तस्बिरका वीर पुजेर हामी कहिल्यै थाकेनौँ । घात-प्रतिघातका अनेकन् विदीर्ण चोट चाखेर हामी कहिल्यै चेतेनौँ । इतिहासमा अनादिकालदेखि नै हामी निपट काँचा मान्छे दरियौँ; कहिल्यै पाकेनौँ  ।

सजिलो छ, तस्बिरका वीर पुज्नु औधि सजिलो छ । वीरको फोटो भित्तामा टाँगेर ओठेभक्ति गाउनु के भारी बात हो र ? वीर उपर शब्दका अर्चना उमार्नु कुन कठिन कुरा छ र ? अतितको कुनै अँध्यारो समयमा जुनकिरीले गरेको बलिदान उपर महिमा गान रच्नु कुन सकसको विषय हो र ? वर्तमानको पुनित दायित्वबाट पन्छिने कति सजिलो उपाय !

वीरको बन्दना गायो, माम पकायो, नाक घोर्क्यायो, पगरी गुथ्यो केही गर्नै परेन । न फलामको चिउरा चपाउनु पर्यो । न संघर्षका आटव्य उकाली अक्लिनु पर्यो । न  तारेभिरमा टेक्ने अखेटा खोप्नै पर्यो । केही गर्नै परेन । अनाहकमा मर्नै परेन । तस्बिरका वीरलाई पानी अचायो, फूल चढायो । पेटमा चारो घुसार्यो । भाते निद्रामा सुत्यो । कति सजिलो छ जीवन ! कति सजिलो छ तस्बिरका वीर पुज्न !

हामीलाई हमेसा तस्बिरकै वीरले लोभ्याउँछ । उसकै मोहनी रुपमा हामी लठ्ठ पर्छौं । मानौँ अतित गाथाको एक जादूगरी सम्मोहनले हाम्रो चेतनालाई आँधो बनाउँछ । कुँजो बनाउँछ ।  अपाहिज र पङ्गु बनाउँछ ।

पुण्य कार्की

तस्बिरका वीरले रचेका किस्साहरु हामीलाई औधी मीठो लाग्छ । उसकै वीरगाथाका मृदुल राग–रागिनीमा हाम्रा कर्णविवर एकोहोरो बन्छन् ।  तर, तस्बिरका वीरले वर्तमानमा बौरेर हामीलाई समस्याका पहाड उधिन्न बल दिन्छन् भन्ने कुरामा मलाई अलिकति पनि विश्वास छैन । तिनको बलिदानले थोरै प्रेरणाको वीज टुसाउन सक्ला । परन्तु वर्तमानका संगीन आवाजहरुलाई; मात्र अतितगाथाले अलिकति पनि सम्बोधन गर्न सकोइन ।

अहिलेको युगिन जीवनका जटिलभन्दा जटिल समस्यालाई वीरगाथाको बखानले केही गर्न सक्तैन । तर, हाम्रो चेतना अहिले पनि जंगबहादुरको खाँडो जगाइरहेको छ बिहेका जग्गेहरुमा । कुहिरेका थाप्लामा तरबार ठ्वाकको अभिनय गरिरहेका छौँ । अहिलेका हाम्रा शासक वर्ग त्यही कुहिरेको तलुवा चाट्न होपापापी गरिरहेछन् ।   खैरेकै मुलुकमा निच दर्जाको काम गर्न, खैरेको चाकरी र सेवा गर्न जाँदाछौँ । अनाडी र अल्पज्ञानी त जाने भए भए; प्राज्ञिक र बौद्धिक वर्ग पनि लाम लागेर, लम्पसार परेर उतैको बाटो समाउँदा छन् । यति हुँदा पनि खैरेको थाप्लाका तरबार ठ्वाकको खाँडो कहिलेसम्म जगाइ राख्ने होला ?

