हाल बेलायतमा बसोबास गर्दै आएका आख्यानकार भरतकुमार श्रेष्ठ ‘विवश’द्वारा रचित र शुक्ला साहित्य सङ्गम, तनहुँले प्रकाशित गरेको ‘अपहरण’ कथासङ्ग्रह (२०७९) मा जम्मा १२ वटा केही लामा र केही छोटा खालका कथाहरु समेटिएका छन् । कूल ३५२ पृष्ठको आयाम ओगटेको यो कृतिभित्र कथाहरु घटीमा ९ पृष्ठदेखि बढीमा ५७ पृष्ठको आयाममा फैलिएका छन् । यी कथाहरु हेर्दा केही लामा खालका भए पनि पढ्दै जाँदा पाठकको मन तान्न सक्ने खालका छन् ।
आमुखः
समथरका केही थारु र पहाडी भेगका चेपाङलाई छाड्ने हो भने चितवन पूरै आन्तरिक आप्रवासीको भूमि हो । सुरुमा खाना, छाना र नानामा भुलेको चितवन यतिबेला नेपाली साहित्यको सिर्जनामा निकै जागेर लागेको छ । त्योभन्दा पनि माथि उठेर चितवन लेखनभन्दा पनि पठन र परिचर्चाका सन्दर्भमा अझ सक्रिय बनेको छ । यसमा यहाँ क्रियाशील एक दर्जनभन्दा बढी साहित्यिक संस्थाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । देशभित्र होस् कि देशबाहिर बस्ने स्रष्टा होस् कृति निस्किएपछि एक पटक चितवनमा अन्तक्र्रिया भइदेओस् भन्ने चाहना अचेल लेखकहरुका बढ्न थालेको पाइन्छ । यस्तै चाहना राख्ने स्रष्टा हुन्, भरतकुमार श्रेष्ठ ‘विवश’ । उनको दोस्रो कृति र पहिलो कथासङ्ग्रह बनेर आएको ‘अपहरण’ यो सिलसिलामा अगाडि बढेको छ । अन्तक्र्रियामा भाग लिनका लागि कृति पढिसकेपछि केही लेखेर पाठकसमक्ष पुर्याउने ध्येयले यो समीक्षा तयार पारिएको हो ।
प्रवासको जीवन र कृतिमा चित्रणको सन्दर्भः
आफ्नो थात थलो छाडेर खाना, छाना, नाना र शिक्षाका लागि हाम्रा पितापुर्खा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ जाने गरेका थिए । चितवन त्यसरी बसाइँ आएकाहरुले आवाद गरेको भूमि हो । त्यसैले यहाँ विविध संस्कृति भेटिन्छ । अचेल सुरक्षा, सेवा र सुविधाका लागि पनि त्यस्ता आप्रवासनका घटनाहरु हुने गरेका छन् । सुरुमा यसरी बसाइँ जानेलाई हावापानी, समाज र संस्कृतिले अप्ठ्यारो पार्ने गरेको देखिन्छ । पछि उनीहरु बिस्तारै घुलमिल हुन थाल्छन् । यसरी जीवन फेरि लयमा चल्न थाल्छ ।
अचेल यस्तो आप्रवासन देशभित्र मात्र होइन, देशबाहिर पनि हुने गरेको पाइन्छ । हिजोआज नेपालभित्र एस्.ई.ई. वा +२ उत्तीर्ण गर्ने बित्तिकैका युवा विदेशको सपना देख्न थालिहाल्छन् । सक्नेहरु युरोप, अस्ट्रेलिया र अमेरिकाको सपना देख्छन् । नसक्नेहरु खाडी मुलुकमै भए पनि आफ्नो भविष्य खोज्न तल्लीन हुन्छन् ।
