हामी उल्लुहरू हौँ । किनकि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा मनाउँछौँ । त्यही गाईको दूध, दही, मही, खीर, पनिर, घ्यूलगायतका परिकार खानु पर्ने, लक्ष्मीका रूपमा पूजा पनि गर्नु पर्ने र त्यही गाईको जात्रा मनाएर नेताहरूप्रति व्यङ्ग्य प्रहार गर्नु पर्ने । कस्तो बिडमबवना ‘जसको जौ खायो उसैको जुँगा मोल्ने’ हाम्रो विवेकहीन र निर्मम नीति नै उल्टो देखिन्छ । पदमा पुगेकाहरूले गरेको उल्टो कामको परिणाम गाईले बेइज्जत गरेर व्यहोर्नु पर्ने कुरा सर्वत्र आलोचित भैरहेको छ अहिले । भनौँ धान खाने मुसो चोट पाउने भ्यागुतोझैँ भएको छ हाम्रो संस्कार र परम्परा । यो उल्टो यात्रामा गाईलाई अघि सारेर समाज हँसाउने काम गर्नु त कदापि बुद्धिमानी हो जस्तो लाग्दैन मलाई । बरु गधालाई अघि सारेर जनै पूर्णिमाको भोलिपल्टको दिनलाई हामी आउँदो वर्षदेखि गधा दिवसका रूपमा मनाउन देशका सम्पूर्ण कलाकर्मी, लेखक, साहित्यकार, पत्रकार, हास्यव्यङ्ग्य क्षेत्रमा कार्यरत संघ संस्था व्यक्ति सबैले एकमत भएर लागि पर्नुपर्ने आवश्यकता देखिएको छ । किनभने नेता गधाभन्दा पनि काम नलाग्ने प्राणीका रूपमा जनताका सामु देखा परेका छन् ।
अब हामी गधा दिवसका बारेमा कुरा गरौँ । शरीरमा जतिसुकै भारी बोकाए पनि भो नभन्ने गधा जनावरहरूमध्येको सबैभन्दा काम नलाग्ने खिच्चा, फोहरी, भारी बोक्नमै सधैँ रमाउने जात हो । जतिसुकै कुटाइ खाए पनि नरुने, भारी थोरै हुँदा बिस्तारै हिँड्ने, धेरै भारी भयो भने जाँगर चलाएर कस्सिएर हिँड्ने स्वभावको थेत्तरो जनावर नै गधा हो । जतिसुकै उपाय गर्दा र लाउँदा पनि बानी व्यहोरा सुधार्न नसक्ने, उही आफ्नो पुरानो लिडेढिपीमा सधैँ रमाउन चाहने, जति खाए पनि नअघाउने जातको रूपमा लिइन्छ गधालाई । ठिक यस्तै स्वभावमा रमाउन चाहने नेपाली राजनीतिका नायक, खल नायकहरूको बानी व्यहोराले आजित भएका हामी मतका भकारीले अब पनि यस्ता नेतृत्वलाई नेता मान्ने हो भने हाम्रो मत नै मुसाले काटेर धुजाधुजा हुन बेर छैन । गधालाई झैँ भारी नपुग्ने नेताहरूलाई जतिसुकै मतको भारी बोकाएर धुरीमा चढाए पनि कहिल्यै भो भन्दैनन् ।
मतको भारी बोकेर मनपरी गर्नेका विरुद्ध अब हामीले यो जनै पूर्णिमाको भोलि पल्टको दिनलाई गाईजात्रा होइन गधाजात्रा वा गधा दिवसका रूपमा मनाउन गधाहरूकै गधानिधिसभामा सङ्कल्प प्रस्ताव पारित गर्नु पर्दछ । यदि गधानिधिसभाले यो प्रस्तावलाई बेवास्ता गरेर लत्यायो भने जननिधिसभाले यो प्रस्ताव सर्वसम्मत रूपले पारित गरेर कार्यान्वयनमा ल्याउने छ । आउँदो गधानिधिसभाको निर्वाचनमा गधाहरूको हुलमा जनमुल खनिएर चुलबुल गर्ने गधाको आनिबानीमा खिचातानी हुन्छ । इँटा, ढुङ्गा, लौरो, भाटा जति खाए पनि नअघाउने गधाको बानी सुधार कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न छिटोछिटो भिटो पावर लगाएर जनादेशमा लैजानु पर्दछ । जनादेशलाई गन्हादेशमा परिणत गर्ने गधाहरूको धतुरो नझारी हामी जनाधिकारीको भलो हुने अवस्था देखिदैँन ।
