आजकल नेताहरूलाई गाली गर्ने फेसन चलेको छ । जसले नेताहरूलाई धेरै धारे हात लगायो, उही महान् हुने समय आएको जस्तो देखिन्छ । अनि तिनै समाचार बिक्छन् पत्रकारिताको दुनियाँमा पनि । कहिले नेतालाई झापट हानेको, कहिले जुत्ताले हानेको, कहिले हलमा पसेर नारा लगाएको, कहिले कालो झण्डा देखाएर उफ्रेको । कहिले होहल्ला गरेर नेतालाई बोल्न अवरोध गरेको । यिनै विषय आज प्रमुख समाचार हुने गर्छन् ।

अनि विश्लेषकहरु भनिएका पनि बेसारे भएजस्तो देखिन्छ । हिजो तिनले आफै हो भनेको कुरा आज होइन भनिरहेका छन् । हिजो तिनले आफैं होइन भनेको कुरा आज हो भनिरहेका छन् । अनि आज हो भनेको कुरा भोलि होइन भन्न थाल्नेछन् । आज होइन भनेको कुरा भोलि हो भन्न थाल्ने छन् ।

कारण ठूलो छैनः मात्र मानिसहरु बोलीको ठेगानमा छैनन् । जे पनि बोल्छन् । हरपल फरक फरक कुरा बोल्छन् । आफैँले आफैँलाई भत्काइरहन्छन् । आफैले बोलेका कुराहरु आफैँ खण्डन गरिरहेका हुन्छन् । आफैँलाई मारिरहेका हुन्छन् । आफैँलाई जलाएर भष्म बनाइरहेका हुन्छन् । र यो गफ पनि होइन । यो कुरा विज्ञान र वैज्ञानिकहरुमा पनि देखिन्छ । अल्बर्ट आइन्सटाइले ‘एटोमिक फर्मुला’ ऊर्जाको निम्ति भनेर आविष्कार गरेका थिए । पछि अमेरिकी वैज्ञानिकहरुले उक्त फर्मुला युद्धमा प्रयोग गर्ने थाहा पाएपछि पछुताएनन् मात्रै, शान्तिवादी आन्दोलन चलाए, अमेरिकी राष्ट्रपतिलाई त्यो फर्मुलाको दुरुप्रयोग नगर्न आग्रह पनि गरे । तर पार लागेन । हिरोसिमा र नागसाकीका वियोगान्तक कथाका रचना भए ।

बाँस्कोटा धनञ्जय

त्यसैले बिहान देखिएको चम्किलो सूर्य बेलुका देख्दा कम चम्किलो भइसकेको हुन्छ । त्यसको राप, ताप र प्रकाश खस्किसकेको हुन्छ । तिनले अघि व्याख्या गरेको सूर्य अहिले देख्दा फरक देखिन्छ । अनि तिनलाई गाली गर्न थाल्छौँ ‘नेताहरुले, यिनीहरुले झुटको खेती गरे’ । अथवा ढाँटे, इत्यादि ।

तिनले देखेको सूर्यको अर्थ सापेक्षतामा खोज्नु पर्थ्यो । तर हामी त्यसो नगरी निरपेक्षतामा खोज्न थाल्छौँ ‘सूर्य त तिनले भने जस्तो चम्किलो छैन त !’

हाम्रो ज्ञानको स्तर यहाँनिर छ ।

किनभने हामीले जे बुझेका हुन्छौँ, त्यो बुझाइको अर्थ सापेक्षतामा अडेको हुन्छ । एकैछिनमा त्यो बुझाइ गलत साबित हुन्छ । अनि हामी दुखी हुन्छौँ । समय, परिवेश, आफ्नो क्षमता र स्थान फेरिएसँगै हाम्रा सबै बुझाइहरु भत्किन्छन् र नयाँ बुझाइ सुरु हुन्छ ।

एकजना मित्रले मलाई नै सोधे, ‘धनञ्जय को हो ? उसको पहिचान के हो ? ऊ कहिले त्यही कुरा सकारात्मक देख्छ, कहिले त्यही कुरा नकारात्मक । ऊ आफैलाई भुवा बनाएर हिँड्छ ।’