यसरी प्रवास जानेहरुको विषयलाई अचेलको साहित्यले प्रशस्त चित्रण गरेको पाइन्छ । चाहे कविता होस्, चाहे कथा होस् वा उपन्यास सबैले यस विषयमा रुचि देखाउन थालेका छन् । बेलायतमा बसेर आफ्नो सुन्दर भविष्य खोजिरहेका कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को नवीन कथासङ्ग्रह ‘अपहरण’का कथामा मूलतः देशभित्रका कथा आएको भए पनि यो विषयलाई कताकति रुपमा उठाइएको पाइन्छ ।
‘अपहरण’का कथा र कथाकारको चर्चाः
कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को जन्म वि.सं. २०३२ मा तनहुँको भिमादमा भएको हो । उनका पिता स्व. जगतबहादुर श्रेष्ठ हुन् भने माताको नाम मिसिरी श्रेष्ठ हो । उनले त्रिभुवन विश्वविद्यालयबाट वनविज्ञान र अङ्ग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरेका छन् । हाल उनी बेलायत बस्दै आएका छन् । उनको पहिलो कृति ‘यात्रा जिन्दगीको’ अनुभूति ग्रन्थका रुपमा प्रकाशित भएको छ भने दोस्रो कृति ‘अपहरण’ शीर्षकको कथासङ्ग्रह बजारमा आएको छ ।
शुक्ला साहित्य सङ्गम, तनहुँले प्रकाशित गरेको ‘अपहरण’ कथासङ्ग्रह (२०७९) मा जम्मा १२ वटा कथाहरु समेटिएका छन् । कूल ३५२ पृष्ठको आयाम ओगटेको यो कृतिभित्र कथाहरुले भने जम्मा ३३४ पृष्ठ ढाकेका छन् । घटीमा ९ पृष्ठदेखि बढीमा ५७ पृष्ठको आयाममा फैलिएका यी कथाहरु केही लामा खालका छन् । सङ्ग्रहभित्रको पहिलो कथा ‘खरानीमा फुलिरहेको मखमली’ ५७ पृष्ठको आयाम बोकेको सबैभन्दा लामो कथा हो भने चौथो कथा ‘मेरो सानो घर’ जम्मा ९ पृष्ठमा संरचित छोटो खालको कथा हो । अन्य कथाहरु ‘पुत्रमोहका जिजीविषाहरू’ले १५ पृष्ठ, ‘दलीय यात्रामा नागबेली जीवन’ले २१ पृष्ठ, ‘चिट पनि उही, पट पनि उही’ले २५ पृष्ठ, ‘घरकी बत्ती’ले २५ पृष्ठ, ‘तन कता कता, मन त उहीँ’ले ३० पृष्ठ, ‘बाँचे हाँस्न पाइन्छ’ले २४ पृष्ठ, ‘फाली खुस्किएको हलो’ले ३३ पृष्ठ, ‘धर्मले नसिकाएको कर्म’ले ३६ पृष्ठ, ‘नभेटिएको हिरा भेटिँदा’ले ४१ पृष्ठ र ‘हैन ‘म’ मिस्टर बिन’ले १८ पृष्ठको आयाम ओगटेको छ ।
‘अपहरण’का कथामा प्रवासका कुराः
‘अपहरण’ का अधिकांश कथा नेपाली माटोसँग सम्बन्धित छ । यसमा लेखकले म पात्रका माध्यमबाट सबै कथा कथ्ने वा सुनाउने काम गरेका छन् । सन्दर्भअनुसार ठाउँ ठाउँमा प्रवासको कुरा गरेको भए तापनि कथा भन्दै जाँदा कथाकार नेपालभित्रकै कुनै न कुनै गाउँमा प्रवेश गरिहाल्छन् । यसर्थ यो कृति डायस्पोरा वा आप्रवासनको कृति बनेको छैन । यसमा प्रवासमा रहेका कतै बेलायतको कुरा, कतै अमेरिकाको कुरा, कतै हङकङका कुरा, कतै नर्वेका कुरा, कतै अस्ट्रेलियाका कुरा त कतै कोरियाका कुरा झल्याक झुलुक मात्र देखिएका छन् । यस कृतिभित्र यसरी आएका प्रवासका सन्दर्भलाई निम्नानुसार चर्चा गरिएको छः
