“विपत्ति” भन्नासाथ नेपालमै बसेको हाम्रो पुस्ताले साढे सात वर्षअघिको अर्थात् २०७२ वैशाख १२ को “महाभूकम्प”लाई नै सम्झन्छ, कदापि बिर्सन सक्दैन । त्यस्तै हाम्रा बाजेबज्यै पुस्ताको मानसपटलबाट १९९० माघ २ को “त्यो दिन” कहिल्यै पनि मेटिएको थिएन । हाम्री बुढी हजुरआमाले आफू १० वर्षे बालिका हुँदाका ती क्षणहरुको उत्साहजनक रुपमा व्याख्या गर्ने गरेको अझै पनि सम्झन्छु म । त्यस्तै २०४५ साल भदौ ५ रातिको भुइँचालो, हाम्रो केटाकेटी बेलाका सम्झनाका रुपमा हाम्रो जीवनकालभर नै अमीट रुपमा रहन्छ नै । अनि २०३८ साल साउनमा काठमाडौंका खोलाहरुमा आएको ठूलो बाढी हाम्रा दिदीहरुले अझै सुनाउने गर्नुभएको छ नै ।
केही हप्ताअगाडि बिहानपख आएको बहत्तर साले भूकम्पको पराकम्प (खै कतिऔं हो ?)ले हामीलाई थरथरी नै कँपाएको थियो । त्यसैले विपत्तिले हाम्रो मनलाई नराम्ररी नै थर्काउने गर्दछ । अनि विपत्तिकालका मनका कथा—व्यथा पीडादायी मात्र नभएर चीरस्थायी नै रहने गर्दछन् । उदाहरणहरु माथि नै उल्लेख भइसकेका नै छन् ।
फेरि “विपत्ति” बाजा बजाएर, तिथिमिति हेरेर अनि साइत जुराएर आउने पनि गर्दैन । प्राकृतिक प्रकोपहरुलाई दैवी प्रकोप मान्ने गरिएको त्यसै होइन पनि ।
नेपाल त्यसै पनि भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ । जुनसुकै बेला भुइँचालो जान (आउन) सक्दछ । कुनै न कुनै बेलाको पराकम्प विनाशकारी नै बन्न पनि सक्दछन् । “बाह्र वर्षमा खोलो पनि फर्कन्छ” भन्छन् । बाढीपहिरो जहिले पनि आउन सक्दछ । वर्षयाममा तराईक्षेत्र (कहिलेकाहीँ काठमाडौं नै पनि) डुबानमा पर्ने गरेको हाम्रो देशको नियमित समाचार नै हुन् ।
तर त्यस्तो विनाशकारी समयमा पनि मनमा खाटो बस्नेगरी घाउ लाग्न दिन भने भएन । त्यो बेलाको पीडादायी कथा मनले सदा सम्झने गरी व्यथा बन्नु भएन । यो लेखको आशय त्यही नै हो ।
विनाशकारी भूकम्प, बाढीपहिरो, आगलागी जस्ता विपत्तिहरुले ठूलो जनधनको क्षति, ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको ह्रास, आदि गराउने भएका कारण हामी सब विचलित बन्दछौँ, त्रसित हुन्छौँ, अनि हाम्रा मनमस्तिष्क कमजोर अनि शिथिल बन्ने गर्दछन् ।
तर जुनसुकै प्राकृतिक विपत्ति हाम्रो नियन्त्रणमा हुँदैनन् । तथापि तिनले गराउन सक्ने मनका चोट अनि बेलाबेलामा आइरहन सक्ने मनोसामाजिक पराकम्पहरुलाई निस्तेज अनि हाम्रो मनमस्तिष्कमा स्थायी खाटो नबनाउने गरी व्यवस्थापन भने हामीले गर्न सक्दछौँ । हामीले त्यसो गर्न पनि पर्दछ ।
भवनहरुको विनाश, खेत—उब्जनीहरुको नाशजस्ता अनेकौं भौतिक क्षतिहरुको पाटोभन्दा पर, सुरक्षाको चिन्ता, सामाजिक सम्बन्धहरुमा आउने उतारचढाव, आफन्तजनसँग हुने अस्थायी या स्थायी बिछोड, धार्मिक एवं आध्यात्मिक मूल्यमान्यतामा लाग्ने प्रश्नचिन्ह, यी सब कारण पनि प्राकृतिक (या दैवी) प्रकोप—विपत्तिहरुको मनोसामाजिक अवयवहरुमाथि चिन्तन गर्नैपर्ने हुन्छ ।
