गजल लेखन तथा नेपाली गजलको विकास र उन्नयनमा ४० को दशकबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका सर्जक हुनुहुन्छ डा. घनश्याम परिश्रमी । उहाँको खास नाम घनश्याम न्यौपाने हो । गजलमा प्रवेश गर्नुभन्दा पहिले उहाँ कवितामा सक्रिय हुनुहुन्थ्यो । कक्षा १ पढ्दा अर्थात् ६ वर्षको उमेरमै उहाँले कविताको बाटो समाउनु भएको थियो । कविताको नाममा के के वाचन गरियो त्यो त थाहा हुन सकेन तर लय हालेर वाचन गरिरहनुहुन्थ्यो । उहाँको वाचनबाट प्रभावित भएर साथीहरु कसैले कापीका पाना त कसैले पैसा दिने गरेको उहाँ सम्झिनुहुन्छ । साथीहरुले दिएको पाना जम्मा गरेर सिङ्गो कापी बनाउनु हुन्थ्यो । यही क्रममा तीन कक्षामा छँदा एक दिन उहाँ अध्यनरत स्याङ्जाको बिर्घा अर्चलेस्थित जनता माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा उहाँले कविता सुनाउनु भएको थियो । त्यसबाट प्रभावित भएर प्रधानअध्यापकले उहाँलाई कापी र कलम उपहार दिनुभएको थियो । पाँच कक्षा आइपुग्दासम्म त क्षेत्रीय स्तरको कविता प्रतियोगितामा भाग लिएर उहाँ प्रथम भइसक्नु भएको थियो ।
कविता लेखन र कविताप्रतिको मोह बढ्दै जाने क्रममा ८ कक्षा आइपुग्दा लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, लगायतका कविताहरु मज्जाले पढिसक्नु भएको थियो । यसले उहाँको कविताप्रतिको चेत खुलाउने काम गर्यो र कविताको वास्तविक स्वाद थाहा पाउन थाल्नुभयो । उसो त उहाँलाई सानैदेखि कवि भनेर बोलाउथेँ साथीहरुले । २०२८ सालमा ८ कक्षामै छँदा उहाँले आफ्नो नामको पछाडि “परिश्रमी” उपनाम जोड्नुभयो । त्यतिबेला उहाँ जम्मा १३ वर्षको हुनुहुन्थ्यो । सोही समयमा अन्य ५/६ जना अन्य साथीहरु जो साहित्यमा रुची राख्थे, उनीहरुले पनि कसैले कैलाश, कसैले बेथित लगायत उपनाम राखे । तर उनीहरु कोही पनि अहिले साहित्यिक क्षेत्रमा नभएको डा. परिश्रमी बताउनु हुन्छ । अन्य क्षेत्रमा प्रवेश गरेर प्रगति त गरे तर साहित्यमा छैनन् उनीहरू । उपनाम राख्ने काम मात्र भयो । तर डा. परिश्रमीले उपनाम मात्रै राख्नुभएन त्यहीअनुसारको कर्म पनि गर्दै आउनुभयो र अहिले त्यही परिश्रमी नामबाट नेपाली साहित्यमा गजलकार र गजल विशेषज्ञको रुपमा परिचित हुनुभएको छ । उपनामअनुसारको परिश्रम गर्नुभयो र त्यो क्रम अहिले पनि जारी छ ।
उहाँलाई गजलका चिकित्सक पनि भनिन्छ । चिकित्सक यसअर्थमा कि उहाँले गजलमै विद्यावारिधी गर्नुभएको छ । उहाँ नै पहिलो नेपाली हुनुहुन्छ जसले गजलमा पिएचडी गर्नुभयो । “हिन्दी र नेपाली गजलको विश्लेषणात्मक अध्ययन” उहाँको पिएचडीको विषय थियो । त्रिभुवन विश्वविद्यालयबाट सन् २००१ मा उहाँले विद्यावारिधी गर्नुभएको हो । यसका अलवा गजल गुरु, गजल विद्वत् शिरोमणि, गजल ज्ञानमणि, गजल गौरव, नेपाल गजल गौरव लगायत उपाधि उहाँलाई प्रदान गरिएको छ ।