‘अपहरण’ कथासङ्ग्रहभित्रको दोस्रो कथा ‘पुत्रमोहका जिजीविषाहरू’को उठान बेलायतबाट गरिएको छ । तर त्यसपछिका सारा घटना नेपालभित्र घटेका पाइन्छ । कथाकारले यो कथाको उठान यसरी गरेका छन्ः
“यतिबेला बेलायतको समयअनुसार बिहानको ४.३० बजेको छ । कति बिरालोकोजस्तो पारामा उठेर काममा हिँडिसके, सँगै सुतेको साथीलाई डिस्टर्ब होला भनेर । राति अबेरसम्म काम गर्नेहरुको लागि मध्यरातको निद्रा भइरहेको छ । म पनि लुसुक्क उठेँ, सँगै सुरिरहेकी सानी छोरीलाई डिस्टर्ब होला भनेर ।” (पृ. ७४)
माथिको सन्दर्भले बेलायतमा बस्ने व्यक्तिले आफ्नो बारेमा भन्दा पनि अरुलाई समस्या नपरोस् भनेर सारा क्रियाकलाप गर्नुपर्ने कुरालाई मार्मिक रुपमा उतारेका छन् । त्यो अरु साथी, छिमेकी वा परिवारका अन्य सदस्य पनि हुन सक्ने कुरा माथिको कथांशले राम्ररी देखाएको छ ।
त्यस्तै सङ्ग्रहको तेस्रो कथा ‘दलीय यात्रामा नागबेली जीवन’मा देशभित्र राजनीति गर्ने सोझो कार्यकर्ताको भविष्य सुनिश्चित नभएको कुरा गरिएको छ । देशमा भविष्य सुन्दर नदेखेपछि विदेश लागेको सौगात भन्ने एउटा पात्रको भोगाइलाई कथामा यसरी उतारिएको छः
“यतिबेला म ओस्लो युनिभर्सिटी नर्वे भन्ने देशमा अध्ययन गरिरहेको छु । गाउँको गोधुली साँझले हरपल मलाई नै बोलाइरहेको पाउँछु ।” (पृ. १०३)
प्रवासमा पढ्न भनेर गएको पात्रले प्रवासमा पनि देश सम्झिएको कुरा माथिको कथांशमा आएको छ । यसैले कथाकार प्रवासमा पनि देश बोकेर बाँचेका छन् भन्ने पुष्टि गर्न सकिन्छ ।
त्यस्तै सङ्ग्रहको सातौँ कथा ‘तन कता कता, मन त उहीँ’मा बेलायतमा बसेको गौरव भन्ने पात्रको जीवन भोगाइ आएको छ । बेलायतमा बसेको भए पनि उसको मन घरिघरि नेपालमा विचरण गर्छ । कथाको सुरुआत यसरी गरिएको छः
“यतिबेला बेलायतको समयअनुसार बिहानको ४ बजेर १५ मिनेट गएको छ । सधैँझैँ झ्याल खुल्ला राखेर सुतेको थिएँ हिजो राति पनि । सानैदेखिको मोटो शरीर मेरो, मोटै भएकाले होला मलाई प्रायः गर्मी नै भइरहन्छ । झ्याल नखोली सुत्नै सक्दिनँ ।” (पृ. १६९)
माथिको कथांशमा नेपालीपन छ । मोटो मान्छेलाई प्रायः गर्मीको महसुस हुन्छ भन्ने नेपाली धारणा हो । यहाँ म पात्र बेलायतमा बसेको भए पनि नेपालमा जस्तै झ्याल खुल्ला राखेर सुत्ने गरेको कुरा पनि गरेको छ । त्यस्तै यही कथामा बेलायतमा बसेर कोरोना कहरलाई कसरी झेलिरहेको थियो भन्ने कुरालाई यसरी सम्झना गरिएको छः
“प्रेसर छ, डाइबेटिजको दबाइ पनि खाइरहेको छु । बेलायती सञ्चार माध्यमहरुले डाइबेटिजको बिरामीले विशेष रुपमा सजगता अपनाउनुपर्छ, यो कोरोनाको महामारीको बेला भनेको भन्यै छन् ।
