२६ कार्तिक २०७७

 

दशैँ लाग्नेबेलामा अविरल भतिजले ‘पसिनाका पाइला’ पुस्तक ल्याएर छोडेछन् । मलाई बेलुका मात्रै थाहा भयो । यसको आगमनबारे निकै अघिदेखि सूचना पाउँदै आएको थिएँ, फेसबुकले देखायो, राम्रो आवरण पृष्ठ छ । स्रष्टा भाइ लक्ष्मण गाम्नागेले पनि सुनाए, आउँदैछ यस्तो माल भनेर ।

म ठान्दै थिएँ, मनमा कुन दिन भाइले पाण्डुलिपि पठाउँछन् होला । उनको धेरै पुस्तकमा मैले लेखेको छु । यो भिन्न विधा झन् खुसी बोकेर आउँछन् । हाम्रो परिवारको नयाँ उपन्यास ।

तर ‘पुस्तकै आयो’ भनेपछि मनमा बेखुसी र क्रोध उत्पन्न भयो— अब भाइले टेर्न छोडेछ भन्ने । अनि मनले निश्चय गरेँ— यसको पुस्तक पनि म पढ्ने छुइनँ । तर त्यस्तो कुरा अरुलाई सुनाउनु भएन । जोरीपारीले खुच्चिङ गर्लान् । आफूले ता यो छ वर्षे भाइलाई यो काखमा बोकेको ५२ वर्ष बितेछन् । हिजोआज सुन्दा कसैलाई ता म भर्खर ४२ पुगेँ भन्दा रहेछन् । उनले ‘गाम्नागे’ पदवी लिएको पनि पछि नै हो । पाठकले नै हिसाब गरुन् इनको उमेर कति भयो । मैले रिसमा नपढ्ने विचार गरेँ तर अञ्जनाले त्यही दिन थालिछन् । सकेर लेखिछन् पनि थाहा भएन । दाजुले पनि त्यही दिन थालेर सक्नु भएछ, लेख्नु भएछ । अरु पाठकका पाठकीय मन्तव्य पनि निरन्तर आउन थाले । उनीहरू प्रत्येकपल्ट मलाई सोध्छन्— दाइलाई गाम्नागेले नयाँ पुस्तक दिएनन् ? गज्जबछ बा ! दाइलाई गाम्नागेले भूमिका लेखिमागेनन् ? गज्जबछ बा !

तथाकथित दशैँ आयो । पहिराले छोपेको घरबरी जस्तो । त्यसै मनको सेउले कटेरामा लुकेर बितायौँ । त्यसमाथि अनि काममा भारीले थिचिएको । ‘पसिनाका पाइला’ नपढ्ने विचारले बसिरहेको थिएँ । एकदिन सुनेँ— गाम्नागे भाइलाई कोरोना भयो, भाइबुहारी छोराछोरी सबै । त्यसपछि दिनानुदिन फोन गर्छु, हाल सोध्छु, बोल्दाबोल्दै घाँटी अवरुद्ध सुन्छु । फेरि भोलि सोध्छु, झन् सारो छ । पर्सि सोध्छु—बोल्नै नसकिने छ । जाने आँट छैन । हाम्रा परिवारका प्रथम लडाकु राम र लक्ष्मण कुन दोखले सल्कायो थाहा छैन ।

पन्ध्रदिनपछि बीसको उन्नाइस भयो भन्ने फेरि अठार अनि सत्र गर्दैगर्दै तीनमा झ-यो । भिडियो कलमा बोलाएर हेरेँ— भाइ ता २२ किलो जस्तो देखिने गरी सुकेछ । अनि धेरै माया लागी खपी नसक्नु हुँदो भएँ । तीन दिनअघि फोन गरेर भनेँ— बेस्सरी भिटामिन पेल्नु भाइ । त्यसो त यो कुरा अरुलाई पर्दा बेदान्त आफूलाई पर्दा मरणान्त भनेजस्तै हो । तै पनि तिमीहरु प्रथम विजेता हौ ।
०००

