कविता लेख्न जति गाह्रो छ, कविता बुझ्न झन् गाह्रो छ । कविता बुझ्नु भनेको भूत, वर्तमान र भविष्य एकै पटक बुझ्नु हो । देश बुझ्नु हो, समाज बुझ्नु हो, मानिस र मानिसको मनोविज्ञान बुझ्नु हो । मानिसभित्रको सौहार्दता, एकाङ्कीपन या उत्कट चाहना आयामहरु छिमल्नु हो । कविता पढ्नु भनेको बौद्धिक चिन्तनमा लिन हुनु हो । आफैंले आफैंलाई जाँचको तराजुमा राखेर हेर्नु हो ।

मैले भर्खरै देशको ऐना हेरेजस्तो एउटा सङ्ग्रह पढी सिध्याएको छु । छवि अनित्यको कवितासङ्ग्रह ‘तुइनको बाटो’ मेरो हातमा पर्यो । दाङका कवि नवीन अभिलाषीले यो कृति मलाई उपहार स्वरूप दिएका थिए ।

शीर्षकले भौगोलिक विकटताको बारेमा भन्छ । नेपाली समाजले लामो समय तुइनको बाटो भएर जीवन बाँचेको छ, त्यसमा केटाकेटीदेखि बुढा मानिसहरु उल्टो झुण्डिएर देश बाँचेका छन्, तर राज्यले केही भन्न सकेनन् । बाँचेकाहरुले प्रश्न गर्न सक्छन् । कि तुइनबाट खसेकाहरु कहाँ पुगे ? त्यो दुर्घटना मात्रै थियो कि राज्यद्वारा गरिएको नियोजित हत्या ?

तुइन अहिले पनि यो देशको समाज विकास हो, अर्थतन्त्र हो, राजनीति हो, सम्बन्ध हो, कुटनीति हो, विचार हो, संस्कृति हो । नेपाली ग्रामीण विकासको अवधारणा बुझ्न नदीहरुको तुइनमा उल्टो झुण्डिएका नानीहरु देखे पुग्छ । विश्वका असम्भवभन्दा असम्भव ठाउँमा बाटो पुगेको छ । तुइन विस्थापन गाह्रो होइन । नेपालमा अझै पनि तुइनहरु छन् दुर्गम ठाउँमा ।

तपाईं आफ्नै तर्कलाई जित्न सक्नुहुन्न,
जब तर्कहरु बढेर ठुला हुन्छन ? ( पेज १५)

एक बिहान हिँडेर देखाओस् भगवानले,
मन्दिरबाट निस्केर खेतको आलीआली । ( पेज १७)

प्रिय लाग्छ, उडिरहेको बाफ,
जसमा छ, भातको मीठो बासना । ( पेज २१)

सागर गैरे

सङ्ग्रहभित्रका दुई चार वटा कविता हेर्ने बित्तिकै म लोभिइहालेँ । यो कृति चानचुने हैन भन्ने तत्काल लख काटिहालेँ । किनकि असरल्ल कविताहरुले बजार खाइरहेका छन् । त्यसमध्य कति कविता कविताको मौहकतालाई सिध्याइरहेको छ । कविताको गुदी नभएका केवल खोक्रा कविताहरुले पाठक अन्यौलमा छन् । आखिर कविता किन मर्न थालेको छ ?

कवि अनित्यले कवितामा बहुसन्दर्भहरु जोडेका छन् । कवितामा दर्शन मिसाएका छन् । राजनीति लेखेका छन् । धर्म र त्यसका असरबारे चिन्तन गरेका छन् । मृत्युमाथि लेखेका छन् ।

एकदिन जब भेटिन्छ मृत्यु-
न मलाई कसैले बताउने छ
न म कसैलाई बताउने छु
मृत्युको हुलिया !
के तपाईं बताउनुहुन्छ ? ( पेज – १८)