यति नै बेला नेपालबाट फोन आयो चाँदनीको । सोधिन्, “गौरव सन्चै छौ ?” (पृ. १९७–१९८)
माथिको कथांशमा संसारले भुल्नै नसक्ने गरी झेलेको कोरोना कहरलाई बेलायती भूमिमा बसेको गौरव भन्ने पात्रले कसरी झेलेको छ भन्ने चर्चा गरिएको छ । त्यस्तै नेपालमा बसेकी उसकी प्रेमिकासँग फोनवार्ता भएको पनि देखाएको छ । यसर्थ पात्रको तन र मन फरक फरक ठाउँमा छ भन्ने देखाइएको छ ।
त्यस्तै सङ्ग्रहको एघारौँ कथा ‘नभेटिएको हिरा भेटिँदा’ अमेरिका पढ्न भनेर गएको तर उतै स्थायी बसोबास गर्न चाहेको उत्कर्षको जीवन भोगाइ चित्रण गरिएको छ । अमेरिकामा बिरामी पर्दा उसकी प्रेमिकाले एक्लै छोडेकी, अरु साथीले सहयोग गरेका र तिनै साथीमध्ये कृपासँग विवाह गरी उतै बस्न चाहेको तर दुबै जनासँग पर्मानेन्ट भिसा नभएको र भिसाको म्याद सकिन लागेकाले चिन्तित भएको कुरा देखाइएको छ । उनीहरुले डि.भी. भरेका र पालै पालो पहिला कृपाको र पछि उत्कर्षको डि.भी.को नतिजा आएकाले उनीहरुमा खुसीयाली छाएको कुरा यसरी देखाइएको छः
“सौभाग्य भनौँ मेरो कार्ड पनि मैले नै हस्ताक्षर गरेर लिन पाएँ । फेरि घरमा खुसीको बाढी नै चल्यो । तर पहिलाको अनुपातको बाढी भने थिएन त्यो ।
अन्ततः हामीलाई अमेरिकाले बाँधेर राख्न चाह्यो । कहिल्यै नदेखेको हिराको देशमा, नभेट्टाएको हिरा भेटिँदा दङ् लाग्यो तर कतिञ्जेल ?” (पृ. ३३२)
माथिको कथांशमा डि.भी. परेर भएको खुसी पनि कति दिन टिक्ला भनेर प्रश्न गरिएको छ । यसर्थ लेखकमा विदेशमोह निकै कम छ भन्ने प्रष्ट हुन्छ ।
त्यस्तै सङ्ग्रहको बाह्रौँ वा अन्तिम कथा ‘हैन ‘म’ मिस्टर बिन’ कोरियामा लामो समय बिताएर नेपाल फर्केको अनुभव भन्ने पात्रको जीवन भोगाइ आएको छ । ऊ पढाइमा राम्रो भए पनि पैसा कमाउन हङकङ हुँदै कोरिया जाने सपना देख्छ । यसपछि कथामा उसले हङकङतर्फ यसरी पाइला चाल्छः
“शाही नेपाल वायुसेवा निगम लेखिएको त्यो जहाजले हामीलाई बोक्दै उड्यो काठमाडौँको आकाशमा । आहा ! काठमाडौँ त यति सुन्दर छ भने हङकङ त झन् कति सुन्दर होला भन्ने मनमा तर्कना आइरह्यो ।
१०।१२ दिन हङकङमा बसियो । दिन र रात पनि थाहै पाइएन । २४सै घण्टा बत्ती बलिरहने ।” (पृ. ३३६)
माथिको कथांशमा नेपालमा बिजुली बत्तीको राम्रो सुविधा नभएको कुरा गरिएको छ । तर हङकङमा जहिले पनि उज्यालो हुने भएकाले म पात्रले दिन र रात छुट्याउन सकेको छैन । त्यस्तै लामो समय कोरिया बस्दा उसले गरेका अनुभवलाई कथामा यसरी उतारिएको छः
