएर बाढीको रुपमा अनियन्त्रित वेग धारण गर्छ। मिथिला लोककलाको इतिहासमा यही घटित भयो । यसै क्रममा केही निजी संघ-संस्था सञ्चालनमा आएको देखिन्छ । जसले महिला समूह निर्माण गरी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन निरन्तर लागिरहेका छन् । जसले मैथिल महिलाहरूको पहिचान, स्वावलम्बन तथा स्वआय आर्जनमा प्रमुख भूमिका निर्वाह गरिरहेको छ ।

जनकपुर महिला विकास केन्द्रमा चित्रकला र हस्तकलाको उत्पादन मात्रै होइन, यसभन्दा माथि एक आन्दोलनको साक्षी छ – एक महिला आन्दोलन स्वतन्त्रता, पहिचान, ज्ञान, समृद्धि, र नयाँ गन्तव्यको । यसमा नेपालको मौलिक लोककलाको रुपमा परिचित मैथिली लोककला र यसका सर्जकको लामो ऐतिहासिक विरासतलाई जगाउने र अग्रजप्रति सम्मान व्यक्त गर्ने लक्ष्य राखिएको छ । इतिहासले वर्तमानलाई दिशानिर्देश गर्छ भने भविष्यको मार्गलाई स्पष्ट र फराकिलो बनाउन मद्दत गर्दछ । कला र कलाकारको योगदानको मूल्यांकनसँगै समाजको अग्रगामी परिवर्तनमा समेत लोककलाको भूमिका विशिष्ट रहन्छ । यही पक्षलाई मैथिली कलाकारले कलामार्फत अभिव्यक्त गर्दै आएका छन् ।

राजनीतिक पार्टिको घोषणा पत्रमा किसान, बेरोज़गार, विकलांग, महिला, गरिबी निवारण, शिक्षा, स्वास्थका लागि नयाँ – नयाँ घोषणा गरिन्छ तर कला र कलाकाको लागि कुनै योजना बन्न सक्दैन, कलाकारहरुलाई लोभ्याउने कुनै प्रतिबद्धता किन हुँदैन ? राजनीतिक पार्टीको घोषणापत्रमा कला र कलाकारको लागि किन कुनै घोषणा हुँदैन, किन होला, थाहा छैन ? तर गजबको बात के हो भने सबै राजनीतिक पार्टीमा धेरै कलाकारहरू महत्त्वपूर्ण पदमा बहाल छ्न्, तर पनि उहाँहरू कलाकारको हितका लागि सोच्न सक्दैन । उनीहरू आफैँ सरकारी सुविधाको लाभ उठाउन लागि पर्छन् । चाटुकारितामा तल्लीन हुन्छ्न् र चाजो पाँजो मिलाई बस्छ्न्, कसरी आफूलाई धेरैभन्दा धेरै खादा र सम्मान मिलोस्, कसरी धेरैभन्दा धेरै कार्यक्रम गर्ने अवसर प्राप्त होस् भन्ने नै सोचेर बस्छन् । कसरी सरकारलाई खुशी पार्ने बयान दिइरहूँ, कला र कलाकारको वास्तविक आर्थिक, पारिवारिक र सामाजिक स्थितिका बारे अधिकारी, मन्त्री र मन्ख्यमंत्रीलाई अवगत गराउन किन सक्दैन ?

कलाकारको काम समाजलाई जोड़नु हो तर आज आफूलाई कलाकार भनी हिँड्नेले समाजलाई तोड़ने काम गर्दैछ्न् । यस्ता मानिसले कलालाई अपमानित गर्ने दुस्साहस गर्दैछन् । तसर्थ आज राजनीतिक दलको आड्मा नेताले कला संसारमा राज्य गर्दैछन् । कलाकार उनीहरूको झोले कार्यकर्ताको रुपमा समाजमा आफ्नो परिचय स्थापित गर्न तँछाड-मछाडमा लागिपरेका छ्न् । कलाकार समाजलाई जोड़न आफ्नो प्रमुख भूमिका निर्वाह गर्नुको साटो आफूसमेत समाजलाई विखण्डित गर्न प्रमुख कारक तत्त्व भएका छन् । कलाकारको यो दिशामा सकारात्मक भूमिका निर्वाह गर्ने आवश्यकता हो ।

कलाकार श्ब्दको प्रयोग व्यापक हो, जसमा शब्द, विचार, रङ, ध्वनि, अभिनयजस्ता अनेक माध्यमले सृजित गर्ने व्यक्तिलाई कलाकार भनिएको छ । कलाकार शब्दमा साहित्यकार, वादक, गायक, शिल्पकार, वास्तुशास्त्री, चित्रकार, नाटककार, नर्तक आदि सर्जक समावेश हुन्छ । पूर्व परम्परा एवं शैलीमा आफ्नो अनुभव, अध्ययन र चिन्तनलाई जोडेर कलाकार प्रचलित प्रविधिलाई नयाँ सन्दर्भ प्रदान गर्छ। उदेश्य र प्रभावलाई केन्द्रमा राखेर उचित साधनको प्रयोग गर्छ । जब कलाकार आफ्नो सवेदनशील र समाज्य सापेक्ष व्यक्तित्वको अनुरुप सहज, उत्स्फूर्त रचना – निर्मिती गर्छ, तब कलाकृतिमा समाजिक प्रतिबद्धता हुँदाहुँदै प्रचार हुँदैन ।

आजको वर्तमानमा शोचनीय स्थिति छ कि सामान्य जनता आफ्नो भरणपोषणको चिन्तामा यति व्यस्त छ्न् कि उसलाई कलातिर ध्यान दिने फुर्सत छैन । जसले गर्दा सामाजिक प्रतिबद्धता भएको कलाकृति त्यहाँसम्म पुग्न सक्दैन । तथापि अब सबै कलालाई जनसामान्यसम्म पुग्ने गरी देशलाई स्वस्थ र निरोगी बनाउने आवश्यकता छ र यो सम्पूर्ण जिम्मेवारी कलाकारहरुको हुन आउँछ ।
artistsuman.scd@gmail.com

प्रतिक्रिया
Loading...