गएको मंगलबार लोकप्रिय प्रकाशन गृह बुकहिलका एक जना सञ्चालक भूपेन्द्र खड्काले साहित्यकार रामलाल जोशीको नयाँ कृति ‘बाआमा’ १० दिनमा १० हजार प्रति बिक्री भएको घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरिएको यो घोषणासँगै प्रकाशन गरिएको पोस्टरमा भनिएको छ, ‘ …यो पुस्तकले धेरै बिक्री हुने किताबको इतिहास मात्र रचेको छैन, छिटो बिक्री हुने पुस्तकको इतिहास पनि बनाएको छ ।’

साहित्यिक क्षेत्रमा नाम चलेको प्रकाशन गृहमध्ये पर्दछ, बुकहिल । यसको गुणस्तर छपाइको सर्वत्र प्रशंसा हुने गरेको छ । यसले प्रकाशन गरेका पुस्तकका समाचारहरु सञ्चारमाध्यमहरुले पनि महत्त्व दिएर छाप्ने गरेका छन् ।

यति हुँदाहुँदै पनि विद्वान् वर्गलाई यो समाचारले जसरी तरंगित बनाउनु पर्दथ्यो, बनाएन । खबर जति ठूलो थियो, बजार हल्ला उति नै सामान्य रह्यो । ठूला मिडियाले मात्र होइन, देशमा रहेका हजारौँ अनलाइन पत्रपत्रिका मध्ये कुनैले पनि यसलाई समाचारको विषय बनाएनन् । यो सूचना सामाजिक सञ्जालमा सञ्चालक आफैँले प्रकाशन गरेका कारण यो महत्त्वपूर्ण खबर आमपाठकसम्म पुग्न सकेको छैन । यद्यपि लेखक रामलाल जोशी र प्रकाशक बुकहिलका शुभचिन्तकले लेखक र प्रकाशकलाई बधाई दिँदै साहित्यिक बजारलाई दिएको योगदानको प्रशंसा गरेका छन् । अर्कोतर्फ, यो पोस्टलाई पुस्तकको बजार बढाउने सस्तो प्रचार मान्दै यसले लेखक र प्रकाशक दुबैलाई हानी गर्ने दाबी गर्न थालिएको छ । योसँगै साहित्यिक क्षेत्रमा बहस सुरु भएको छ, ‘१० दिनमा १० हजार प्रति पुस्तक बिक्री भएको साँचो हो ? हो भने, यसलाई नेपालका राष्ट्रिय मिडियाहरूले किन समाचारको विषय बनाएनन् ? खबर साँचो होइन भने मदन पुरस्कार प्राप्त गरिसकेका लेखक र प्रतिष्ठित प्रकाशकले किताबको बिक्री बढाउन झुटो कुरालाई किन सहारा बनाइरहेका छन् ?’

गएको मंगलबार सामाजिक सञ्चारमा पोस्टरसहितको यो दाबी आएपछि साहित्यपोस्टले यसलाई आफ्नो क्षेत्रको निकै ठूलो समाचार मानेको थियो । हामीले यसलाई महत्त्वपूर्ण समाचार बनाउनका लागि लेखक, प्रकाशक र पुस्तक बिक्रेतासँग सम्पर्क राख्ने योजना बनायौँ । साहित्यपोस्टसँग सम्पर्कमा रहेका दर्जनभन्दा बढी पुस्तक बिक्रेताले १० दिनमा १० हजार प्रति पुस्तक बिक्री हुने कुरा असम्भव रहेको दाबी गर्न थाले । नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित प्रकाशन एवं बिक्री केन्द्र रत्न पुस्तक भण्डारका बिक्री कक्षमा रहेका बिक्रेताले भने, ‘१० दिनमा त के एक महिनामा पनि १० हजार किताब बिक्री सम्भव छैन । रामलाल जोशीको किताब बढी बिक्री हुनेमध्ये पर्दछ तर सबैभन्दा बढी बिक्री भएको कुरा झुटो हो । त्योभन्दा बढी सुविन भट्टराई ‘इजोरिया’ र यो वर्ष मदन पुरस्कार प्राप्त लेखक डा. नवराज लम्सालको ‘अग्नि’ किताब बिक्री भइरहेका छन् ।’

