साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अनुभूति : शिक्षकहरूका नाममा

मैले अहिले पढाइरहेको स्कुलमा एउटी शिक्षिका (मेरो सहकर्मी) ले कुरैकुरामा बडो ठाँटले भनिन्- "विभेद को गर्दैन र ? हामी पनि गर्छौँ विभेद । अझै पनि हामी घरमा हुँदा दलितले छोएको खाँदैनौँ । बाहिर साथीहरूसँग हुँदा चाहिँ बेग्लै कुरा हो ।"

Chovar Blues Mobile Size

विद्यार्थीको रूपमा म:

कक्षा सातमा पढ्दा ‘स्वास्थ्य तथा शारीरिक शिक्षा’ पढाउने शिक्षकले मलाई उभ्याएर प्रश्न सोधे- “हेल्थ अफ एजुकेसन भनेको के मान्छे बाँच्नु हो ?” कक्षा एकदेखि नै प्रथम भएर उभिने विद्यार्थी थिएँ म । उक्त शिक्षकलाई मैले पहिलेदेखि नै मौन रूपमा अस्वीकार गरिरहेको थिएँ । किनकि उनलाई सरसर्ती किताब पढ्न पनि आउँदैनथ्यो । झन् यस्तो बकम्फुस्रे प्रश्न सोधेपछि मैले जवाफमा भनेँ- “सर, प्रश्न गलत छ ।”

त्यो जवाफ पाएर क्रुद्ध भएका ती मूर्ख शिक्षकले मलाई करिब एक घन्टा उभ्याए कक्षाकोठामा । घन्टी लागिसकेपछि पनि निस्केनन् क्लासबाट । उनले त्योबेला बोलेका एकेक शब्द अहिले पनि गुञ्जिन्छन् कानमा । “मलाई चानचुने ठानेको छस् ? तेरो बा आमाको अगाडि लिएर कुट्छु तँलाई । के सोचेको छस् हँ ? खुब जान्ने बन्छस् ? दाँतसाँत झारिदिन्छु ।” यस्तै यस्तै हिंस्रक धम्की ।

यस्तो हिंस्रक र अराजक धम्की दिएर १०/११ वर्षको बालकलाई चुप लगाउनुमा कति न ठूलो विजय हाँसिल गरेको ठाने होलान् ! हाय !

उनले बोलेका क्षुद्र शब्दहरूले मेरो बालहृदय क्षतविक्षत भएथ्यो । अरू साथीहरूले पनि बोल्ने आँट गरेनन् । उनीहरू पनि मलाई चुप रहोस् भन्ने चाहन्थे । किनकि ममाथि भौतिक कुटपिट नहोस् भन्ने उनीहरूको अन्तिम कामना थियो । आखिर विद्यार्थीहरूलाई सुन्निने गरी कुटपिट गर्नु ती मूर्ख शिक्षकको चिरपरिचित चरित्र जो थियो ।

sagarmani mobile size

एक घन्टासम्म धम्कीको भाषण दिएर उनी निस्किए । म निरिह र लाचार भएर कक्षाबाट निस्किएँ । यो कुरा बाआमालाई पनि भनिनँ । तर कयौं दिन म स्कुल गइनँ । ती दिनहरू साह्रै तनाबग्रस्त बिते । आजको विद्यार्थी हुन्थ्यो भने कि प्रतिशोध लिन्थ्यो कि आत्महत्या गर्थ्यो ।

पछि त्यही शिक्षकको कारण मैले गाउँको त्यो स्कुल छोडेँ । टाढा दुई घन्टाको कठिन बाटो हिँडेर अर्को स्कुल गएँ । र, त्यहीँ पढेँ । कठिन यस अर्थमा कि म घरबाट आठ नबज्दै हिँड्थेँ र मुस्किलले दस बजे स्कुल पुग्थेँ ।