अनि पढ्न बसेँ दुई दिनमा सक्न कस्सिएको अलिकति समय चुँडेर अर्थोकलाई पनि मन्साउनु प-यो । हिजो राति कुतुहलपूर्ण १५ पृ. छोडेर सुत्न झरेँ त्यस परले आज तीन बजे उठेर त्यति सिध्याई केही लेख्न बसेको छु ।
पढिसकेपछि पनि एकपल्ट भाइप्रति मनमा क्रोधै उत्पन्न भयो— यस्तो शक्तको भाषा र शैलीको बरदान पाएका गाम्नागेको धेरै जीवन क्षणिक थपडीको लोभमा सलङखार भएर बित्यो । बितेका चार दशक आख्यानमा मात्र समर्पित भइरहेका भए उनी कहाँ पुग्थे होलान्, कल्पना गर्न सकिँदैन ।

उपन्यासलाई जीवनको प्रतिरुप कल्पना भनिएको छ । प्रत्येक आख्यान कल्पना हो । तर फेरि प्रत्येक आख्यान यथार्थकै प्रविविम्बि कल्पना । ‘पसिनाका पाइला’ जोर–चुल्ठी बाटिएको कला रहेछ । पढिसक्ता लाग्यो यसबाट दुई स्वतन्त्र आख्यान बन्ने रहेछन् । तर पति–पत्नी जस्ता । उनीहरू एक्लाएक्लैमा पूर्ण मानव हुन् तर फेरि नारीलाई लाग्छ म दापको एउटा मात्र फब्लेँटो हुँ । पुरुषसँग नजोडिई पूर्ण हुन्नँ । पुरुषलाई लाग्छ— म दापको एउटा मात्र फब्लेँटो हुँ, नारीसँग नजोडिई म पूर्ण हुन्नँ । सृष्टिको रहस्य तेस्तै ।

प्रस्तुत आख्यानमा नारी र पुरूष जोडिने र फुक्लिने कर्महरूको एक अनन्त शृङ्खला बुनिएको छ । जीवन भोगेर सकिने बेलामा पनि एकले अर्कालाई छामिरहेको हुन्छ ।

हाम्रा सम्पूर्ण सुख र दुःखका, आशा र निराशाका आदि–स्रोत नर–नारी नै हुन् । तिनैको मिलन र वियोगको शृङ्खलाले बनेको प्रस्तुत आख्यान जीवनजस्तै छ ।

तर भूगोल, इतिहास, संस्कृति, धर्म र चेतनाको चौघेरा हेर्दा यो नेपालको एक जीवन्त बिम्ब हो, त्यो तीसका दशकदेखि पचासभित्रको लेखका जीवनका संघर्ष प्राप्ति र वञ्चनाको ।

त्यसो त यो हामी सबैको हो । त्यसमा पनि भुटान, सिक्किम, कालेबुङ, दिङ्ला, चन्दनपुर आदि गर्दै विद्याको तिर्खाले भौँतारिँएर उडेका हाम्र पिता कुलको जीवनी गाथा पृष्ठभूमिमा राखेर यो जन्मिएको छ भने यतिखेरको सर्वोन्नत भूमि अमेरिका पुगेर यसको यात्रा बिसाएको छ । त्यसैले यो नेपाली जातिको कथांशको एक झलक जीवनी हो ।

त्यसमा पनि हाम्रो परिवार पूर्वका अङ्कुर भीर पहाड नाघ्दै मधेश झ-यो । औँला र उष्णता खप्तै त्यहाँ जीवन खोज्यो त्यहाँबाट मुक्ति र उज्यालो खोज्दै काठमाडौँ बेगियो । आज हाम्रा परिवारका २०० भन्दा बढी सदस्य काठमाडौँमा छेकिएर अन्यत्रतिर उड्न पखेटा चाल्दैछन् ।

यसमा पनि अध्ययन खातिर काठमाडौँ प्रवेश गर्ने छोराछोरी खालमा म नै पहिलो थिएँ २०३० सालको असारमा, जुनबेला सिंहदरबार जल्दैइ थियो । दोस्रोपल्टमा हाम्फाल्ने एक पात्र हुन्, भाइ लक्ष्मण गाम्नागे ।

