कोरोनाभाइरसको संक्रमणका डरले विगत अढाई महिनाभन्दा लामो समयदेखि देश बन्दाबन्दीमा छ। यसका बाबजुद पनि देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । यस्तो विषम परिस्थितिमा सबैको मन मस्तिष्कमा डर तथा त्रास व्याप्त छ ।

यस्तो बेलामा लेखन र पठनमा रूचि हुनेहरूले पनि आफूसँग भएका पुस्तकहरू लगभग पढेर भ्याइसके। साहित्यकारहरु पनि लेखन, सञ्जाल बहस तथा अध्ययनमै व्यस्त छन् । तर पाठक र लेखकबीचको दूरीलाई छोटो बनाइदिने प्रकाशकहरु भने के गर्दै छन् त? उनीहरु पनि किताब पढ्छन् ? पढ्छन् भने के पढ्दैछन् ? यही सालभित्र कुन प्रकाशनले कस्ता पुस्तक बजारमा ल्याउँदैछन् ? तथा सरकारले निरन्तरता दिएको पुस्तक माथिको करका विषयमा के भन्छन् प्रकाशक ?

अजित बराल, फाइन प्रिन्ट

के गर्दैछन् प्रकाशक ?
दशैँअघि अमर न्यौपानेको ‘गुलाबी उमेर’को प्रकाशनपश्चात् फाइनप्रिन्टले अन्य पुस्तक बजारमा ल्याएको छैन । फाइन प्रिन्ट तिहारपछि नेपाल लिट्रेचर फेस्टिभलमा व्यस्त भयो। फाइन प्रिन्ट के गर्दैछ त भन्ने प्रश्नमा प्रकाशक अजित बराल भन्छन्, “लकडाउन सुरु भएपछि पुस्तक प्रकाशन र बिक्री वितरणको काम त लगभग ठप्प नै भयो तर प्रकाशनका लागि घरबाटै गर्न सकिने पाण्डुलिपि अध्ययन तथा प्रकाशनका लागि फाइनल भएका पुस्तकहरूको सम्पादन लगायतका कामहरु भने भइरहेका छन् । अवस्था सहज हुँदै गएपछि तयार रहेका पुस्तकहरु क्रमबद्ध रुपमा बजारमा पढाइँदै जाने सोचमा छौँ ।”

बन्दाबन्दीकै बीच पनि काठमाडौँ उपत्यकामा पुस्तकको होम डेलिभरीको व्यवस्था बुकहिलले गरिरहेको छ। संस्थाका कार्यकारी प्रमुख भूपेन्द्र खड्का लकडाउनमा पनि पुस्तकप्रतिको पाठकको आकर्षण देखिएकामा हर्षित छन्। उनी भन्छन्, “गलितो किताब हामीसँग छैन । अझ भनौँ, नेपालीलाई पुग्ने किताब नेपालमा लेखिएका छैनन् । घरमा भएका किताबहरु पढ्नेहरुले पढिसकेका छन् । राम्रा किताब निकाल्ने हो भने नबिक्ने भन्ने होइन तर हामीकहाँ कि त राम्रा लेखक भएनन् वा राम्रा किताब लेखिएनन्, कि त भनौँ लेखकहरुले मिहिनेत गरेनन् । अर्को कुराचाहिँ के पनि भयो भने, हामीसँग सम्पादक भएनन् । सम्पादनका नाममा सम्पादकहरुले प्रुफ हेर्ने काम मात्र गरे । गरिरहेका छन् । सबैभन्दा दुःखको कुरो यही छ ।”

पुस्तक व्यापार ठप्पजस्तै रहे पनि शिखा बुक्सका पुष्पराज पौडेलले बन्दाबन्दीको अवधिमा अधिकांश समय प्रकाशनकै काममा बिताए । उनले यी अढाई महिनामा पाण्डुलिपि पढ्ने तथा डिजाइनका काम गर्नेमा खर्चिए। उनी भन्छन्, “यो समयमा पाण्डुलिपि नै मात्र मैले ५० को हाराहारीमा पढेँ । छाप्न सक्ने हो भने त पुस्तकको बाढी नै आउलाजस्तो छ यो वर्ष तर सबै किताब छाप्न समय नै प्रतिकूल छ ।”

