पुसको रात

हल्कुले आएर आफ्नी श्रीमतीलाई भन्यो- ‘सहना आएको छ। दराजभित्र राखेको रुपियाँ ले त, उसलाई दिनु पर्यो। पैसा मागेर वाक्क लगाइसक्यो।’

मुन्नी कुच्चो लगाउँदै थिई। फनक्क पछाडि फर्केर भनी- ‘तीन रुपियाँ मात्रै छ। यै पनि दिुनभयो भने कम्बल के पैसाले किन्ने ? माघ-पुसमा राती खेत रुङ्न जाँदा रात कसरी काट्नु ? उसलाई भन्दिनु बाली उठाएपछि दिन्छौँ, अहिले पैसाको धौधौ परेको छ।’

हल्कु एक क्षणका लागि ठिङ्ग उभिरह्यो। पुस टाउकोमा छ । कम्मलविना पुसमा बाली रुङ्न सकिँदैन । तर सहना मान्दैन, झर्किन्छ, गाली दिनेछ ।रुपियाँ दिइयो भने जाडाले मरिन्छ तर अहिलेको आपत् टालियो भने जाडोको उपाय गरूँला- सोच्दै ठूलै निर्णय बोकेर (जुन उसको नामलाई झूटो सिद्ध गर्थो) श्रीमतीको छेउमा आयो अनि हँसौली मुखचिन्हमा भन्यो- ‘ला, दे रुपियाँ। कम्लबका लागि अरू केही उपाय सोचूँला।’

मुन्शी प्रेमचन्द

मुन्नीको उसको छेउबाट पर तर्की अनि आँखा तन्काउँदै भनी- ‘गर्नुभयो अर्को उपाय ! सुनूँ त के अर्को उपाय गर्न आट्नु भयो ? कसैले दान दिन आट्यो र ? थाहा छैन कति ऋण लागेको छ, तिर्न भने सकिएको छैन। म त भनिराखकी छु खेती छोड्नु भनेर । मरीमरी काम गरो, बाली उप्जेपछि तिरो भर्न गर्न मात्र हुन्छ, आफ्ना लागि रित्तै। ऋण तिर्नका लागि नै हाम्रो जन्म भएको रहेछ। बरू भन्दा मजदुरी गरेर खाएको राम्रो, यस्तो खेती गर्नुबाट त बाँचिने थियो होला। म रुपियाँ दिन्न, पटक्कै दिन्नँ ।’

हल्कु विरक्त भएर बोल्यो- ‘त्यसो भने गाली खानूँ त ?’
मुन्नी झर्किँदै भन्छे- ‘गाली किन दिन्छ ? उसको यहाँ राज छ र ?’

तर यति भन्दै उसका तन्केका परेला ढिला भइदिए। हल्कुको त्यो कुरामा कठोर सत्य थियो मानौँ त्यसले कुनै भीषण वस्तुजसरी उसलाई घुरिरहेको छ ।’

मुन्नीले गएर दराजबाट रुपियाँ निकाली अनि ल्याएर हल्कुको हातमा राखिदिँदै भनी- अबबाट अरूको खेती गर्न छोड्दिनुहोस् । बरू मजदुरी गरेर ढुक्कले एक छाक खान त पाइन्छ । कसैको गाली सुन्नु पर्दैन । खाइनखाई अरूको खेती गरो अनि उसैलाई जिम्मा लगाएर आयो । त्यै माथि गाली सुन्नु पर्ने ।’

हल्कुले रुपियाँ लिएर बाहिर यसरी निस्कियो मानौँ आफ्नो मुटु फुत्त निकालेर कसैलाई दिन जाँदैछ। उसले मजुदुरी गरेर, एकएक पैसा जमा गरेर तीन रुपियाँ कम्बल किन्नका लागि जमा गरेको थियो। ती रुपियाँ आज हातबाट फुत्किए। एकएक पाइलाको साथमा उसको टाउको आफ्नो गरिबीको भारले दबिदै जाँदै थियो।