यी सबै संघर्षहरू प्रकाराणले उनकै हुन् अथवा हाम्रै परिवारका । म अघिअघि भोग्दै थिएँ, पछिपछि एक हुद्दा भाइबैनी । ऊ मात्रै होइन । अझ गाम्नागे भन्दा पहिले राम, छविलाल, माधव, भाइहरू थिए । कमल, खगेन्द्र, लक्ष्मण, माधवा त्यसैबेलाका थिए ।

यो आख्यान भाइको जीवनभरिको गाथा हो । तर जीवनले ता डाँडाभाटा मात्रै बन्छ । त्यसमा खाँबा खुट्टी भित्तो छानो र कोठाचोटा आफैँ थप्तै लगिन्छ । त्यसैगरी यहाँ थपघट पारिएको छ । तर घडेरी त मेरै हो पनि कसरी भन्नु ? त्यो उखेलेर भाइले आफ्नो घर पो बनाएछ !

म लेखौँला भन्थेँ, कलम कापी ठिक्क तिखारेर बसेको थिएँ— त्यो ब्रह्मटोलको नर्ककुण्डमा डेरा गर्ने, दिसा बस्न टेकू दोभानको सिस्नेघारी पुग्ने, जैसीदेवलको पानतले दरबारमा दोब्रिएर पानी बोक्ने, बागबजारकी बिनाबी बुढीको पानी खन्याइमाग्ने, ठमेलदेखि लुगा धुन नुहाउन बाइसधारा पुग्ने, ठमेलदेखि फ्याङ्ग्रे साइकल बत्तिएर पढाउन धारमथली पुग्ने अरु कोही थिएन, यो गोविन्दराज भट्टराई नै थियो । ती दृश्य देख्न र ती ती ठाउँमा भाँडा कराही माझ्ने, बढार्ने र बूढीहरूलाई तर्केर हिँड्न जानेको भाइ सबैतिर भोक्ता नै थियो । म लेखौँला भन्थेँ, उसले पो लेखेछ ! केर्खा बजारका टहरालाई भोडाका दोकाने लिम्बूले ओगटेजस्तो ।

प्रथम कृति विशेषगरी सबै नै असी प्रतिशत भनौँ, जीवनीपरक हुन्छ । विश्वभरि त्यस्तै छ । सानै उमेरमा असमतिर लागेका लीलबहादुरले ‘बसाइँ’ लेखे, दार्जेलिङ कालेबुङको परिवेश भोग्ने लैनसिंह बाङ्देलले ‘माइतघर’ भुटान घुमेर आएको मैले ‘मुगलान’, खोज्दै जाँदा सबैको त्यस्तै हो । पूर्वदेखि आएको, काठमाडौँ नुवाकोट रुसुवा आदि गर्दै अनेक जागिरका आशा र हण्डर खाँदै मर्दै बाँच्दै गर्ने गाम्नागेले आफ्नो कथा सँगै जीवन दृष्टिकोण लेखे पनि या सबै ता लागू हुन्छ ।

पात्रहरू जुटाउन ठूलो कल्पना गरेका छन् । सहदेव र उर्मिलालाई अमेरिकामा पक्रेर फ्ल्यासब्याकमा खोतल्दै जाँदा आत्मानुभूतिमा यी कुरा आएका छन् । पात्र‑पात्रा धेरै छन् । लामो जीवनमा कति हो कति आउँछन् जान्छन् । तर यसमा तिनै आआफ्ना जीवनी बनाउँदा सहदेव र उर्मिला अनि घरकी आमा विशिष्ट स्थानमा अरु बहिनी, साथीभाइ, पत्नी धेरै अभिन्न सदस्य पनि छन् । तर यसको सारतत्त्व खिचेर म चार कुरा भन्दछु—