मलाई लाग्यो, ती मित्रले मेरो विनिर्माण हरपल भइरहेको देखे । हरपल ध्वस्त भइरहेको देखे । हरपल अनिश्चयतातर्फ उन्मुख देखे । हरपल रुपविहीन, क्लिष्ट र रसविहीन एउटा अवयवमा टाँसिएको देखे । तिनले हिजो देखे र दृष्टिकोण बनाए । सायद भोलि त्यो आजको म रहने छैन । अर्कै म प्रकट हुनेछ । जीवन, जगत, भोगाइ, अनुभव, अनुभूति, ज्ञान र अन्तर्दृष्टि सबै अस्थिर छन् । सबै अस्थायी छन् । सबै विविधताले भरिएका छन् । सबै विविधताले रङ्गिएका छन् । यहाँ विषयको विविधता छ । भोगाइको विविधता छ । धर्म, संस्कृति, जीवन र शैलीको विविधता छ । रिपेक्षतामा ज्ञान प्राप्त हुन्छ भन्नु क्षितिजमा आकाश जोडिएको छ जस्तै हो । तराईको धानको भात खाने मान्छेले र हिमालको फापरको रोटी खानेले एउटै स्वाद र अनुभूति लिन्छ भन्नुजस्तै हो । पिठ्यूँमा ढाकर बोक्ने र ठेलामा सामान बोक्ने दुवै मजदुर हुन् तर दुवैको एउटै अनुभव कदापि हुँदैन । एउटै अनुभूति कदापी हुँदैन । एउटै ज्ञान कदापि हुँदैन । तिनले जीवनलाई हेर्ने दृष्टिकोण पनि फरक फरक हुन्छ । त्यही भएर अर्का लेखक, विद्वान् विश्लेषक मिचेल फोकल्ट (१९७९) भन्छन्, ‘सत्य यही संसारमा छ, यसको सृजना विविध सीमाहरुको गुणबाट हुन्छ ।’

यी विविधताले आज हामीलाई क्लिष्ट बनाइदिएको छ । बुझ्न नसकिने बनाइदिएको छ । म सझ्न्छु म आफैं हरपल विनिर्माण भई रहेको हुन्छु ।

रुपविहिन, अर्थविहिन । टुक्रिएको र आकार गुमाएको निराकार । सधैं त्यो म यो ममा आइपुग्दा टुक्राटुक्रा हुन्छ । त्यो म को अस्तित्व सकिएको हुँदोरहेछ । एकाविहानैको म दिउँसो भइसक्दा टुटिसक्छ र दिउँसोको म बेलुका हुँदा फुटिसक्छ ।

लेख्न बस्दा त्यो ‘म’ झनै छरपष्ट हुन्छ । नेपाली राजनीतिका छरपष्ट रुप र रङ्ग हराएका अवयवहर जस्तै बन्न पुग्छ त्यो म । ऊ विश्लेषण गर्न खोज्छ तर विषय नै धुजा धुजा छन्, सबै भत्किएर विनिर्माण भएका । अनि ती विषय लेख्न थाल्दा त्यो म पनि लेख्न थाल्नु अघिको म पुरै विघटन हुन पुग्छ र हेर्न थाल्छ तिनीहरुलाई । त्यो म राजनीतिक र समाजमा साहित्यको/कलाको चक्षुले हेर्दा कस्तो देखिएला भनेर हेर्न थाल्छ । उसले शीर्ष नेताका विनिर्माणहरु देख्छ अनि त्यहीमा समाहित भएर भावुक बन्दै लेख्छ । स्वकीयता, आत्मपरकताले आफूलाई पटक पटक निर्माण गर्दै ध्वस्त पार्दै गर्छन् । म बिहानै उठ्दा बेलुकाको म विनिर्माण भइसकेको हुन्छ । अनि बिहानको बेलुका । जब म विद्यार्थीसँग उत्तरआधुनिताको बहस गर्दै हुन्छु, त्यो बेला बाँकी सबै म सकिएर विषय र दृष्टिको छरपष्टताको पक्षपाती हुन्छु ।

अनि म कहिले अधिकारकर्मी हुन्छ । त्यसबेला ऊ न्याय र समानताको रङ्गमा भावुक हुन्छ । मानवताको सुसेली हालेर ऊ चिच्याइरहन्छ । जब त्यो म घरमा पुग्छ साँझमा, दिनभरिको म ध्वस्त हुन्छ । त्यो म माया र प्रेमको, श्रीमानको, बाबुको, छोराको, दाजुको, भाइको, भिनाजुको, ज्वाइँको, साहुको, जेठानको, सोल्टीको, देवरको, जेठाजुको, काकाको, बडाबाको, हजुरबाको, फुपाजुको भूमिकामा उत्रिन्छ र विगतको, दिनभरिको म विनिर्माण हुन्छ । यो म त्यो मभन्दा व्यावहारिक, कचिंगलपूर्ण, कठिन र जिम्मेवारीपूर्ण हुन्छ । यो म ले यी सबैको चित्त काटिने, मन नदुखाउने तर्फ ध्यान दिनुपर्ने हुन्छ । यो म औपचारिक, सामाजिक र संस्कृत हुँदोरहेछ । अनि फेरि त्यो म कलाको बारेमा पढ्न र लेख्न तम्सिन्छ । त्यसबेला उसका सबै आग्रहहरु विनिर्माण हुन्छन् । ऊ त नयाँ रङ्ग देख्न थाल्छ रङ्ग विहीनतामा ।