पुसको अँधेरी रात ! आकाशमा पनि ताराहरू ठिर्याउँदै बसेका बुझिन्थ्यो। हल्कु आफ्नो खेतको कुनामा ऊखुका पातले छाएको छानो मुनि बाँसले चाङ बनाइएकोमा पुरानो च्यादर ओढी काँपिरहेको थियो। चाङमुनि कुकुर जबरा पनि पेटमा मुख घुसाएर जाडोले कूँकूँ गर्दै थियो। दुई जनामा एउटालाई पनि निन्द्रा आउँदैन।

हल्कुले घुँडामा घाँटी टस्याउँदै भन्यो- ‘जबरा, जाडो लाग्दैछ ? घरमा परालमै सुतिराख भनिरहेको थिएँ, के खान यहाँ आइस् ? अब जाडो खा, मैले के गर्नु र ? म यहाँ हलुवा-पुरी खान आएको ठानेर दौडिन्दैँ आइस्। अब जाडोमा तेरी मामलकी हजुरआमालाई सम्झिँदै रुँदै बस्।’

जबराले बसीबसी पुच्छर हल्लाइदियो अनि कूँकूँ आवाजको दीर्घ बनाउँदै हाई काडेर चुपो लाग्यो । उसको श्वानबुद्धिले सायद बुझेको हुनुपर्छ, स्वामीलाई मैले कूँकूँ गरेको आवाजले निन्द्रा लागेन होला। हल्कुले हात निकालेर जबराको चिसिएको जिउमा सुम्सुम्याउँदै भन्यो- ‘भोलिदेखि तँ यहाँ न आउनू, नत्र जाडोले ठहरै मर्छस्। यो घोप्टे हावा थाहा छैन कहाँबाट बरफ लिएर आउँदैछ। अब उठेर चिलिम नभरी भएन। जसरी भए पनि रात त कटाउनै पर्यो। आठ चिलिम त अघि नै तानिसकेँ। खै ! यो खेतमा बस्न मजा भनूँ कि सजा ! यहाँ त यस्ता पनि छन् जाडो आइसक्दा गरमले छट्पटिन्छन्। बाक्लाबाक्ला गद्दाहरू, ताताताता कम्बल भएपछि जाडाको के डर र उनीहरूलाई। भाग्य भनेको यिनीहरूको जस्तो हुनुपर्छ तर हाम्रो भाग्य, थुक्क ! यसरी जाडोमा मरीमरी काम गरो अनि फलको मजा अरूले लिन्छन्।’

हल्कु उठ्यो । चिलिम भर्यो। जबरा पनि उठ्यो। हल्कुले चिलिम तान्दै भन्यो- ‘चिलिम तान्छस् ? जाडो त के जान्थ्यो होला र ! यसो मनको सन्तोष मात्र । जबराले उसको मुखमा प्रेमले भरिएको आँखाले निहाल्यो। हल्कु फेरि भन्छ- ‘तँलाई जाडो लाग्ने आज मात्र हो, भोलि म पराल ल्याएर यहाँ ओछ्याइदिन्छु। तँ त्यही घुसेर सुत्नु। तँलाई जाडो लाग्ने छैन ।’ जबराले आफ्नो पन्जा हल्कुको घुँडामा टेकाइदियो अनि मुख मालिकको मुखमा टाँसिदियो। हल्कुलाई जबराको गरमगरम सासले जाडोको बेला आनन्दित पारिदियो।

