पहिलो पटक जब लर्ड अफ दि रिङ बजारमा आएको थियो, त्यो बेला यसलाई साहित्य मान्नु हुन्न भन्नेको संख्या बढी थियो । फेन्टासी उपन्यासले गतिलो चिज बोकेको हुन्छ भन्ने धेरैलाई लाग्दैनथ्यो । त्यसैले साहित्यकार जेआरआर टकिनलाई धेरैले गतिलो साहित्यकार मानेनन् । कृति समीक्षा छापिँदा पनि त्यो बेला उति राम्रो समीक्षा पाएको होइन ।

तर समय बित्दै जाँदा द लर्ड अफ दि रिङ क्लासिक साहित्यका रूपमा चिनिन थाल्यो । झन्, यो उपन्यासलाई जब पिटर ज्याक्सनजस्ता सिद्धहस्त फिल्म निर्देशकले तीन भागको सिनेमामा परिणत गरे, उपन्यासको ख्याति अझ चुलियो । कति चुलियो भने किताबको मोल बढ्न थाल्यो ।

यतिबेला यो उपन्यासको चर्चा पुनः चुलिएको छ । गएको साता अमेजन कम्पनीको भिडियो सेक्सन अमेजन प्राइममा द लर्ड अफ दि रिङको शृङ्खला रिलिज भएपछि चर्चा चुलिएको हो । यसको क्रेज कस्तो भने २५० मिलियन दर्शकहरूले एक साथ यो भिडियो हेरे ।

लर्ड अफ दि रिङको प्रिक्वेल भनी चिनाइएको यो शृंखला ‘द रिङ्स अफ पावर’ अहिलेसम्मकै सबैभन्दा महँगो हलिउड प्रडक्सन मानिएको छ । यो बनाउन ४६५ मिलियन डलर (४०० मिलियन पाउन्ड) खर्च गरिएको छ । करिब करिब १२०० पृष्ठभन्दा बढीको उपन्यासका कति शृंखला चल्छ भन्ने अहिलेसम्म नखुलाइएको भए पनि पहिलो सिजनका आठ भागमा मात्र गरिएको भारीभरकम खर्चले सबै मानक तोडिदिएको छ ।

जेआरआर टोकिन

शृंखला निर्माणका लागि मात्र ४०० मिलियन पाउन्ड खर्च गरिएको भए पनि यसमाथि फिल्म वा टेलिभिजन शृंखला बनाउन भनेर अमेजन कम्पनीले २५० मिलियन डलरमा प्रतिलिपि अधिकार किनेको थियो ।

टोकिनको यो उपन्यासमाथि गरिएको खर्चका आधारमा सन् २०१० मा नै फोर्ब्स पत्रिकाले मृत्यपर्यन्त अर्बपति हुने लेखकहरूको सूचीमा टोकिनलाई पनि जोडेको थियो । उनी यस्तो मृत्युपरान्त अर्बपति हुने सेलिब्रिटीमा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा माइकल ज्याक्सन र दोस्रोमा एल्भिस प्रिस्ले परेका थिए ।

सन् २००१ मा पहिलो पटक पिटर ज्याक्सनले द लर्ड अफ दि रिङ्स फिल्म निस्केलगत्तै संसारभर पाँच लाखभन्दा बढी उपन्यास बिकेको थियो । त्यसयता यो क्रम अझ बढेको छ । सन् २०२१ मा पनि यो किताब पाँच लाख बिक्री भएको बताइएको छ ।

सन् २०२२ को शुरूवाततिर ह्वाट किड्स आर रिडिङ रिपोर्ट निकालिएको थियो । बेलायत र आयरल्यान्डभरिका साढे ६ हजार स्कुले विद्यार्थीहरूबाट संकलित जानकारीका अनुसार विद्यालयहरूमा लर्ड अफ दि रिङका दुई भाग निकै लोकप्रिय पाइएको थियो । त्यस्तै जेके रोलिङको अन्तिम ह्यारी पोटर शृंखलाको ह्यारी पोटर एन्ड द डेथ्ली हालोज् पनि बढी पढिएको पुस्तकमा परेको थियो ।

यो युग टेलिभिजन र स्ट्रिमिङको हो । ठूला बजेटका फिल्मको युग हो । यस्तो बेलामा कन्टेन्टका भोका फिल्म निर्माण कम्पनीहरूले यस्ता फेन्टासी उपन्यासमा निकै पैसा बगाएका छन् । खासगरी गेम अफ थ्रोन्सको छक्कै पार्ने सफलताले यसमा लगानी गर्न नडराउने लगानीकर्ताको लामो लाइनै लागेको छ । पहिला यस्ता फेन्टासी उपन्यासका लागि आवश्यक पर्ने दृश्य सिर्जना (भिएफक्स) निकै महँगो र कठिनसाध्य कार्य हुन्थ्यो । अचेल यो प्रायः सजिलो र कम खर्चमै हुन थालेको छ । यसले फेन्टासी दृश्य खिच्न सहज हुन थालेको छ । त्यसैले पनि यस्ता शृंखलामा मोह राख्ने दर्शक र निर्माताको अभाव छैन ।

यो उपन्यास निस्कँदा धेरैले विश्वयुद्धबाट भाग्न रूचाउनेका लागि राम्रो खुराक भएको प्रतिक्रिया पाएको थियो । युद्धका कतिपय ठाउँमा भएका नरसंहारलाई उपन्यासले जायज ठहर्याएको आरोप पनि खेप्नु परेको थियो । यस्ता आरोपमा भने कुनै सत्य थिएन । खासमा फेन्टासी उपन्यास भन्नु नै अर्कै संसारमा प्रवेश गराउनु हो र त्यसमा यो उपन्यास सफल भएको थियो र सधैँ अलग्गै संसारमा रमाउनेहरूका लागि यसले कहिल्यै निराश बनाएन । त्यसैले पनि धेरैको मनमन्दिरमा यो उपन्यास गहिरो छाप बनेर रहिरह्यो । यसले मानिसको दिमाग र आत्मालाई स्वतन्त्र विचरण गराइरह्यो ।

रोचक त के छ भने, यस्ता उपन्यासले सधैँ प्रतिबन्ध बेहोर्ने गर्छ । पछिल्लो समय एक दशकभरि जेके रोलिङ, टोकिन लगायत नील गेइम्यानका पुस्तकहरू अमेरिकाका केही पुस्तकालयले प्रतिबन्ध लगाएका थिए । फेरि यो क्रम बेलाबेलामा चलिरहन्छ पनि । तर यो शृंखलाको लोकप्रियताले के पनि देखाएको छ भने, बेलाबेलामा फेन्टासी उपन्यासले आफ्नो युग फेला पार्छ र फैलन्छ ।