जाँतोको र सिलौटोको भारी बोकेर हिँड्न बानी परेका भरियानीय गधाज्यूहरूलाई धेरै दानापानी खुवाएर मात्तिएका हुन् । गधानिधिसभामा गधानीय भनौँ वा भरियानीय भनौँ जे भने पनि मानपदवी र सम्मान थोरै हुनेलाई साँच्चै भन्ने हो भने मतको भारी बोकाउन छाडेर अबदेखि जाँतो, सिलौटोको भारी बोकाएर उकालो लखेट्नु पर्ने हो । ओरालो लखेट्दा यिनीहरू सिल्ली बनेर दिल्ली दरबारमा बिल्लीको रूप धारण गरी दौडेर शरण लिन पुग्छन् । ओरालो झर्न भारी बोकेर सजिलो हुने भएकोले यिनीहरूलाई उकालोतिर नै लखेट्नु पर्दछ । आफ्नो बिहे देखेका यिनीहरूले बाउको र आमाको बिहे पनि भोग्नु पर्छ, देख्नु पर्छ भन्ने सिद्धान्त र नीतिअनुसार तेह्र बजेको आभास दिलाउन यो परिपाठ मिलाउनु आवश्यक ठानिएको हो । मतको भारीले यिनीहरूको जुँगा दाह्री नझर्ने भएकोले जाँतो, सिलौटोको भारी बोकेर उकालो यात्रा आखिरी शुभ मानिन्छ र जुँगा दाह्री पनि झर्ने । किनभने सधैँ सबैले उकालो यात्राकै आश गरिरहेका हुन्छन् ।
एउटा मीठो उखान छ गधालाई जतिसुकै साबुन पानी दलेर नुहाइदिए पनि गाई बन्न सक्दैन । हो यस्तै नेतालाई जतिसुकै राम्रो अर्ती उपदेश दिए पनि ऊ सुझबुझ सहितको मान्छे बन्न सकेका छैनन् । किन त ? भन्दा नेता गधाजस्तो सच्चा खिच्चा, धुन्धुकारी, अहम, रिस, राग, द्वेष र खानाका भकारी बनेका छन् । त्यसैले गधाको मान पदवीले गधानिधिसभामा विराजमान हुन पुगेका छन् । गफको ढाकर बोकेर, सपनाको पोको झुण्ड्याएर, विकासे नारा घन्क्याएर, बालुवामा पानी खन्याएर, गाउँ समाजमा गधाझैँ गन्हाएर, सहर गल्लीमा गधा झैँ कराएर, गधानिधिसभामा चिच्याएर, गलगिद्ध घिचेर चिरनिन्द्रामा सुतेर नअघाउनेको गधा दिवस मनाउनु उपयुक्त हुन्छ । धोवीले पाल्ने गधालाई यतिबेला हामी मतका भकारीले साँझ बिहानको गाँस काटेर थेचारी थेचारी पालेका छौँ ।
सही सत्य कुरा गर्ने हो भने गधालाई पाल्ने हामी मतका भकारी महागधा हौँ । त्यसैले अहिले गधानिधिसभाका सदस्यहरू हाम्रै जात्रा गरिरहेका छन् । हामी मतका भकारी गधानिधिसभाका सदस्यहरू खानका भकारी । खानका भकारीलाई हामी अझ मिठो मिठो खुवाएर बङ्गुरझैँ बनाएर मान सम्मानका साथ पालिरहेका छौँ । भनौँ यिनीहरूले मतका भकारीको अपमान गरेर आफू सम्मानित भएकोले पनि यिनीहरूको थप सम्मानका लागि गधा दिवश मनाउनु उचित हुन्छ । यिनीहरूको बौद्धिकताको सम्मानका लागि यिनीहरूलाई गधामाथि चढाएर होइन कि गधालाई यिनीहरू माथि चढाएर बजार घुमाएर वा गधानिधिसभामा नै गधाको भारी बोकाएर शुभ मुहुर्त गरी गधानिधिसभाको बैठक प्रारम्भ गर्नु उचित हुन्छ ।