चिन्तन नेपाल

आज आफैँले पढाएका विद्यार्थीहरूसँग आफ्नै विद्यार्थी जीवन दाँजेर हेर्छु । अहो कहाँ बोली खोसेर निन्याउरो बनाइएको म ! कहाँ यी वाचाल फूलहरू ! शिक्षक-विद्यार्थीबिच कति स्वतन्त्र र निस्फिक्री अन्तरक्रिया ! मेरा विद्यार्थीहरू विद्यार्थीभन्दा पनि साथीजस्ता लाग्छन् । कुनै दिन स्कुल गइनँ भने मेसेन्जरमा तुरुन्तै सोध्न आउँछन् । उनीहरूको यो प्रेम देखेर म विभोर हुन्छु, आँखा भरिन्छन् खुसीले ।

यद्यपि म शिक्षक हुँदा पनि यदाकदा देख्छु अन्य शिक्षकहरूले विद्यार्थीलाई धम्क्याएको वा पिटेको । साना नानीहरू त कुनै शिक्षकले कुटेछन् भने मसँग आएर रुन्छन् । त्यतिबेला उनीहरूमा म आफ्नै बाल्यकाल पाउँछु ।

विकट जाजरकोटको सामुदायिक विद्यालयमा पढेर स्कुल लेभल पूरा गरेँ । त्यहाँ अहिले पनि बिजुलीबत्ती पुगेको छैन । दियालो बालेरै हामी हुर्कियौँ, दियालो बालेरै हुर्किरहेको छ हामीपछिको पुस्ता पनि । साथीहरूको लागि म एक अजेय विद्यार्थी थिएँ । कुनै पनि स्कुलको कुनै पनि क्लासबाट द्वितीय हुन परेन । अहिले चाहिँ स्नातक चौथो वर्षमा अध्ययन गरिरहेको छु । मैले जुन स्कुलबाट आफ्नो स्कुल लेभल पूरा गरेँ त्यो स्कुलमा पढेर यहाँसम्म आउने म एक्लो व्यक्ति हुँ । मसँगै पढेका साथीहरू चाहिँ अधिकांश १0 मै छुटे । पास भएका दुईचारजना पनि कोही गाउँमा बाख्रा चराउन बाध्य छन्, कोही भारतका विभिन्न ठाउँमा दु:ख गरिरहेका छन् ।

कहिलेकहीँ सोच्छु- शिक्षकबाट सही मार्गदर्शन पाउँदा हुन् त मेरा साथीहरू आज यो दु:खको हिलोबाट माथि उठिसकेका हुन्थे । शिक्षकहरूले विद्यार्थीलाई शिक्षाप्रति जागरुक होइन हतोत्साहित गरिरहे । आफैँ जागरुक थिएनन्, विद्यार्थीलाई के जागरुक बनाऊन् !

अँ, बकम्फुस्रे प्रश्न सोधेर मलाई कुट्ने धम्की दिएका ती मूर्ख शिक्षक अचेल कतै मसँग भेट भयो भने चाहिँ निर्लज्ज भन्छन्- “स्याबास् ! तँ मैले पढाएको विद्यार्थी होस् ।” कुन मुखले भन्छन् थाहा छैन । तर म मुन्टो हल्लाइदिन्छु ।

शिक्षकको रूपमा म :

सुरुमा म एउटा प्राइभेट स्कुलमा पढाउँदा त्यही स्कुलमा पढाउने एउटी शिक्षिकाले पाँच/छ वर्षकी एक नानीलाई साथीको पेन्सिल चोरेको आरोपमा कुटिछिन् । मैले क्लासको ढोकानेर पुगेर हेरेँ । शिक्षिका भन्दै थिइन्- “जात देखाउँछेस् ? आफ्नो बाउआमा त्यत्रो धनी भएर पनि अर्काको पेन्सिल चोर्छेस् ?”

यो ‘जात देखाउने’ भनेको के रहेछ भनेर धेरैबेर सोचेँ । पछि थाहा पाएँ ती बालिका दलित रहिछिन् ।

हाय हाय !

