१.आमुख-
मानव जातिको पहिलो खुड्किलो शैशव र बाल्यावस्था अति महत्त्वपूर्ण हुन्छ। यी दुई अवस्था काँचो माटो जस्तै हुन् जसलाई जुन बुट्टा भरिदियो त्यही बुट्टा पछिसम्म कायम रहन्छ। बालकलाई जे बोल्न सिकायो त्यही टिप्छ। नवजात शिशुको प्रथम वाणी उसको जन्म-रोदन हो। भाषा नै अनुकरण गर्ने वस्तु हो। घरको परिवेशमा बोलेको सुनेर शिशुले बिस्तारै भाषा बोध गर्न थाल्दछ र आफै बोल्न सिक्दछ।
धेरै बालमनोवैज्ञानिकहरूको कथनअनुसार बालकले बालिकाको तुलनामा केही मन्द गतिमा भाषा सिक्छ अर्थात् बालकको तुलनामा बालिकाले छिटो भाषा सिक्दछे। जन्मेको एघार महिनाको अवस्थासम्म बालकले आफ्नो भाव अस्पष्ट शब्दमा प्रकट गर्दछ। एघार महिनाको अवस्थादेखि अठार महिनाको अवस्थासम्म बाल-बालिकाले भाषाको रूपमा प्रकट गर्ने शब्द हुन्- आमा, बाबा, बा, नाना, नानी, बुबु, माम, हाम, तेते, चाचा, ची ची, सुरी म्याउँ इत्यादि।
२. बाल वर्णमाला-
बाल-बालिकाको आफ्नै किसिमको वर्णमाला हुन्छ। उनीहरूको ध्वनि अवयव पूर्णतया विकसित भइनसकेको अवस्था हुन्छ। सामान्य वर्णमालाका ताडित वा कछोर वर्ण, प्रकम्पित आदि वर्ण उच्चारण गर्न सक्दैनन्। त्यसैगरी संयुक्ताक्षर पनि उच्चारण गर्न सक्दैनन्। यसर्थ, शिशु वर्णमालाका रूपमा यसरी देखाउन सकिन्छ –
क (ख) ग (घ) ङ
च छ ज (झ) (ञ)
(ट) (ठ) (ड) (ढ) (ण)
त थ द (ध) न
प फ ब भ म
य (र) ल व
स ह
द्रष्टव्य: बन्धनीभित्रका अनुच्चारित वर्ण हुन्।
ख उच्चारण गर्न नपरे कको बाहुल्य हुन्छ। सोहीपरि घको उच्चारण ग, छको उच्चारण च, जको उच्चारण ज हुन्छ। उनीहरू कठोर वर्णहरू ट ठ ड ढ उच्चारण गर्न सक्दैनन्। यी वर्णहरूको उच्चारण त वर्णबाटै काम चलाउँछन्। र उच्चारण गर्दा ल उच्चारित हुन्छ। स तथा ह भने स्पष्ट उच्चारण गर्न सक्छन्।
३. शिशुहरूको भाषाविकास-
शिशुहरूको भाषाविकासका क्रमलाई हामी चार अवस्थामा विभाजन गर्न सक्छौँ-
१. प्रारम्भिक अवस्था- जन्मेदेखि एक वर्षसम्म निरर्थक शब्दोच्चारण
२. दोस्रो अवस्था- एक वर्षदेखि दुई वर्षसम्म एक शब्दे वाक्योच्चारण।
३. तेस्रो अवस्था- दुई वर्षदेखि पाँच वर्षसम्म सरल वाक्योच्चारण।
४. चौथो अवस्था- पाँच वर्षदेखि किशोरावस्थासम्म जटिल वाक्योच्चारण।
बाल-बालिकाको आफ्नै किसिमको शब्दभण्डार हुन्छ। उनीहरूकै जिब्राले उच्चारण गर्ने खालको आफ्नै मौलिक अर्थयुक्त शब्दको व्यवहार गर्छन्। जस्तै आमा, बाबाबाहेक बुबु (दुध), दुदु (दुध), माम (भात), चिची (मासु), पापा (मिठाइ), चाचा (पैसा), नुनु (सुत्नु), नाना (लुगा), बुलुबुलु (नुहाउनु), बटे (बटुका) आथा (तातो), सुसु (पिसाब गर्नु), आका (दिसा)।