“१४ वर्ष बित्दा १४ महिना बितेझैँ पनि लागेन । सन् १९९४ पछि मात्रै कोरियामा मोबाइल आयो । त्यतिबेला पेजर थियो । पेजर गयो, मोबाइल आयो । मोबाइलको मूल्य असाध्यै महँगो थियो । लगभग १००० डलर जति पर्ने । मोबाइल मलाई लिन मन लाग्यो । साहुको नामको मोबाइल झन्डै १ वर्षसम्म चलाएँ मैले ।” (पृ. ३४६)
माथिको कथांशमा पेजर र मोबाइलको प्रसङ्ग उठाइएको छ । अचेलका युवालाई एकादेशको कथाजस्तो लाग्ने सन्दर्भ यसमा मार्मिक रुपमा चित्रण गरिएको छ । प्रवासमा रहेर पनि साहु मनकारी भएकाले उसको मोबाइल आफ्नै ठानेर प्रयोग गर्न पाएको सन्दर्भ यसमा उठाइएको छ ।
यसरी ‘अपहरण’ कथासङ्ग्रहमा रहेका १२ वटा कथामध्ये जम्मा पाँच वटा कथामा मात्र ठाउँ ठाउँमा विदेशको प्रसङ्ग आएको छ । ती मध्ये पनि ‘हैन ‘म’ मिस्टर बिन’मा करिब डेढ दशक कोरिया बसेर फर्केको कुरा गरिएको छ । ‘तन कता कता, मन त उहीँ’ कथामा बेलायतमा बसेको कुरा गरे पनि घरिघरि नेपालको सन्दर्भ आएको छ भने ‘नभेटिएको हिरा भेटिँदा’ एउटा मात्र यस्तो कथा हो, जसमा अमेरिकामै बसेको सन्दर्भ आएको छ । त्यति मात्र नभएर भिसा सकिन लागेको, डि.भी.को रिजल्ट नआएर हैरान भएको र अन्तिममा डि.भी. परेपछि त्यसलाई हिरा सम्झेर बसेको देखाइएको छ । यसर्थ यी कथामा प्रवास कम स्वदेश ज्यादा आएको पाइन्छ ।
अन्त्यमा, कथाकार भरतकुमार श्रेष्ठलाई ‘अपहरण’ कथासङ्ग्रह प्रकाशित गरेकोमा साधुवाद छ । उनको आत्मपरक खालको वर्णनशैली राम्रो छ । तर कतिपय कथामा एकभन्दा बढी पात्रको कथा भन्ने क्रममा म पात्रलाई अघि सारेर उसको मुखबाट भन्न लगाउँदा पाठकले कथावाचक को हो ? म कसको बारेमा पढ्दै छु ? भन्ने कुरा ठम्याउन हम्मे हम्मे पर्ने स्थितिको सिर्जना भएको छ । यसभित्रका कथाहरु निकै लामा छन् । पढ्दा दिक्क नलागे पनि पढ्नका लागि समय बढी दिनुपर्ने समस्या खडा भएको छ ।
कथाकार ‘विवश’ प्रवासमा करिब दुई दशक बसेको भए पनि उनको मनभित्र नेपाल छपक्कै अटाएको छ । उनी कथाभित्र प्रवासीजस्तो कतै पनि लाग्दैनन् । तर उनको वर्णन शैली कतै कतै पट्यारलाग्दो बनेको छ । उही घटना दोहोरिएका छन् । सानो घटनालाई पनि ज्यादा वर्णन गर्ने उनको शैली अङ्ग्रेजी साहित्यका पुरातन लेखक डी.एच्. लरेन्सको जस्तो लाग्छ । यो नै उनको कथा कथनको शक्ति र सीमा पनि हो । आगामी सङ्ग्रहमा यस्तो नहोस्, चुस्त दुरुस्त कथा पढ्न पाइयोस् । यदि उनमा लामो लेख्ने धैर्यता छ भने उपन्यासमा काम गर्ने सल्लाह दिँदै यो कृतिको सफलताको शुभकामना सहित यो समीक्षाबाट विश्राम लिन्छु । भवतु सब्ब मङ्गलम् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।