एकातिर फिरङ्गी सेनामा भर्ती खान डोकामा ढुङ्गा हालेर नेपाली युवा तातोघाममा कठिन श्रम गरिरहेछन् । अर्कोतिर जग्गेमा बाजेको पालाको तरबार म्यानबाट थुतेर कुहिरेको थाप्लामा ठ्वाक पारिरहेका छौँ, कस्तो विरोधाभासपूर्ण दृश्य ! शिक्षित सचेत पुस्ता नै त्यही फिरङ्गी मुलुक पस्न आफ्नो सम्पूर्ण जायजेथा मासेर भीसा, पासपोर्ट र डि.भी.को लाइनमा लामबद्ध छ । यता अमरसिंह थापा पश्चिम किल्ला काँगडा पुगेको कथा पनि कक्षाकोठामा चालु नै छ ।

टिस्टा हाम्रो हो भनी फलाको हाल्छौँ । तर, महाकाली जोगाउन सक्तैनौँ ।  दसगजाका जंगेपिलर जुन ठाउँमा गाडिएका थिए तत् तत् स्थानमा सिमेन्टी ढलान गर्नसक्तैनौँ । अर्थात् सालैपिच्छे जंगेपिलर यताउती सारिएका कथाले हाम्रो कान टट्याउँछ । तस्बिरका वीर उठेर आई केही गरिदिँदैन । हामी जीवित भने सिर्फ भातका भकारीमात्र हौँ । यो भन्दा बढी केही होइनौँ । कि मुखमात्र बजाउने झ्याँउकिरी आवाज हौँ ।

तस्बिरका वीर इतिहासको एक धुमिल विम्बमात्र हो । तस्बिरका वीरले अहिले खुँडा खुकुरी त के कर्दसम्म उद्याउन सक्तैन । यो एक शब्दगाथा मात्र हो । यो एक मुतको न्यानो मात्र हो ।

यसले न वर्तमानको हाम्रो शत्रुसित युद्ध लड्न सक्छ । न समकालीन युगको समरगाथा रच्न सक्छ । यो त अतित स्मरण गर्ने सानो अस्थिशेष हो, जुन सिर्फ हेर्ने चित्रको रुपमा अँध्यारो कोठरीमा  थान्को लागिसकेको हुन्छ । सिर्फ भन्ने र सुन्ने कथाको रुपमा सीमाबद्ध बनिसकेको हुन्छ ।

तस्बिरका वीरले केही गर्छ, गरिदिन्छ भन्नु आशा राख्नु मनको लड्डु घिउसित खानुतुल्य कुरा हो । किनभने तस्बिरका वीर बोल्दैन पनि । कर्मशील हुँदैन पनि । यो अतितको एक यशोगान मात्र हो । हिजो पूर्खाले खाएको घिउले आज कसैको भान्सा चल्ने भए किन पौरखका पञ्जा बजार्नु पर्थ्यो ?

हो सुखद, सुन्दर र प्रेरणादायी अतितप्रति अलिकति समादरको भाव पनि हुनुपर्छ । सम्मान र स्मरण पनि हुनुपर्छ । तर, यसको मतलव तस्बिरका वीरलाई अन्धभक्तिले पुजेर आगतको यात्रा बिर्सनु हुन्न । कुनै पनि रुपको अन्धश्रद्धा उचित हुन्न । कुनैपनि खालको अन्धभक्तिले हामीलाई अध्ँयारो खाडलतिरै अभिमुख गर्दछ ।

अन्धश्रद्धा र अन्धभक्तिले उज्यालोतिर होइन, अन्धकारतिरै लैजाने हुँदा तस्बिरका वीर पुज्नु अघि सन्देहका आँखा उघार्नु उचित हुन्छ । तस्बिरका वीरहरु साँच्चै वीर थिए कि चारण गायकहरुले लुते कायरहरुलाई पनि वीर बनाइदिएका हुन् बुझ्नुपर्ने घडी आएको छ ।

अतितगाथाले भोको पेट भरिन्न । नाङ्गो आङ ढाकिन्न । चुहुने छानो टालिन्न । अतितको राग अलापेर ओखतीको गोटी आउँदैन । त्यसैले अहिले त वीरको वन्दना गाउने ओठ भन्दा बाँझो बारी जोत्ने हात  चाहिएको छ । तर, के गर्नु तस्बिरका पुजा गर्ने संस्कृतिको छ घरघरमा ।