भाषा विकासको निम्ति शिशुमा परिवेशको प्रभाव परेको हुन्छ । बालबालिकाको भाषा विकास उसले जानेको-सुनेको शब्दभण्डारको आधारमा हुन्छ । जुन बालक-बालिका ठुलो परिवारमा जन्मेको, हुर्केको हुन्छ, उसको भाषा विकास स्वतः चाँडो हुन्छ । विपन्न र सानो परिवारको बाल-बालिकाको भाषिक विकास र ज्ञान केही मन्द गतिमा हुन्छ। धेरै बाल-साथी, संगातीहरू आपसमा खेल्ने मौका पाएमा उनीहरूको शब्दभण्डारको सहज वृद्धि हुन्छ। बालक वा बालिका घरमा एक्लो, सानो जहान छ र वरपर खेल्ने साथी छैनन् भने बालकको भाषा विकास मन्द गतिमा हुन्छ।
जर्मनीका मनोवैज्ञानिक प्रोफेसर विलियम फोल्सद्रारा निर्धारित बाल-बालिकाहरूमा शब्दभण्डारको क्रमिक विकास यसरी हुन्छ-
१. १ वर्षको बाल-बालिकामा- २-३ शब्दहरूको भण्डार हुन्छ।
२. डेढ वर्षको बाल-बालिकामा- ९-१० शब्दहरूको भण्डार हुन्छ।
३. २ वर्षको बाल-बालिकामा- २०० शब्दहरूको भण्डार हुन्छ।
४. ३.वर्षको बाल-बालिकामा- १००० शब्दहरूको भण्डार हुन्छ।
५. ४ वर्षको बाल-बालिकामा- १५०० शब्दहरूको भण्डार हुन्छ।
६. ५ वर्षको बाल-बालिकामा- २००० शब्दहरूको भण्डार हुन्छ।
७. १४-१५ वर्षको बाल-बालिकामा- १०,०००- १७००० शब्दहरूको भण्डार हुन्छ।
बाल-बालिकाले आप्नो मातृभाषाको विकास गर्दै लगेपछि क्रमशः उसमा विचार स्मरण, कल्पनाशक्ति र बौद्धिक परिपक्वताहरूको पनि उन्नति-विकसित हुँदैजान्छ। शब्द नै विचारको गहिराई हो। जो व्यक्तिमा शब्दभण्डार अधिक हुन्छ उसको विचार पनि उच्चतर हुँदैजान्छ। बाल-बालिकालाई यदि अश्लील शब्दहरू सिकाए छिटो सिकेर बोल्न थाल्छऩ्। य़सकारण घरलगायत वरिपरिका अन्य बाल-बालिकाकाट नै उनीहरूले भाषिक विकाश गर्छऩ्।
४. बालभाषा शिक्षण-
विशेषगरी श्रेणी एकदेखि दोस्रो श्रेणीसम्ममा बाल-बालिकाले धेरै किसिमले भाषिक ज्ञान हासिल गर्छन्। त्यतिञ्जेलसम्म उनीहरलाई व्याकरण पुस्तक पढाइएको हुँदैन। यद्यपि त्यसबेलासम्म उसले आफैं नै व्याकरणिक स्वरूप पाइसकेको हुन्छ । भाषाको यो रूप ठिक र यो बेठिक भनी खुट्याउन सक्छ अथवा भाषा शिक्षकले यस्तो ज्ञान दिनुपर्छ। त्यस बाल-बालिकाको घरेलु परिवेशमा अमानक, अव्याकरणिक तवरले बोल्ने छ भने उसले स्वतः अशुद्ध र अमानक रूपलाई नै ठिक ठान्दछ। भाषा शिक्षणमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा तह हुन्छन्।