पाँच/छ वर्षकै उमेरदेखि दलित बालबालिकालाई ‘तेरो जात कमसल हो’ भनेर प्रशिक्षित गर्न सुरु हुन्छ । त्यो पनि शिक्षिकाबाट । त्यो अबोध बालमस्तिष्कले आफ्नो जातप्रति कस्तो मानसिकता बोकेर हुर्कला अब ? चरम पुरातनवादी बहुसङ्ख्यक स्वाँठहरू अझै पनि दलितहरूले आफ्नो जातमा गर्व गर्नुपर्छ भन्छन् । तिमीहरूको जात कमसल हो भन्ने पनि यिनीहरू नै । फेरि जातमा गर्व गर भन्ने पनि यिनीहरू ? जबकि जातमा गर्व या ग्लानि गर्नुपर्ने वैज्ञानिक र तर्कसंगत कारण केही पनि छैन भन्ने यिनीहरूलाई थाहा छ । फेरि पनि गर्व चाहिँ जातमै गर्नुपर्ने !

मैले अहिले पढाइरहेको स्कुलमा एउटी शिक्षिका (मेरो सहकर्मी) ले कुरैकुरामा बडो ठाँटले भनिन्- “विभेद को गर्दैन र ? हामी पनि गर्छौँ विभेद । अझै पनि हामी घरमा हुँदा दलितले छोएको खाँदैनौँ । बाहिर साथीहरूसँग हुँदा चाहिँ बेग्लै कुरा हो ।”

ती शिक्षिकालाई म (चिन्तन नेपाल) गैरदलित हुँ भन्ने भान रहेछ । त्यो कुरा पछि थाहा पाएँ । म दलित हुँ भन्ने थाहा पाएको भए उनले त्यो कुरा त्यहाँ निकाल्ने वाला थिइनन् । यो पनि पछि नै थाहा पाएँ ।

तर त्योबेला चाहिँ मनमनै भनेँ- जबसम्म समाजमा यस्ता लासहरू रहन्छन् तबसम्म विभेदको भूतले तर्साउन छोड्दैन । पछि मैले उक्त विभेदजन्य अभिव्यक्तिको विरोधमा बोलेँ । तर पूरै स्कुल प्रशासनले उक्त कुरालाई सामान्यीकृत गर्‍यो र ती शिक्षिकाको बचाउ गर्‍यो ।

उक्त शिक्षिकासँग स्नातकोत्तर गरेको प्रमाणपत्र छ । तर मा.वि. लेभलमा नेपाली विषय पढाउने ती शिक्षिकाले विद्यार्थीहरूलाई ‘प्रतिकूलता’ शब्दको अर्थ ‘अवसर’ लेखाइछिन् । विद्यार्थीहरूले मसँग आएर यो सुनाए । त्यो दिन ती विद्यार्थीहरूले मसँग भनेका थिए- “सर, यस्तै हो भने हामी त नेपालीमा फेल हुन्छौँ ।”

पछि मैले आश्वासन दिँदै भनेँ- “नबुझेको वा सन्देह लागेको कुनै पनि कुरा निर्धक्कले मसँग सोध्नू ।”

उनीहरू आज पनि सुटुक्क आएर मसँग नेपालीको विषयमा बराबर सोधिरहन्छन् । म उनीहरूलाई बुझाउने भरपूर कोसिस गर्छु । अन्त्यमा उनीहरू भन्छन्- सर, हामीले हजुरसँग सोधेको भनेर म्याडमलाई नसुनाउनुहोला । म्याडमले हामीलाई मार्छिन् ।

बाफ्रे ! कत्रो त्रास विद्यार्थीमा !

विद्यार्थीलाई सुरक्षा र सफलताको प्रत्याभूति दिन नसक्ने शिक्षक पनि के शिक्षक ? शिक्षक त त्यो उज्यालो बनेर उभियोस् जो साथमा होउन्जेल विद्यार्थी कुनै पनि शंका वा असफलताको त्रासबाट मुक्त होस् । ‘मसँग मेरो शिक्षक हुन्जेल म सुरक्षित छु’ भन्ने आभास उसलाई भित्रैदेखि होस् ।

तर वास्तविकता छ उल्टो ।

के सिक्दा हुन् विद्यार्थीले यस्ता शिक्षकबाट ! यदि तुरुन्तै नसच्याइनु हो भने ‘प्रतिकूलता’को अर्थ ‘अवसर’ नै भनेर घोक्थे ती विद्यार्थीहरूले ! कतिले त गलत नै घोकिरहेका होलान् ! अंग्रेजी शब्द ‘रुट’ (route) लाई ‘राउटे जाति’ भनेर लेखिदिने शिक्षकहरूबाट पढाइएको विद्यार्थी हुँ म । अयोग्य शिक्षकहरू कति घातक हुन्छन् भन्ने मैले जति कसले बुझेको होला !