विपत्तिपछि आइलाग्ने मनोसामाजिक समस्याहरु भनौं या मनोवैज्ञानिक अवस्थाका लक्षणहरुलाई तिनीहरुको देखापर्ने समयअनुसार पनि सरलीकृत रुपमा वर्गीकरण गर्न सकिन्छ ।
अपत्यारिलोपन, आवेग, चिन्ता, उत्तेजना व्यक्तिगत या समूहगतरुपमा तुरुन्तै देखा पर्ने लक्षणहरु हुन् । ती लक्षणहरु सँगसँगै भोकप्यास हराउने, डर लाग्ने, निद्रा नलाग्ने आदि समस्याहरु पनि आउन सक्दछन् । सुरुवाती दिनहरुका आउने यस्ता समस्याहरुलाई “शोकका प्रारम्भिक अवस्था” जस्तो मान्न पनि सकिन्छ । ती केही दिन या हप्तामा आफसेआफ पूरै नियन्त्रित भएर हराउन पनि सक्दछन् । यी सँगसँगै टाउको, पेट या जिउ दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेजस्ता शारीरिक लक्षणहरु पनि पाइन सक्दछ । कसैकसैलाई भने चाँडो रिस उठ्ने, काममा जाँगर नलाग्ने, परिवारका सदस्यहरुसँग मनमुटाव बढ्ने, सानोतिनो दुर्घटनाको शिकार बन्ने आदि समस्या पनि पर्न सक्दछ । त्यस्तै चुरोट, रक्सी बढी सेवन गर्ने, आफ्नो स्वाभाविक दैनिक क्रियाकलापमा परिवर्तन ल्याउन खोज्ने, अनि आफ्नो निद्रा, खानपानको ख्याल नगरी प्रभावित अन्य व्यक्तिहरुको सेवामा खट्नेजस्ता व्यवहारका कारण स्वास्थ्यमा अझै बढी नकारात्मक असर पर्न सक्दछ ।
भूकम्पजस्ता प्राकृतिक विपत्तिहरुका कारण घरबार या धनमालबिहीन हुनपुगेका या आफन्तजन गुमाएकाहरुमा या पहिले नै मानसिक रोग भएकाहरुमा अन्य मनोसामाजिक समस्याहरु पनि आउन सक्दछन् । जस्तैः एङ्गजाइटी, डिप्रेसन, स्ट्रेस डिस्अर्डर जस्ता दीर्घकालीन मानसिक रोगहरु । हाइटीमा आएको भूकम्पपछि गरिएको अध्ययनहरुको आँकडाअनुसार यस्तो गम्भीर समस्या ५–१० प्रतिशत प्रभावित व्यक्तिहरुमा देखापर्ने गर्दछ ।
प्राकृतिक प्रकोपहरुले व्यक्तिमात्र नभई परिवार, समाज अनि सिङ्गो राष्ट्रमा नै प्रभाव पारेको हामीले नै अझै पनि अनुभव गरिरहेका छौँ । समाजमा शुरुको चरणमा एकअर्काप्रति सहयोगको भावना प्रचुरमात्रामा रहन्छ । हाम्रो अनुभव ताजै छ, २०७२ को भूकम्प पछिको समयमा घरबाहिर पाल लगाएर बस्दा, सँगै खाने सुत्ने गर्दा पहिले नचिनेका छिमेकीहरुसँग चिनापर्ची बढेको, सद्भावमा अभिवृद्धि भएको ।
तर समयक्रममा खाद्यान्न, पानीजस्ता श्रोतहरुको अभाव बढ्दै जाँदा सहकार्यको बदला घृणा, विद्वेष, आक्षेप बढ्न थाल्ने गर्दछ । श्रोतबिहीन क्षेत्रहरुमा देखा पर्ने गरेको नेतागण एवं सरकारप्रतिको आक्रोश त्यस्तै मानसिक अवस्थाकै नै उदाहरण हुन् । यस्ता समस्याहरु प्रायशः बालबालिका, वृद्धवृद्धा, महिला, गर्भवती, शरणार्थी या आप्रवासी समूह, विपत्तिमा अत्याधिक प्रभावित समाज अनि उद्धारकर्ता (प्रहरी, सेना या स्वास्थ्यकर्मी) मा बढी हुने गर्दछ ।
अब, यसरी विपत्तिले मनोसामाजिक प्रभाव पारेका व्यक्ति अनि समाजमा “मनोवैज्ञानिक प्राथमिक उपचार” कसरी गर्ने त ?
