Chovar Blues Mobile Size

एससी सुमन

लोककलाको उत्पत्ति मूलतः धार्मिक भावना, अन्धविश्वास, भय निवाशक, समाधान, अलंकरण, प्रवृत्ति तथा मानवीय भावनाको रक्षाको विचारबाट भयो, जो मानव संस्कृतिको एउटा महत्त्वपूर्ण अंग हो । धर्म, संयम, आचार – विचार, नैतिक मूल्य, त्याग, उपवास, दान, दया आदिको संश्लेषण लोककलामा दर्शनीय पक्ष हो, जसलाई लोककलामा देखिने मूल भाषा भन्न सकिन्छ । जसबाट सधैँ प्रेरणा, लोककलाको संस्कारलाई हुर्काउँदै, यसलाई ज्यूँदो राखिराख्नमा नै आधुनिक कलाको विकासको बीउ लुकेको छ।

एससी सुमन

कलामा हाम्रो सभ्यता र संस्कृतिको त्यो प्रतिबिम्ब हो, जसमा त्यहाँको जनजीवनको आत्माको दर्शन हुन्छ । प्रतीकीकरण मानवको सहज स्वभाव हो । जसले कल्पनाशील कलाकार आफ्नो अनुभूति र भावनालाई सहजताले स्पष्ट गर्छ । आदिकालदेखि वर्तमानसम्मको कला परम्परामा प्रतीकको प्रयोग मानवीय सभ्यताको विकास सँगसँगै सधैँ हुँदैआएको छ ।

पूर्वी दर्शनको भावनाअनुसार- कुनै विशिष्ट अर्थको बोध गराउने शब्दलाई प्रतीक भनिन्छ । बिम्बको रूपमा विचार गर्नु नै प्रतीकवाद हो । यसरी नै प्रत्येक प्रतीकको आफ्नो मूलमा बिम्ब हुन्छ ।

प्रत्येक बिम्ब आफ्नो प्रभावमा सक्रिय र संवेगात्मक भए पनि अन्ततः उसको परिणति कुनै पनि प्रतीकात्मक अर्थको व्यञ्जनामा नै हुन्छ । मानवको भावना, विचारको अभिव्यक्ति प्रतीकको माध्यमले नै राम्रोसँग सम्भव हुन्छ । अत: प्रतीक अभिव्यक्तिको संक्षिप्त र मूर्त साधन हो पनि भन्न सकिन्छ । जसको वृहत् प्रयोग मिथिलामा भएको पाइन्छ । भूमिचित्र ‘अरिपन’ होस् वा भित्ती चित्र कोहवर ।

कुनै पनि पूजा गर्नुपूर्व गरिने तयारी गोबर माटोले लिपिएको आँगनमा भिजाइएको आरुवा चामललाई सिलौटोमा पिसेर तयार पारिएको घोल ‘पिठार’ ले आँगनदेखि गोसाइँघरमा भगवतीको पिठसम्म लामो आकारमा अरिपन लेखिन्छ । यो अरिपन लेख्नुमा सम्बन्धित देवीदेवतासँग सम्बन्धित हुन्छ । कमलको फूलले देवी लक्ष्मीको प्रतीक जनाउँछ भने प्रतीकात्मक रुपमा शंख, चक्र, गदा, पद्म लेख्दा भगवान् विष्णुलाई जनाउँछ । कमलको फूल लेखी, फूलको मध्यमा दुइटा पद चिह्न प्रवेशको भावमा दि लेखिन्छ ।