क. सुनाइको तह-
बाल-बालिकाले सर्वप्रथम सुनेर नै भाषा सिक्छन्। भाषा सिकाइको यो पहिलो खुडकिलो हो। घरमा आफ्ना आमा-बाबा, दाजु, दिदी वा अन्य कसैले पनि उक्त बालक वा बालिकालाई हेर्दै बोलाउँदै गर्दा उसले सिकिरहेको हुन्छ। यसबाहेक घरमा ठुलाहरूले गफ गरेको पनि सुनिरहँदा उसले धेरै मात्रामा भाषा सिकिरहेको हुन्छ। कानले सुनेर बालहृदयमा धारणा बनिन्छ र पछिबाट त्यही नै भाषा बन्दछ। सुनाइको प्रसङ्गमा कुनै उमेर सीमा हुँदैन। श्रेणीमा गुरू-गुरूआमाले बोलेको सुनेर भाषा सिक्नु पनि सुनाइ हो। अर्काले पढेर सुनेको कुरा बाल-बालिकाले हत्तपत्त भुल्दैनन्। छेउमा अरू कसैले कुनै पाठ वा कविता रटिरहेको हुन्छ भने छेउको बाल-बालिकालाई मुखस्त भइसकेको हुन्छ।
ख. बोलाइको तह-
ससाना शिशुहहरूले सुन्दा सुन्दा पछिबाट आफैं बोल्ने प्रयत्न र अभ्यास गर्दछ। सुनेर बालमगजमा धारणा बनेपछि अरूको अनुकरण गरेर बोल्न थाल्दछ। घरका ठुलाहरूले नै बोल्न सिकाइरहेका हुन्छ। आमा भन, बाबा भन इत्यादि भन्दै सिकाउँदा उसले आफै सिक्दै जान्छ। एक वर्षदेखि शुरूमा एक शब्दे बोलीबाट विकसित हुँदै उमेरको क्रमसँगै सिकेर बोल्न थाल्दछ।
ग. पढाइको तह- बाल-बालिकाको भाषा शिक्षणका निम्ति यो तेस्रो तह हो। जब उसले बोल्न सिकेर किताब पढ्न थाल्छ तब यो पढाइको तह हुन्छ। सस्वर र मौन पढाइमध्ये ससाना बाल-बालिकाको निम्ति सस्वर वाचन वा पढाइ नै उत्तम हुन्छ। बाल-बालिकादेखि किशोर अवस्थासम्म पनि किताब पढ्न वा वाचन गर्न लाउनु उचित हुन्छ । नानीहरू कराइकराइ पढ्नु राम्रो हो। यसबाट उसको सठिक उच्चारणका साथै उसको मस्तिष्कमा उक्त पाठ बस्दछ । मानिसको चेतन र अवचेतन मनमा उक्त पाठ गहिरो छाप भएर बसेको हुन्छ। आफूले पढेको आवाज आफैले सुन्दा नै मुखस्त गर्न सकिन्छ।
घ. लेखाइको तह-
भाषाशिक्षणका सन्दर्भमा लेखाइ नै अन्तिम तह हो । जब बाल-बालिकाले अक्षर चिनेर लेख्न थाल्छन् तब नै उसले भाषा धेरै सिकेछ भन्ने बोध हुन्छ।
५. बालभाषा शिक्षणमा शब्द भण्डार-
कक्षा एक र कक्षा दुईका बाल-बालिकाका निम्ति भाषा शिक्षणका केही सामान्य साझा व्यहोरा यसरी हेर्न सकिन्छ-