कवितामार्फत साहित्यमा पाइला राख्नुभएका डा. परिश्रमी कसरी गजलमा प्रवेश गर्नुभयो भन्ने विषयमा पछि जोड्ने नै छु । अहिलेलाई भने उहाँको बाल्यकालमै फर्किन चाहेँ । ८ कक्षामा उपनाम राख्नुभएका परिश्रमीले १० कक्षामा आइपुग्दा खण्डकाव्य नै लेख्न भ्याउनु भयो । यो २०३० सालको कुरा हो । त्यसलाई उहाँले पछि आफू स्नातक पढ्नेबेलामा प्रकाशित गर्नुभयो । २०३६ सालमा प्रकाशित खण्डकाव्य “अन्त्यमा” उहाँको पहिलो प्रकाशित कृति बन्न पुग्यो । २०३६ सालबाट सुरु भएको कृति प्रकाशनको यात्रा २०७९ सालसम्म आइपुग्दा यो ४३ वर्षको अवधिमा साहित्यिक र गैर-साहित्यक गरी उहाँका २६ ओटा पुस्तक प्रकाशित भइसकेका छन् । यसमा १९ साहित्यिक कृति रहेका छन् । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकाहरुमा उहाँका कविता, गीत, गजल, एकाङ्की, कथा, लेख, निबन्ध र समीक्षा समालोचनाहरु प्रकाशित हुँदै आएका छन् ।
सानैबाट साहित्य लेखनमा सक्रिय रहँदै आएको भए पनि २०४५ सालमा आएर मात्रै उहाँको रचना पहिलो पटक राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित भयो । यद्यपि स्थानीय स्तरमा बेलामौकामा प्रकाशित भइरहेकै थिए । २०३० सालबाट लगातार १५ वर्षसम्म हुलाकमार्फत प्रसिद्ध साहित्यिक पत्रिका मधुपर्कमा कविता पठाएको उहाँ सम्झिनुहुन्छ । त्यो १५ वर्षको अवधिमा उहाँका एउटा पनि कविता मधुपर्कले छाप्न योग्य ठानेन । २०४२ सालतिर उहाँ मधुपर्कका सम्पादकलाई भेट्न उहाँको कार्यलयमै पुग्नु पनि भयो । “मेरो कविता किन नछापेको ?” भनेर प्रश्न गर्दा, “मधुपर्कमा छापिन योग्य कविता भएन, त्यही भएर प्रकाशित नभएको” भन्ने जवाफ सम्पादकले दिएको डा. परिश्रमीलाई अहिले पनि याद छ । तर पनि उहाँले हार मान्नु भएन र रचना पठाउने क्रम जारी राख्नुभयो । किन भने त्यो बेला मधुपर्कमा आफ्नो रचना प्रकाशित हुनु ठुलो उपलब्धि हुन्थ्यो कवि/लेखकहरुलाई । अन्तत: २०४५ सालमा आएर मधुपर्कमा उहाँको गजल पहिलो पटक प्रकाशित भएको थियो । त्यतिबेला उहाँ गाउँमै हुनुहुन्थ्यो । त्यसअघिका उहाँका सबै रचनाहरु सायद मधुपर्कको डस्टबिनमा पुगे । प्रकाशनका हिसाबले उहाँको पहिलो कविता “जाग-जाग” हो । जो २०३२ सालमा नेपाली छात्र संघ गोरखपुरको मुखपत्र ‘सिम्रिक’ मा पहिलोपटक प्रकाशित भएको थियो ।
विगत ५ दशकदेखि साहित्य लेखन र साहित्यिक कर्ममा सक्रिय रहँदै आउनुभएका डा. परिश्रमीको स्याङ्जाको कालीगण्डकी– ५ स्थित बलाम नित्यडाँडामा वि.सं. २०१५ साल असार १४ गते बिहीबार जन्म भएको थियो । माता तारादेवी र पिता स्व. रुक्माङ्गत न्यौपानेका उहाँ जेठो सन्तानका साथै एक्लो छोरो हुनुहुन्छ । उहाँका दुई बहिनीहरु हुनुहुन्छ ।