त्यस पछि अस्ट्द्लमा प्रवेश गरेर साधकतिर फर्केर उभिएको भावले तलतिर फर्केको पदचिह्न चित्रित गरिन्छ । तीन वटा वृत्त लेखेर, तीन वृत्ताकार रेखा परब्रह्म परमात्माको त्रिशक्तिले युक्त्त सूर्य, चन्द्र तथा पृथ्वीको बोध गराउँछ । सन्ध्या, मध्य रात्री तथा प्रभात युक्त महारात्री, काल रात्री र मोह रात्रीको प्रतीक तथा रज, सत्व, तथा तम तीन गुणयुक्त मखानको पातको रुप हो । मखान पातमा हुने गरेको काँडा बिन्दुको रुपमा चित्रांकित गर्दा, त्यसले सृष्टिको रुप अथवा तारा मण्डलको संकेत गदर्छ । यिनै पातको चारैतिर सात-सात गोलो वृत्त माथिको प्रकाश कणरूपी बिन्दुबाट घेरिएको सात दिवश निशाबोधक वा सृष्टिको बिन्दुले घेरिएको सप्तद्विप तथा काँडायुक्त मखानको फल प्रतीक बनाइएको तथा मखान पातको काँडाले पापको संकेत गर्दछ। पातको बीच भागमा अंकित पदचिह्न सूर्य, चन्द्र, तथा पृथ्वीको आत्माको रुप महारात्रीको भगवतीको प्रतीक पातमा प्राणको रुप दिइन्छ। पातमा अंकित पदचिह्नको पाँचौं औँलोबाट पञ्चतत्त्वको प्रतीक बनाइन्छ। अनिवार्य रुपले अरिपनमा लगाइने सिन्दुरको रातो बिन्दु प्रकृतिको शक्तिरुपको प्रतीकात्मक प्रस्तुति हो । यिनै सबै उद्देश्यले मैथिल महिलाहरूद्वारा मैथिल शैलीमा अरिपन चित्र लेखनप्रथा चल्दै आएको छ, जो प्रतीकात्मक प्रस्तुतिको उदाहरण हुन् ।

मिथिलामा नवविवाहितको मिलन कक्षलाई कोहवर भनिन्छ । मिलन कक्षको भित्तामा कोहवर चित्रमा अङ्कन गरिन्छ । यस्तो चित्रकला निकै प्राचीन र प्रसिद्ध मानिन्छ । यस प्रकारका चित्रमा प्रयुक्त संकेतहरू गहिरो अर्थ लाग्ने खालका हुन्छन् । भनिन्छ वाण भट्टको हर्षचरितमा हर्षको सालो ग्रह वर्माको कोहवरमा देवताहरूको चित्र र बाहिरी भित्तामा कामदेवको चित्र अलंकृत थिए । तुलसीदासको रामचरित्रमानसको बालकाण्डमा स्वयं कामदेवले मिथिलाबासीका घरघरमा चित्र बनाएर प्रत्येक घर पवित्र बनाएको कुरा बताइएको छ ।

आधुनिक र स्वतन्त्र भनिने आजको नेपाली समाजमा पनि यौन शिक्षाको अभाव छ । बल्ल आज आएर युवा- युवतीलाई यौन शिक्षा दिनुपर्छ भन्ने बहस चल्न थालेको छ । तर मिथिला क्षेत्रमा रामायणकालमा नै कोहवरका चित्रको उल्लेख पाइन्छ । त्यसैले यस कुरालाई मिथिला चित्रकलाको अभिलेख भन्न सकिन्छ । सांस्कृतिक परम्पराबाट विकसित हुँदै आएका कोहवरका चित्रमा प्रतीकात्मक भावद्वारा वरवधूलाई यौन शिक्षा प्रदान गर्ने माध्यम बनेका देखिन्छन् । कोहवरमा कमल फुलेको दहको चित्रणलाई ज्यादै महत्त्व दिइएको पाइन्छ । यस्तो प्रवृत्तिले मिथिला र पोखरीको अन्योन्याश्रित सम्बन्ध एवं मिथिला क्षेत्रको प्राचीनता र ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दछ । पोखरीको चर्चाबिना मिथिलाको जीवन अपूर्ण भएको मानिन्छ, जसको उल्लेख मिथिला माहात्म्यमा पनि गरिएको छ ।

मिथिला कलामा प्रतीक, बिम्ब, आकार, गति वा लय निर्धारित हुन्छ । हुन त कलाजगतमा प्रतीकको स्थान माथि हुन्छ । प्रतीकको रचना कलाकारले आफ्नो कल्पनालोकको बिस्तारका लागि उपयोग गर्ने गर्छन् । प्रतीक सृजनमा वास्तविक यथार्थ समावेश गरिएको हुन्छ । प्रतीकको रचनाको आधार मात्र संसारमा देखिने रूप हुँदैन, कलाकारको लौकिक अलौकिक र वास्तविक काल्पनिकको सहयोगले पनि प्रतीक सृष्टि हुने गर्छ र विस्तारित हुँदै जान्छ ।