(क) यो भर्खरै शिक्षाको/चेतनाको उज्यालो देखिन थालेको नेपाली समाजमा जन्मेका सचेत र शिक्षित परिवारका सन्तानले ठूलो उज्यालो खोज्न गरेको संघर्षको पृष्ठभूमिको कक्षा हो । उसबेला बीएड पढ्न झापादेखि काठमाडौँ आउनुपर्थ्यो आज घरघरै डिग्री कलेज छन् । उसैबेला यात्रा अवसर स्थापित भएको भए देशै उल्टिएर काठमाडौँमा खाँदिने थिएन ।

ख) समानान्तर रुपमा नेपालमा एकतन्त्र (पञ्चायती) शासन पद्धति भएको समय अन्य पार्टी दल विचार कसरी निशिद्ध थिए, कसरी त्यता लाग्ने दण्डित पीडित हुन्थे, कसरी भूमिगत संगठनहरू विचारका संवाहक भए र क्रमशः २०३६, २०४६, २०६२ गर्दै केही परिवर्तन आउन सक्ने त्यसको अलिकति क्रम पाइन्छ ।

(ग) यसमा नारी स्वतन्त्रताले सर्वोच्च स्थान लिन्छ । हाम्रो जस्तो रुढ समाजमा धर्मसंस्कार भन्दा पनि जातपात हुँदै छुवाछुतको अमानवीय शृङ्खला अभ्यास हुने ठाउँमा उर्मिला लेखक पत्नी, बुहारी, लेखक— अरु पात्र पनि उग्रतातिर नगै अनेक अभ्यासलाई सहज बनाउन खोजेका छन् । नर र नारीको अस्तित्व र मनलाई मात्रै केन्द्रमा राखी मानव–निर्मित भेदका बाधाहरू नाघेर देखाएका छन् ।

घ) नयाँ पुस्ताले कति दुःखले संघर्षले चेतनाको संसार खोज्ने प्रयत्न गरेका छौँ । त्यो इलाम, विराटनगर, काठमाडौँ र अमेरिकाका हामी नै थियौँ उता भूटानदेखिका । आज एक सर्वमिश्रित अमेरिकासम्म पुग्यौँ । यो सारा हाम्रै कथा हो ।

सर्वाधिक महत्त्वको कुरा चाहिँ अत्यन्त सुन्दर पूर्वेली नेपाली बोलीमा अन्यत्रको पनि भाषिक सुवास मिसाउँदै, औपचारिक सबै जोड्दै एक उच्चशैलीका निर्माण गरेका छन्— जिज्ञासा र कौतुहल जोडेर अब के होला, यस्तो भए हुन्थ्यो कुरामा चिन्तित पाठक सँगसँगै दौडिन्छ ।

मूलपात्रको साकारात्मक, जीवनवादी दृष्टिकोण, उच्च मनोबल— यी कुराले नयाँ पुस्तामा प्रभाव पार्नेछन् भन्ने लाग्दछ ।

समग्रमा यो एक अमर कृति आयो । बेलाबेला व्यङ्ग्य छ, हास्यमिश्रित ठट्टा उक्तिहरू, गीतहरू नेपाली भाषाको अन्तरतहसम्म पुगेर निर्माण गरिएको ।

त्रुटी भन्नु त्रुटी ता होइन, बेलाबेला लेखक बिस्तारै सम्म बाटो नहिँडेर पाखापाखै हाम्फाल्छन् । उनी शान्त भएर विस्तारै सम्म ठाउँमा बगेको बेला एक जादूगर लाग्छन् ।

यत्रो शक्ति निस्प्रयोजन राखेर सम्पूर्ण जीवन व्यर्थमा होम्ने भाइलाई एक मुड्की हान्ने मन छ तर धेरै धराप छ, विचारणीय छ यो निर्णय ।

समकालीन नेपाली उपन्यास मध्येको उत्कृष्ट हारमा उभिने ‘पसिनाका पाइला’ नपढ्ने नवलेखकले धेरै गुमाउँछन् कि भन्ने चिन्ता छ । मुख्य कुरा ता जादूजस्ता कथा बुन्ने यो अद्भूत कला । कतिपल्ट मै लोभिँदै थामिदै गरे ।

छिटै अर्को उपन्यास आओस्, त्यसमा चाहिँ पाण्डुलिपि पढ्न पाऊँ !