मृत्युको एउटा पाटो निकै सुन्दर छ त्यो हो, मृत्यु कतिबेला कुन स्वरुपमा आउँछ, कसैलाई थाहा हुँदैन । मृत्यु छ, मृत्यु सँगै मान्छेको नश्वर शरीर सकिन्छ । मृत्युपश्चात् पनि मान्छेको नाममा धार्मिक कर्महरु छुट्दैन । धर्मले मान्छे नजेलिँदो हुँदो हो त मान्छेले पनि मृत्युलाई त्यत्तिकै सहज स्विकार्थ्यो होला जति जीवजन्तु र पशुपक्षीको संसारमा मृत्यु सहज हुन्छ । मान्छेको मृत्यु यति जटिल नहुनु पर्थ्यो ।

कवि देशको बारेमा चिन्ता गर्छन् । प्राकृतिक, भौगोलिक, पर्यावरणीय सबै कोणले देश ठिक ठाक ? मान्छे मिलनसार छन् । शासकहरुको मानसिक स्तर किन दरिद्र छ ? सत्ताको कुर्चिमा आसिन हुने बित्तिकै शासकको मनस्थिति किन परिवर्तन हुन्छ ? कसरी बदलाव आउँछ ? सत्ताको संरचनामा के त्यस्तो जादु छ जसले शासकलाई नै परिवर्तन गरिदिन्छ ? अहिलेको सबै नेपाली मानिसको सोधाइ हो जुन कुरा अनित्यले लेखका छन् ।

थाहा नहोस् कसैलाई
कसको हातमा छ सत्ताको स्टेरिङ
कुन प्रभुले थिचिरहेछ जबरजस्ति एक्सेलेटर
कुन सिद्धान्तको जलप लगाएर दौडिरहेछ समय
कुन शक्तिको घ्यु खाएर उग्राइरहेछ शासक
कुन मार्ग पछ्याउँदै बढिरहेछ देश
केही थाहै नहोस् । (पेज – २३)

तुइनहरु सधैं दुर्गम मनोविज्ञानसँग जोडिन्छन् । एउटा बच्चाको, एउटा एउटा किशोरको, एउटा युवाको प्रगतिका बाटाहरु सधैं खुल्ला राखिदिनुपर्छ सत्ताले । स-साना स्कुले नानीहरुका तुइनमा झुण्डिएका तस्बिर सार्वजनिक हुन्छन् बेलाबखत छापामा । सत्ता, दल, सञ्चारमाध्यमहरु सधैं तुइनको राजनीति गर्न रुचाउँछन् ।

तुइनहरू सधैं भौगोलिक विकटताको बिम्ब किन बनाइन्छ ? तुइनमाथि सधैं बहस हुन्छ । राजमार्गका निर्माणका कुरा उठ्छन् । पुल निर्माणका कुरा हुन्छन् । उस्तै छ कर्णाली अझै । तुइन विस्थापित होलान् तर तुइनमा झुण्डिएका जीवनहरू कहिले सुगमको श्वास फेर्लान् ? स्कुल हिँडेका नानीहरु तुइनमा एक दिन जित्छन् कि संसार ? कवि प्रश्न गर्छन् ।

‘तुइनमा
तुन्द्रुङङ झुन्डिन्छन् नानीहरु
चमेराजस्तै
र थाप्छन् ज्यानको बाजी
नानीहरु संसार जित्छन् एक दिन ।’ (पेज २९)

हुन त कविता पनि ससाना कथाहरु नै हुन् ! शब्दले भन्न खोजेभन्दा बढी, बताउन खोजेभन्दा धेरै अर्थ दिन्छन् कविताले । कवि संसारकै उत्कृष्ट जीवन बाच्ने प्रजाति हो । समाज हिँड्न खोजेको बाटो डोहोर्याउने जात हो कवि । स्वान्त सुखायमा बाँचेर समाजलाई आदर्श सिकाउने कवि क्षण भंगुरताको शासक र राज्यका संरचनासँग डराउँदैनन् ।

कविहरु व्यङ्ग्य गर्न सिपालु हुन्छन् ।
शासकका दम्भहरुसँग डराउँदैनन् ।

जातपात, छुवाछुत नेपाली समाजमा सदियौँदेखि खिल बनेर गढेका छन् । श्रम चल्छ, सीप चल्छ तर पानी किन चल्दैन ? राजनीतिक चेतनाको उभारले, प्रविधिको विकास र परिवर्तनको अभियानले जातपातका सिमारेखाहरु मत्थर बन्दै गएका त छन् तर त्यसका अवशेषले बेला बेला टाउको उठाउन खोज्छन् । त्यस्ता प्रवृतिहरु विरुद्ध कवि अनित्यका शब्दहरु धार बनेर आएका छन् । प्रहार बनेर लेखिएका छन् ।