रत्न पुुस्तक भण्डार मात्रै होइन, काठमाडौँका २० वटा आउटलेटहरूमा बुकहिलले दाबी गरेको समयमा ‘बाआमा’ करिब १२ सय ८७ वटा पुस्तक बिक्री भएको हिसाब देखिन्छ । प्रकाशकले दाबी गरेअनुसार पुरानो संस्करण सकिएर नयाँ संस्कण प्रकाशनका लागि अर्डर दिइसकेका छन् । तर बजारमा ‘बाआमा’ बुधबार दिउँसोसम्म सामान्य पसलहरूमा सजिलै प्राप्त गर्न सकिन्थ्यो ।

‘प्रकाशन गृहमा पुस्तक सकिएको होला तर बजारमा फाट्टफुट् किताब पाइन्छ । मैले ‘बाआमा’ एक कार्टुन र सुविन भट्टराईको नयाँ पुुस्तक ‘इजोरिया’ १० कार्टुन मगाएको थिएँ । दुबै बिक्री भए । यसबाट पनि कुन छिटो र बढी बिक्री भएको अन्दाज गर्न सकिन्छ ।’ साहित्यिक पुस्तकका होलसेल व्यवसायी पाँच पोखरी प्रकाशन गृहका सञ्चालक राम श्रेष्ठ भन्छन्, ‘होलसेलमा सकिनु र पाठकले किनेर घर लैजानु फरक कुरा हुन् ।’

काठमाडौँमा मात्र होइन, उपत्यका बाहिरका मुख्य स्टेसनहरूमा पनि ‘बाआमा’को तुलनामा डा. नवराज लम्साल र सुविन भट्टराईको किताब बढी बिक्री भएको रेकर्डमा देखिन्छ । चितवनको सम्पूर्ण पुस्तक पसलका लेखराम सापकोटा भन्छन्, ‘आजको दिनमा नढाँटी भन्ने हो भने बढी र छिटो बिक्री हुने सुविन भट्टराई नै हुन् । तर सुविनको पुस्तक निरन्तर किताब किन्ने पाठकले किनेका छैनन्, यसअघि कहिल्यै अरु किताब किन्न पसलमा नआउने बिल्कुलै नयाँ पाठक छन् ।’

साहित्यपोस्टको सर्वेक्षणले रामलाल जोशीको पुस्तक ‘बाआमा’को पहिलो संस्करण १० हजार प्रति नै नछापेको देखाउँछ । प्रकाशक बुकहिलले दाबी गरिएको भन्दा आधा कम पुस्तक बजारमा गएको देखिएको छ । बजारमा नगएको पुस्तकलाई बढी र छिटो बिक्री भएको दाबी गर्दै पोस्टरसहितको सूचना दिएपछि आमपाठकलाई भ्रम पर्न गएको अनुमान बिक्रेताहरूको छ ।

बजार प्रवर्धन गर्दा विज्ञापनको नयाँ शैली अपनाउनु सामान्य कुरा हो तर यसले समग्र पुस्तक बजारलाई हानि हुने गरेको रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ बताउँछन् । ‘यस्ता कुराले लेखकमा अहं बढाउँछ । म ठूलो लेखक हुँ भन्ने अहंका कारण उसले आममानिसलाई गर्ने व्यवहारमा पनि फरकपन आउँछ । यसले अन्तत: साहित्य र साहित्यकारलाई हानि गर्छ ।’

पाका अनुभवी प्रकाशक श्रेष्ठ आफ्नो वर्षौंको अनुभवले भन्छन्, ‘नेपालमा एक जना लेखकको एक वर्षमा तीन हजार प्रति पुस्तक बिक्री भयो भने उसलाई बेस्टसेलर लेखक मान्दा हुन्छ । अपवादमा दुई चार लेखक छन्, नत्र नेपाली लेखकहरू एक हजारवाला नै बढी छन् ।’

विश्वका प्रतिष्ठित प्रकाशन गृहहरूले किताबको अग्रिम बुकिङ र साताको बिक्रीको आधारमा ‘१० दिनमा १० हजार बिक्री’ जस्ता विज्ञापनिक दाबी नगर्ने होइनन् । तर यसका लागि उनीहरूले प्रतिष्ठित समाचारपत्र वा साहित्यिक पत्रिकामार्फत प्रमाणसहित यस्ता दाबीहरू विश्वसनीय तरिकाले प्रस्तुत गर्छन् ।

तर बुकहिलले यसो गर्न सकेन । कारण, उसले १० हजार पुस्तक छापेकै थिएन ।

‘बाआमा’का स्रष्टा रामलाल जोशीसँग गरिएको संवाद पनि पढ्नुहाेस्ः

‘बाआमा’को बिक्रीले ‘ऐना’ले दिलाएको ऊर्जा फर्काएको छ – रामलाल जोशी