मेरो विद्यार्थीकालमा (स्कुल लेभल पढ्दा) अधिकांश शिक्षकहरूको विद्यार्थीसँग लभ अफियर चल्थ्यो । यद्यपि यो बिडम्बना आज पनि उस्तै छ । एकजना शिक्षकले त कक्षा नौ पढ्ने मेरो सहपाठीलाई बिहे नै गरे । हुन त उक्त शिक्षक मेरो बाल्यकालदेखि अहिलेसम्मका शुभचिन्तक हुन् । तर मभित्रको कुनै पनि कुराले उक्त शिक्षकको विद्यार्थीलाई बिहे गर्ने हर्कतलाई जायज ठान्न दिँदैन ।

अंग्रेजी शब्द ‘डिजाइन’लाई ‘डेसिग्न’ भनेर उच्चारण गर्थेँ म, ‘foreign’ लाई ‘फरिग्न’ भनेरै पढेँ दसौँ श्रेणी पढ्दासम्म । एघारौँ कक्षा पढ्न म जाजरकोटबाट बाँके झरेँ । यताका विद्यालयहरू देखेर म दन्त्यकथाको कुनै पात्रजस्तै चकित पर्थेँ । अंग्रेजी शब्दहरूमा मेरो अशुद्ध उच्चारण सुनेर यहाँका साथीहरू गललल हाँस्थे । तर आज तिनै साथीहरू मेरो तारिफ गरेर थाक्दैनन् ।

हामी देश बिग्रनुको जम्मै दोष नेताहरूलाई दिएर पन्छियौँ । तर यी अयोग्य शिक्षकहरूबाट विद्यार्थीको भविष्यमाथि चरम खेलबाड भैरहेको कुरा मैले कहिले विद्यार्थी भएर, कहिले शिक्षक भएर नजिकैबाट देखेँ । देखेर मात्र बसिनँ, बोलेँ पनि । यस्तै विषयमा बोल्दा कयौँपटक आफैँ क्राइसिसमा परेँ । तर बेथितिविरुद्ध बोल्नु जिउँदो हुनुको प्रमाण हो । म बोलिरहनेछु ।

विद्यार्थीलाई गलत कुरा पढाउनु भनेको देश बिगार्ने सबैभन्दा सजिलो तरिका हो ।

उसो त विद्यार्थीको भविष्यप्रति अत्यन्तै संवेदनशील रहने र अभिभावकले जस्तै विद्यार्थीको हरेक क्षण चिन्ता लिइरहने शिक्षक/शिक्षिका पनि मैले नभेटेको होइन । उनीहरूप्रति मेरो श्रद्धा र सम्मान सदैव रहनेछ ।

यसरी आजका दिनसम्म आएर गुरुपूर्णिमाको दिन शुभकामना दिन खोज्दैगर्दा ती तमाम अयोग्य र मूर्ख शिक्षकहरूको अनुहार पनि मानसपटलमा आइदिन्छ र ओठमा ल्याइसकेको ‘शुभकामना’ शब्द पनि फिर्ता लिन्छु । निक्कैबेर मौन बस्छु र अन्तमा भन्छु –

अयोग्य शिक्षक- रिप !
दलितले छोएको खाँदिनँ भन्ने शिक्षक- रिप !

लेखक परिचय

जाजरकोटको शिवालय गाउँपालिकामा जन्मनु भएका चिन्तन नेपाल साहित्य विद्यार्थी हुनुहुन्छ । शिक्षण पेशा गर्दै अध्ययन पनि जारी राख्दै गर्नु भएका चिन्तन हाल व्यवस्थापनतर्फ स्नातक चौथो वर्षको विद्यार्थी पनि हुनुहुन्छ ।

उहाँका थुप्रै कविता, लेख, कथा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन भइरहेका हुन्छन् । उहाँको 'कविताहरूको सगरमाथा' शीर्षकको संयुक्त कवितासंग्रह प्रकाशित छ ।

प्रतिक्रिया
Loading...