साहित्य लेखनका अलवा उहाँले विभिन्न साहित्यिक पत्रिका र कृतिहरुको सम्पादन कार्य पनि गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर तथा बनारसबाट संस्कृत साहित्यमा आचार्य र मानार्थ विद्यासागर (डि.लिट) गर्नुभएको छ । २०४२ साल श्रावण १ गतेदेखि २०५० साल असार २१ गतेसम्म ८ वर्ष त्रिभुवन विश्वविद्यालयमा र त्यसदेखि यता अन्य क्याम्पसहरुमा प्राध्यापकको रुपमा सेवा पुर्याई गत साल साउन ४ गतेबाट उहाँले अवकाश प्राप्त गर्नुभएको छ । यसअघि विद्यालयहरुमा पनि उहाँले शिक्षकको रुपमा काम गर्नुभएको थियो । यसरी उहाँले जिन्दगीको ४५ वर्ष पढाउने काममै खर्चिनु भयो । डा. परिश्रमी नेपाली भाषाका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी, भोजपुरी र मैथली भाषाका ज्ञातासमेत हुनुहुन्छ । हाल उहाँ नवलपरासीको बर्दघाट– ४ मा बस्दै आउनु भएको छ ।
औपचारिक रुपमा कविता लेख्न थालेको १२ वर्षपछि डा. परिश्रमी गजलमा प्रवेश गर्नुभयो २०४० सालतिर । त्यतिबेला नेपाली गजलको पुनर्जागरण युग सुरु भइसकेको थियो । ०३५/०३६ साललाई नेपाली गजलको पुनर्जागरणको वर्ष मानिन्छ । युवाकवि तथा राष्ट्रिय विभूति मोतिराम भट्टबाट सुरु भएको नेपाली गजलको यात्रा लक्ष्मीदत्त पन्त इन्दु, शम्भुप्रसाद ढुङ्ग्याल, भीमनिधि तिवारी, नरहरि शर्मा ढुङ्गेल, बालकृष्ण सम हुँदै उपेन्द्र बहादुर जिगरसम्म आइसकेपछि एक प्रकारले रोकिएको थियो । सुषुप्त अवस्थामा थियो । बिचमा केही गजलकारहरुले फाट्टफुट्ट लेखे पनि गजलकै विकास र उन्नयनको उदेश्यले लेखेको भने देखिएको थिएन । रोकिएको गजलको त्यो यात्रालाई पुन: जगाउने काम ०३५/३६ सालमा आएर भएको देखिन्छ ।
डा. परिश्रमी गजलमा प्रवेश गरिरहँदा त्यो बेला ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु बज्राकी, जयनेन्द्र जीवन, धर्मोगत शर्मा तुफान लगायतका स्रष्टाहरु गजल लेखनमा सक्रिय हुनुहुन्थ्यो । त्यो बेला पत्रपत्रिका निक्कै कम हुन्थे । मधुपर्क, गरिमा, गोरखापत्रको साहित्यिक पेज र केही स्वतन्त्र रुपमा प्रकाशित हुने पत्रिकाहरुमा गजलहरु छापिन्थे । त्यही क्रममा नकुल शिलवालको सम्पादनमा रहेको “बगर” नामक साहित्यिक पत्रिकामा प्रकाशित मनु बज्राकीको गजल पढेपछि गजलप्रति अकस्मात रुपमा आकर्षित हुन पुगेको र त्यहीँबाट गजल लेखनको यात्रा सुरु गरेको डा. परिश्रमी बताउनुहुन्छ ।
