
हुन त मैले आत्मवञ्चना (Bad Faith) का बारेमा केही कुराहरू लेखूँ भनेर कलम उठाएको थिएँ तर मेरो मनले भने मेरो कान्छा बाजेलाई सम्झिरह्यो । यस्तै बीस बर्षअघिको कुरा हो—म धेरै महिनाबाद घर आएको थिएँ । साँझमा बाजेले घरमा पालेका कुखुराहरूलाई आँगनमा चारा दिइरहेका थिए । कुखुराहरूले उनका काख, हात र कुमकुममा बसेर उनका हातबाट चारा खाइरहेका दृश्य देखेर म छक्क परेँ । मैले बाजेलाई सोधेँ, “बाजे, यिनीहरूलाई किन यसरी हाते बनाउनुभएका ?”
बाजेले उत्तर दिनुभयो, “केटा, म बूढो भएँ, अब यिनीहरूलाई समात्न सक्दिनँ, त्यसैले जहिले चाहिन्छ त्यहिले समात्न सजिलो होस् भनेर मैले यिनीहरूलाई हाते बनाएको छु ।” एक प्रकारले सोचिल्याउँदा बाजेको कुरा पनि सही नै थियो । तर हिजआज माथिल्लो घरको माइजूको सुँगुर, तल्लो घरको भाइको गाई अनि घरका कुखुराहरू सम्झिल्याउँदा मलाई ‘पशु विश्वास’ (Animal Faith) को कुराले झ्वाम्म छोपिहाल्छ ।

इगम खालिङ (दार्जीलिङ)
त्यो कक-कक गर्दै हिँड्ने कुखुराको लाले पोथी, रातको दुई बजेतिरबाटै कुखुरीकाँ गरेर बास्ने भाले, घ्वाँक-घ्वाँक गर्दै खाने सुँगुर अनि बाँ-बाँ गर्ने गाईलाई थाहा हुँदैन कि एकदिन मेरो मालिकले मलाई बेच्न या मारेर खान सक्छ भन्ने । तिनीहरू मज्जाले आफ्नै एउटा विश्वासमा बाँचिरहेका हुन्छन् । त्यो तिनीहरूको आफ्नो मालिकप्रतिको भरोसा (trust) हुर्केर विश्वासमा विकास भइसकेको हुन्छ । त्यस विश्वासलाई ‘पशु विश्वास’ भनिन्छ । तिनीहरूलाई यो पनि थाहा हुँदैन कि तिनीहरूले गरिरहेको विश्वास सही विश्वास होइन भन्ने । थाहा भइहाले भने पनि त्यसलाई तोड्ने साथै संशोधन गरेर लाने तिनीहरूमा क्षमता हुँदैन । तिनीहरूको समर्थता (बौद्धिक योग्यता) मालिकको तुलनामा अति सीमित हुन्छ ।
कहिलेकाहीँ कति साधरण मानिसहरू यी पशुपक्षीहरूजस्तै बाँचिरहेका हुन्छन् । पशुप्राणीहरूले त्यो विश्वास तोड्न सकिरहेका हुँदैनन् कारण तिनीहरूसित स्वतन्त्रताको सचेतना हुँदैन । ‘पशु विश्वास’ हाम्रो विश्वास होइन बरु ‘आत्मवञ्चना’ चाहिँ हामीसित सम्बन्धित विश्वास हो । हाम्रा अज्ञानता र असमर्थतालाई प्रयोग गरी हामीभन्दा शक्तिशालीहरूले उनीहरूका फाइदाका निम्ति हामीमा ‘पशु विश्वास’ विकास गरिरहेका हुन्छन् । यस्तो असत्यपूर्ण जीवन बाँच्नुपर्ने बाध्यता चाल पाउँदापाउँदै पनि केही गर्न नसक्नु एउटा वेदना (anguish) सित बाँच्नु हो ।
हामी बाँचिरहेको संसारलाई यसो हेर्दा सरल लागे तापनि यो त्यस्तो सरल चाहिँ छँदैछैन । हामी कसरी जिउनुपर्छ भन्ने कुरा हाम्रा समाज, देश र शक्तिशाली व्यक्तिहरूले तयार गरिदिइरहेको हुन्छ । त्यो सत्य होइन भनेर जान्दाजान्दै पनि त्यही असत्यमा जिउनुपर्ने हुन्छ । त्यहाँ वेदनाहरू पनि हुन्छन् तर त्यही बचाइलाई साँचो बचाइ मान्नुपर्ने परिस्थिति हुन्छ । मानिस मूलत: स्वतन्त्र भए तापनि आफू एउटा पृथक् अनि स्वतन्त्र चेतनाका रूपमा जिउन सकिरहेको हुँदैन । हाम्रा ब्रह्माण्डका वस्तु र घटनाहरूका पालन प्रणाली निर्धारित हुन्छन् भन्ने बुझ्ने क्षमता (योग्यता) चिन्तनशील अवलोकनकर्तामा हुन्छ, जसले सत्व (essence) अनि विवेकको भूमिकालाई मानव कार्यमा परिवर्तन गरी मार्गदर्शन गरिरहेका हुन्छन् भन्ने बुद्धिवाद (तर्कवाद) र अनुभववादका सिद्धान्तहरूलाई अस्तित्ववाद (Existentialism) ले अस्वीकार गरेको पाइन्छ ।