कसैको घरमा हात्तीसुँढे गणेशको तस्बिरका पुजा चल्छ । कसैको घरमा हनुमानको तस्बिरका पूजा चल्छ । कसैकोमा रामसिता पुजिन्छन्, भने कसैकोमा राधाकृष्णको पूजा चल्छ । कसैकोमा शिव पार्वती पुजिन्छन् भने कसैकोमा नारायणलक्ष्मीको पूजा चल्छ । यी त भए पुरातन वीरहरुको तस्बिर पूजा । यिनलाई म यसर्थ वीर भनिरहेको छु; सो समयमा यिनीहरुभित्र पनि कुनै न कुनै रुपको वीरोचित गुण थियो होला । त्यसैले यी पात्र पुजनीय भए होलान् । तर, कालान्तरमा वीरोचित गुण र सामथ्र्यलाई भगवान शक्ति र लिलामा व्याख्या हालिदिए । लाटो मनुवा ट्वाँ परेर तिनका तस्बिरमा अगरवत्तीको धुँवा सुँघाइरहेको छ ।

पुरातन तस्बिरका पूजा नचल्ने घरमा पनि नयाँखाले तस्बिरकै पूजा चलेको दृश्यले ताज्जुव लाग्छ । जुनसुकै कलेवरको तस्बिर होस्, तस्बिर तस्वीरै हो । तस्बिरका वीर सोही ड्याङ्गको वीर हो । अर्को धातुको वीर कदापि होइन । त्यसैले तस्बिरका पूजा गर्नेहरु सावधान रहनू चेतना भया ।

कसैले देवीदेवताको तस्बिर नपुजेर के भो र ? कुनै घरमा मार्क्स, लेनिन, माओको तस्बिरमा फूलमाला चढाएको देखेको छु । कुनै घरमा लिंकन गान्धीको तस्बिरमा अविर लगाएको देखेको छु । कुनै घरमा विपीको तस्बिरका पूजा चल्छ । कुनै घरमा पुष्पलाल र मदन भण्डारीको तस्बिरका पूजा चल्छ । कुनै घरमा महेन्द्र र ज्ञानेन्द्र शाहको तस्बिरका पूजा चल्छ । एक मुक्केवाज खेलाडी भाइले त माइक टाइसनको तस्बिरमा धुप बालेको दृश्य पनि देखेँ । खेल जगत्का बु्रसली, पेले, म्याराडोना, मेसी, माइक टाइसन आदि आदिका फोटो टाँगेर श्रद्धाको संवेग खन्याएको दृश्य पनि नौलो होइन । सिने पारखीहरुले त अनेकौँ नायक नायिकाका तस्बिर सजाएर तिनलाई जीवनको अराध्यदेव बनाएको पनि देखिएकै हो ।

मान्छेको रुचि र शौखको कुरा हो; साहित्य सर्जक छ भने कविलेखकका तस्बिरहरु घरमा हुन सक्छन् । भानुदेखि भूपिसम्म, देवकोटादेखि पारिजातसम्मका तस्बिरहरु, अन्य अनेकन् सर्जकका तस्बिरहरु काव्यप्रेमी जनका घरभित्तामा सजिएको कुरा नौलो होइन ।

चित्रकलाका पारखीको घरमा भ्यानगग, पिकासो, सल्भाडोर डालीदेखि हाम्रा वाङदेल बा भित्तामा टाँगिएका होलान् । गायन, नृत्य र ललितकलाका अनेकन् विधाका मनिषीहरु, सर्जकहरु जसले जगत्लाई कालजयी रचनाहरु पस्केर गए, उनीहरुका तस्बिरहरु पनि सम्मानका साथ पुजिएकै छन्, सजिएकै छन् । यो कला प्रेमको एक अद्वितीय रुप हुनसक्छ । एकहदसम्म एकसीमासम्म प्रतिभाहरुको पूजा चल्नु नराम्रो विषय किमार्थ होइन । तर, जसको अर्चना आवश्यक छैन र जुन तस्बिरमा वन्दनाको लागि चाहिने पात्रता छैन, त्यसको बन्दनाले हामीलाई उर्ध्वतलतिर अन्धतलतिर लैजाने कुरा पक्का छ ।

सहिदका तस्बिरहरुमा फूल चढाउनु राम्रै कुरा होला । विभूतिका तस्बिरमा अविर दल्नुपनि ठिकै कुरा होला । तर, हाम्रो अतित अर्चना औपचारिकतामा सीमित छ । सिर्फ ओठेभक्तिमा अडिएको छ । तस्बिरका वीरका शौर्यताबाट आफ्नो आत्मामा कति उज्यालो भर्न सकियो, सकिन्छ र त्यो दिशामा प्रयत्न गरिनेछ, त्यसको कहिल्यै चिन्तन मनन हुन्न । तस्बिरका वीरको पराक्रमबाट आफूभित्र कति ऊर्जा भरियो र कति कर्मठ बनियो, त्यसको हिसाबकिताब र समीक्षा छैन ।