कृष्ण अविरल, मञ्जरी प्रकाशन

न्यु इराका मोहनजंग राउतलाई कोरोनाले गाउँ पुर्याएको छ । यो समय प्रकाशनका काम तथा पुस्तकसँग भन्दा पनि उनी खेतीकिसानीमा बिताइरहेका छन् । उनी भन्छन्, “प्रकाशन गृह सुरुवातमा थियो । दशैँअघि विशाल दत्तको ‘मेटाफर’लाई बजारमा ल्याएका थियौँ तर लकडाउनसँगै बजार बन्द भयो । केही लेखकहरुसँग पुस्तक प्रकाशनका लागि छलफल भइरहेको भए तापनि कोरोना कहरकै कारण पक्का भने हुन सकेको छैन ।”

पछिल्लो समय पुस्तक पसल तथा होम डेलिभरीलाई सञ्चालनमा ल्याए पनि पुस्तक बिक्री ठप्पजस्तै भएको बताउँछन्, मञ्जरी प्रकाशन गृहका सञ्चालक कृष्ण अविरल । प्रकाशकहरु के गर्दैछन् भन्ने साहित्यपोस्टको प्रश्नमा उनी भन्छन्, “प्रकाशकहरु अहिले सोचिरहेका छन्, घरभाडा कसरी तिर्ने ? कर कसरी तिर्ने ? छापेर राखेका किताब कसरी बेच्ने ? अगाडिका कागज तथा बैंकका ऋणहरु कसरी तिर्ने ?”

के पढ्दैछन् प्रकाशक?
यस्तो तनावका बीच पनि प्रकाशकहरू पढ्ने कुरामा रूचि राख्लान् ? राखिरहेका छन् भने तिनको रूचि कस्तो होला? उनीहरूले के पढिरहेका होलान् ? उपन्यासकारसमेत रहेका मञ्जरी प्रकाशनका प्रमुख कार्यकारी कृष्ण अविरलले पाण्डुलिपि पढ्ने तथा सम्पादन कर्मका अलावा यही अवधिमा आफ्नो एक उपन्यास लेखी भ्याए । साथै बालकृष्ण समका ‘मेरो कविता आराधन’, टुकराज मिश्रको राणाकालबारे ‘रिणी र राँठी’ पढे । लेखनको सिलसिलामा कतिपय किताबहरु दाहोर्याए भने अहिले ‘नेपालको विद्वत परम्परा’ पढिरहेका छन्।

बुकहिलका भूपेन्द्र खड्काले बन्दाबन्दीको समय पुस्तककर्ममै बिताए। उनले यो समयमा पुस्तक पढ्ने, पाण्डुलिपि पढ्ने तथा सम्पादनको काममा आफूलाई खर्चिरहेको साहित्यपोस्टलाई बताए। यसका अतिरिक्त खड्काले यस अवधिमा आफ्नै पुस्तकको पनि लेखन गरेको बताए। खड्का भन्छन्, “पढ्ने काम त भयो तर धेरै पाण्डुलिपि र सम्पादनमै समय खर्चिइयो । पुस्तककै रुपमा भने खप्तड बाबाको ‘विचार विज्ञान’ भन्ने पुस्तक दोस्रोपटक पढेँ ।”

भुपेन्द्र खड्का, बुक हिल

फाइनप्रिन्टका अजित बराल यतिबेला पोखरामा बितिरहेको छ। बन्दाबन्दीलाई जीवनमा उपलब्ध अभूतपूर्व विश्राम सम्झेर पोखरा पुगेका उनी त्यतिबेला दिक्क भए, जब पढ्न मन लागेका पुस्तकहरु काठमाडौँमै छुटेको पाए । तापनि यस अवधिमा शशी थरुर र समिर सारनको ‘द न्यु वर्ल्ड डिसअर्डर’ पढे । त्यसो त बन्दाबन्दीको समयमा पुस्तक नपाइएपछि बर्माको राजनैतिक घटनामाथि लेखिएको ईबुक पहिलोपटक पूरै पढे। यसअघि उनले पूरै किताबको ईकपी पढेका थिएनन्। त्यसका साथै, धेरै पहिले पढेका केही किताबहरु पुनः दोहोर्याउने अवसर पनि पाए ।