चिलिम तानेर हल्कु फेरि सुत्यो। योचोटि उसले निदारै छोड्ने निश्चय गर्यो। तर केही क्षणमा जाडोले हृदयमा कम्पन गराउन थाल्यो। कहिले यता पल्टियो कहिले उता पल्टियो तर जाडो पिशाचको जसरी छातीलाई निचोरेर बसेको थियो। जब केही उपाय लागेन तब उसले जबरालाई बिस्तारै उठायो अनि सुम्सुम्याउँदै काखमा सुतायो। कुकुरबाट थाहा छैन कस्तो नराम्रो दुर्गन्ध आइरहेको थियो तर उसले काखमा टाँसेर यस्तो अनुभव गर्दै थियो मानौँ ऊ कति महिनादेखि योसँग भेटलाई लालायित भइरहेको थियो। जबरा सायद यही बुझ्दै थियो कि स्वर्ग भनेको यही हो। हल्कुको पवित्र आत्मामा जबराका लागि रत्तिभर पनि घृणा थिएन। हल्कु आफ्ना अभिन्न साथी र भाइलाई यही तत्परताले अँगालो हाल्ने गर्थ्यो। ऊ आफ्नो दीनताबाट आहत भएन जसले आज उसलाई यो दशामा पुर्याइदिएको थियो। आजको यो अनौठो मित्रताले उसको आत्माको सबै ढोका खोलिदिएको थियो अनि एकएक अणु उज्यालोले चम्किरहेको थियो। एक्कासि जबराले कुनै बस्तु खेत चरेको सुइको पायो। ऊ जुरुक्क उठेर याक्साबाट बाहिरयो। हल्कुले जबरालाई पुल्पुल्याउँदै बलायो तर ऊ आएन। खेततिर भुक्दै दौडियो र केही बेरसम्म बेस्मारी भुकिरह्यो। एक क्षणका लागि जबरा याक्सातिर आउने अनि एक्कासि कुदेर खेततिर जाने फेरि कस्सेर भुक्ने। उसको हृदयमा कर्तव्य यसरी जाग्यो मानौँ यही कामका लागि उसले जन्म लिएको हो।

यसरी नै एक घण्टा बित्यो। रातिको शीतले हावासँग साठगाँठ गर्न थाल्यो। हल्कु उठेर बस्यो। दुइटै घुँडामा छाती टाँसेर टाउको लुकायो। यति गर्दा पनि जाडो बिसको उन्नाइस भएन। यस्तो भान लाग्दै थियो सबै रक्त जमेको छ, नसामा रक्तको ठाउँमा हिउँ बगेको छ। उसले निहुरिएर आकाशतिर हेर्यो रात कति कटेछ भन्दै? सप्तर्षि अहिले आकाशमा आधी पनि चढेका रहेनछन्। माथि आएपछि मात्र बिहान हुनेछ। निराश भयो हल्कु।

खेतको केही दूरीमा आमको बगैँचा थियो। शरद ऋतुको आगमनले पत्ताहरु झर्न लागेका थिए। बगैँचामा पत्ता झरेर थुप्रो लागेको थियो। हल्कुले सोच्यो- ‘गएर पत्ता भेला पार्छु अनि मजाले आगो ताप्छु। राति कसैले मलाई पत्ता भेला पार्दै गरेको देख्यो भने भुत सम्झिन्छन् कि ? तर कसलाई थाहा हुन्छ र म नै हुँ भनेर ! जानवर भएको पनि अड्कल काट्न सक्छन्। अब त जाडोले बस्न नसकिने भयो।’

छेउमा भएको ररीको खेतमा गएर सुकेका निकै सिटा उखेल्यो अनि कुच्चो बनायो। याक्सामा राखिएको आगोको कोइला हातमा राखेर बगैँचातिर दौडियो। जबराले देखिपछि हल्कुको छेउमा आयो अनि पुच्छर हल्लाउन थाल्यो।

हल्कुले भन्यो-‘अब नसकिने रहेछ जबरा। हिँड बगैँचमा पत्ता बटुलेर आगो तापौँ अनि मात्र सास आउँछ होला। फेरि आएर सुतौँला। बिहान हुन अझै समय छ।

जबराले कूँकूँ गर्दै सहमति प्रकट गर्दियो अनि अगाडि-अगाडि बगैँचातिर हिँड्न लाग्यो।

बगैँचामा निस्पट्ट अँध्यारो छाएको थियो अनि अँध्यारोमा निर्दयी हावा पातहरूसँग ठोकिदै अगाडि बढ्दै थियो। रुखबाट ओसका बुँदहरू टपटप झर्दै थिए।

एक्कासि एउटा हावाको झोँकाले मेहन्दी फूलको सुगन्ध लिएर आयो।

हल्कुले भन्यो- ‘कति मीठो बासना आयो जबरा ! तेरो नाकमा पनि त मीठो बासना आएको होला ?’

