जमिल जान कोचाई पाकिस्तानको पेशावर शहरमा जन्मिए । उनका बुवाआमा त्यहाँबाट अमेरिकाको क्यालिफोर्नियामा बसाइँ सरे । क्यालिफोर्नियामा बसाइँ सर्दा उनी जुन स्कुल पढ्थे, त्यो स्कुलमा सुसान लङ नामक एक शिक्षिका थिइन् । दोस्रो कक्षामा ती शिक्षिकाले जमिललाई माया गरेर पढाउने मात्र होइन, अंग्रेजीको आधारशीला नै बनाइदिइन् । त्यही आधारशीलाले उनी साहित्य लेखनतर्फ तानिए ।

जब उनको पहिलो साहित्य कृति बजारमा आयो, जमिललाई आफ्नी शिक्षिकाको यादले सताउन थाल्यो । २० वर्षअघि आफूलाई पढाउने शिक्षिका यतिबेला अवकाश लिएर अन्यत्रै बसाइँ सरिसकेकी थिइन् । कसरी उनलाई धन्यवाद दिऊन् जमिलले !

गएको शनिबार राति उनले आफ्नी शिक्षिकालाई फेला पारी छाडे । फेला मात्र पारेनन्, आफ्नो जीवनमा उनले पारेको प्रभाव र सोही प्रभावका कारण साहित्यमा बामे सरिरहेकामा उनले कृतज्ञतासमेत व्यक्त गरे ।

‘मेरी गुरूआमालाई फेला पारूँला भनेर मैले कल्पनासम्म गरेको थिइनँ,’ जमिलले भने, ‘तर भन्छन् नि, जिन्दगी आख्यानभन्दा चर्को हुन्छ । ममाथि त्यही घट्यो ।’

आफ्नो दोस्रो पुस्तक विमोचनपछि एउटा बुक रिडिङ कार्यक्रममा गुरूआमालाई भेट्ने मात्र होइन, त्यही आभार प्रकट गर्ने अवसरसमेत पाए ।

उनले कार्यक्रम सकिएपछि एनपिआर नामक मिडियालाई अन्तरवार्ता दिँदै भने, ‘मैले अंग्रेजी यिनै शिक्षिकाका कारण सिकेँ र लेख्न जानेँ । श्रीमती लङ हुनुहुन्थेन भने शायद म अंग्रेजीलाई प्रेम गर्ने व्यक्ति हुन्थिनँ होला ।’

‘म साह्रै सानो थिएँ, मलाई उहाँको नाम पनि सम्झना छैन,’ उनले भने, ‘उनकै कारण आज म उपन्यासकार बनेँ ।’

सन् १९९९ ताका उनी जम्मा ७ वर्षका थिए र त्यही बेला यी शिक्षिका फेला परेकी थिइन् ।

२ कक्षा पढ्दाताकाका जमिल कोचाइ

९९ नाइट्स इन लोगर नामक उपन्यासमै उनले पेन अवार्डजस्तो प्रख्यात पुरस्कारका लागि नामाङ्कित भएका थिए । उनको दोस्रो उपन्यास द हन्टिङ हाजी होटक एन्ड अदर स्टोरिज् कथा सङ्ग्रह भने भर्खरै निस्केको छ।

अफगानिस्तानबाट भागेर पाकिस्तान आइपुगेका अभिभावकबाट पाकिस्तानको पेशावरमा जन्मिएका उनको घरमा पास्तो र फारसी भाषा बोलिन्थ्यो । अमेरिका पुग्दा उनलाई अङ्ग्रेजीको अ पनि आउँदैनथ्यो ।

पछि अमेरिकामा पढ्न थालेको केही समयभित्रै शिक्षिकाका कारण उनी स्कुलमा रमाउन थाले तर जब २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको ट्विन टावरमा आतंककारी हमला भयो, त्यसपछि भने उनी अमेरिकामा टिक्न सकेनन् । अमेरिकाको एलिस नर्मन एलिमेन्ट्री स्कुलमा शिक्षिका सुसान लङले बाटो देखाएकी थिइन् । कतिसम्म भने स्कुलमा पढेर नभ्याएका वा नबुझेका कुरा पनि स्कुले समयपछि सुसानले सिकाउँथिन् । उनकै जोड बलले उनी भयरहित अङ्ग्रेजी बोल्न र लेख्न जान्ने भए ।

त्यसो त सुसानका लागि यो खासै मिहिनेतको कुरा थिएन । उनको काम नै मातृभाषा अङ्ग्रेजी नभएका बालबालिकाहरूलाई सहज तरिकाले अङ्ग्रेजी सिकाउनु थियो । उनलाई त्यस्तो गर्दा रमाइलो पनि लाग्थ्यो ।