बन्दाबन्दीका बीच ५० को हाराहारी पाण्डुलिपि हेरेका शिखा बुक्सका पुष्पराज पौडेलले पढ्न मन लागेका बिपी कोइरालाका कथाहरु, शरत्चन्द्रको भारतीय उपन्यास ‘चरित्रहीन’ लगायत पढ्न भ्याए ।

कस्ता पुस्तक ल्याउँदैछन् ?
भूपेन्द्र खड्काका अनुसार बन्दाबन्दीअघि नै प्रेस पुगेका किताबहरुको भविष्य नै अन्योल बनिरहेको समयमा तत्काल नयाँ पुस्तकको घोषणा तथा प्रकाशन गरिहाल्ने अवस्था छैन । बन्दाबन्दी खुलेरै मात्र पनि हुँदैन, बजार पहिलेको अवस्थामा आउन समय लाग्ने भएकाले बुक हिलबाट नयाँ पुस्तक प्रकाशन गर्ने कुनै सोच नरहेको खड्का बताउँछन्।

राम श्रेष्ठ, पाँचपोखरी पब्लिकेसन्स

पाँचपोखरी प्रकाशन गृहलाई आमपाठकले विदेशी पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने प्रकाशन गृहका रुपमा चिनेका छन्। यस प्रकाशन गृह अहिले प्रकाशन गर्नुपर्ने पुस्तकहरुमा आवश्यक तयारी गरेरहेको बताउँछन्, सञ्चालक राम श्रेष्ठ । श्रेष्ठ भन्छन्, “अब हाम्रा पुस्तकहरु पहिलाकै जस्ता हुने हुन् । तयारीमा आउन लागेकामा कृषि र सकरात्म सोचसम्बन्धी पुस्तकहरु अलि बढी रहेका छन् । त्यसका अलावा देश तथा विदेशका सफल व्यक्तित्त्वहरुको जीवनी पनि हाम्रो प्रकाशनको प्राथमिकतामा छन् । र, अब बजार सहज भएपछि हामीले बजारमा ल्याउने पुस्तकहरु पनि यस्तै किसिमका हुनेछन् ।”

बन्दाबन्दीपछि आममानिसमा मानसिक समस्या बढ्ने हुँदा पुस्तकले त्यो अवस्थामा पाठकलाई सकरात्मक ऊर्जा प्राप्त गर्नुपर्ने मत राख्छन् श्रेष्ठ ।

उसो त प्रकाशन गृहहरुले पुरस्कारलाई टार्गेट गरेर राम्रा पुस्तकहरु चैत अन्तिमलाई साँचेका हुन्छन् तर यही समयबाट बन्दाबन्दी सुरु भएपछि फाइनप्रिन्ट लगायत धेरै प्रकाशन गृहका प्रतिक्षित पुस्तकहरु रोकिए। फाइन प्रिन्टका कति पुस्तकहरु छापामा पुगेर थन्किएका छन् भने कति पुस्तकहरु छापाबाट फर्किर आइसकेर पनि गोदाममा थन्किएका छन् । यसरी थन्किएका पुस्तकहरुमा जीवा लामिछानेको नियात्रा संग्रह, मनीषा कोइरालाको विमोचनका लागि तयार ‘हिल्ड’को नेपाली अनुवाद, राजीव उपाध्यायको नेपालको राजनैतिक मुद्दामाथि लेखिएको किताब, सुरेश बादलको पुस्तक तथा विजय कुमारको ‘फेक आइडी’ आदि छन् ।