सोरेन किर्केगार्ड (डेनिश दार्शनिक) ले अस्तित्ववाद सुरु गरे तापनि यसलाई जिन पौल सार्त्र (फ्रान्सेली दार्शनिक) ले हुर्काएको पाइन्छ । यस विषयमा सार्त्रको नैतिक विचारधारा सत्तामीमांसा (Ontology) मा अनि सत्व र अनस्तित्व तत्त्वमीमांसा (Metaphysics) मा आधारित छन् । उनको मतानुसार चेतना सधैँ आफैँदेखि बाहिर हुन्छ अनि त्यो चेतना कुनै अन्य चीजको हुन्छ । त्यसरी नै “स्वतन्त्रको चेतना नै वेदना हो” भन्ने भनाइले मानव अस्तित्वलाई बुझाइएको पाइन्छ । वेदनाको अवधारणाले मानवीय मूल्यको अवधारणामा एउटा विशेष प्रकारको भूमिका खेलिरहेको हुन्छ । सार्त्रका निम्ति ‘आत्मवञ्चना’ असत्यको जीवन बचाइ हो जसमा अदृश्य वेदना हुन्छ । आफ्नो व्यक्तिगत स्वतन्त्र सत्तालाई भुलेर जिउनु हो ।
‘मान्छे’ ऊ आफैँमा (वास्तविकतामा) कसैले भनिदिएको मान्छे होइन, समाजले बनाइदिएको मान्छे होइन, अनि मानवसंसारले परिभाषित गरिदिएको मान्छे पनि होइन । ऊ त्यो उसले सोचिरहेको चेतना पनि होइन । उसले आफूलाई वस्तुका रूपमा मानिलिएको हुन्छ । उसले ऊ र उसको माझको दूरीलाई मेटाउन सक्दैन किनकि ऊ बेरा (waiter) पनि होइन (सार्त्रको उदाहरणमा), पति र पिता पनि होइन अनि दार्शनिक पनि होइन । तर आफ्नो पहिचानलाई लिँदै वेदनालाई मुक्ति दिनु नै आत्मरति (Good Faith) मा जिउनु हो । जुन ऊ होइन त्यो हुन खोज्नु भनेको आफैँभित्र वेदना पाल्नु हो । आफ्नो वास्तविक स्वतन्त्रलाई (पहिचानलाई) गुमाएर जिउनु भनेको नै आत्मवञ्चनामा जिउनु हो । त्यसरी नै नराम्रो विश्वासमा (आत्मवञ्चनामा) जिउनु भनेको वेदनापूर्ण जीवन जिउनु हो ।
मानिस निरन्तर आत्मवञ्चनामा परिरहेको हुन्छ । त्यसैले उसले त्यो चेतनाको स्वतन्त्रलाई नकार्दछ अनि आफूलाई झुक्क्याउँदछ । ऊ यति विश्वस्त हुन्छ कि उसको कर्म उसको परिस्थिति (अवस्था) वा आफैँको प्रकृतिमा निर्धारित छ अनि त्यो कर्मका निम्ति ऊ साँच्चै जिम्मेवार छैन । त्यसैले जीवनमा एउटा असली (प्रामाणिक) मानव अस्तित्व (human existence) प्राप्त गर्न चाहन्छ भने उसले आत्मवञ्चनामा पर्ने प्रवृत्तिलाई (झुकाउलाई) त्याग्नुपर्छ । पूर्ण स्वतन्त्रता र त्यसको मौलिक स्रोतलाई चिन्नुपर्छ अनि कुनै पनि निर्णयलाई सामाजिक अनि परम्परागत नैतिक विश्वास साथै ईश्वरबाट एकदम मुक्त राख्नुपर्छ ।
हामीले चिनेको, जानेको अनि बुझेको जीवनसंसार हामीमाथि थोपिदिएका मान्यताहरूको (प्रत्यय र अवधारणाहरूको) थुप्रो मात्र हो । त्यसमा असली स्वतन्त्र हुँदैन अनि मानव अस्तित्व पनि हुँदैन । चेतना जीवनको सत्वको सम्पति मात्र हो जुन वास्तवमा केही होइन । पूर्ण अनि साँचो जीवन जिउनलाई आन्तरिक वेदनाहरूलाई फ्याँक्दै विमुखताको पथमा हिँड्न सक्नुपर्छ । हामी कसरी बाँच्न चाहन्छौँ भन्ने कुरा हाम्रो आफ्नै छनौटमा (choices) भर पर्दछ किनकि हामी आफैँको सृष्टिकर्ता पनि हौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