(क) शब्द परिचय – भाषा भन्नु नै शब्दको खेला हो। शब्दबाट नै वाक्य हुन्छ। शब्दगत प्रयोगको माध्यमबाट नै भाषिक अभिव्यक्ति हुन्छ। एक वर्षसम्मका बाल-बालिकाले एकै शब्दद्वारा वाक्यको बोध गराउँछन् भने केही ठुलो भए पछि पनि शब्दसित परिचित हुँदैजान्छन्। शब्दभण्डारमा प्रतिदिन नयाँ नयाँ शब्दहरू प्रयोगमा आउँदै जाने र कतिपय पुराना शब्दहरूको प्रयोग घट्दै जाने प्रवृत्ति हुन्छ । प्रयोगका क्रममा कतिपय शब्दहरूको अर्थविस्तार हुँदै जाने र कतिपयको अर्थ सीमित हुँदै जाने प्रवृत्ति पनि हुन्छ। शब्दार्थ शिक्षणमा निम्न तरिका अपनाउन सकिन्छ-
क) शब्दको अर्थ दिने – कुनै शब्द सिकाउने क्रममा त्यस शब्दको अर्थ वा आशय बताउने पनि गरिन्छ। उदाहरमार्थ- निस्वार्थ सब्दको अर्त स्वार्थ नहुनु भनियो भने ससाना विद्यार्थी उक्त शब्दको अर्थर प्रयोगबारे अलमलिन सक्छऩ्। त्यसलाई समानार्थी शब्दका आधारमा व्याख्या गर्नुपर्छ ।
ख) पर्यायवाची शब्द दिने – यस तरिकाबाट शब्द सिकाउँदा कुनै पनि समानार्थी खालको शब्द दिने गरिन्छ। यस्ता समानार्थी वा पर्यायवाची शब्द ससाना विद्यार्थीहरूले जाने-सुनेको हुनु आवश्यक छ।
ग) परिभाषा दिने – कतिपय शब्दहरूको पर्यायवाटी शब्द पाउन गाह्रो पर्छ वा पाइन्न। सामान्य शाब्दिक अर्त दिेर मात्र अर्थ स्पष्ठ गर्न नसिकने हुन्छ। सामान्यतया यस्ता शब्दहरूको सामान्य अर्थले भन्दा विशिष्ट अर्थका लागि प्रचलित हुन्छन्। विशिष्ट अर्थ स्पष्ट हुने किसिमको त्यस्ता शब्दको परिभाषा गरिदिनु उपयुक्त हुन्छ।
घ) विपरीतार्थी शब्द दिने – केही शब्दहरू यस्ता पनि हुन्छन् जसको अर्थ विपरीत शब्द दिएर बोध गराउन सकिन्छ। त्यसमा विपरीत शब्दको उपयोग गर्दा अर्थ स्पष्ट गर्न सजिलो हुने देखिएमा मात्र यस तरिकाको उपयोग गर्न सकिन्छ।
ङ) समावेश्य शब्द प्रस्तुत गर्ने- कतिपय शब्दहरूको अर्थ स्पष्ट गर्न ती शब्दले जनाउने अर्थसँग सम्बन्धित अन्य शब्दहरू दिनु पनि वेश हुन्छ। जस्तै जनावर शब्द सिकाउँदा यसमा समावेश हुने गाई, भैंसी, बाघ, भालु आदि शब्दको उल्लेख गर्न सकिन्छ।
च) चित्र, वस्तु वा प्रतिमूर्तिको प्रयोग गर्ने – ससाना विद्यार्थीहरूका अनुभवका सेरोफेरोभित्र नपरेका विभिन्न किसिमको वस्तु तथा धाऱणाको प्रतिनिधित्व गर्ने चित्र, वा वस्तु वा कुनै चिजजस्तै मोडेल ल्याएर देखाई शब्दशिक्षण गर्न सकिन्छ।
छ) क्रिया वा हाउभाव प्रदर्शन गर्ने – कार्य, भाव तथा अवस्था बुझाउन उपयोग गरिने कतिपय शब्दहरूको अर्थ क्रिया प्रदर्शन अथवा शब्दमा निहीत कार्य, भाव वा अवस्थाको अनुकरण गरेर वा हाउभाउ देखाएर पनि स्पष्ट पार्न सकिन्छ। जस्तै जुरूक्क, टुसुक्, हुप्प, मुसुक्क, बिलौना जस्ता शब्दहरू अभिनय गरेर बुझाउन सकिन्छ।
