२०७१ असोज २८ गते बिहानैदेखि कालो बादलले आकाशलाई आफ्नो अंगालोमा बेरेको हुँदा नेपाली लोकवार्ता चौथो राष्ट्रिय संगोष्ठीमा सहभागी हुन हिँडेकाहरू बिच मुसलधारे पानीले कतै बाटो बिग्रेर दुःख पाइने हो कि यो डर भने थियो । भनिरहेका थिए— ‘मुग्लिन र दाउन्नेको भीरमा पहिरो जान के बेर ।’ दाङ जाने मगर र थारू संस्कृति अवलोकन गर्ने, नेपाल संस्कृत विश्वविद्यालयको अवलोकन, स्वर्गद्वारी दर्शन गर्नुको साथै तीन दिन दाङमा नेपाली लोकवार्तामा रमाउनका लागि समय निकालेका थिए सहभागीले । हामी चढेको बस गुड्न थालेदेखि पानी पर्न थाल्यो, दर्कदो पानी बिच हामी चढेको बस मध्यम गतिमा गुड्दै थियो ।

अनि नवलपरासी पुगेपछि नेपाली लोकगीतका संकलक, संरक्षक, गायक तथा जनकविकेशरी धर्मराज थापा दिवंगत हुनु भएको जानकारी प्राप्त भयो । दाउन्नेको उकालो चढ्दा बसभित्र, दर्कदो पानीलाई साक्षी राखेर केही समय मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरेका थियौँ । बस गुड्दै थियो, दाउन्नेको उकालोमा गिएर बिग्रियो, बिग्रिएको मात्र होइन ठुन्किएछ । मिस्त्री र सामान नारायणघाटबाट ल्याउनु पर्ने भो । दिनको चार कटिसकेको थियो, धन्न एक दुइ छाप्रे होटल भए ठाउँ रहेछ, भिज्दै होटेलमा छिरेर दुइ अढाई घण्टाभन्दा बढी समय बितायौँ । राजमार्ग छेउको होटेल हुनु, त्यहाँ ‘घाम अस्त त नेपाली मस्त’ बनाउने जिनिस नहुनु यो पनि कही हुन्छ र ! संभवत तीन चार जनाले उक्त उखानको इज्जत भने राखेकै हुन् । हामी पनि के कम, तातो चिया दर्कदो पानी बीचमा दुई तीन पटक भने पिएकै थियौँ । पानी दर्किदै थियो, चिसो बढेको थियो— यस्तो मौसममा तातातो चियाको मजा नै अर्कै ….।

शीतल गिरी

झमझम पानी पर्दैछ, साझमै अँध्यारोले आफ्नो साम्राज्य बढाउँदै छ, मिस्त्रीहरूले चाडै काम नसकेकोमा हामी लोकवार्ता सम्मेलनमा हिँडेका भने समयमा पुग्न नसकिने चिन्ताले चिन्तित छौँ । सन्तोष यस कुरामा छ, दर्कदो पानीसँग जुध्दै मिस्त्रीहरू दत्तचित्त भई काममा जुटेका छन् । जस्तोसुकै अप्ठारो भए पनि पहाड चढ्नेहरू शिखरमा पुग्छन् नै, बाटो जतिसुकै लामो भए पनि यात्री गन्तब्यमा पुग्छ नै, अन्ततः यात्रा गर्न सक्ने अवस्थामा बस बनाई छाडे अथक प्रयत्न गरेर मिस्त्रीहरूले, अहिले पुनः तिनीहरूलाई धन्यवाद भन्छु ।

झमक्क साँझ परेपछि गन्तव्य भेट्न बस हिँड्यो । पानी पर्ने क्रम नरोकिए पनि अलि कमभने भएको थियो । पानीको रंग रूप हेर्दा कार्यक्रममा असर पार्छ कि भन्ने डर मनमा नबसेको होइन । तर पनि लोकवार्ता संगोष्ठी सफल बनाउनु नै थियो, जस्तो सुकै समस्यालाई चिर्ने विश्वास हामीमा थियो । सबभन्दा ठुलो कुरा आत्मविश्वास हो, होस गुमाइएन भने आटेको काम अवश्य पूरा भएकै छ । आफ्नो सुविधामात्र चाहनु भनेको लोभ हो, आत्मिक गुणको उपेक्षा हो । हामीले अनुभव गर्यौँ यात्रा भनेको यस्तैलाई भनिन्छ । यात्रा गर्दा दुःखै दुःखमात्र पनि व्यहोर्नु पर्दैन । बिहानपख हामी दाङको सदरमुकाम घोराही बजारमा पुग्यौँ, पानी पर्न छाडिसकेको थियो, पूर्व दिशामा मुस्कुराउँदै घाम उदाएर हाम्रो हौसला बढाएको थियो ।