कोहवर कलामा पुरैन अर्थात कमलको बिरुवालाई निकै महत्त्व दिइन्छ । पुष्पमा श्रेष्ठ, भगवतीलाई मनपर्ने र नारी शक्ति, सौन्दर्य तथा आर्थिक सम्पन्नताको प्रतीक मानिने हुँदा कमललाई कोहवरमा निकै महत्त्व दिइएको हो । कमल र पोखरीले सम्पूर्ण मिथिला सुशोभित छ । कमललाई धनकी देवी लक्ष्मीको प्रतीक मानिन्छ । भगवान् विष्णुका लागि पनि कमल प्रिय पुष्प हो । लक्ष्मीको आसन कमल हो । महिलालाई लक्ष्मी मानिन्छ । कमललाई लक्ष्मी, महिला, सौन्दर्य, तथा कोमलता प्रतीकका रूपमा लिइन्छ । मिथिला कलामा प्रतीकात्मकता र सौन्दर्यलाई प्राथमिकता दिइएको पाइन्छ । बाँस पुरुष र वंश वृद्धिको द्योतक मानिन्छ। कोहवरमा यसको चित्रण लिङ्गका रूपमा गरिएको देखिन्छ । कमल र बाँसले महिला र पुरुषको सम्बन्ध अर्थात् पूर्ण मनुष्यको सङ्केत प्रस्तुत गर्दछ ।

सुहागकक्षलाई सफा, सुन्दर तथा रोमाञ्चक बनाउन भित्ताभरि सुन्दर एवं आकर्षक चार कुनाभित्र देवता, कमल, नाल फूल, फल लहरा, पातसँगै मृणालको रुख बनाइन्छ । त्यसको सबैभन्दा माथि चन्द्रमाको मुखाकृतिको द्योतक एक मुहारचित्र अङ्कन गरिन्छ । त्यसको दुवैतिर एकजोडी मयुर वा जोडी सुगाको चित्र बनाइन्छ । यस्ता चित्रमा माछा, कछुवा, शंख, बिच्छी, गँगटो, सर्प लगायतका कमल दहभित्र पाइने विभिन्न जीवजन्तुका आकृति हुन्छन् । यी चित्रमा कालोबाहेक विभिन्न प्रक्रियाबाट बनाइएका प्राकृतिक रङ प्रयोग गरिन्छ । कोहवरमा कालो रङको प्रयोग वर्जित मानिन्छ ।

कोहवर फूलबुट्टाले भरिएको सात वटा गोलाकार कमल पत्रका घेरामा बनाइन्छ । यसका बीचको कमल पत्र अरूभन्दा केही ठूलो बनाइन्छ । सात वटा कमलपत्रको अर्थ वर पक्षको सात र वधू पक्षका सात पुस्ता हुन् । कमलको फूल र पातको डाँठ एकअर्कामा जोडी केन्द्रबिन्दुमा राखिन्छ । वैवाहिक सम्बन्धले वर तथा वधूको सम्बन्धका साथै वरतिरका मातृपितृ एवं वधूतिरका मातृपितृ पक्षका सात पुस्ताको सम्बन्ध गाँसिएको सङ्केत प्रस्तुत सात वटा कमल पत्रका व्यक्त गर्दछन् ।

वैवाहिक सम्बन्ध गाँस्दा उपर्युक्त पुस्ताका बीच वैवाहिक नाता रहेको हुनुहुँदैन भन्ने मान्यता पनि यसले प्रकट गर्दछ । मिथिला समाजमा आज पनि पन्जी प्रथा अर्थात् पुर्ख्यौली विवरणको लिखित रूप राख्ने चलन छ । कर्ण कायस्थ समाजमा यो नियम कडाइका लागू भएको पाइन्छ । ऐतिहासिक महत्त्वको सामग्री सुरक्षित गर्ने मैथिली संस्कृतिको प्राचीन परम्परागत चलन पनि हो ।
बेहुला-बेहुलीको शयन कक्ष र वधूको पूजा गर्ने ठाउँ वास्तुशास्त्रको मान्यताअनुरूप निर्धारण गरिन्छ । कोहवरचित्र वरवधू बस्ने ठाउँका सामुन्नेको भित्तामा अङ्कन गरिन्छ । कमलका लहरा फैलिए जस्तै वरवधूका सन्तानको विस्तारको कामनाका लागि यस्तो व्यवस्था मिलाइन्छ । कोहवरमा चित्रित जल जीवको साङ्केतिक महत्त्व हुन्छ । कमल पुष्प नारी शक्तिको प्रतीक हो भने माछा उर्वरता तथा कछुवा कल्याणकारी सत्ता धर्ती र जलको प्रतीक हो । यसैगरी कमल नालले आच्छादित तलाउमा स्वच्छन्द विचरण गर्ने माछा, कछुवा, सर्प, बिच्छी, शङ्ख, भ्यागुता आदि जल जीव सांसारिक जीवनका प्रतीक हुन् ।