ज) शब्दको व्युत्पत्ति र शब्दनिर्माण गरेर देखाउने – समास लागेर बनेका कतिपय शब्द र प्रत्यय लागी व्युत्पन्न भएका शब्दहरू सिकाउँदा यो तरिका उपयुक्त हुन्छ। दुई वा दुईभन्दा बढी शब्दहरू मिलेर बनेका समस्तपदहरूलाई छुट्याई वा त्यस्ता शब्दहरूको विग्रह गरी अर्थ स्पष्ट पारिदिन सकिन्छ। त्यस्तै एक वा एकभन्दा बढी प्रत्यय लागी बनेका व्युत्पन्न शब्दहरूको प्रकृति र प्रत्यय अलग अलग गरी देखाइदिनाले उक्त शब्दहरूको अर्थ बुझ्न विद्यार्थीहरूलाई मद्दत मिल्ने छ।
झ) सारशब्द बुझाउने – शिशुहरूलाई धेरै शब्दका सट्टामा आई उही अर्थ दिने एउटै शब्द पनि चिनाउ सकिन्छ।रातमा नदेख्नेलाई रतन्धो, रातमा चलफिर गर्ने प्राणीलाई निशाचर इत्यादिलाई उदाहरणका रूपमा बुझाउन सकिन्छ।
ञ) चीजको ठुलो सानो बुझाउऩे शब्द सिकाउने – केही चीजबीजका ठुला-साना रूपलाई बुझाउने अलग-अलग शब्द हुन्छन्। बाल-बालिकालाई त्यस्ता शब्दसित पनि चिनाउन सकिन्छ। जस्तै लोटा-लोटी, खोल्सो- खोल्सी, छुरा-छुरी, कुचो-कुची इत्यादि। त्यहीअनुसार सिकाउने लानसकिन्छ।
ट) लघुवाचक वा कोटिकार शब्द – कुनै वस्तुका एक अङ्श वा समदायवाटक शब्दको निम्ति सानो अङ्शलाई बुझाउने शब्द भनेर उनीहरूलाई सिकाउन सकिन्छ। कक्षा दुई वा तीनका बाल-बालिकालाई यो सिकाउन उपयुक्त हुन्छ। जस्तै तेलको थोपो, दुधको तुर्को, माटाको ढिका, दाउराको छेस्को, अन्नको गेडो इत्यादि भनेर उदाहरण दिनसकिन्छ।
ठ) अनुकरण शब्द – ससाना बाल-बालिकालाई नेपाली शब्दभण्डार सिकाउँदा अनुकरण शब्द सिकाए रमाइलो मान्छन् र छिटो ग्रहण गर्न सक्छन्। उनीहरूकै बालसुलभ अनुकरण शब्दबाट सिकाउन सुरू गर्दा बालमस्तिष्कमा गहिरो प्रभाव पर्दछ। जस्तै खुपुखुपु वा कुपुकुपु खानु, खुरूखुरू हिँड्नु, सरासरी जानु, कुलुकुलु गर्नु, टुलुटुलु हेर्नु, खुलुखुलु नुहाउनु इत्यादि बुझाउन सकिन्छ।
ड) पेशावाचक शब्द – शब्द सिकाउने क्रममा उनीहरूलाई मानिसका पेशावाचक शब्द पनि सिकाउन सकिन्छ। जस्तै गीत गाउनेलाई गायक, खेती गर्नेलाई किसान, शारीरिक श्रम गर्नेलाई मजदुर, पसल चलाउनेलाई पसले आदि।
ढ) नातागोता बुझाउने शब्द – सानैदेखि नै बाल-बालिकालाई साइनोसूचक शब्दबारे पनि परिचित गराउन सकिन्छ। जस्तै दाजु, दिदी, गुरूबा, गुरूआमा, फुपू, फुपाजू, छेमा इत्यादि।
