साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुस्तक प्रेमी पाठकः परमभक्त हत्यारा

Chovar Blues Mobile Size

यदि साँच्चै तपाईं मेरो बारे सुन्न चाहनुहुन्छ भने पहिलो कुरा यो जान्न जरुरी छ म कहाँ जन्मेँ , मेरो उदेकलाग्दो बाल्यकाल कसरी बित्यो , मेरा अभिभावक मबाट कति विरक्त थिए र ती सारा डेबिड कपरफिल्ड टाइपको मेरो कथा प्रसङ्ग बुझ्न जरुरी छ तर म ती सारा कुरामा अल्झिरहन चाहन्नँ तर सत्य त्यही हो …।

सन् १९४५ मा प्रकाशित जे डी स्यालिन्जरको प्रसिद्ध उपन्यास ‘क्याचर इन द रइ’का २७ लाइन लामो लाइनको पंक्तिको एक उद्धृत अंश हो यो ।

यसका नायक होल्डेन भन्दा यो पुस्तक पढ्ने एक पाठक मार्क डेविड च्यापम्यान किताब सँगसँगै चर्चामा आए ।
तिनै विवादस्पद पाठक चेपम्यानले गरेर स्यालिन्जर र विश्वप्रसिद्ध गायक जोन लेननको पनि इतिहासमा सँगसँगै नाम आउन थालेको आज ४२ वर्ष भयो ।

प्रकाश सायमी

लगभग आधा शताब्दी लामो यो इतिहासमा स्यालिन्जर र लेननको कुनै नाता सम्बन्ध वा परिचय नै छैन तर नाम जोडिँदै आएको छ ।

sagarmani mobile size

कति अनौठो कुरा बेलायतमा जन्मे हुर्केका गायक जोन लेननको लेखक स्यालिन्जरसित कुनै परिचय नहुनु तर लेननका गीतसंगीत बारे स्यालिन्जरलाई पनि धेरै पछि मात्र थाहा हुनु । लेनन बीटल्स नामक सांगीतिक मण्डलीमा थिए , पल मकार्टिनी , जर्ज ह्यारिस र रिँगो स्टार सँगै । यो मण्डलीबाट उनी उछिट्टिएर एक्लै भए , उनलाई त्यस्तो एक्लो बनाउनुमा उनकी दोस्रो पत्नी योको ओनोका धेरै हात छ । बीटल्ससित छुटेपछि लेनन र योको ओनोको संयुक्तिमा डबल फ्यान्टेसीको तैयारीमा थिए ।

डबल फैन्टेसी यी जोडीको चलनचल्तीको भाषामा ड्रीम प्रोजेक्ट थियो अर्थात् यो स्वप्न सम्मिलनको प्रकार्य पूरा हुन नपाउँदै ‘द क्याचर इन द रइ’को प्रवेश भयो र कथा यहीँ टुङ्ग्याउनु पर्ला । बाँकी कथा जोन लेननको परिचयपछि सुरु हुन्छ वा अन्त्यमा ।

जोन लेनन लेखक होइनन् तर लेखक जत्तिकै इमान्दार र चिन्तनशील प्राणी । जोन लेनन कुनै सिनेमाका नायक होइनन् तर सिनेमाका स्टार भन्दा पनि पपुलर । रिचार्ड डय्रायरले स्टार्स नामक आफ्नो पुस्तकमा स्टारको मेटाफोर्सिस जे मानेका छन् तिनी ती नै हुन् ।

लेनन प्रायः आफ्नो गीत आफैँ लेख्थे र आफ्ना साथीहरुसित मिलेर गाउँथे अनि हिट हुँदै गए । लेननले गीत मात्र लेखेका छन् कुनै कथा निबन्ध वा उपन्यास लेखेका छैनन् तर केही समयअघि गुगलले खुसी नामक उनको छोटो निबन्धलाई उनको भनेर खूब चर्चामा ल्यायो तर गतवर्ष फेरि त्यो निबन्ध जोन लेननले लेखेका होइन भनेर पुष्टि गर्यो ।
लेननको भनिएको त्यो निबन्ध कति चर्चित भयो भने नेपालमा त एकजना सञ्चारकर्मीले त्यही निबन्धबाट प्रेरित भएर एउटा पुस्तक लेखे , खुसी नै नामबाट । पुरस्कार पनि पाए ।