नेपाल बहुजातीय बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधताले युक्त सुरम्य देश हो । लामो समयदेखि यहाँ विविध जातजाति र अनेकौँ भाषाभाषीहरूको पारस्परिक सौहार्दपूर्ण बसाइ रहिआएको छ । आफ्नोपनको सुरक्षा गर्दै यहाँका जनताले सँगै बस्ने अर्को जातिका सांस्कृतिक भाषिक मूल्य तथा मान्यताको सम्बर्धनमा सहयोग गर्दै आएका पनि छन् । नेपालमा बस्ने प्रत्येक जाति नेपाली हो र उसको संस्कृति, भाषा, परमपरा र पहिचान नेपालको पहिचान हो । भौतिक विकासका नाममा आज विश्वमा अनेकौं उथलपुथल भइरहेका छन् ।

नयाँ नयाँ विधि र प्रविधिको विकास हुनु र जीवन पद्धति सरल एवं आकर्षक बन्नु त राम्रो कुरा हो तर त्यही प्रविधिगत प्रयोगबाट जीवनका बहुमूल्य मान्यता लोप हुन थाल्यो भने समाज र संस्कृति अनपेक्षित मोडतिर उन्मुख हुन सक्ने स्थिति पैदा भई परमपरागत जातीय भाषिक र सांस्कृतिक विशाल वटवृक्षका जरामा आवश्यक मलजल पुग्न नसक्ने खतरा बढ्छ । यही कुरा मनन गरेर ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भाषिक र पुरातात्विक दृष्टिले उपयोगी तथा मूल्यवान् मानिने सम्पदाको संरक्षण विश्वव्यापी रूपमा गर्ने उद्देश्यले आयोजना गरिएको दाङ घोराहीको सङ्गोष्ठीमा हामी सहभागी भएका थियौँ । मध्यपश्चिमाञ्चल क्षेत्र नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्य तथा वैभवका दृष्टिले ज्यादै महत्त्वपूर्ण छ । यस क्षेत्रमा प्युठानको स्वर्गद्वारी, जुम्लाको चन्दननाथ, सल्यानको खैरावाङ, बाँकेको बागेश्वरी, दाङको रतननाथ–अविकेश्वरीजस्ता धार्मिक धामहरू र डोल्पाको फोक्सुन्डो ताल, मुगुको रारा दह, रूकुमको स्यार्पु ताल, दाङको जखेरा ताल, रूकुमको सिस्ने हिमाल, दाङको चमेरे गुफाजस्ता प्राकृतिक अनुपम उपहारहरू रहेका छन् । यो क्षेत्र थारु, मगर, खस, अवधी, राउटे, कुसुन्डा, भोटे आदि पृथक् भाषा संस्कृति बोकेका जातजाति र भाषाभाषीहरूले सुशोभित रहेको छ । दाङको घोराहीमा नेपालका अनेकौँ जाति, भाषा, इतिहास, पुरातत्त्व, लोकसाहित्य र संस्कृतिसित सम्बद्ध विषयमा पाँच दर्जनभन्दा बढी संगोष्ठी प्रस्तुत गरियो । नेपालको परिप्रेक्ष्यमा लोकसंस्कृति, लोकसाहित्य, लोकगीतका संकलक र संरक्षक ग्रामीण परिवेशमा हुर्नेका कृषक एवं श्रमिकहरू सक्रीय रहेको पाइन्छ । ग्रामीण जनजीवनमा रहेका कर्मशील नेपालीहरूले स्वतः स्फुर्त रूपमा लोकविधाका माध्यमबाट आफ्नो मौलिक पहिचान दिन चुकेका छैनन् ।

