
३. हिमवृक्षको टुप्पोतिर
अगिल्लो दिन भेटेको दियाल वनका बीचको त्यो चटकी हिमवृक्ष र त्यहाँका हिउँमानवहरूका बारे केटाकेटीले आमा-बाबुलाई केही बताएनन् किनभने त्यो कुरा बताए आमा-बाबुले उनीहरूलाई फेरि त्यहाँ जान रोक्लान् भन्ने डर थियो । तर उनीहरूले भने रातभर त्यसैको बारेमा मात्र कुरा गरिरहे ।
“हामी त्यो वनमा फेरि कहिले जाने दाइ ?’ चन्चल गीता घरिघरि दाजुसँग सोध्थी- ‘छिटै जाने है दाइ ? है भन्या… है ?’
“नकराऊ गीता, यस्तो राती कहाँ जाने ? भोलि दिउँसो पो त जाने’ अमरले भन्यो । तर ऊ पनि त्यहाँ जान मनमनै छटपटाइरहेको थियो । अघि दिउँसो त्यहाँ भेटेका एकबित्ते हिउँमानव, हिउँको त्यो इन्द्रजाली रूख, त्यसका टुप्पाबाट आएको बाँसुरीको स्वर र गीतको स्वर – यी सबै कुराले उसलाई तुरुन्तै उडेर त्यहाँ पुग्न मन लागिरहेको थियो, त्यस बाँसुरीको स्वरलाई पछ्याउँदै रूखको टुप्पामा पुगेर त्यस गाउने मानिसलाई भेटुँझै भइरहेको थियो । तर त्यतिबेला राती त्यहाँ जाने त के घरबाटै निस्कने पनि कुरा थिएन । आमा-बाले जानै दिनुहुन्न । त्यसैले ऊ मन मारेर बसेको थियो ।

एनिड ब्लाइटन
‘अहिले चुप लागेर सुत उसले भाइ-बहिनीलाई भन्यो- ‘भोलि बिहानै हामी बा-आमासँग आज्ञा मागेर वनभात खान दियाल वनमा जाऔंला । त्यसो भए बा-आमाले पनि केही भन्नुहुन्न ।’
“अनि हामी त्यो रूखको टुप्पोमा चढ्ने है त दाइ ?’ गीताले चुलबुलिँदै भनी- ‘त्यहाँ माथि बाँसुरी बजाएर गीत गाउनेलाई भेट्न पाए त क्या मजा हुन्थ्यो ।’
“के मज्जा हुनु, त्यस्तो जाबो !’ आशिषले नाक चेप्य्रायो । तिमी नचढे के त ! हामी चढ्ने हगि दाइ ?’
‘हो-हो चढ्ने-चढ्ने’ अमरले भन्यो- ‘त्यसैले त अहिले चुप लागेर सुत भनेको । त्यहाँ गएर वनभात खाने, अनि …’
‘अनि ती बित्ते देउताहरूलाई पनि वनभात खान दिने है दाइ ?’ गीताले भनी
‘किन नदिनु ‘ आशिषले भन्यो- उनीहरूलाई नदिई त खानै हुन्न त्यहाँ ।’
भोलिपल्ट बिहान राम्रो उज्यालो हुनै नपाई ती केटाकेटीहरू खुब फुर्तीसाथ उठे । दियाल वनमा जान पाउने आशाले आमा-बालाई पनि निकै फुर्तीसँग सघाए । त्यो देखेर आमाले मनमनै खुसी भएर ठट्टा गर्दै भन्नुभयो- ‘आज त निकै फुर्तिला छौ नि! किन हो ? अगिपछि त चिया खान उठ भनेर दसपल्ट कराउँदा पनि नउठ्नेहरू, आज त यति सबेरैदेखि …।’
ठीक मौका ठानेर अमरले गीतालाई इसारा गर्यो । गीताले लाडिँदै आमाको कम्मरमा झुन्डिएझैँ गर्दै भनी- ‘आमा ! आज हामी दियाल वनमा वनभात खान जाने है !’