खैर , हाम्रो लागि उपलब्धि नै भो ।

तर गुगल भन्छ , ट्वेन्टी फाइभ मिस्क्वटेड स्ट्यान्जामा जोन लेननको त्यो निबन्धका बारे पनि । जोन लेननको नाउँमा एउटा पुस्तक प्रकाशित भयो , टू भर्जिन्स । उनी बितेको छ वर्षपछि त्यो एउटा नआएसरि आएर हरायो ।
सन् १९४० मा बेलायतका लिभरपुलमा जोन विन्स्टन लेननका नाममा जन्मेका लेननको बाल्यकाल अलि डिस्टर्ब खालको थियो , आमाको सारा जीवन माइतीमा बित्यो । बाबु बेलाबेला आएर आमासित झगडा गर्थे र कुट्थे ।
मावलीमा अलिकति अनि सानीआमासित बाँकी समय बिताएका लेननलाई छोडेर आमा फेरि अर्कै पुरुषलाई पति मानेर हिँडिन् ।

फेरि लेनन एक्लो ।

बिस्तारै उनी संगीतको संगतमा लागे , पन्ध्रवर्षको उमेरमा दी क्वेरीमेन नामको ब्यान्ड सुरु गरे । एउटा साप्ताहिक पत्रिकामा कार्टुन र जोक लेख्न थाले , डैली हाउल शीर्षकबाट ।

सत्र वर्षको उमेरमा उनको जीवनमा अनौठो घटना घट्यो , एउटा साथी भेटे । त्यही साथीसित मिलेर ह्याम्बर्गमा नयाँ ब्यान्ड खोलेर बजाउन थाले । फेरि फर्केर लिभरपुल आए । ‘मर्सी बीट’ नामक पत्रिकामा लेननले स्तम्भ लेख्न थाले , बीटकम्बर नामबाट ।

पछि उनलाई यही बीट नामको सत्र पर्यो , सत्रवर्षमा भेटेका ती साथी थिए पल मकार्टिनी । उनीसित मिलेर बीटल्स नामक सांगीतिक ब्यान्ड सुरु गरे । यसपछि बीटल्स युग सुरु भयो ।

सांगीतिक युगमा बीटल्सको आगमनपछि बीटल्स इरा सुरु भयो ।

फेरि यही ब्युँझाइमा लेनले ‘इन हिज ओन राइट’ भन्ने पुस्तक निकाले ,सन् १९६४ मा । उनको किताबको कथा यहीँ थाँती राखेर अगि बढ्दा बीटल्स युगमा बनेका तिनीहरुका क्यासेट, ग्रामोफोन रेकर्डले यिनीहरु चारै जना (जर्ज ह्यारिसन र रिँगो स्टार सहित ) लाई रातारात भगवान् नै बनाइदिए । र, यिनीहरुले यसपछि आफूलाई भगवान् नै ठान्न थाले , भन्छन् ।

यही बेला जोन लेननले उग्र भएर एउटा अन्तर्वार्तामा यसो पनि भने, हामी यति बेला क्राइस्टभन्दा लोकप्रिय छौँ ।
पोस्टरको चलन थियो , यिनीहरुको पोस्टर बजारमा हट केक भइसकेको थियो ।

गीति एल्बमको त कुरै भएन । चर्चा , पैसा र कमाइका हिसाबले सदैव अग्रपङ्क्तिमा । गीतहरु सबैको ओठओठमा । तस्वीर सबैको घरघरको भित्तामा । साठी ,सत्तरी र अस्सीको दशक यसरी नै बितेको थियो ।
त्यतिबेलाको कुरा छोडौँ, भर्खरै द रोलिँग स्टोन नामक पत्रिका ( सन् २०१२) ले गरेको सर्वेक्षणमा सय एउटा सर्वोत्कृष्ट एल्बममा पहिलो नम्बर , तेस्रो नम्बर , पाँचौ नम्बर , दशौँ नम्बर, चौधौँ नम्बर अनि त्रिपन्नौँ नम्बर मा बीटल्सका एल्बम परेका थिए भने लेननको सन् १९७१ मा प्रकाशित एकल अल्बम इम्याजिनले अस्सीयौँ स्थानमा ठाउँ पाएको छ ।

