नेपाली सूक्ष्म कविताहरूको यस शृङ्खलामा पाँच कविका पाँच कविता समावेश गर्ने क्रममा अग्रज पुस्ताका कविहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र भीमनिधि तिवारीका कविता रहेका छन् ।
१. एक टुक्रा
(बालकृष्ण सम)
मानिसकाे जात मानिस नै हो
उसको अर्को जातै छैन
मानिस उभिएको ठाउँ स्वदेश हो
उसको विदेश कतै छैन
अमानुषी व्यवहार पनि मानिसकै हाे
कुनै राक्षस वा देवता छैन
स्वर्ग नरक मानिसकै कृत्रिम स्थल हुन्
अर्को त्यस्तो पत्ता छैन ।
२. दशैँताक
(लक्ष्मीप्रसाद देवकोटा)
त्यो बोकाले खाइरहेछ
खास घाँस !
हामीहरूको अर्कै यहाँ छ
अनाज,
काँढा, काँढा !
त्यो कालो छ,
हामीहरूको सेतो रङ छ
गाढा, गाढा !
क्या मात्तेको मोटो पशु छ छाडा !
आउला दशैँ !
त्यसको बलिदान !
हाम्रो उत्सव !
त्यो होला कति टाढा ?
३. पतकर सोहोर्ने आइमाई
(सिद्धिचरण श्रेष्ठ)
रुखहरूलाई हावाले नङ्ग्याइसक्यो
वसन्त आएर कुचुकुचु लाउँदै,
उनीहरूको शरीरमा पालुवा भरिदियो ।
वसन्त र रुखको आलिङ्गनले
अब चाँडै नै फलफूलहरू जन्मने छन्
तिनीहरूले फेरेको लुगालाई सोहोर्दै
वनबालाहरूले—
सरसर सरसर पतकर सोहोरिरहेछन् ।
४. ‘…’ प्रति
(गोपालप्रसाद रिमाल)
कुन्नी (कुन अल्लारेपनमा)
कुन जून लिपेको सरमा,
कुन सूर्य फुलेको नभमा,
कुन चरीको बोली फुटेको
कुन फूल फुलेको वनमा,
कुन पर्वतको काखमा,
कुन शान्ति–नदी तटमा
मैले चुनेथेँ घर !
अब ती घरका खर गहारा
हुरी–भुँमरीमा घुम्छन्,
हेर्न नसकी चुहिँदा यी आँखा
पग्लिन्छन् ! थुनिन्छन् !
५. द्रौपदीको सारी
(भीमनिधि तिवारी)
दुःशासनले
जति थुते पनि थुति नसकिने
द्रौपदीको सारी !
पक्का पनि
श्रीकृष्ण गालाभित्र बसेका छन्
बत्तीस ओटा सेता गाई चराएर !
सारीको पहाड पहिरो गएर
कति दुःशासन छुराहरू थिचिएर मरे
कति सडेर, गलेर अलपत्र परे
यो दाह्री—
कहिल्यै थुति नसकिने
द्रौपदीको सारी !
(कवि विप्लव ढकाल (२०२४ ,भोजपुर– याकु, मारिङ ) ले कवितामा विद्यावारिधि गर्ने क्रममा छाेटा कविताकाे पनि अध्ययन गरेका थिए । उनका निर्जन बन्दरगाह , कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी , च्याउको जङ्गल जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन्। त्रीचन्द्र कलेज काठमाडाैंमा अध्यापन गर्ने ढकालले दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।)
सूक्ष्म अर्थात स्मार्ट कविता पठाउने ठेगाना viplavdhakal@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।