५. शब्दशिक्षणमा पाठ्यपुस्तकको भूमिका-
बाल-बालिकाको शब्दभण्डार वृद्धि र शब्दार्थबोधमा पाठ्यपुस्तकको प्रमुख भूमिका रहेको हुन्छ। पाठ्यपुस्तकमा प्रयुक्त शब्द ससाना विद्यार्थीहरूको ज्ञान र अनुभव अन्तर्गत हुनुपर्दछ। सरल, सुबोध, सहज र सामान्य चलनचल्तीका शब्द प्रयोग हुनुपर्छ। यसकै माध्यमबाट विद्यार्थीको श्रेणीगत स्तर बढाउँदै जाँदा शब्दभण्डार पनि स्वतः बढाउँदै जानुपर्छ। पाठ्यपुस्तकको कुनै पनि पाठको सिरानमा केही कठिन शब्द, नयाँ शब्द वा पारिभाषिक शब्द राखिनु पर्दछ जसले गर्दा विद्यार्थीहरूले शिक्षक-शिक्षिकाबाट ती शब्दहरूको सहजै पहिचान गर्न सक्छन्। पाठको अन्त्यमा त्यस्ता शब्दहरूको अर्थ खुलाए अझ असल हुन्छ। पुस्तकको अन्तिम भागतिर पाठभित्र प्रयोग गरिएका नयाँ र कठिन शब्दको सूची भएको असल हुन्छ। कतिपय अँग्रेजी पाठ्यपुस्तकतिर एउटै उपन्यासलाई कक्षागत स्तरको शब्दभण्डारलाई मध्यनजर राखी लेखिएको हुन्छ। जस्तै चार्ल्स डिकेन्सको ओलिभर ट्वीस्ट भन्ने उपन्यासलाई बाल-बालिकाको क्षमताभित्रका शब्दभण्डारको प्रयोग गर्दै लगेर पाँच-छ खुड्किलामा प्रकाशित गरिएको छ। त्यस्तै एलाइस इन् वन्डरल्याण्ड, गुलिभर्स ट्राभल्स, जङ्गल बुक जस्ता उपन्यासहरूलाई त्यसरी नै संक्षिप्त पाठ-उपफाठका संस्करण बनाई प्रकाशित गरिएको पाइन्छ। हाम्रो नेपाली कृतिलाई पनि त्यसरी नै संक्षिप्त पाठ-उपपाठ र लघु वा सार कथावस्तु संस्करणका रूपमा प्रकाशित गर्न सकिन्छ।
यता भारतमा नेपाली बालपाठ्यपुस्तकको सन्दर्भमा हेर्नुपर्दा पारसमणि प्रधान अब्बल हुन् । उनले लेखेका र प्रकाशित गरेका बालपाठ्यपुस्तकले धेरै बाल-बालिकालाई शिक्षा दिन सक्यो। उनीहरूकै रूचि र योग्यता र स्तरअनुसारका पाठ्यपुस्तक निकालेर धेरै वर्ष सेवा पुर्याएका हुन्। नैनसिंह योञ्जन, बाबुलाल प्रधान पनि यस दिशामा उल्लेखनीय मानिन्छन्। बालपाठ्यपुस्तक प्रकाशनका सन्दर्भमा बजारभाव हेरी प्रकाशित गरिएका जुनसुकै पाठ्यपुस्तकले शिशुहरूलाई दिग्भ्रमित पार्नसक्छ। उनीहरूको स्तर उचाल्न सक्दैन। केही व्यावसायिक प्रतिष्ठानबाट प्रकाशित बालपाठ्यपुस्तकले विशेषगरी व्याकरणिक त्रुटी पारिएका हुनसक्छन् जसले गर्दा लानैदेखि भूल नै सिक्ने गर्छन्। यसरी भूल सिकेपछि पछिबाट ठुलो तहमा पुगेपछि त्यही भूल व्याकरणिक रूपलाई नै अपनाउने गर्छन्। बालपाठ्यपुस्तक निर्माणमा कैही बालमनोवैज्ञानिक विशेषज्ञ, भाषाविशेषज्ञहरूलाई लिएमा मात्र लक्ष्यसमूहलाई फाइदा गर्छ।