जबराले कतै भुइँमा भेटेको हड्डी चिथोर्दै रहेछ । हल्कुको कुरामा प्रतिक्रिया दिएन।

हल्कुले आगोको कोइला भुइँमा राखिदियो अनि पत्ताहरू भेला पार्न लाग्यो। केही क्षणमा पत्ताको थुप्रो बनायो। हात कठ्याङ्ग्रिएर खपिनसक्नु भएको थियो। खाली खुट्टा चिसोले जलाएको जस्तै हुँदै थियो अनि ऊ पत्ताको पहाड बनाउँदै थियो। यसैको आगोमा जाडोलाई जलाएर भस्म गर्दिन्छु, मन मनै प्रणित हुँदै थियो।

केही बेरमा पत्ताको थुप्रोमा आगो सल्कियो। आगोको ज्वालाहरूले रुखका पत्तालाई छुदै हावासँगै भाग्न थाले। त्यो अस्थिर प्रकाशमा बगैँचाको रुख यस्तो लाग्दै थियो मानौँ त्यो अथाह अन्धकारलाई आफ्नो टाउकोमा सम्भालेर अन्धकारको अनन्त सागरमा प्रकाशको डुङ्गा समान हल्लिदै छ ।

हल्कु जल्दै गरेको थुप्रोको छेउमा बसेर आगो ताप्दै थियो। केही क्षणमा उसले एक च्यादर निकालेर काखीमा चपिदियो। दुईटै खुट्टा तनक्क तन्काएर बस्यो मानौँ जाडोलाई लल्कार्दै भन्दै छ- ‘तँलाई जे गर्नु छ गर।’

जाडोको असीम शक्तिमाथि विजय प्राप्त गरेर ऊ विजय-गर्वलाई हृदयमा लुकाउन सक्दैन।

उसले जबरालाई भन्यो-‘अब भन् जबरा, जाडो लागेको छ या छैन?’

जबराले कूँकूँ गर्दै मानौँ भन्दैछ अब केको जाडो र ?
अघि नै यो उपाय आएको भए यति बेरसम्म जाडोले च्याप्ने थिएन नि।

हल्कुको कुरामा जबराले पुच्छर हल्लाइदियो।
‘सुन्, जबरा ! यो आगोलाई कुदेर पार गरौँ। हेरौँ को चाहिँ पार हुँदोरहेछ। अगर जलिस् भने चैँ दवाइ पानी गर्दिनँ नि ! अहिले भन्दिएको।’

जबराले त्यो अग्निराशिलाई काँतर नेत्रले हेर्यो।

मुन्नीलाई भोलि न भन्दे नि फेरि, नत्र मसँग लडाइँ गर्छे।

यो भन्दै हल्कु उफ्रियो अनि आगोलाई मजाले पार गरेर उता निक्लियो। खुट्टामा आगोले छोयो मात्र तर डराउने कुरा केही थिएन। जबरा आगाको वरिपरी घुमेर हल्कुको छेउमा आयो।

हल्कुले भन्यो-‘लू !लू ! यो ठीक होइन, घुमेर हैन ! उफ्रेर आउनु पर्छ।’ फेरि आगोमाथि कुदेर पार गरी आयो जबरा ।

पत्ताहरू जलिसकेका थिए। बगैँचामा फेरि अँध्यारो छायो। भुब्राको मुनि अलिअलि आगो बाँचेको थियो जुन चैँ हावाको झोँका आउँदा हल्का उठ्थ्यो तर फेरि केही क्षणमा आँखा बन्द गरिहाल्थ्यो।

हल्कुले फेरि च्यादर आढ्यो अनि गरम राखको छेउमा बसेर गीत गुनगुनाउन थाल्यो। उसको शरीर गरम त भएको थियो तर जतिजति शीत बढ्दै थियो उसलाई आलस्यले समात्दै थियो।