किन दियाल वनमा ?’ आमा छक्क पर्नुभयो । ‘राराको वनतिर जाओ न ! बरू ! … रारामा हिमालको छायाँ परेको हेर !’
‘नाइँ’ आशिषले भन्यो- ‘रारामा त पुग्नै दिनभरि लाग्छ । अनि कुन बेला खेल्ने, कुन बेला वनभात खाने नि ? … घर आउन पनि अबेर हुन्छ ।’
ठीक छ, दियाल वनमै जाऔला’ आमाले भन्नुभयो- ‘तर आज होइन, भोलि । आज बा र म बजार जान्छौं । …घरमा कोही हुँदैन । भोलि सबेरै जानू । म खानेकुरा बनाइदिउँला । दिनभरि खेल्नू । ‘साँझ नपर्दै घर आउनू ।’
त्यो रात भोलि कुनबेला उज्यालो होला र दियाल बनतिर दगुरौंला भन्ने छटपटीले उनीहरूलाई राम्रोसँग निद्रा पनि लागेन । भोलिपल्ट झिसमिसेमै उनीहरू ओछ्यानबाट जर्याकजुरूक् उठे । उनीहरूले झ्यालको पर्दा सर्काएर दियाल वनतिर हेर । झिसमिसे उज्यालोमा कुइरोको ओढ्ने ओढेको दियाल बन, त्यसको माझमा बादलमा टोपी छिराएर उभिएको हिमवृक्ष । …आहा ! कति राम्रो मनै भुलाउने । अहिले पनि त्यसको टुप्पाबाट कसैले बजाएको बाँसुरीको स्वर उनीहरूको कानमा मह चुहेझैँ चुहिरहेको थियो ।
केटाकेटीहरू तल गएर हात-मुख धोए । बा-आमासँग कौला गरे । अनि आमाले वनभातका लागि आलु-काउलीको तरकारी, मासु-चिउराको पुलाङ, केही फलफूल र थरमसमा दूध, अनि दुई सिसी तातो पानी ठीक पारिदिनुभयो । उनीहरू झोलामा सबै कुरा हालेर, एउटा सानो सफारी पाल पनि बोकेर बनतिर झरे । उनीहरूले बाक्ला उनीका स्विटर, जनीकै माकलटोपी लाएका थिए ।
‘चटकी रूखको चढाइ,
भाइ, बहिनी र अमर दाइ !’
आशिष र गीता बाटाभरि गाउँदै उफ्रिदै हिँडे । उनीहरू ओरालो पाखामा बाख्राका पाठा कुदेझैँ कुद्दै हिमाली खोल्सो तरेर दियाल वनतिर पुगे । हिमाली कन्दरामा यो उनीहरूको पहिलो साहसी पाइला थियो । सहरमा त माया दिदी र विक्रम दाइहरूसँग कति साहसी यात्रा गरिसकेका थिए । तर यस नचिनेको ठाउँ, उनीहरूको यो साहसी अभियान कस्तो हुने हो, कुनै निधो थिएन । त्यसैले उनीहरू भित्रभित्रै डराइ पनि रहेका थिए ।
उनीहरूका वरिपरि दियाल सल्लाका रूखहरू आज पनि मुन्टो जोडेर खासखुस गरिरहेझैँ लाग्थे । उनीहरूका चौरतिर कुनै जाइको लहर उठिरहेझैं भान हुन्थ्यो । एक्कासि गीताका आँखा हिमवृक्ष भएतिर उठे । कस्तो अचम्म ! अघिसम्म आकाशमा मुन्टो घुसारेर उभिरहेको त्यो हिउँको इन्द्रजाली रूख त अहिले कतै
थिएन ।
‘ए दाइ ! कहाँ गयो त्यो रूख ?’ गीता कराई ।
‘साँच्चै कहाँ गयो ?’ आशिष पनि छक्क पस्यो ‘यतै थियो गीत त सुनिँदै छ ।’
उनीहरू त्यो रूख खोज्न यता र उता भौंतारिन थाले । उनीहरू एक्कासि एउटा सानो र सफा तलाउको किनारमा पुगे । त्यही तलाउको सफा पानीमा हिमवृक्षको छायाँ खेलिरहेको थियो ।
‘उ: उः’ गीता चिच्याई- ‘त्यहाँ पानीभित्र रहेछ त्यो रूख ।’
‘साँच्चै त्यो तलाउभित्र पो पुगेछ !’ आशिषले भन्यो- ‘अब हामी कसरी चढ्ने त्यसमा ?’