६. शिक्षक-शिक्षिकालाई शैक्षणिक तालिम-
समय समयमा बाल-बालिकालाई पढाउने शिक्षक-शिक्षिकालाई शैक्षणिक पुनश्चर्या, तालिम, कार्यशाला, अतिरिक्त कक्षा आदि दिएर शिक्षणमा सुधारात्मक पाइला चाल्नु पर्दछ। शिशुहरूलाई कुन पद्धति, प्रणालीले प्रभावशाली ढङ्गमा पढाउन सकिन्छ, त्यसबारे अद्यावधिक गराइरहनु पर्दछ। सरकारी प्राथमिक विद्यालयका शिक्षक- शिक्षिकालाई अनिवार्य रूपमा वुनियादी तालिम त गराइएको हुन्छ तर निजी नर्सरी विद्यालयका शिक्षक-शिक्षिकाहरूलाई पनि त्यस्तै किसिमको तालिम आदि दिनुपर्दछ। आजकल प्रायःजसो शिशुहरूलाई यस्ता निजी अँग्रेजी विद्यालयमा भर्ना गरिन्छ, जहाँबाट अँग्रेजी पाठ छाडेर आफ्नो मातृभाषा शिक्षणमा हेल्चेक्राइँ हुने गरेको देखिन्छ। उनीहरूका निम्ति खेलाइँची नगरी सठिक शिक्षण प्रदान गर्नुपर्छ। शिशुका निम्ति स्कूलका शिक्षक-शिक्षिका नै परम सत्य हुन्। उनीहरूले भूलै पठाए पनि साँचो नै छान्छऩ्। घरका अभिभावक स्कूलका शिक्षक-शिक्षिकाभन्दा बढी पढेका वा जान्ने भए पनि सिकाउँदा पत्याउँदैनन्। यसकारण स्कूलका पढाउँदा शिक्षक- शिक्षिका धेरै होसियार हुनुपर्छ।
७. उपसंहार-
प्रस्तुत प्रलेखमा बाल-बालिकालाई कसरी पढाउन वा सिकाउन सकिन्छ, त्यसबारे सामान्य चर्चा मात्र गरिएको छ। वर्णमाला सिकाउँदा सामान्य अथवा विशिष्ट सरल तरिका अपनाउनु पर्दछ। बाल-बालिकाको निम्ति उमेरअनुसारको शिक्षा, शब्दभण्डार वृद्धि, पाठगत स्तरण, शिक्षणका नयाँ नयाँ पद्धति अपनाउनु पर्दछ। यदि बाल-बालिकालाई गलत तरिकाले भूल पाठ, भूल हिज्जे आदि सिकाए पछिसम्म उसलाई त्यही भूलले पछ्याउन छाड्दैन। शिशुहरूलाई शब्दभण्डार वृद्धि, व्याकरिक शुद्धाशुद्धिबारे जानकारी आदि सानैदेखि सिकाएमा पछिसम्म नै कायम रहन्छ। यसका निम्त योग्य पाठ्यपुस्तक, दक्ष शिक्षक-शिक्षिका, उचित सरकारी पहल र निगरानी र सचेत अभिभावक आदि सबैको सहयोग, सहभागिता र तत्परतामा ससाना बाल-बालिकालाई समुचित भाषा शिक्षण गर्न सकिन्छ।
प्रमुख सन्दर्भ सूची-
१. डा हेमाङ्गराज अधिकारी, नेपाली भाषा शिक्षण, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, दो.सं. २०६५।
२. चैतन्य पाण्डेय, नेपाली भाषा शिक्षण, काठमाडौं, साझा प्रकाशन, दो.सं.,२०५२।
३. www.teachingenglish.org.uk/teaching-k
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।