हर्कमान ठुल्बा !
यसपाली मेरा छोरीहरू
तिम्रा आँगनीमा भैलेनी गाउलान्
मेरा छोराहरु तिम्रा आँगनीमा देउसी भट्याउलान्
टन्नै दिन भन्नू ठुलीआमैलाई दानमा सेलरोटी
उनीहरुलाई कसैले भनेका छैनन्
अन्नको पनि जात हुन्छ !
( पेज ३२ )

कति निम्छरो छ मान्छेको जिन्दगी । एक मुठ्ठी श्वासले धानेको छ उसको अस्तित्व । कवि जिन्दगीलाई गाडीसँग दाँज्छन्, तुलना गर्छन् । मान्छे र गाडीको गति उस्तै ठान्छन् उनी ।

गुड्डा गुड्दै फुस्किन सक्छ हावा
खुस्किन सक्छन् चक्का
भाँचिन सक्छ सापट- पट्टा
फस्न सक्छ गियर

कवि नवागन्तुक नागरिक दाज्युभाइ दक्षिणका शासकहरुको चाकरी गर्ने शासहरुलाई पनि व्यङ्ग्य गर्छन् । चोकचोकमा छन् दिल्लिवाले हलुवाईहरु । टोलटोलमा छन् दक्षिणका भक्तहरु । दूतावासमा हाजिर लगाउनु, दुताबासमा बाँडिएको प्रसाद खानु चलिरहेछ यो खेल खुल्लमखुल्ला ।

सरल र सलल बगेका छन, नदीको बेगजस्तै प्रवाहित छन् कविताहरु । एउटा परिक्षामा हार्नु जगतै हार्नु होइन । उनी प्रश्न माथि प्रश्न सोध्छन् ? सरकारसँग समाजसँग आफैंसँग ? प्रश्न सोध्नु उनको परिचय हो ? कर्तव्य हो या के हो ?

उनका कविताहरु छरिता छन्, छरिता भएरै सरल छन् र सरल भएरै पूर्ण छन् । उनका कवितामा फगत नाराको गन्ध भेटिँदैन । कविताको भाषा र लेखन शैलीमा एकदमै परिपक्वता र निखारता भेटिन्छ । उनले समाज बुझेका छन् । समयको लय सुनेका छन् । कविताको मूल्य र शक्ति जानेका छन् । त्यो कविता पढ्दा थाहा हुन्छ । एउटा सत्य के हो भने कवि बौद्धिक हुनै पर्छ । हिजोको समाज बारे थाहा पाएकै हुनुपर्छ, आजको आवस्यकता र प्राथमिकता महसुस गरेको हुनुपर्छ र भोलिको उज्यालो किरणको स्रोत पहिल्याउने क्षमताको हुनैपर्छ ।

व्यक्तिगत रुपमा म उनलाई चिन्दिनँ । उनलाई देखेको पनि छैन । उनको कविताहरु पढेपछि म ढुक्कसँग यति भन्छु उनी कविता लेख्नै जन्मिएका हुन् । उनी निरन्तर कविता विधामै समर्पित भैइरहुन् । कुनै दिन उनी कविता विधाका सेलिब्रेटी साधक बन्ने कुरामा कुनै शङ्का छैन ।

कृतिमा ५१ वटा कविता छन् । पुस्तक ९५ पेजसम्म फैलिएको छ । प्रायः कवितासङ्ग्रहहरु आकारमा साना, चिटिक्कका र पातला छन् । यो सङ्ग्रहको बाहिरी रुपमा कता कता के के नमिलेजस्तो छ । कतिपयलाई त्यति आकर्षक नलाग्न पनि सक्छ किताबको आवरण । तर किताबको तौल आवरणमा सिमित छैन ।

हेटौंडाका शिक्षक हुन् छवि । उनी शिक्षकभन्दा बढी यो देशका सचेत नागरिक हुन् । उनको चेतनाको स्तर, चेतनाको गहिराइ अतुलनीय छ । त्यसैले त उनी यति सशक्त कविता लेख्न सक्छन् ।