‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । पूर्वराजाको ‘दुई मुटु यौटा बाटो’देखि मिश्रित ‘बोकाको मन’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. समय साक्षी – बबिता बस्नेत
पत्रकारिता र साहित्यमा समानान्तर कलम चलाइरहेकी बबिता बस्नेतको संस्मरणात्मक कृति हो, ‘समय साक्षी’ ।
बस्नेतले आफ्नो पहिलो कथासङ्ग्रह प्रकाशन भएको १५ वर्षपछि प्रकाशन भएको यो कृतिमा विशेष गरी आफूले विदेश यात्राका क्रममा देखे भोगेका सम्झनालाई उतारेकी छिन् । विदेश यात्राका छोटा र चिताकर्षक संस्मरणहरूले पुस्तकलाई पठनीय बनाएको छ । संस्मरणहरू छोटा छन् तर सरल भाषामा लेखिएका सचित्र वर्णनजस्ता लाग्छन् ।
दरबारदेखि घरबार र परदेशदेखि घरदेशसम्मका एक व्यक्तिका जीवनका संस्मरणलाई चित्रण गरिएको पुस्तक ‘समय साक्षी’ बुकहिलले प्रकाशन गरेको हो । २३४ पृष्ठको पुस्तकको हार्डकभरको मूल्य ५०० र पेपर व्याकको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
२. एउटा प्रश्न – हेमलता उप्रेती
स्रष्टा हेमलता उप्रेती दोस्रो लघुकथा सङ्ग्रह हो, एउटा प्रश्न । उप्रेतीले “एउटा प्रश्न”मार्फत समाज तथा सम्बन्धका कुराहरुलाई मसिनो रुपमा चिहाउने प्रयास गरेकी छिन् ।
”लघुकथाकार हेमलता उप्रेतीले लघुकथा क्षेत्रमा जे कमाएका छन् त्यो कहिल्यै नघट्ने र नहराउने प्राप्ति हो ।”, पुस्तकको भूमिकामा श्रीओम श्रेष्ठ रोदन लेख्छन्, “उनका दुईवटा लघुकथासङ्ग्रह प्रकाशनमा आए । जुन उनी आफैंले हेर्न पाइनन् । उनकै स्मृतिमा दुईवटै पुरस्कार सम्मानको स्थापना भएका छन् । आफ्नै नामका कृति र सम्मानलाई पनि उनले प्रत्यक्ष अनुभव गर्न पाइनन् । आफू नभएपछिका दिनहरुमा अक्षरले र प्रतिष्ठाले बाँच्नु सानो कमाइ होइन जीवनको । बाँच्नुको सार्थकता भनेकै यस्तै हो सायद । यो एक प्रकारको जित हो, साहित्यमा । सफलता हो सिर्जनाको ।”
पुस्तकलाई नारी स्रष्टा समाज, विराटनगरले प्रकाशनमा ल्याएको हो । ८८ वटा लघुकथा सङ्ग्रहित कृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।
३. कुलचन्द्र गौतम – आत्मकथा
राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरे । त्यसअघि सत्तरीको दशकदेखि एक्काइसौं शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बाल अधिकार सम्बन्धि समस्याको समाधानमा जुट्ने अवसर पाए । विश्वले चिनेका ठूला नेतादेखि लिएर राष्ट्र एवं सरकार प्रमुखहरुसँग टेबलमा बसेर वार्ता गरे । कतिपयसँग त तिनका घरमै पुगेर ‘चियर्स’ गरे । उनी हुन् कुलचन्द्र गौतम । र, दुर्लभ अनुभवहरु समेटिएको पुस्तक हो ‘कुलचन्द्र गौतमः आत्मकथा’ ।
गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुन्छ । एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ । यसरी गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरूभएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ ।
यसअघि पनि पब्लिकेशन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ । प्रस्तुत पुस्तक ‘कुलचन्द्र गौतमः आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो ।
४. देशको चित्र – रामकुमार पण्डित क्षेत्री