अनायासै जबरा जोडले भुक्दै खेततिर दौडियो। हल्कुलाई यस्तो भान लाग्यो कि एक हुल जानवर खेतमा पसेका छन्। सायद नील गाइको बगाल होला। उनीहरूको कुद्दै गरेको आवाज कानमा आउँदै थियो। फेरि उसलाई यस्तो लाग्यो कि उनीहरू खेतमा चर्दै छन्। उनीहरूले चर्दै गरेको आवाज चरचर सुनिन थाल्यो।

उसले मनै मन भन्यो- ‘जबरा हुँदाहुँदै कोही पनि जानवर खेतमा आउन सक्दैनन्। मेरो भ्रम हुन सक्छ। खोई कता र ? अब त केही पनि सुनिदैन न त ! मैले पनि कस्तो धोका खाएको होला।’

उसले जोडसँग आवाज लगायो- ‘जबरा ! जबरा !’
जबरा भुकिरह्यो। उसको छेउमा आएन।

फेरि खेत चरिएको आवाज सुनियो। अब उसले स्वयम्लाई धोका दिन सकेन। उसलाई आफ्नो ठाउँबाट उठ्न पनि जहर समान लागिरहेको थियो। उसलाई आगाको रापले मीठो आनन्द दिइरहेको थियो। यो जाडोमा खेतमा गएर जानवारहरूको पछाडि भाग्न असह्य भान लागिरहेको थियो। ऊ आफ्नो ठाउँबाट हल्लिएन।

हल्कुले जोडले फेरि आवाज लगायो, ‘जबरा ! जबरा ! जबरा !

जबरा फेरि भुक्न थाल्यो। जानवर खेत चर्दै थिए। कति राम्रो खेती थियो तर दुष्ट जानवार त्यसको सर्वनाश गर्न लागे। हल्कुले कोसी मात्रै रह्यो।

हल्कु हिम्मत गरेर उठ्यो अनि दुई-तीन पाइला के चाल्यो एक्कासि चिसो हावाले यसरी डसो जसरी बिच्छूले डस्छ। ऊ फेरि भुब्राको छेउमा आयो अनि राखलाई खोस्रेर जिउ गरम गर्न लाग्यो।

जबरा भुकेर घाँटी चिर्दै थियो। नील गाईहरू खेत साफ गर्न लागेका थिए अनि हल्कु गरम राखको छेउमा आनन्दले बसेको थियो। अकर्मण्यताको रस्सीले उसलाई चारैतिरबाट निमोठ्याएको थियो।

अनुवादकः हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

त्यही राखको तातो भुइँमा च्यादर ओढेर सुत्यो।
बिहान ऊ बिउझिँदा चारैतिर घाम फैलिएको थियो अनि मुन्नी भन्दै थिई- ‘किन आज सुती राखेको ? तिमी यहाँ आएर आनन्दित भयौ उता सबै खेत चौपट भयो।’

हल्कुले उठेर भन्यो- ‘के तँ खेतबाट आएकी होस् ?’
मुन्नीले भनी-‘हो, सबै खेत सत्यानाश भयो। कोही यसरी आनन्दले सुत्छ कतै ? तिमी यहाँ खेत रुङ्न आएको के लाभ ?’

हल्कुले बहाना बनायो- ‘तँ खेतको कुरा गर्छेस्, आफूको यहाँ रातभरि भुँडी दुःखेर खपिनसक्नु भयो।’

दुवै फेरि खेतमा आए। सबै खेत सोतर पारिदिएको रहेछ अनि जबरा आलीको तल भुस्स भएर निदाएको रहेछ मानौँ उसको शरीरमा प्राण नै छैन।

दुवै खेतको दशा हेर्दै थिए। मुन्नीको अनुहारमा उदासपन छाएको थियो तर हल्कु प्रसन्न थियो।

मुन्नी चिन्तित भएर भनी-‘अब मजदुरी गरेर मालिकलाई तिर्नु पर्छ। हे दैव !’

हल्कुले प्रसन्न मुखले भन्यो-‘अबदेखि राति जाडोमा सुत्नु पनि त पर्दैन।’