खुसी अनि सन्तोषको कुरा, “मनोवैज्ञानिक प्राथमिक उपचार”का लागि मनोचिकित्सक या मनोविज्ञ नै बन्नुपर्दछ भन्ने छैन । वास्तवमा सामान्य व्यक्तिले नै शिक्षा या चेतना पाएको खण्डमा जुनसुकै समयमा जो कोहीलाई नै पनि प्रदान गर्न सक्दछ यो उपचार । ह्रदयदेखिकै प्रेम, मुस्कान, संवाद अनि पीडित व्यक्तिको कुरा सुन्ने धैर्य नै पर्याप्त हुन्छ यसका लागि ।
तर स्वयंसेवी भावनाले यस्तो प्राथमिक उपचार गर्न चाहने जोसुकैले पनि प्रारम्भिक तयारी भने गर्नै पर्दछ । त्यस्तो तयारी गर्नका लागि आवश्यक विधि निम्नानुसार वर्णन गर्न सकिन्छः
१. पहिले आफूलाई तयार पारौँ । आफ्ना मानसिक उद्वेलनहरु समाधान गरेपछि मात्र अरुको सेवा गर्न समर्थ भइन्छ ।
२. “संकटापन्न क्षेत्र कुन हो ? क्षति कति भएको छ ? त्यहाँ सेवा या सहयोगका श्रोत साधन कति छन् ?, अनि त्यहाँका सुरक्षा चुनौतीहरु के हु्न् ?” भनी राम्रो अध्ययन गरिनुपर्दछ । त्यसैले पहिले विपत्तिग्रस्त क्षेत्रको राम्रो अवलोकन गरौँ । सुरक्षा सावधानी अपनाऔँ । आधारभूत आवश्यकता नै परिपूर्ति हुन नसकेका र सघन आघात भएकाहरुलाई प्राथमिकता दिने हिसाबले वर्गीकरण गरिनुपर्दछ ।
३. सहायता चाहिने व्यक्तिहरुलाई भेटौँ । तिनका समस्याहरु सुनौँ अनि बुझौँ । तिनका प्रमुख आवश्यकताहरुको पहिचान गरौँ । शान्ति र सुव्यवस्था कायम राख्न अग्रसर बनौँ ।
४. तिनलाई आधारभूत आवश्यकता (सुरक्षित बास, न्यानो कपडा र स्वस्थकर भोजन) प्राप्तिका लागि सहयोग गरौँ ।
राम्रो तयारीपछि गरिने “मनोवैज्ञानिक प्राथमिक उपचार”का प्रमुख पाँच अवयवहरु भने यसप्रकार छन्ः
१.सुरक्षाः ‘म सुरक्षित छु’ भन्ने भावना जगाउन प्रभावितहरुलाई खाना, छाना अनि आकस्मिक स्वास्थ्य सुविधा उपलब्ध गराउने । ती “कहाँ र कसरी पाइन सकिन्छ ?” भन्ने कुराको यथार्थ जानकारी गराउने प्रयास गर्ने ।
२. आफन्त एवं इष्टमित्रहरुसँगको निकटता अनि सम्वद्धताः सर्वप्रथम त नजिकका आफन्त, परिवारजन, छिमेकी, साथीसँगीसँग निरन्तर सम्पर्कमा रहनसक्ने वातावरण तयार गर्ने । परिवारका सदस्य सधैं सँगै रहन पाउने माहौल कायम राख्ने । त्यसपछि, हराएका, घाइते या मृत्यु भएकाहरुको यथोचित जानकारी प्रदान गर्ने । जीवित रहेकाहरुलाई भौतिक रुपमै नसकिए तापनि टेलिफोनकै माध्यमबाटै भए पनि सकभर सम्पर्कमा राखिराख्ने प्रयास गरिनुपर्दछ ।