नेपाली लोकसमाजको प्रमुख विशेषता जातीय भाषिक, धार्मिक र सांस्कृतिक विविधता हो । यस भू–भागमा विभिन्न जाति र भाषा समूहका समाज बसाइँ सर्दै आए र आपसी सम्पर्कबाट नयाँ सम्बन्धहरू कायम हुन गयो । बहुआयामिक लोकसमाजको भाषामा पनि विविधता हुनु स्वभाविकै हो र त्यसको मौलिकता अनेकतामा नै अडेको हुन्छ । जनजिब्रोमा रहेको भाषामा रचना गरिएको साहित्यलाई लोकसाहित्य भनिन्छ । उदारता, सरसता, सत्यताको प्रस्फुटन लोकसाहित्यमा हुनु यसको मौलिक पहिचान नै हो ।

लोकसाहित्य मौखिकरूपमा जीवित साहित्य हो । लोकको आशय समग्र जनसमाज जनमानससँग जहाँसम्म सम्बन्धित रहेको छ जुन कुरा हामीले देख्न सक्छौँ जहाँसम्म हाम्रो कल्पना पुग्छ, त्यहाँसम्म लोकको परिधिमा आउँछ । वास्तवमा लोकले आफूलाई व्यक्त गर्न निश्छल चेष्टा गर्दा लोकसाहित्यको जन्म हुन्छ । वास्तविक जीवनको पटाक्षेप गर्ने साहित्यलाई लोकसाहित्य भनेर मान्ने गरेको छ ।

आफ्नो भाषा, आफ्नो पन, आफ्नो सोचाई अनुकूल रचना भएका चिजहरू स्वाभाविक रूपमा उत्थानका बाहक हुन् । लोकले लोकलाई लोककै भाषामा लोकउपकारका खातिर रचना गरिएका साहित्यलाई नै लोकसाहित्य भनिएको हो । यसमा लोकभावनाको प्रस्तुति र अनुभूतिको मार्मिकता व्यक्तिएको पाइन्छ । जनकविको नामले परिचित धर्मराज थापा लगायतका कवि वा गायकले ग्रामीण सुस्केराहरूलाई हाँसो र आँसुलाई मर्म र व्यथालाई आफ्ना स्वर लहरीका माध्यम प्रस्तुत गर्ने गरेको पाइन्छ । लोकसाहित्यका सर्जकहरू वा संकलकहरू निस्वार्थी एवं स्वयंसेवी भावनाबाट प्रेरित हुन्छन् । लोकवार्ता अभियानमा सहभागी बनेका हामीले लोकमा रहेका सर्जक–संकलक खोज्दै उनीहरूको कामको मूल्याङ्कन गर्दै अभिनन्दन गर्ने पनि गरेका छौँ ।

सिद्ध रतननाथ मठ दाङ जिल्लाको सदरमुकाम घोराहीदेखि एक किलोमिटर दक्षिण–पूर्व चौघेरामा अवस्थित छ । प्राचीन कालमा दाङदेउखुरी उपत्यका एक सरोवर रहेछ । कालक्रमले यस सरोवरको पश्चिमतिर फुटेर बवै तथा ऐरावतीबाट पानी निस्कासित भएपछि बिस्तार–बिस्तार बस्ती योग्य बनेको रहेछ । सिद्ध रतननाथको मठमा गोरखनाथद्वारा सिद्ध रतननाथलाई प्रदान गरिएको पात्रलाई स्थापना गरेको छ । आफ्नै खालको अलग विशेषता लिएको सिद्ध रतननाथमठ हामीले अवलोकन गर्न पायौँ । हामीले त्यहाँ सिद्ध रतननाथको वास्तविक परिचय दिने खालको अभिलेख प्रमाणहरू पाउन सकेनौँ । कुनै पनि स्थानको अध्ययन गर्न थाल्दा त्यस स्थानसँग सम्बन्धित व्यक्तिको वास्तविक परिचय प्राप्त गर्न आवश्यक हुन्छ ।
सिद्ध रचननाथलाई नाथ सम्प्रदायको अमूल्य रत्न मानिन्छ ।

दाङको बारकुने दहमा अवस्थित वराहक्षेत्र । मगरहरूको इष्टदेव बार भाइ वराहमध्ये कान्छो वराह । खस समुदायको मस्टो जस्तै लाग्यो मलाई । मगरका बराहको कथा हिन्दू मिथकसँग मेल खाँदैन यसको आफ्नै अस्तित्व छ । पहाडको काखमा दहको किनारमा मनमोहक वनस्थलीमारहेको यस स्थानमा भेडाको बली प्रशस्त चढ्दो रहेछ । भाकल गरेकाहरूको घुँइचो लाग्ने गरेको देखियो, साथै हाँस पनि चढाएको पाइयो ।