नेपाली गजलको पुनर्जागरणभन्दा पहिले मविवी शाहका गीतहरुलाई पनि गजल भन्ने गरिएको थियो । सैद्धान्तिक रुपले ती गजल नभएको डा. परिश्रमी बताउनुहुन्छ । पुनर्जागरणपछि पनि गजलको वास्तविक स्वरुपका केही पक्ष रदिफ, काफिया र त्यसको चमत्कारपूर्ण अभिव्यक्तिजस्ता कुराहरुलाई मात्र प्राथमिकतामा राखेर अग्रज गजलकारहरुले लेखिरहनु भएको अवस्था थियो । तर नेपाली गजलले सैद्धान्तिक रुपमा एउटा सही बाटो भने लिइसकेको थिएन । डा. परिश्रमी गजलमा प्रवेश गर्दा यस्तै अवस्था थियो नेपाली गजलको । सुरुवाती चरणमा उहाँले पनि त्यसैरी नै लेख्नु भयो जसरी अन्य गजलकारहरुले लेखिरहनु भएको थियो । बहरमा गजल हुनुपर्छ भन्ने जानकारी नहुँदासम्म उहाँले बेबहरमै लेख्नु भयो । तर उहाँको लेखाइमा लय चेतना भने सुरुवातदेखि नै थियो ।
तर त्यसले उहाँलाई सन्तुष्टि भने दिइरहेको थिएन । त्यही क्रममा उहाँले हिन्दी र उर्दूका गजलहरुको पनि अध्यन गर्न थाल्नुभयो । यसका साथै हिन्दी र उर्दूका पनि हिन्दीमा अनुवाद गरिका गजल लेखनका सैद्धान्तिक कृतिहरुको गहन अध्यन गर्नुभयो । यसरी हिन्दी र उर्दूका गजलहरुको खोजी गर्दै जाने क्रममा नेपालीमा जेलाई गजल भनेर लेखिएका थिए सैद्धान्तिक रुपमा ती साच्चिकै गजल हुन सकेका रहेनछन् भन्ने कुरा उहाँले बुझ्ने मौका पाउनु भयो । नेपाली गजलकारहरु रदिफ र काफियामै रुमल्लिरहेको उहाँले पाउनु भयो । यी कुराहरु बुझिसकेपछि यस अध्यनलाई अझै व्यापक बनाउँदै ०४६/०४७ सालपछि उहाँले गजल लेखनसँगै यसका सैद्धान्तिक पक्षहरुको बारेमा पनि वकालत गर्न थाल्नुभयो । बिस्तारै उहाँले नेपाली गजलमा बहरको बहस भित्र्याउनु भयो। त्यतिबेला नेपाली गजल पनि बहरमा लेखिनु पर्छ भनेर बहस गर्ने उहाँ एक्लो सर्जक हुनुहुन्थ्यो ।
पछि बिस्तारै अन्य गजलकारहरुले उहाँलाई साथ दिन थाल्नुभयो । त्यतिबेलै नेपाली गजलमा दुई धारहरु देखिन थाले । यसरी सैद्धान्तिक रुपमा गजल लेखनबारे बहस गरिरहँदा गजललाई बिगार्न खोजेको, भाँड्न खोजेको जस्ता आरोपहरु पनि उहाँले खेप्नु पर्यो त्यो बेला । फेरि पनि उहाँ आफ्नो अडानमा कायमै रहनु भयो र त्यो अडान अहिले पनि उत्तिकै छ । गजलमै विद्यावारिधी गरेका कारण यसको सैद्धान्तिक पक्षको बारेमा बोल्नु र त्यहीअनुसार लेख्नु पर्ने आफ्नो दायित्व भएको उहाँ उल्लेख गर्नुहुन्छ । गजलको आफू आधिकारिक विद्यार्थी भएको उहाँ दाबी गर्नुहुन्छ । पिएचडी अध्यनका क्रममा जे कुरा थाहा भएको हो त्यही कुरा नै पाठकमाझ पुर्याउनु आफ्नो धर्म भएको र कुनै पनि विधा, कुनै पनि सिद्धान्तमा आफ्नो मनगढन्ते कुरा राख्न नहुने उहाँको भनाइ छ । आफूले सिद्धान्तअनुसार नै बहस गर्दै आएको उहाँ बताउनुहुन्छ । यसर्थ गजल भनेर नेपाली साहित्यमा जे लेखिँदै आइएको छ त्यो सैद्धान्तिक रुपले सही मार्गमा छैन भन्ने उहाँ जिकिर गर्नुहुन्छ ।