३. आत्मनिर्भरता एवं सक्षमता जगाउने वातावरणको निर्माणः व्यवहारोपयोगी सुझाव–सल्लाह प्रदान गरेर एक–आपसलाई सहयोग गर्न समर्थ तुल्याउने । आपना आवश्यकता आफै पूरा गर्नसक्ने गरी सबैलाई सकारात्मक अनुभूति गराउन खोज्ने ।
४. मनका कथा—व्यथा सुन्ने परिस्थितिको सिर्जनाः प्रभावित व्यक्तिहरुको कथा–व्यथा सुन्ने अनि एकले अर्कालाई आफ्ना अनुभव, चिन्ता, पीरमर्का खुलस्त राख्नसक्ने वातावरण तयार गर्ने । जति अप्ठ्यारो परिस्थितिमा पनि सहयोगी भावना कायमै राख्ने । विपत्तिका बारेमा यथार्थ जानकारी गराउने । भ्रामक हल्लाहरु निस्तेज गर्नसके मात्र पनि जनमानसमा व्याप्त भयमा व्यापक कटौती आउने गर्दछ ।
५. सहयोगको निरन्तरता अनि भविष्यप्रतिको आशावादिताको संचारः उपलब्ध राहत सामाग्री, सहायताको श्रोत, स्वास्थ्योपचार सबैका बारेमा यथेष्ट जानकारी दिई आशावादिता एवं सकारात्मक वातावरणको संचार एवं सम्प्रेषण गर्ने ।
यी पाँच सूत्रात्मक मनोसामाजिक उपचार पद्धति लागू गर्न हामी मनोचिकित्साकर्मीहरुको एक्लो प्रयास मात्रले सम्भव भने हुँदैन। यसमा स्थानीय नागरिक समाज, राजनैतिक नेतृत्व, शिक्षक, मिडियाकर्मी सबैको सामूहिक हातेमालोको आवश्यकता सधैंभरि नै पर्न सक्दछ ।
हुन त, माथि बुँदागत रुपमा उल्लेख गरिएको “मनोवैज्ञानिक प्राथमिक उपचार” को अवधारणा सन् १९४० देखि नै चर्चामा रहेको थियो । अझ दोस्रो विश्वयुद्धको समाप्ति सँगसँगै दह्रो रुपमा अगाडि बढेको विषय हो यो । बिगत १५—२० वर्षयताका विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले यसको सान्दर्भिकता झनै प्रष्ट्याएका छन् । यस्ता प्रकोपहरुले ल्याउन सक्ने विभिन्न किसिमका सरुवा रोगहरुका महामारीहरुले ल्याउन सक्ने मनका घाउहरुको चर्चा अरु कुनै लेखहरुमा गरौंला पनि ।
भनिन्छ, अहिले विश्वमा व्याप्त द्वन्द्व र हिंसाका कारण करिब १० करोड व्यक्ति प्रभावित छन्, अन्दाजी ६ करोड जनता विस्थापित भएका छन् । त्यस्तै ४ मध्ये १ वयस्क व्यक्ति आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्याद्वारा प्रभावित हुन्छन् । प्रत्येक व्यक्ति जीवनभरिमा कुनै न कुनै मानसिक समस्याबाट आफैं गुज्रने या त्यस्ता