यस चित्रमा समाविष्ट चन्द्रमाको मुखाकृति चाँदनीले समुद्रको जललाई आफूतिर तानी त्यसका ज्वार उठाए जस्तै वधूको प्रेमले वरको हृदयलाई आपूmतिर तानी जीवनलाई समुन्नत बनाउनुको अर्थ बोधक चिह्न हो । यसरी नै मयुरको चित्रका तात्पर्य मयुर्नी प्रति मयुर आकर्षित भए भै वधू प्रति वरको प्रेम जागृत गराउनु हो ।
कोहवरमा प्रयुक्त केही प्रतीकात्मक चित्रहरूको गहिरिएर अध्यन गर्दा, कोहवरमा प्रतीकात्मक अर्थ लाग्ने खालका चित्रहरू प्रसस्त मात्रामा लेखिन्छन् । प्रत्येक चित्रको आफ्नो महत्व तथा विशिष्टता हुन्छ । लटपटिया सुगा, जोडी सुगा, विध विधाता, सूर्य, पाञ्चायन देवता, नवग्रह, पटिया, नाग नागिन, नयना योगिन (नैना जोगिन), पानको घर, भमरा, राधाकृष्ण, शिवपार्वती, हात्ती, डोली चढेकी दुलही र जन्ती सहितको टोली, हात्तीमा स्थापित गौरी भवानीको पूजा गरी रहेका वरवधू, बेलको रुख, ल्वाङको रुख, कदमको रुख, अमलाको रुख, पञ्च पल्लव आदि । मिथिलाञ्चलमा पूजा कोठालाई गोसाइँ घर भनिन्छ । त्यहाँ कुल देवताको स्थापना गरिएको हुन्छ । गोसाइँ घरको केन्द्रीय भित्तामा चित्रित कोहवरमा एउटा प्रतीकात्मक चित्र र छेउको भित्ता चित्रित अर्को चित्रमा वर्णनात्मक कलाका चित्र अङ्कन गरिएका हुन्छन् । त्यसमा दुर्गा पूजाको अवसरमा देवी दुर्गा काली, सरस्वती, लक्ष्मी, गणेशका चित्रहरू कोरिएका हुन्छन् ।
सौन्दर्यमयी प्रकृतिको काखमा जन्मेको मानव आफ्नो सौन्दर्यपरख प्रवृत्तिले गर्दा सम्पूर्ण सृष्टिमा विशिष्ट स्थान राख्छ। सौन्दर्य दृष्टाको लागि सृष्टिको कण – कणमा सौन्दर्यको सत्ता व्याप्त छ, सौन्दर्य प्रकृतिमा छ र मानव मनमा । मानवको यो सौन्दर्यानुभूति कलाको रूपमा प्रकट हुन्छ।

कला निरन्तर प्रगतिशील एव गतिशील रहेको छ। कला मानिसको जीवनको संस्कृतिको अंग हो । यसबाट प्राचीन सभ्यता, संस्कृति, परम्परालाई बोध गराउँछ। परम्परा एवं संस्कृतिलाई नयाँपुस्तामा स्थानान्तरित गर्ने सबैभन्दा सरल तथा सफल माध्यम हो । कलाको स्वरूप परिवर्तन भैरहन्छ। समाजको सभ्यता र संस्कृतिको विकास सँगै कलाको विकास पनि हुन्छ । कला सदैव समकालीन हुन्छ । कलामा देश, काल, परिस्थिति एवं मानिसको विचारको प्रभाव समय -समयमा परिरहन्छ र अपेक्षित परिवर्तन पनि सम्भव छ । परम्परा-परिवर्तन- आधुनिकताको धर्म निर्वाह गर्दै मिथिला कला यहाँसम्म आइपुगेको छ ।
artistsuman.scd@gmail.com