अहिले भने परिस्थिति अलिक सहज हुँदैआएको र नेपाली गजलले पनि सैद्धान्तिक रुपमा एउटा बाटो समाइरहेकोमा उहाँ खुसी व्यक्त गर्नुहुन्छ । सैद्धान्तिक रुपमा बुझेर, त्यसलाई अध्यन गरेर गजल लेख्न चाहानेहरुका लागि अहिले धेरै सहज पनि बन्दै गइरहेको छ । गजल लेखनका सैद्धान्तिक पक्षबारे जानकारी दिन भौतिक र भर्चुअल दुबै माध्यमबाट विभिन्न प्रशिक्षणसमेत हुँदै आएका छन् अहिले । यसले पनि गजलको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर जसले गजलको सिद्धान्त बुझेको छैन अथवा बुझ्न चाहँदैन र कुनै व्यक्ति विशेषलाई मात्र आदर्श मानेर लेख्छ भने ऊ अहिले पनि अन्यौलमा छ । यस्तो हुनु स्वभाविक भएको डा. परिश्रमीको भनाइ छ ।
पुनर्जागरणपछि पनि हेर्ने हो भने पनि नेपाली गजलले चार दशक पार गरिसकेको छ । एकातिर सैद्धान्तिक रुपमा बहरमा गजल लेखिनु पर्छ भनेर बहस चलिरहँदा त्यसको ठिक विपरीत अरु दुई धार पनि छन् नेपाली गजलमा । जसले गजलको सैद्धान्तिक पक्षलाई अस्वीकार गर्छ । अहिले नेपाली गजलमा विशेषगरि तीन धार देख्न पाइन्छ ।
तीनै धारले एक अर्कालाई गजलकार नमान्ने प्रवृति पनि बढ्दै गएको छ । हरेकले आफ्नो धारलाई मात्र सही भनिरहेको अवस्थामा नयाँ सर्जकमा गजलप्रति अन्यौलता सिर्जना हुनु स्वभाविक पनि हो । पहिलो धार जसले गजलको सैद्धान्तिक पक्षलाई बुझेर, त्यसको गहन अध्यन गरेर बहरमा गजल लेखिरहेको छ । दोस्रो धारमा कलम चलाउनेहरुले लय चेतनालाई प्राथमिकता राखेर लेख्छन् । नेपाली लोकलय अर्थात स्वनिर्मित लय जसमा आक्षेरिक एकरुपता भएको, गायनमा कुनै बाधा नहुने, निश्चित निश्चित ठाउँहरुमा अडान, गति र यति मिलेको, यस्तो गजल जहाँ बहर हुँदैन तर पनि लयको सन्तुलन हुन्छ । यसलाई दोस्रो धार मानिन्छ । त्यसैगरी तेस्रो धार जहाँ बहर त हुन्न नै लयको चेतनासमेत पाइँदैन । तर भावको सम्प्रेषण बलियो हुन्छ । काफिया र रदिफप्रति चेतना हुन्छ । तर लय र बहर हुँदैन । यस्ता खालका गजललाई तेस्रो धारको गजल भनेर वर्गीकरण गर्नुहुन्छ डा. परिश्रमी । यसमा करिब-करिब एउटा अनुप्रासले मात्रै हो, नत्र भने त्यो गद्य कविताजस्तै हो भनेर भन्दा फरक पर्दैन । वाचन गर्दा पनि गद्य कविता जस्तैगरी वाचन गर्ने गरिन्छ । यसरी वाचन गर्दा श्रोतामा प्रभाव जमाउन सजिलो पनि हुन्छ ।
बहरकै गजलमा पनि हिन्दी र उर्दूमा तरन्नुममा भन्दा तहतमा वाचन गर्नेहरुले बढी वा!वा !! पाउँछन् । तर उनीहरूले बहरकै गजल वाचन गरिरहेका हुन्छन् । किन कि त्यसको भाषा प्रभावकारी हुन्छ । तरन्नुनमा खासगरी शृङ्गारिक गजलहरु सुनाउँछन् । भारत र पाकिस्तानमा गजलका पाठकहरुले तहतमा वाचन गरिरहँदा पनि त्यसमा बहर छ कि छैन भनेर पत्ता लगाइहाल्छन् । श्रोता/पाठकहरु आफैँमा गजलका पारखी हुन्छन् । तर हामीकहाँ पत्ता लगाउने त्यो क्षमता श्रोतामा छैन । हामी खाली शब्दले के भनिरहेको छ त्यसमा मात्रै रमाइरहेका हुन्छौँ । त्यसैले हामीकहाँ अहिले पनि गाजलका वास्तविक श्रोताहरु बन्न सकिरहेका छैनन् । हाम्रोमा गायनको कमजोरीसँगै यो पनि एउटा पक्ष छ कमजोरीको ।