सुसान भन्छिन्, ‘जब तपाईंको आँखाअगाडि नै बच्चाबच्चीहरूले अक्षर खुट्याउन थाल्छन् र पटरपुटुर बोल्न थाल्छन्, त्यसको आनन्द अवर्णनीय हुन्छ । मैले जमिलमा त्यही प्रगति देखेँ ।’

जमिलले सुसानलाई कहिल्यै पनि सुसानका रूपमा चिनेनन् । उनले श्रीमती लङ भनेर मात्र सुने, जाने । जब पहिलो उपन्यास निस्कियो, उनलाई सुसानको यादले सतायो । यत्रो प्रगति गरेको बच्चाका बारेमा त सुसानले सुन्नै पर्छ भन्ने उनलाई लाग्यो ।

सधैँ घरमा जमिलले आफ्ना बाआमालाई ती शिक्षिकाको प्रेरणाका बारेमा सुनाइरहेका हुन्थे । यसको जवाफमा उनीहरूले भन्ने गर्थे, एक दिन जब तिमी उभिन योग्य हुन्छौ, उनलाई भेट्नू ।

कयौँ पटक उनी सामान्य विद्यार्थी हुँदा पनि आफ्नी शिक्षिकाका बारेमा उनले खोजीनिति नगरेका होइनन् । तर स्कुल टाढा भएकाले उनी त्यहाँ पुग्न सकेनन् । पछि त बसाइँ नै अर्कै ठाउँमा हुन थाल्यो । पछि कलेज पढ्न थाल्दा पनि उनले ती शिक्षिकालाई बिर्सिएनन् । उनले यसपछि चाहिँ स्कुलमा सोधीखोजी गरे तर सुसानले धेरैअघि अवकाश लिएकाले विद्यालय प्रशासनले पनि केही जवाफ दिन सकेन ।

पहिलो उपन्यासको प्रचारका क्रममा उनले एउटा निबन्ध लिटररी हब नामक म्यागेजिनमा छाप्न पठाए । सो निबन्धमा कसरी एउटी शिक्षिकाको निरन्तरको प्रयासले आफूमा अङ्ग्रेजी भाषाको आतङ्क निर्मूल भयो र अहिले त्यही भाषामा उपन्यास लेखिरहेको छु भनी लेखेका थिए । यो आलेख निकै लोकप्रिय भएको थियो तर एक जना फिजिसियन चिकित्सकले भने त्यो बेला पढेका रहेछन् ।

सुसानको उपचारका क्रममा चिकित्सकले अचानक सोधे, ‘तपाईंले कुनै समय एलिस नर्मन एलिमेन्ट्री स्कुल पढाउनु हुन्थ्यो ?’

सुसानले भनिन्, ‘पढाउँथेँ नि ! तर धेरैअघि !’

‘तपाईंले जमिल भन्ने बालकलाई चिन्नुहुन्छ ?’ चिकित्सकले फेरि सोधे ।

जीवनमा सुसानले यति धेरै विद्यार्थी पढाएकी थिइन्, जमाललाई सम्झने कारण पनि थिएन । सुसान बिरामी थिइन् । त्यसले चिकित्सकले धेरै दुःख चाहेनन् तर सुसानका पतिलाई लिटररी हब म्यागेजिनमा लेखिएको टिप्पणी पढ्न दिए ।

उनलाई सो लेखनी रोचक लाग्यो । हतारहतार फेसबुकमा जमिललाई खोजे र अन्ततः फेला पारे ।

जब सुसानका पतिले सारा कुरा जमिललाई सुनाएर आफू श्रीमतीसहित उनलाई भेट्न चाहेको बताए, जमिलका लागि यो जत्तिको भाग्य खुलेको दिन थिएन ।

दोस्रो उपन्यास बजारमा आएको अवसर पारी राखिएको एउटा रिडिङ प्रोग्राममा यी शिक्षिका र विद्यार्थीबीच भेट सम्भव भयो ।

‘मेरी शिक्षिकासँगको यो भेट मेरा लागि कति सुन्दर पल थियो भन्ने कुरा म बयान गर्न सक्दिनँ,’ जमिलले भने, ‘धेरै वर्षपछि मैले उनै पुरानी मिसेस लङ फेला पारेँ । उनी उत्तिनै कोमल, प्यारी र करूणाले भरिएकी थिइन् । जुन क्षण मेरो उनीसँग पुनः भेट भयो, मेरा आँखाबाट आँशुका भल रोकिएनन् । यत्तिको भावुक क्षण र प्रेमिल रात मेरो जीवनमा आएको थिएन ।’

अन्ततः २२ वर्षपछिको सो भेट दुवैका लागि आनन्ददायी बन्यो । शिक्षिका सुसानले विद्यार्थी जमिललाई भनिन्, ‘मलाई तिम्रो पहिलो कृति नै प्यारो लाग्छ । छ भने मलाई उपहार देऊ ।’

जमिलले खुसीखुसी आफ्नो प्रथम उपन्यासमा हस्ताक्षर गरी उपहार दिए ।