प्रथम सत्रको समापनपछि अठार मगरात क्षेत्रका मगर जातिको मुख्य सांस्कृतिक पर्व भुम्याअन्तर्गतको ‘भुम्या’ नृत्य प्रस्तुत गरिएको थियो । भूमि अर्थात् जमिन यानि प्रकृति । भूमिको पूजा, प्रकृतिको पूजा नै भूम्याको सार रहेछ । खासगरी मगरहरू कविलायुग र सो समयको आसपासको समयमा जीविकाको लागि वन, जंगल, खानी आदिहरूमा प्रकृतिसँग जुझ्दै जीवनयापन गर्ने क्रममा अधिकांश समय वनजंगलमै बस्ने गरेको कुरा नेपाल मगर सङ्घ दाङका अध्यक्ष भोपलाल रोका मगरले जानकारी गराएका थिए ।

सङ्गोष्ठीको चौथो सत्रको समापनपछि २०७१ असोज ३० गते बेलुकी डँगौरा थारू जातिमा प्रचलित ‘सख्या पैया’ नाच प्रदर्शन गरिएको थियो ।
थारू लोकसाँस्कृतिक आस्थामा आधारित परम्पराहरूलाई लोकसाँस्कृतिक प्रयोगशालाभित्र जति परिक्षण गर्यो यसमा निहित लोकदर्शन र अन्य विविध तात्विकताको थप उद्घाटन हुँदै जान्छ ।

नेपालको तराई र भित्री मधेशमा पूर्व मेचीदेखि महाकालीसम्म बसोबास गरेका थारूहरूको लोकसंस्कृति अत्यन्त समृद्धशाली छ । वि.सं. २०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय अवलोकन गर्ने अवसर जुर्यो । सोही विश्वविद्यालयलाई भारत सरकारले सहयोग स्वरूप उपलब्ध गराएको बसमा चढेर गएका थियौँ— हामीलाई आयुर्वेद अध्ययन केन्द्र, अनुसन्धान केन्द्र, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, अन्तराष्ट्रिय सम्बन्ध महाशाखाको बारेमा जानकारी गराइयो । संस्कृत विश्वविद्यालयसँग सम्बन्धित क्याम्पस कहाँ कहाँ छन् के के पढाइ हुन्छ सो बारे पनि चर्चा गरिएको थियो । सो विश्वविद्यालय अन्तर्गत ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, नव्यव्याकरण, सिद्धान्तज्योतिष, फलितज्योतिष, नव्यन्याय, प्राचीनन्याय, साहित्य, इतिहास–पुराण, पूर्वमीमांसा, शङ्करवेदान्त, धर्मशास्त्र, सर्वदर्शन, तन्त्र, बौद्धदर्शन, प्राच्यधर्मदर्शन पढाइ हुने रहेछ । नेपाली, अङ्ग्रेजी, मैथिली, हिन्दी, अर्थशास्त्र, राजनीतिशास्त्र, गणितलाई इच्छाधीनमा राखिएको रहेछ । संस्कृत, नेपाली, अंग्रेजी र नेपालपरिचय अनिवार्य बनाइएको रहेछ । यसबाट सो विश्वविद्यालयको स्तर थाहा पाउन सकिन्छ । विश्वविद्यालयका पदाधिकारीको व्यवहार शिशुजस्तो सरल र निष्कपट लाग्यो । भौतिक र विद्यार्थीसंस्था हेर्दा अवस्था नाजुक भनै पर्छ, यसकारण भविष्य कस्तो छ भन्न सकिन्न ।

