बिरालाको न्याउरो

एकादेशमा भाष्य र कात्या नाम गरेका दाजु र बहिनी थिए । उनीहरुसँग एउटा बिरालो थियो । वसन्त ऋृतुको एक दिन उनीहरुको बिरालो एकाएक हराएको थियो । ती दुई जना केटाकेटीहरुले त्यो बिरालोलाई कति धेरै ठाउँमा खोजे, तर कतै भेट्टाएनन् । एक दिन उनीहरु गोदाम घरमा खेल्दै थिए । माथि कतै बाट “मियाउ” गरेको सानो आवाज सुने । भाष्यले भर्याङ चढेर गोदाम घरको छतमा पुग्यो । कात्याले मुनी भुइँबाटै सोधी, “तपाईंले उसलाई फेला पर्नु भयो ?”

भाष्यले सुरुमा जवाफ दिएन । चाल मारेर आवाज सुनिरहेको थियो । बल्ल कात्यालाई भन्यो “मैले उस्लाई फेला पारेँ ! हाम्रै बिरालो हो… र उस्का त न्याउराहरु पनि छन् ! छिटो आऊ यता ।”

लियो टोल्सटोय

कात्या दौडेर घर गई र न्याउराहरुका लागि दूध ल्याई । त्यहाँ ५ वटा न्याउराहरु थिए । जब न्याउराहरु अलि ठूला भएर यताउता उफ्रिदै दौडिन सक्ने भए, ती मध्ये उनीहरुले सेतो पन्जा भएको खैरो न्याउरोलाई घर लिएर गए । अरु न्याउराहरुलाई आमाले अरुहरुलाइनै बाँडिदिनु भयो ।

एक दिन, केटाकेटीहरु बाहिर, सडकमा खेल्न निस्केका थिए । जाँदा उनीहरुको त्यो सानो न्याउरोलाई पनि सङ्गै लिएर गएका थिए । हावाले एउटा परालको त्यान्द्रोलाई हल्लाइरहेको देखेर न्याउरो हल्लिरहेको परालको त्यान्द्रोलाई आफ्नो पन्जाले पिछा गर्दै रमाएर खेलिरहेको थियो । केटाकेटीहरुले त्यो दृश्य झनै रमाइलो मानेर हेरिरहे ।

बाटो वरिपरि चरिअमिलोका ठूल्ठूला पातहरु देखे । त्यही पातहरु जम्मा गरेर खेल्न थाल्दा केटाकेटीहरुले न्याउरोको बारेमा भुसुक्कै बिर्से। एक्कासि उनीहरुले नजिकै कतै एक जना मान्छेले चिच्याएको आवाज सुने – “यता आऊ, यता आऊ !” एउटा शिकारीले आफ्नो घोडाको पिठ्युँबाट कराइरहेको रहेछ । उसका दुईवटा शिकारी कुकुरहरुले न्याउरोलाई झम्टिन लागेको देखेर आत्तिँदै त्यतैतिर दौडिन थाले । त्यो बिरालोको बच्चा भाग्नुको सट्टा मूर्ख भएर आफ्नै घुँडा मुनी टाउको लुकाएर कुकुर पट्टी फर्कियो ।

आयुषा चालिसे

कात्याले कुकुरहरुलाई देखेर चिच्याइन । ती कुकुरहरु झन् छिट्टो दौडिए । कुकुरहरू न्याउरो नजिक पुग्न लागिसकेका थिए, ठीक त्यतिनै बेला भाष्य आएर आफ्नो जिउले घप्लक्कै छोपेर त्यो न्याउरोलाई बचायो । त्यो शिकारी आफ्नो घोडालाई दौडाएर आफ्नो बाटो लाग्यो । ऊ सँङ्सँगैआफ्नो शिकारी कुकुरहरु पनि लिएर गयो ।
भाष्यले न्याउरोलाई घरमा लिएर गयो । त्यस पछि उनिहरुले कहिल्यै त्यो न्याउरोलाई सडक तिर खेल्न लगेनन् ।

समाप्त

आयुषा चालिसे
अरुणिमा मा बि, बौद्ध। कक्षा ८