‘हामी ती हिममानवहरूलाई डाकौं’ अमरले भन्यो- ‘उनीहरूले हामीलाई मदृत गछौँ भनेका छन् ।’
‘हो-हो उनीहरूलाई डाकौं’ गीता खुसी हुँदै उफ्री । अमर पहिलेकै धोत्रो दियालको रूखमुनि गएर उभियो । उसले सातपल्ट सिट्ठी बजायो – स्वी.. स्वी.. स्वी.. स्वी.. स्वी.. स्वी.. स्वी..
अलि पर भझाडीबाट एउटा सेतो खरायोले चियायो- ‘किन हल्ला गरेको तिमीहरूले ?’ उसले च्याँदिठएर सोध्यो । केटाकेटी छक्क परे । खरायोले मान्छेले जस्तो बोलेको उनीहरूले कहिल्यै सुनेका थिएनन् ।
‘हामीले हिममानवलाई खोजेका, हिउँका देउतालाई’ अमरले भन्यो ।
‘हिमदेव ! हिमदेव ! … तपाईंलाई केही भुराहरू खोज्दैछन् खरायोले झाडीपछिल्तिर हेरेर चिल्लायो । तुरन्तै झाडीबाट अस्ति भेटेको नाइके वित्ते हिममानव निस्क्यो । उसले भन्यो- ‘ओ ! … तिमीहरू ! … के गर्न आएका तिमीहरू ?’

रमेश विकल
‘हामी त्यो रूखको दुप्पोमा जान भनेर आएका’ अमरले भन्यो- ‘तर त्यो त तलाउभित्र पो पुगेछ ! हामी कसरी त्यहाँ पुगौं ?’
‘म लैजान्छु तिमीहरूलाई’ हिउँमानवले भन्यो । केटाकेटीहरू उसको पछि लागे । हिउँमानव कहिलेकाहीं झुक्किएर आफ्नै गोडासम्म लत्रेका दाह्रीमा कुल्चेर घुसमुन्टिन खोज्थ्यो । यसले गीताको पेटमा हाँसो हुँडलिदिन्थ्यो। तर अमर उसलाई आँखैले हप्काउँथ्यो । गीता उकुसमुकुस हुन्थी ।
‘लौ, हामी रूखको फेदमा आइपुग्यौं’ हिमदेवताले भन्यो । नभन्दै उनीहरू तलाउको पीधमा रूखको फेदमा उभिएका थिए । त्यो पानी भनिठानेको त हिउँ पो रहेछ ।
‘लौ, अब म जान्छु’ हिउँमानवले भन्यो – ‘हामी यो रूखमा चढ्दैनौँ किनभने यो बडो जोखिमी छ । यसमाथि अनेक थरिका इन्द्रजाल छन्। तिमीहरूलाई पनि…, म यसमा नचढ्ने सल्लाह दिन्छु ।’
तर साहस नै स्वभाव बनिसकेका ती केटाकेटीहरू उसका कुरा किन पो मान्थे !
‘हामी दुप्पामा चढेर तुरुन्तै फर्किहाल्छौं’ अमरले भन्यो । अनि आफ्ना झोलाहरू त्यही रूखको फेदमा राखेर उनीहरू त्यस हिउँको रूखमा चढ्न थाले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
विश्व-प्रसिद्ध बाल उपन्यास, इन्द्रजाली रूख, अध्यायः ८.अमर र जादूको हिउँदानव
१९ मंसिर २०८२, शुक्रबार 