फेरि जीवित प्रतिभा परित्यक्त छ । उसको सास चलुन्जेल, उसको ढुकढुकी चलुन्जेल कुनै लेखाजोखा हुन्न । खोजी, पहिचान र सम्मान हुन्न । जब प्रतिभाको भौतिक अस्तित्व सकिन्छ । अर्थात् जब ऊ तस्बिरमा टाँगिने अवस्था पुग्छ । अनि धुमधाम उसको अर्चना, गुनगान, चर्चापरिचर्चा सुरु हुन्छ । मान्छे तस्बिरमा टाँगिएपछि मात्र उसमा वीरोचित गुण देख्ने हाम्रा आँखाहरु खराब छन् ।

के कुनै विराट प्रतिभाले आफ्नो शरीर त्याग नगरी, मृत तस्बिरमा रुपान्तरण नभै माला खादा अविर नभेट्ने हो ? प्रतिभाको कदर र सम्मान हुने परिपाटी पात्र प्राणवान् छँदै भएदेखि तस्बिरका वीरलाई पूजाअर्चना गर्ने परिपाटी घट्ने थियो होला । सम्मानको लागि पात्रता भएको व्यक्तिको खोजी र उपकार शरीर जीवित छँदै खोजिने थियो होला । त्यसलाई अलिअलि अनुमान गर्न सकिन्छ ।

भ्यानगग महोदयको चित्रकारिताको विषयमा कतै पढेको छु, उनी विख्यात चित्रकार थिए । तर, जीवित रहुन्जेल उनलाई नुनरोटीको समस्याले पिरल्यो । गतिलो खान पाएनन्, लाउन पाएनन् । उनका चित्रहरु कसैले किन्दैनथे । तर, जब उनी बेहाल मृत्यु मरे । उनका चित्रहरु लाखौँकरौडौँ मूल्यमा किन्न हारालुछ चल्यो अरे । उनको प्रतिभाको यशोगान सुरु भयो र “यति विराट प्रतिभाको चित्रकार कहाँ पाइन्छ र ?” जस्तो भाषामा मूल्याङ्कन हुन थाल्यो । भ्यानगगको के कुरा हाम्रा महाकवि पचास नपुगी क्यान्सरको विरामीले संसारबाट अस्ताउनु पर्यो । जीवित रहुन्जेल उनले पाएको आर्थिक अभाव, ताडना र सास्तीको कथाले मुटु निचोरिन्छ । तर, जव उनको मृत्यु भयो; अनि विराट भक्तिभाव, जयगान र सम्मानको शृङ्खला सुरु भयो ।

जीवित मान्छे तस्बिरमा नटाङ्गिकन उसले मान, सम्मान, इज्जत प्रतिभाको कदर र सुखशान्ति भेट्नु हुँदैन क्यारे ? प्रतिभाको मूल्याङ्कन र सम्मानका लागि त्यस पात्रले मृत्यु कुर्नैपर्ने हो भने अझै कतियुगसम्म हामी तस्बिरका वीरलाई पुजिरहने छौँ । साक्षात् जीवित वीरलाई हाम्रा नजरले चिन्नपनि सकोइन । यिनै पेचिला प्रश्नले मुटुलाई घायल बनाउँछ । जो कोही होस् जीवनकालभरि ताडना र सास्ती, अपमान र यातना, दुर्व्यवहार र दुर्नाम; जब ऊ मरेर तस्बिरमा अनुदित हुन्छ, अनि प्रशंसाका पुल कसिन थाल्छन् । वीर–वन्दनाको वार ठडिन थाल्छन् । श्रद्धा र सम्मानको सगरमाथा उभ्याउन थालिन्छ । यो परम्परा सर्वथा गलत छ ।

तस्बिरका वीरलाई मात्र पूजा गर्ने सनातन परिपाटी रहेको समाजमा विराट चेतनाहरुले बाचुन्जेल सास्ती व्यहोर्नुपर्छ । मरेपछि तस्बिरका अनवरत पूजा चल्छ । तस्बिरका अखण्ड मन्त्रजाप हुन्छ । हामी नै हौँ तस्बिरका पूजा गर्ने जड पुजारी ।