पुष्पराज पौडेल, शिखा बुक्स

लक डाउनको समयमा मञ्जरी प्रकाशनका अविरलले करिब तीस ओटा पाण्डुलिपिबाट प्रकाशनका लागि पाँच ओटा पुस्तक मात्र छनोट गरे तर ती पाँच पुस्तक पनि कहिले छापामा पठाउने भन्ने टुङ्गो नभएको उनले साहित्यपोस्टसँग बताए ।

कोरोनाका कहरका बाबजुद यही साल प्रकाशन हुनसक्ने सम्भावनाका फाइनल भइसकेका पुस्तकका लिस्ट पनि लामै छ शिखा बुक्ससँग । त्यसमा पनि प्रथमिकतामा रहेका पाण्डुलिपिहरुमा चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह, निर्दोष डेरावाल नामक उपन्यास, नाम राख्न बाँकी जया ओझाको उपन्यास, भुवनहरि सिग्देलको उपन्यास, निर्मोही व्यासको नियात्रा संग्रह लगायतका पुस्तक रहेको पुष्पराज पौडेलले बताए ।

पुस्तकमा लगाइएको करः
सरकारले गत आर्थिक वर्षदेखि पुस्तकको आयातमा मूल्य अभिवृद्धि कर थप गर्यो। जसको विरोधमा प्रकाशन गृहमात्र होइन, आमपाठक तथा विद्यार्थीहरुले पनि पूरै वर्ष खर्चिए। धेरैको आशा थियो, उक्त कर यो वर्षको बजेटमा घटाइने छ तर त्यसो भएन। चक्लेटको आयतमा लगाइँदै आएको कर घटाइँदा, पुस्तकको आयातमा लगाउँदै आएको करलाई भने यथावत् राखिएको बजेट भाषण अर्थमन्त्रीले संसदमा सुनाए।

करका कारण विगत १० महिनादेखि अंग्रेजी किताबको आयत रोकिँदा उच्च शिक्षाका पाठ्यपुस्तक मात्र रोकिएनन्, बौद्धिक तथा बुद्धिजीवीहरुका पठन तथा ज्ञानको सीमामा समेत संकुचन आएको मत छ बुकहिलका भुपेन्द्र खड्काको । उनी भन्छन्, “नेपाली किताबले मात्र नेपाली पाठकलाई धान्दैन। अहिले होम डेलिभरीमै पनि अंग्रेजी पुस्तकको माग धेरै छ तर पुस्तक आयात नै भएको छैन। कहाँबाट ल्याउने ? फेरि अर्को कुरा के भने, संसारको कुनै पनि देशले आफ्नै सीमा भित्रका पुस्तकले त्यहाँको बौद्धिक सर्कललाई बढाउँछु भन्नु मुर्खता हो। त्यसैले निर्वाध रुपमा विदेशी पुस्तक आयात हुनुपर्छ ।”

सरकारले किताबमा लगाएको करले प्रकाशकलाई कुनै पनि असर नगरेको फाइनप्रिन्टका अजित बरालको मत छ। यस विषयमा उनी भन्छन्, “विदेशबाट आउने पुस्तकहरु क्रेडिटमा आउँछन्, जुन ९० दिनभित्र तिर्नुपर्ने हुन्छ। पुस्तकको आयात ३७ प्रतिशतले घटेको प्रतिवेदन पनि आइसकेको छ। यसको कारण भनेको पुस्तक व्यावसायीहरुले विरोध स्वरुप नल्याइदिएर पनि हो तर यसले बजार, पठन संस्कृति र देशको विकासलाई भने रोकेको छ। हाम्रा अर्थमन्त्रीले यसलाई फिजिकल रुपमा मात्र हिसाब गर्नुभयो। यो अर्थ मन्त्रीको कमजोरी हो । साथै, करका कारण विदेशी पुस्तकहरु पहुँचमा आउँदैनन्। यसले हाम्रा लेखकहरुको अध्ययन तथा अनुसन्धान दायरालाई घटाउनेछ। यसको अप्रत्यक्ष असर प्रकाशन गृहले पनि बेहोर्नु पर्नेछ।”