सन् १९६७ को सैगेटर्स पेप्पर्स लोन्ली हार्टस् क्लब ब्यान्ड, सन् ६७ कै रिभल्भर , सन् ६५ को रबर सोल , दशौँमा रहेको सन् ६८ को द व्हाइट एल्बम र चौधौँमा रहेको सन् ६८ को एबे रोडको ख्याति अरु कुनै अल्बमले रोक्न सकेनन् ।

यो ख्यातिकै बिचमा जोन लेननले दोस्रो पटक बाटो बदले , पहिलो पत्नीलाई छोडेर विवाहित महिला योको सित जोडिन पुगे ।

सन् १९६६ को नोभेम्बरमा योकोलाई भेट्दा यी दुवै विवाहित थिए र यही अवस्थामा यी दुई अगि बढे । योकोलाई भेटेपछि लेननसित घनिष्ठतापूर्वक जोडिएको एउटा नाउँ बीटल्स छुट्यो , त्यसपछि जोन योको जाडियो ।

त्यसपछि लेननको ख्याति पहिले जस्तो हुन नसके पनि तर उनको अस्तित्वमा कमी आएन , उनले सन् १९७० मा प्लास्टिक ओनो ब्यान्ड र सन् १९७१ मा इम्याजिन नामक अल्बम निकाले , पहिलो अल्बम क्यापिटल कम्पनीबाट र दोस्रो एप्पल कम्पनीबाट ।

दोस्रो अल्बमको गीत इम्याजिन देअर इज नो हेभेन , यू मे से आइ एम ड्रीमर ..ले उनलाई उनलाई ख्याति र विवाद दुवै दियो । युटोपियन परिकल्पनामा लेखिएको लेननको यो गीत र उनको व्याख्याले तत्कालीन अमेरिकी सरकार त्रसित भयो । निक्सन सरकार उनका विरुद्ध खनिए ।

जोन र योको अपमानित रुपमा अमेरिकाबाट बाहिरिए । एउटा लामो अन्तरालपछि लेनन र उनकी पत्नी योको नयाँ एल्बमको तैयारीमा लागे । यो एल्बम उनको पछिल्लो अल्बम भन्दा डबल महङ्गो थियो । यस बारे जोनाथन कट्टले एक अन्तर्वातामा यस्तो प्रश्न गरे , ‘तपाईं यति लामो ग्यापमा आउँदै हुनुहुन्छ , झन महङ्गो भएर ?’ यसको जवाफ लेननले यसरी दिए , ‘यो एल्बम बनाउन मलाई पाँच वर्ष लाग्यो , शारीरिक रुपले म कति थाकेँ कति पटक पखाला चल्यो । एउटा जेन कथा छ , योकोले मलाई सुनाएकी । यो कथा यस्तो छ , एउटा राजाले एकजना चित्रकारलाई उनको तस्वीर बनाउन भने । उनले चित्रकारलाई रकम पनि दिए । चित्रकारले हुन्छ भने र गए ।

चित्रकार वर्षौ हराए आएनन् । राजाका दूत सन्देश लिएर चित्रकार भेट्न गए र भने , राजा तिमीले बनाएको चित्र पर्खिरहेका छन् ।

चित्रकारले ओहो । पख है । भन्दै दूतको अगाडि चित्र बनाएर दिए । दूत कड्किए , यो के ? राजाले तिमीलाई यो जाबो चित्रको निम्ति बीसहजार तिरे । तिमीले पाँच मिनटमै काम खलास गर्यौ ।