नेपाली गजलमा तीन धार सक्रिय रहँदै आएको भए पनि सैद्धान्तिक रुपले गजल बहरमा लेखिनु पर्छ भन्ने कुरामा डा. परिश्रमी जोड दिनुहुन्छ । सैद्धान्तिक रुपमा शास्त्रीय र प्राविधिक विधा भएकोले गजललाई आफ्नो खुसीले लेख्न नहुने उहाँको तर्क छ । बहर आफैँमा गजलको अनुशासन भएकोले यसले गजलकारलाई सही बाटो देखाउने काम गर्छ । बहरमा लेखिएका गजल गाउन सजिलो हुने र गजलको पहिलो सर्त पनि गायन भएकोले लेखनमा लय चेतना हुनु अतिआवस्यक छ । गजल गायन अन्य गीत गायनभन्दा निक्कै भिन्न भएको भए पनि नेपालमा सम्बन्धित गायक/गायिका र सङ्गीतकारहरुबाट गजल गायकीबारे सैद्धान्तिक रुपमा अध्यन नभइरहेको उहाँको आरोप पनि छ । भारतमा गएर गजल गायन सम्बन्धी एक हप्ते प्रशिक्षण लिन सकेको खण्डमा मात्रै पनि धेरै कुरा सिक्न सकिने उहाँको धारणा छ । जसरी नाटक लेख्दा मञ्चमा मञ्चन गर्न मिल्ने गरी लेखिएको छ कि छैन ? भन्ने कुरा महत्त्वपूर्ण भएजस्तै यता गजलमा पनि गाउन मिल्ने गरी बहरमा लेखिएको छ कि छैन ? भन्ने कुराले महत्त्व राख्ने डा. परिश्रमीको तर्क छ । काफिया गजलको मुटु र बहर गजलको फोक्सो हो भनेर उहाँले लामो समयदेखि भन्दै आउनु भएको छ । जसरी शरीर जीवित रहनको लागि फोक्सो र मुटु दुबैले बराबर काम गर्नुपर्छ त्यसरी नै गजल हुनको लागि त्यसमा काफिया र बहर दुबै आवश्यक छ । यसैलाई मध्यनजर गरेर लेखिनुपर्छ भन्ने उहाँको सुझाब छ ।
तर नेपालमा बहरवादी र बेबहरवादी गजलकारहरुबिच एक किसिमको द्वन्द्व लामो समयदेखि चल्दै आइरहेको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्ने डा. परिश्रमीको भनाइ छ । किनभने यस्तो विवाद भारतीय भूमिमा पनि रहेको छ । तर त्यहाँ शिष्ट किसिमको द्वन्द्व छ । तीनै धारमा कलम चलाइरहनु भएका गजलकारहरुले सार्वजनिक रुपमा एक अर्कालाई ठेस नलगाइ पनि अघि बढ्न पक्कै सकिन्थ्यो होला । तर त्यसो भएको त्यति पाइँदैन । कुनै न कुनै रुपमा एकले अर्कोलाई निषेध गर्ने, एकले अर्कोको अस्तित्व स्वीकार नै नगर्ने जस्ता प्रवृत्ति पनि छन् हामीमा । कहिलेकाहीँ सार्वजनिक रुपमै विवाद खडा गर्ने गरेका उदाहरण थुप्रै छन् । २०७६ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको गजल महोत्सव र त्यसले पारित गरेका बुँदाहरुलाई पालना गर्न सकेको खण्डमा मात्रै पनि विवाद गरिरहनु आवश्यक नभएको परिश्रमीको भनाइ छ । तर केही गजलकारहरुको व्यक्ति विशेषको अहमता र जुँगाको लडाइले पनि विवाद सिर्जना भइरहनुमा ठुलो भूमिका खेलेको देखिन्छ ।