देशमा बाह्रैमास बाह्रैकाल गाईजात्रा देखाउने गधानिधिसभाका गधासद्हरूमाथि गधा चढाएर जात्रा देखाउने परिपाटीको विकासमा योगदान दिन अब सबैले हौस्याउनु पर्ने अवस्था देखिएको छ । गधामाथि गधासद्हरूलाई चढाउने पुरानो संस्कारलाई हामीले अब छाड्नु पर्दछ । देशमा सधैँ नयाँ नयाँ कुराको विकास र विलासमा ध्यान दिएर देशलाई उभो धकेल्न सहयोग गरे वापत अबदेखि गधालाई गधासद्माथि चढाएर गधा दिवस मनाउनु आजको अपरिहार्य आवश्यकता भएको हामी सबैमा स्पष्ट मन भएको कुरा पुनः भनिरहनु पर्दैन ।
गधानीय गधासद्ज्यूहरूको बाह्रमासे गधा जात्रामा हामी सबैले सहभागिता जनाएकै हौँ । यस्तो जात्रामा यात्रा गर्दा स्वर्ग पुगेभन्दा पनि बढी आनन्द आउने भएकोले पनि हामीले हाम्रा गधानीय गधासद्ज्युहरूको सेवा सुविधामा बढोत्तरीका लागि यो प्रस्तावमाथि छलफलका लागि तयारी थालेका हौँ । गधासद्ज्यूहरूले पनि यो कुरालाई सहर्ष स्वीकार गरी गधा दिवस मनाउन आआफ्नै किसिमले तयारी गर्नु हुनेछ भन्ने निराशा व्यक्त गर्दछौँ । आशा व्यक्त गरौँ भने गधानीय गधासद्ज्यूहरू रिसाउन सक्नु हुन्छ । उहाँहरूलाई खुसी पारेर हामीलाई झुसिलो डकारले भरिपूर्ण बनाउने जिम्मेवारी बोकेर हिँडेका गधानीय गधासद् ज्यूहरूको लगानी बालुवामा पानी भए पनि हलुवामा बालुवा मिसिएर केही फरक पर्दैन । किनकि जनता कराउँदै गर्छन् हामी बाटो तताउन छाड्दैनौँ ।
अब अन्त्यमा गधानिधिसभाका गधामुखज्यू लगायतका गधानीय गधासद्ज्यूहरूलाई कड्के आँखे सलाम गर्दै विकृतियुक्त व्यहोरा बाह्रैमास बाह्रैकाल देखाएर बाह्रैमास बाह्रैकाल नै देशमा गाईजात्राको साटो गधाजात्रा देखाएर गधा दिवस मनाउने कोकोहोलो सहितको शान्त वातावरणको व्यवस्था गरिदिनुहुन चिच्यारोध गर्दछु ।
यदि यो चिच्यारोधलाई अवरोध गर्नुभयो भने भोलिको चुनावमा भोट माग्न होइन चोट मागेर खान सफल हुनुहुनेछ भन्ने कुरामा तीन मत छैन । दुई मत भनौँ भने तीन मतले तपाईं हार्न र जित्न पनि सक्नु हुन्छ । अर्कोतर्फ तपाईंको आफ्नो र श्रीमती जीको गरेर दुई मत मात्र आयो भने जनता हाँस्न सक्छन् । यो हाँसोको पात्र नबन्न आग्रह गर्दै गधा दिवस बाह्रैमास बाह्रैकाल मनाउँदा काइदाको फाइदा हुने जानकारी गराउन चाहन्छु । जय गधा दिवस, जय गधानीय सभासद्ज्यूहरू !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।