(‘भाइरल कविता’अन्तर्गत यसपटक मनु मञ्जिलकाे बहुचर्चित कविता ‘दुश्मन’ प्रस्तुत गरेका छौँ । याे कविता फेसबुक पेज तथा ग्रुपहरूमा (भिडियो तथा लेख्य) देखापरिरहेको हुन्छ । यही कविताकाे भावलाइ समातेर भने धेरै कविताहरू लेखिने गरेका छन् । कतै कतै कविकाे नाम उल्लेख नगरी याे कविताहरू पोस्ट हुने गरेको पाइए पनि यो कविता आफैंमा कवि मञ्जिलकाे परिचय बनिसकेको छ ।
यो कवितासँगै हामीले कवितासँग सम्बन्धित विभिन्नसमेत प्रस्तुत गरेका छाैं । हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )
===
मेरो एउटा दुश्मन छ
जो मलाई फोहोर जत्तिकै घृणा गर्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।
ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बगैँचामा वसन्त नआउनू भन्छ
मेरो घरको झ्यालढोकाबाट
हावा नपस्नू भन्छ
मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ ।
मेरा बालबचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र परबाट बाटो हिँड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेली वा उपहार बोकेका
कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका
बुढाबुढीलाई
मेरो घर अगाडिको
चौतारामा नबसून् भन्छ ।
उसलाई मेरो घरमाथि
चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरो खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरु फुलेको
कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको
उसलाई केही मन पर्दैन ।
यो बर्षात
किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी
अँगेनामा चुपचाप छ ?
किन झिल्को जूनकीरी जस्तो
माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?
ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्,
मेरो ओठबाट मुस्कान उडेर
बालुवामा गई खसोस् भन्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।
यत्रो दुनियाँमा ऊ बाहेक अरू
मेरो साथी सगोत्री, आफ्नो अर्को
ठूलो सानो, परिचित अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
फूल, जून र चराहरू भुलेर
घर, धरती र आकाश भुलेर
मबारे यति बिघ्न सोचोस्
मलाई यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा रमाइलो
पाटै नहुनु रहेछ
म उसलाई फूल जत्तिकै मन पराउँछु ।
=========
किस्सा नं १.
एकदिनकवि मनु मञ्जिल आफ्नै घरमा बसिरहेका थिए । पाँचथरबाट एक शिक्षक आए । ती शिक्षक टुसुक्क बस्नेबित्तिकै आउनुको कारण खोेले ‘तपाईँको ल्याम्पपोस्ट कविता संग्रह मलाई पाँच वटा चाहिएको छ । पाइन्छ ?’
त्यसबेला कविले भनेका थिए, ”पाइन्छ किन नपाइनु? तर पसलमा पाइन्छ ।”
शिक्षकले अनेक प्रयास गरेर खोजे पनि पुस्तक नपाएपछि कविको घरमा पुगेका थिए । त्यसैले भने, ”पसलमा त भेटिनँ । तपाईंसँग कति वटा छ ?”
कविले भने, ”मसँग जम्मा पाँचवटा छ ।”
शिक्षकले भने, ”दिन मिल्छ भने पाँचै वटा दिनुस् । मिल्दैन भने म फोटोकपी गरेर ल्याउँछु ।”
कविले एउटा किताब शिक्षकलाइ थमाइदिए । फोटोकपी गरेर शिक्षक एकैछिनमा फर्किए । त्यसपछि कविलाई उनको किताब फिर्ता दिए । कविलाई अचम्म लागिरहेको थियो किनभने कुनै पनि पाठकले अहिलेसम्म खुरन्धार गरेर उनको कविता खोजेको थिएन ।
कविले भने, ”किन यति दुःख गर्नुभयो ?”
शिक्षकले भने, ”मेरो गाउँमा मेरा पाँचजना दुश्मन छन् । ती प्रत्येकलाइ यो कविता दिनु छ र पढाउनु छ ।”
किस्सा नं २
कविलेसाल बिर्सिए । झापाको धरमपुरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे आउने कार्यक्रम थियो । इटहरीबाट कवि मनु मञ्जिल पनि आफ्नो कविता सुनाउन भनेर झापा पुगेका थिए । प्रमुख अथितिलाई पर्खनु पर्ने भएकाले उनीहरू बाहिर चौरमा बसिरहेका थिए । एक जना महिला उनीहरू बसेको ठाउँमा आइन् र भनिन्, ”मनु मञ्जिल भनेको को हो ?”
साथीहरूले छेउमै बसिरहेका कविलाई देखाए । त्यो बेला मनुको हातमा ‘ल्याम्पपोस्टबाट खसेको जून’ कविता सङ्ग्रह छँदैथियो । ती महिलाले कवि मनु मञ्जिलको हातबाट किताब खोसेर सोधिन्, ”दुश्मन कविता यहाँ छ ?”
कविले छ भने ।
महिलाले भनिन्, “मैले रेडियोमा सुनेर कण्ठस्थ पारेकी छु । मलाई यो कविता मन पर्छ । मैले तपाइँको यो किताब पूजाकोठामा राख्ने गरेकी छु।”
कवि त ट्वाँ !
किस्सा नं ३
वि.सं.२०६२ तिर कवि मनु मञ्जिललाई सिक्किम सरकारले कार्यक्रमको लागि निम्तो दियो । उनी त्यहाँ पुगे । जब उनी हलमा प्रवेश गरे, त्यहाँ आएका मान्छेले ‘दुश्मन’ भनेर धेरैपल्ट भने । त्योबेला न सञ्जाल, न युट्युब, कविलाई आफ्नो कविता यति अघोरै मन पराइएको देखेर अचम्म नै लाग्यो ।
कवि मनु मञ्जिललाई जुनै कार्यक्रममा पनि ‘दुश्मन’ सुन्ने अफर आइरहन्छ । जब उनी ‘दुश्मन’ भन्ने कविता सुनाउँछन्, उनलाई “म कुनै नयाँ कविता सुनाउँदैछु” भन्ने ऊर्जा प्राप्त हुन्छ रे !
कवि भीष्म उप्रेतीको नजरमा “दुश्मन” कविता एउटा पुस्तालाई नै प्रतिनिधित्व गर्ने कविता हो । आम मानिसको जीवनलाई कवितामा उतारेपछि दुश्मन कविताको उचाइ बढेको हो भन्ने उनलाई लाग्छ । “हरेकको दुश्मन छ, सायद मेरो पनि होला,” कवि भीष्म भन्छन्, “यो हाम्रो समाजको घटना हो । त्यसैले म पनि कवि भएकाले मेरो दिमागमा यो प्लट किन आएन भन्ने कुरा सोच्दछु ।”
यिनै ‘दुश्मन’ कविले लेखेको निबन्ध सङ्ग्रह चाँडै नै बजारमा आउँदैछ । उनलाई हाम्रो अग्रिम शुभकामना ।
(प्रस्तुत तीन किस्सा साहित्यपोस्टको अर्काइभबाट प्रस्तुत गरिएकाे हाे ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।