अग्रज पुस्ताभन्दा नयाँ पुस्ता सशक्त, प्रखर भएर आउन सकेको खण्डमा मात्रै कुनै पनि विधाको विकास उँभो गतिमा हुनसक्छ । नयाँ पुस्ता बहुत सशक्त ढङ्गले आइरहेको पनि छ । यसले गजलको विकासमा टेवा त पुर्याइरहेको छ नै । साथमा यो सशक्तताले नयाँ पुस्ताका गजलकारहरुमा अहमता पनि पलाउँदै गएको छ । जसले गर्दा अग्रज पुस्तालाई नटेर्ने, नमान्ने परिपाटी मौलाउँदै गएको छ । हिजोका दिनमा पनि सैद्धान्तिक पक्षलाई नबुझी गजल लेख्नेहरु थुप्रै हुनुहुन्थ्यो । त्यो क्रम आज पनि कायमै छ ।
उसो त नयाँ पुस्तामा गजलको सैद्धान्तिक पक्षलाई बुझेर लेख्ने गजलकारहरु पनि थुप्रै छन् । गजलका सैद्धान्तिक पक्ष जान्न नै नचाहने सर्जकहरु पनि थुप्रै छन् । जसले केवल अरुको देखासिकिमा गजल लेख्दै आएका छन् । उनीहरु सतहमा बसेर गजल सिर्जना गरिरहेका छन्। कतिपय यस्ता गजलकारहरु पनि छन् जसलाई सैद्धान्तिक पक्षको बारेमा राम्रो ज्ञान हुँदाहुँदै पनि बहरमा लेख्न चाहँदैनन् । किन भने बेबहरमा जस्तो बहरमा लेख्दा गहिरो भाव नआउने सम्भावना निक्कै रहन्छ । यसकारण आफ्नो गजल भावका हिसाबले कमजोर होला कि भन्ने पिरले पनि धेरै गजलकारहरु सैद्धान्तिक रुपमा पोख्त हुँदाहुँदै पनि बेबहरमा कलम चलाउँछन् । यता फेरि बहरमा पनि राम्रो छाप छोड्न सकिन्छ भनेर उदाहरणसहित आउने गजलकारको सङ्ख्या पनि कम छैन । यसरी चारै किसिमको प्रवृत्ति हाबी छ नेपाली गजलमा । जे जस्तो भए पनि एक अर्कालाई आरोपित गरिरहनु आवश्यक नभएको डा. परिश्रमीको भनाइ छ । अनुजले अग्रजलाई सम्मान र अग्रजले अनुजलाई प्रोत्साहन गर्नु जरुरी छ । एक अर्कामा सहयोगी भावना र सद्भावपूर्ण व्यबहारको खाँचो छ नेपाली गजलमा । बहस नै गर्नु परेको खण्डमा पनि समझदारी र सद्भावपूर्ण ढङ्गले एक अर्कामा सम्वाद गर्न सकिन्छ । तर एकले अर्कोलाई होच्याएर, गिराएर, सानो देखाएर, आफ्ना कुरा मात्र सही हो भन्ने अहम पालेर गजलको विकास हुन नसक्ने गजलकार परिश्रमी बताउनु हुन्छ ।
भारतीय भूमिमा गजल लेख्नेहरुको सङ्ख्या अन्त्यन्त कम छ । जसले सक्छ , जसले सिद्धान्त बुझ्छ उसले मात्र गजल लेख्ने गर्छन् । त्यो पनि गुरु शिष्य परम्पराबाट । गुरु नमानी गजल लेख्दैनन् । उसले लेखेका हरेक कुराहरू गुरुलाई देखाउँछ । गुरुले त्यसलाई स्वीकृति दिएपछि मात्र उसले बाहिर ल्याउँछ । यस्तो परम्परा भारतीय भूमिमा अहिले पनि कायमै छ । तर हामीकहाँ त्यो चलन छैन । गुरु किन मान्ने ? गुरु कसलाई मान्ने ? भन्ने अहम् छ हामीमा ।