स्रष्टा रामकुमार पण्डित क्षेत्रीको समग्रमा छैटौं तथा दोस्रो लघुकथा सङ्ग्रह हो, देशको चित्र । यसअघि उनका एक लघुकथा, एक बालकविता, एक कविता, एक कथा र एक समीक्षसग्रह प्रकाशित भइसकेका छन् । “देशको चित्र”मा पण्डितले सामाजिक यथार्थताका सेरोफेरमा रहेर लेखिएका लघुकथाहरु सङ्कलन गरेका छन् ।
”लघुकथाको मानक शब्दसङ्ख्या, संरचनागत परिपुष्टता र संरचक घटकहरुको परस्पर अन्विति यस सङ्ग्रहका लघुकथामा देख्न सकिन्छ ।”, भूमिकामा प्रा.डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “शीर्षकले कुनै पनि कृतिभित्रका समग्र रचनालाई प्रतिबिम्बित र अभिव्यञ्जित गर्नुपर्छ । प्रस्तुत सङ्ग्रहको शीर्षक ‘देशको चित्र’ले नै यस सङ्ग्रहका लघुकथा समसामयिक, युगीन यथार्थपरक र समाज तथा समयलाई सम्बोधन गर्ने खालका छन् भन्ने स्पष्ट हुन्छ । सरल भाषाशैली, कतिपय लघुकथामा प्रतीकात्मक र अन्योक्तिमूलक अभिव्यक्ति तथा मूर्त एवम् रैखिक शैलीको प्रयोग यस सङ्ग्रहका लघुकथाका विशेषता हुन् ।”
पुस्तकलाई लघुकथा समाज बागमती प्रदेश समितिका लागि सुनिता पण्डित क्षेत्रीले प्रकाशनमा ल्याएकी हुन् । ७२ वटा लघुकथा सङ्ग्रहित कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
५. बोकाको मन – काशीनाथ मिश्रित
काशीनाथ मिश्रित व्यङ्ग्य निबन्धसङ्ग्रह हो, “बोकाको मन” । मिश्रितले प्रस्तुत व्यङ्ग्यसङ्ग्रहमा झटाराहरु हान्नु पर्ने सबै ठाउँमा हानेका छन् । राजनीतिक, सामाजिक, आर्थिक, भ्रष्टाचार, शैक्षिक क्षेत्रलगायत विविध जगतका विकृतिहरुलाई निबन्धहरुले विषय बनाएका छन् । काशीनाथ मिश्रितको पहिलो व्यङ्ग्य कृति भएर पनि यो स्तरीय, शालिन र तिख्खर छ ।
“बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाएअनुसार मात्र गर्न पाउँछ ।”, पुस्तकको भूमिकामा लक्ष्मण गाम्नागे, “बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेबापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ ।’ यस्ता कैयौं बिडम्बनाहरु एक बोकाले बताएको छ यस निबन्धमा । बोकाले मान्छेलाई कडा चेतावनी पनि दिएको छ । बोको भन्छ, ‘यो पृथ्वीमा शाकाहारी प्राणीलाई यी सर्वहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ । बालीको बोको होइन मान्छे नै हुनेछ ।’ हो, वास्तवमा । बोकाको जति बुद्धि र दूरदर्शिता पनि हामी मानिसहरुसँग छैन ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय २४ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।
५. दुई मुटु यौटा बाटो – जी शाह
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहद्वारा रचित कविताहरूको सङ्ग्रह हो, ‘दुई मुटु यौटा बाटो’ । शाहको ७६ औं जन्मोत्सवको अवसर पारी यो कृति बजारमा ल्याइएको बताइएको छ ।
ज्ञानेन्द्रको साहित्यिक नाम जी शाह हो । यही नाममा उहाँद्वारा रचिएका कविताको सँगालो ‘दुई मुटु यौटा बाटो’ प्रकाशनमा आएको शाहको संवाद सचिवालयले जनाएको छ। पुस्तकमा जीवन जगत, मानवीय मूल्य, मान्यता तथा मानव संवेदनामा आधारित ७६ वटा कविताहरू समेटिएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।