विश्वविद्यालयको जग्गा भाडामा लिएर बनाइएको÷पालिएको आस्ट्रिच फर्म हेर्न गयौँ । आस्ट्रिच चरा हो यसको भालेको तौल १२० केजीको हुने गर्छ रे नेपालमा भने ८५ केजीसम्मका रहेको जानकारी बटुलियो । यसको अण्डा पनि देखियो, बडो गजबको— आस्ट्रिच त्यत्रो भएपछि ठुलो त हुने नै भयो, अचम्मको कुरो त के भने ढुङ्गामा बजार्दा पनि नफुट्ने सारो । प्रत्यक्ष रूपमा जीवनमा पहिलो पटक देखिएको यस चराको मासु भने सस्तो हुँदो रहेनछ, चौखुट्टेमा भने ठुलो शरीरको रागाको मासुको अनुपातमा खसीको महंगो हुन्छ । हामी काठमाडौंबाट हिँड्दा पर्न थालेको पानीले सङ्गोष्ठीका सम्पूर्ण सहभागी राप्ती अञ्चलको प्युठान जिल्लामा पर्ने ऐतिहासिक एवं पवित्र धार्मिक तीर्थस्थल स्वर्गद्वारीको अवलोकन भ्रमण रोकियो । असमयको बर्षाको कारण सतीको लेकमा परेको हिउलेगर्दा बस जान सकेन ।

हो, हामी असोज २९ गते झिसमिसेमै दाङको घोराहीमा पुगेका थियौँ । समुद्घाटन समारोह स्थल जि.वि.स.हल सिंगारिएको थियो । दाङ सङ्गोष्ठीको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम कार्यक्रम सञ्चालक, संयोजक डा.गोविन्द आचार्य सभापति, भारत उत्तराखण्डका पूर्व मुख्य मन्त्री माननीय भगतसिंह कोश्यारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि माननीय कोश्यारी एवं विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.शिवहरि मरहठ्ठाबाट संयुक्त रूपमा सन् २०११ मा भारतको देहरादूनबाट सम्पन्न अन्तराष्ट्रिय लोकवार्ता सङ्गोष्ठीमा प्रस्तुत गोष्ठीपत्रहरू समावेश भएको प्रकाशित पुस्तक …Beforgence of Nation States : Indo Nepal Relation in UttarakhandÚ, डा.गोविन्द आचार्यद्वारा लिखित ‘नेपाली लोकसङ्गीतको विश्लेषण’ र प्रा.डा.मोतीलाल पराजुलीद्वारा लिखित ‘नेपाली लोककथा सिद्धान्त र विश्लेषण’ नामक पुस्तकहरूको लोकार्पण गरिएको थियो । प्रमुख अतिथि कोश्यारीले ‘आफ्नो लोकसंस्कृति नै देशलाई चिनाउने आधार’ भएको भन्दै त्यसको संरक्षणमा सबै लाग्नु पर्ने कुरा बताएका थिए । कला, संस्कृति र भाषा बचाउने अभियानलाई विश्वव्यापी रूपमा विकसित गर्दै लैजानु पर्ने भन्दै प्रमुख अतिथिले जीवन र जनतासित जोडिएको कला र संस्कृतिको संरक्षणले मात्र देश सांस्कृतिक रूपमा धनी हुने कुरा व्यक्त गरेका थिए ।

पहिलो सङ्गोष्ठी सत्र प्रा.डा.चूडामणि बन्धुको अध्यक्षतामा सञ्चालन भएको थियो । यस सत्रमा अशोक थारूले ‘थारू लोकसांस्कृतिक अनुष्ठानः हार्या गुरै’, इद्रिस सायलले ‘नेपालको मुस्लिम समुदायमा प्रचलित मोहर्रमी गीत’, ओम रिजालले ‘दुल्लु क्षेत्रमा प्रचलित राइसुवा गित’, प्रा.डा.कपिलदेव लामिछानेले ‘नेपाली गाउँखाने कथामा गणितीय सन्दर्भ’, प्रा.डा.कुलप्रसाद कोइरालाले ‘लोक र शास्त्रको अन्योन्याश्रित सम्बन्ध’, कुलराज निरौलाले ‘जाऊ काशी पढ्नलाई सँगिनी गीतको विश्लेषण’, डा.कुसुमाकर न्यौपानेले ‘लोकगीतको सन्दर्भ’ र डा.कृष्णप्रसाद न्यौपानेले ‘लोकजीवन र जनसाहित्य’ प्रस्तुत गरेका थिए । प्रा.डा.वसिष्ठ अनूप (भारत)को अध्यक्षतामा सञ्चालित सत्रमा कृष्णराज सर्वहारीले ‘लोकजीवनमा थारू लोकबालसाहित्य’, के.बी.सिम्पलले ‘कर्णाली लोकगीतमा अवाली गीतको अवस्था’, गुड्डी पन्तले ‘ज्यूँती रचनाः एक लोककला’, गोपाल अश्कले ‘लोकसंस्कृतिमा गंगा’, डा.गोविन्द आचार्यले ‘थारू जातिको लोकनाटक “कठ्घोरी”’, प्रा.डा.चूडामणि बन्धुले ‘राउटे संस्कृतिः निरन्तरता र परिवर्तन’ र छविकिरण वलीले ‘नेपाली लोकसाहित्यमा सिङारू र टप्पाको तुलनात्मक संक्षिप्त अध्ययन’ प्रस्तुत गरेका थिए ।