चित्रकारले भनेको त्यो कुरा महत्त्वपूर्ण छ , हो तर मैले यो चित्र कसरी बनाउने भनेर दशवर्ष सोचेँ त्यसको मूल्य खोइ ? हो मैले पनि डबल फ्यान्टेसीका गीतका निम्ति पाँच वर्ष बिताएको छु ।

वकिँग इन् थिन आइस
आइ एम पेइँग द प्राइस
फर थ्रोइँग दी दाइस इन एयर…

जोनको यो अन्तिम अन्तर्वार्ता सन् १९८० डिसेम्बर पाँच , शुक्रबारका दिन रोलिँग स्टोन सित न्यूयोर्कको अप्पर वेस्ट साइडमा भएको थियो , यसपछिको तेस्रो रात जोन लेनन मारिएका थिए ।

मृत्युअघि उनले दिएको त्यो अन्तिम अन्तर्वार्तामा यस्तो पनि भनेका छन् , जनता जनार्दन मृत नायक मन पराउँछन्, सीड भिकियस र जेम्स् डीनजस्तो । म मृत नायक बन्न चाहन्नँ , तिनीहरुलाई बिर्सिदेऊ ।

भनिन्छ , जोनाथन कट्टले लिएको यो अन्तर्वार्ता हराएको थियो र पछि फेरि फेला पर्यो उनी मरेको बीसवर्षपछि अनि छापियो ।

लेनन लिखित टु भर्जिन नामक पाण्डुलिपि पनि चोरी भएको थियो र छ वर्ष यसको लिखित अपुरो अधुरो अंश पाइयो र पछि केलाई केलाई छापियो ।

टु भर्जिन र डबल फ्यान्टेसी जीवित नायकको मृत कथा बन्यो ।
उनी मारिँदा संसारमा नयाँ नयाँ कुराहरु भर्खर भर्खर आइरहेका थिए , माक्र्सीजम् , जेन बुद्धिज्म, ड्रग्स् , योग, ध्यान , गुरु अनि सँगसँगै नयाँ प्रविधि र चुनौती । तर भगवान् जत्तिकै प्रसिद्ध र प्रिय बन्दै गरेका जोन लेननलाई एकदिन उनकै परमभक्तले हत्या गरिदिए , धार्मिक ग्रन्थमा जस्तै , इतिहासमा घटेका पुराना घटनाजस्तै ।
जोन आफ्नो नयाँ अल्बम डबल फ्यान्टेसीको रेकर्डिँग र रिलिजको कामको दौडधुपमा थिए । यसै दौरान डिसेम्बर ८ तारिख सोमबारको दिन कार पार्किंगमा उनलाई कसैले बोलाए , जोन भनेर ।

उनले येस भनेर फर्केर हेरे त्यतिबेलै उनीमाथि गोली प्रहार भयो । जोनको त्यहीँ मृत्यु भयो ।

प्रहरीले गोली हान्ने ती व्यक्तिलाई पक्डिँदा उनी त्यही स्थानमा थिए र हातममा जे डी स्यालिन्जरको पुस्तक द क्याचर इन रई पढ्दै थिए । क्याचर इन रइका साथ भेटिएका ती पुस्तक प्रेमी जो जोन लेननको हत्याको आरोपमा अहिले पनि जेलमा छन् तर उनी जोनका निकटवर्ती फ्यान थिए , जोन जस्तै चश्मा लगाउने त्यस्तै जीन पाइन्ट र सर्ट अनि त्यस्तै हेयरस्टाइल ।

पछि उनलाई पक्डेपछि थाहा भयो , उनको घरमा आफ्नो भन्दा बढी जोन लेननका फोटो थिए । जोन लेननका धेरै फोटोका बिच उनको आफ्नो एउटा मात्र फोटो थियो ।

क्याचर इन द रइका होल्यान्डजस्ता मार्क डेविड चेपम्यान । पुस्तक प्रेमी थिए वा लेनन भक्त , त्यो अहिले सम्म पत्ता लगाउन सकेको छैन ।
०००

प्रतिक्रिया
Loading...