सम्बन्धित विधाको विज्ञ अथवा सिद्धान्त नै नबुझेको भए पनि लेखनमा राम्रो कलम चलेको छ भने उसलाई पनि गुरु मान्न सकिन्छ । तर सतहमा बगेर एकदमै हल्का पाराले लेख्नु भएन । गजललाई वनमारा झार त्यसै भनिएको होइन । डा.गोविन्द भट्टराईले वनमारा झार भन्नुभयो भनेर धेरैले विरोध पनि गरे । गाली पनि गरे । तर उहाँले जे भन्नुभएको थियो नेपाली गजलको शुद्धीकरणका लागि भन्नुभएको थियो । किन भने गजलमा हुनु पर्ने तत्त्व, गजलमा हुनु पर्ने खास गुण, गजलको खासियतलाई नबुझी जबर्जस्ती काफिया र रदिफ मिलाएर लेख्दैमा गजल हुँदैन भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु आवश्यक छ , डा. परिश्रमी भन्नुहुन्छ ।
नेपाली गजलमा लेखनको विषयलाई लिएर देखिने तमाम समस्याका अलवा अर्को पनि एउटा समस्या छ । त्यो हो, हिन्दी र उर्दूका गजलका शेरहरुसँग भाव मिल्न जाने । यो संयोगवश मिलेको पनि हुनसक्छ अथवा जानाजान चोरी नै गरेको पनि हुनसक्छ । यही हो भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन । हिन्दी र उर्दूका मात्रै होइन, स्वयम् नेपाली गजलकारहरुको बिचमा पनि एक अर्कासँग भाव मिलेका गजलहरु थुप्रै भेटिएका छन् । कहिलेकाहीँ यो विषयले पनि सामाजिक सञ्जालमा विवादको रुप लिइरहेको हुन्छ । अरुका गजलसँग भाव मिल्न जानुका तीन कारणहरु देख्नुहुन्छ डा. परिश्रमी । पहिलो कारण, अरुको गजल पढेर प्रभावित हुने र त्यसलाई आफ्ना शब्दहरु प्रयोग गरेर उस्तै भाव आउने गरी लेख्ने । शब्दहरु मात्रै फरक हुन्छन् । भाव ठ्यक्कै मिल्दोजुल्दो हुन्छ । यसरी लेख्नेहरुले आफ्नोपन दिन सकिरहेका हुँदैनन् । दोस्रो कारण छ, विपठन, विश्रवण र विअवलोकनको प्रभाव ।
यसमा के हुन्छ भने कसैको रचना पढिसकेपछि मन मस्तिष्कमा गहिरो ढङ्गले छाप बस्न जान्छ । केही समयपछि कालन्तरमा त्यो आफ्नै हो जस्तो लाग्न थाल्छ र त्यहीअनुसार लेखिन्छ । चोर्न खोजेको त होइन । कसैको सिर्जना पढ्दाखेरि ग्रहण गरेको ज्ञान हो त्यो । तर त्यो कुरा पहिल्यै अर्कोले लेखिसकेको हुन्छ । अर्को तेस्रो कारण छ, यो चाहिँ अलिक गज्जबको हुन्छ । पृथ्वीको कुनै एक कुनामा बसेको एउटा सर्जक र अर्को कुनै कुनामा बसेको अर्को सर्जकको भाव जुध्न जान्छ । जब कि ती दुबैले एक अर्कालाई पढेका हुँदैनन् । सुनेका हुँदैनन् । तर पनि समान भावका सिर्जना कोरिन्छन् । यसलाई संयोग भनिन्छ । यसलाई चोरी भन्न मिल्दैन । यसलाई अनुभूतिको समानता पनि भन्न सकिन्छ । यस्ता खालका समान अनुभूतिहरुले पनि उस्तैउस्तै कुराहरु लेखनमा आइदिन्छन् । यसरी तीन किसिमले लेखनमा एक अर्कासँग भाव मिल्ने गरेको पाइन्छ । यी मध्ये कुन कारणले भाव मिलेको हो भन्ने कुरा चाहिँ लेखकमै भर पर्ने कुरा हो । यसकारण पनि एउटा लेखक आफ्नो लेखनप्रति इमानदार हुनु जरुरी छ ।
साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत हरेक शनिबार प्रसारण हुँदैआएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना”मा गरिएको कुराकानीमा आधारित ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।