समस्या भएका व्यक्तिको नजिकैबाट हेरचाह गर्नुपर्ने अवस्थामा रहने गरेको सर्भेक्षणहरुले दर्शाएका छन् । अनि प्रत्येक ४० सेकेण्डभित्र एक व्यक्तिले विश्वको कुनै एक स्थानमा आत्महत्या गर्ने गरेको डरलाग्दो तथ्याङ्क पनि विद्यमान छ । यस्तो संकटापन्न अवस्थामा रहेको विश्वमा “मानसिक स्वास्थ्य प्राथमिक उपचार”को भूमिका के सानो होला र ? आफैं विचार गरौँ ।
हाम्रो स्वास्थ्य क्षेत्रमा ’बेसिक लाइफ सपोर्ट’ या ’एड्भान्स्ड ट्रमा लाइफ सपोर्ट’ भनेर शारीरिक पक्षतिर मात्र बढी ध्यान दिने चलन छ । यसमा मनोसामाजिक अवयवहरुलाई पनि समावेश गरेर प्राथमिक स्वास्थ्यलाई अझै फराकिलो नजरले किन हेर्न सकिरहेका छैनौं हामी ? शरीर र मनलाई अझै किन विभाजन गरिरहेका छौँ हामी ? माथि उल्लेखित युद्ध, हिंसा, प्राकृतिक प्रकोप, विस्थापन, आतंक, दुर्घटना आदिका कारण बदलिंदो विश्वको भयावह तस्वीरले हामीलाई अब घच्घच्याउनै पर्दछ । अहिले विश्वव्यापी प्रकोपको रुपमा रहेको कोरोना महामारी अनि हाम्रो देशमा भयावह अवस्थामा आउन लागेको डेंगुको प्रचूरतालाई त झन् कसरी पो बिर्सन मिल्ला र ?
अतः मानवीय संवेदनायुक्त भएर सामाजिक सुरक्षा, संचार, व्यावहारिक साथ–सहयोग अनि मनोविमर्शले भरिपूर्ण मनोसामाजिक उपचारका अवयवहरुलाई सधैंभरि नै अवलम्बन गर्नु जरुरी भइसकेको छ ।
मानसिक आघात जस्तो रुपमा पनि आउन सक्दछ । प्राकृतिक प्रकोप, सडक या हवाइ दुर्घटना, युद्ध विभीषिकाले सामूहिक रुपमा थुप्रै व्यक्तिहरुलाई एकैपटक असर पु¥याउन सक्दछ भने कार या मोटरसाइकल दुर्घटना, चोरी–डकैंती या आगलागीले भने सीमितलाई मात्र पीडित बनाउँदछ । जे जस्तो नै भए तापनि शारीरिकका साथै मानसिक प्राथमिक उपचारले तिनका पीडामा मल्हमपट्टी लगाई तिनलाई यथार्थको धरातलमा चाँडै नै ल्याउन सघाउ पुर्याउँदछ ।
मनोवैज्ञानिक या मानसिक पीडा जसलाई पनि, जहाँ नै पनि पर्न सक्दछ–घर, अफिस, स्कूल, बाटोघाटो, यातायात या अस्पतालमै पनि । अतः मनोवैज्ञानिक प्राथमिक उपचारमा दक्षता भएमा जहाँ नै पनि हामी कसैको पनि “मनका कथा”लाई बुझ्न अनि तिनलाई सहायता गर्न समर्थ बन्न सक्दछौँ ।
फेरि पनि, यसका लागि ’डाक्टर’नै बन्नुपर्ने आवश्यकता भने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।