बेलायती चित्रकारहरूमा जोन एट्किन्सन ग्रिमसअ निकै प्रख्यात चित्रकार मानिन्छन् । उनी रानी भिक्टोरियाको युगका चित्रकार थिए । १८३६ सेप्टेम्बर ६ मा जन्मिएका उनको देहान्त १३ अक्टोबर १८९३ मा भएको थियो ।

ग्रिमसअको चित्रकारिताले धेरैलाई प्रभावित तुल्याएको थियो, खासगरी राफलियटअघिका चित्रकारहरू धेरैलाई । उनले शुरूवाती समयमा ल्यान्डस्केपहरू बनाउँथे । उनका ल्यान्डस्केपको सुन्दर पक्ष भन्नु नै साना साना कुरामा ध्यान दिनु हो । उनलाई कुनै खास वातावरण, मौसम र समयलाई बुझाउने गरी चित्र बनाउनु मज्जा लाग्थ्यो । त्यो कुरा यहाँ राखिएका चित्र हेर्दा पनि तपाईंले बुझ्न सक्नुहुन्छ । उनले चित्रमा प्रकाशका प्रभावहरूलाई निकै सुन्दर तरिकाले पस्कन्थे र त्यसले खास किसिमको मूड बनाउँथ्यो ।

उनका पछिल्ला कलाकृतिमा भने ग्रिसेली र रोमन दृश्यहरू आउन थालेका थिए । उनले पछि त लङफेलो र टेनिसनजस्ता साहित्यकारका उम्दा सिर्जनाहरूलाई पनि चित्रमा उन्न थालेका थिए । ग्रिमसअ टेनिसनका कवितामा कति मुग्ध थिए भने आफ्ना सन्तानको नाम पनि टेनिसनका कविताका शीर्षकमा राखिदिएका थिए ।

रोचक कुरा त, यति उम्दा सर्जक, कलाकार भए पनि उनले जीवनमा कहिल्यै केही पुस्तक लेखेनन्, आत्मकथा सुनाउन चाहेनन् । कसैलाई चिठ्ठीपत्र पनि लेखेनन् । त्यसैले उनका कामलाई धेरैले बिर्सिएका थिए । क्रमशः २० औँ शताब्दीको मध्यताकाबाट मात्र उनका चित्रहरू कतिपय ग्यालरीमा प्रदर्शन हुन थालेका हुन् । उनका अधिकांश चित्रहरू लिड्स सिटी ग्यालरीमा झुण्डिएको देख्न सकिन्छ ।

दुई दिनअघि मात्र उनको जन्मदिन केही मानिसहरूले, उनका प्रशंसकहरूले चुपचाप मनाए । आउनुहोस्, हामी पनि उनका चित्रहरू हेरी उनलाई श्रद्धासुमन चढाऔः