प्रा.डा. प्रेमकुमार खत्रीको अध्यक्षतामा संचालित सत्रमा डा.जगमान गुरूङ लगायत सात जनाको सङ्गोष्ठीपत्र प्रस्तुत भएको थियो । जसमा प्रा.डा.जयराज पन्त, जितबहादुर रायमाझी, तुलसीराम खनाल ‘प्रवास’, तुलसीमान श्रेष्ठ, दिलविक्रम आङदम्बे, प्रा.डा.देवसिंह पोखरिया (भारत)ले गोष्ठिपत्रको सार प्रस्तुत गर्नुभएको थियो । चौथो सङ्गोष्ठी सत्र प्रा.डा.देवसिंह पोखरिया (भारत)को अध्यक्षतामा सञ्चालन भएको थियो । यस सत्रमा डा.ध्रुवकुमार घिमिरे, डा.ध्रुवप्रसाद भट्टराई, प्रतिभा पुन, प्रा.डा.प्रेमकुमार खत्री, डा.बद्रीप्रसाद शर्मा बिनाडी, बमकुमारी बुढा, बालकृष्ण शर्मा र प्रा.डा.बेनी जङ्गम रावलको गोष्ठीपत्र प्रस्तुत भएका थिए । प्राज्ञ नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सञ्चालित सत्रमा डा.भक्त राई, प्रा.डा.भवनेश्वर पनेरू, डा.मधुसूदन गिरी, प्रा.डा.मोतीलाल पराजुली, यज्ञराज उपाध्याय, रामप्रसाद घिमिरे र लक्ष्मी पोखरेल प्रस्तुत भएका थिए । डा.जगमान गुरूङको अध्यक्षतामा संचालित सत्रमा प्रा.डा.वसिष्ठ अनुपको ‘भोजपूरी लोकगीतो में स्त्री की दशा’, विक्रममणि त्रिपाठीको ‘अवधी लोककलाः कलाप्रियता तथा सौन्दर्यको सजीव चित्रण’, शशि थापा पण्डितको ‘समाजको एकतामा अभिवृद्धि गर्ने जात्रा इन्द्रजात्रा’, डा.शिवकुमार सुवेदीको ‘स्वर्गद्वारी तीर्थः परिचय’, डा.शिवकुमार पौडेलको ‘नेपाली उखान र कुमाउँनी उखानको सामाजिक साँस्कृतिक परिवेश’, शीतल गिरीको ‘बज्जि संस्कृतिः एक परिचय’, प्रा.डा.शेखर पाठक (भारत)को ‘उत्तराखण्ड की सङ्गीत परम्परा’, डा. हिरण्यलाल ज्ञवालीको ‘लुम्बिनी अञ्चलका लोकगीतमा अभिव्यक्त धार्मिक जीवन’, जगतराम यादवको ‘अवधी साहित्य में जातीय लोकगीत “विरहा”’, दिव्येश्वरी जोशीको ‘डोटेली लोकगीतको परिचय र त्यसको प्रकार’, र पद्मराज जोशी ‘प्रभात’को लोकगीतमा डेउडा गीतको अवस्था’ का सार प्रस्तुत गरिएका थिए ।

असोज ३० गते राति हाम्रो स्वागत लोकदोहरी साँझमा भएको थियो, जसमा लोकवार्ताका तुलसीमान श्रेष्ठ, डा.भक्त राई, दिलविक्रम आङदम्वे, बालकृष्ण शर्मा लगायतकाले गाएर, नाचेर रात रंगीन बनाएका थिए ।  दाङको बसाइ आनन्ददायक थियो, रमाइलो थियो, कुनै किसीमको असजिलो भएन, गुनासो गर्ने ठाउँ छैन र अहिले मेरो मनले दिँदै छु धन्यवाद ।