अर्थात् त्यो म सादा दृष्यमा रङ्ग देखेको फूई लगाउन थाल्छ । त्यसले जीवनको प्रत्येक अवयवलाई रङ्गीन पाराले भाषामा उतार्ने भाषिक शिल्पकार बन्छ त्यो म । त्यो म रमाउन थाल्छ जीवन र जगतलाई रङ्ंग्याउन पाउँदा । देख्न पाउँदा । प्रक्षेपण गर्न पाउँदा । त्यो म ले ज्याक लकानले भने जस्तै भाषामा, शब्दमा जीवनको अर्थ खोजिरहन्छ । त्यहाँ भएका विम्बहरुलाई व्याख्या गर्छ । त्यो म भाषाले बोकेको निसृत विषय र भावलाई च्याप्प समातेर बस्छ । अनि अनिश्चयताको विचारमा र अर्थमा रुमलिन्छ ।

त्यो म फेरि राजनीतिको आकासमा पोतिन पुग्छ । आज दरिद्रीको सिकार हुनुको पछाडि जनता राजनीतिमा पोतिनु हो । जनता काम नगरेर राजनैतिक गतिविधि र बहसमा केन्द्रित छन् । अनि त्यो म पनि त्यही रङ्गमा नराम्रोसँग पोतिएर एउटा रङ्गको हिमायती बन्छ र बाँकी सबै रङ्गलाई नराम्रो देख्ने एक आँखे म हुन पुग्छ । त्यो म ले एउटा रङ्गको प्रशंसा गर्छ र बाँकीको रङ्गलाई उजिल्याउने प्रयास गर्छ । इन्द्रेणीमा एउटामात्र रङ्ग हुनुपर्छ भनेपछि यो प्रकृतिको सुन्दरता कहाँ पुग्छ ? एउटा रङ्गलाई मात्र स्वीकारेर बाँकीलाई प्रकृतिले निषेध गरेको भए यो दुनिया कति कुरुप हुन्थ्यो होला ? इन्द्रेणी शब्दको अर्थ कति कुरुप र अपूर्ण हुन्थ्यो होला ? त्यो म कहिलेकहीँ त्यही एउटा मात्र विचार र रङ्ंगको प्रशंसा गर्न पुगेर प्रकृति विरोधी कित्तामा पुग्छ । त्यो म पद, पैसा, शक्तिको सपनामा स्वार्थी, व्यभिचारी, आततायी, षड्यन्त्रकारी, भ्रष्ट र अनैतिकताको किल्लामा विजयउत्सव मनाउन पुग्छ । त्यो म पहिलेका सबैखाले म लाई ध्वस्त पारेर त्यहाँ भोज खाइरहेको हुन्छु । त्यो म लाई कुनै आत्मग्लानि , हिनाताबोध वा असहज महसुस हुँदैन । त्यो र्निढुक्क छ, सन्तुष्ट छ त्यहाँ ।

त्यो राजनीतिको म निमेषमै विनिर्माण हुन्छ । समाज, राष्ट्र र लोकतन्त्रको लागि केही गर्न भौतिकरुपमा नसके पनि भावनाले लेखेर भए पनि केही गरौँ भन्ने भावना बोकेर स्तम्भकारको रुपमा प्रकट हुन्छ । त्यो विगतका सबै म हरुको विघटन गराएर राष्ट्र र नागरिकको दायित्वमा नयाँ म जन्मिन्छ । यो म ले सबै रङ्गहरुलाई सम्मान गर्दै ती रङ्गमा भएका त्रुटि र कमजोरीहरुलाई औल्याउन थाल्छ । यो म त्यो मभन्दा स्वतन्त्र र निष्पक्ष हुन्छ र उसले कालोलाई सेतो देख्ने पूर्ण मूर्खता प्रदर्शन पनि गर्दैन । यसले थुप्रै परिभाषाहरु, बाटाहरु दृष्टिकोणहरु चुलीहरु, मैदानहरु, घामछायाहरु, उकाली र ओरालीहरु देखिसकेको हुन्छ । र ती विविधतालाई एउटै रङ्गमा गिजोल्नु हुँदैन भन्छ । ती रङ्गहरु सिधा पनि हुँदैनन् । सूत्रात्मक पनि हुँदैनन् । सायद यही भएर बी.पी. कोइरालाले आफूलाई सर्जकको रुपमा अराजकतावादी भने । त्यो भनेको एकतत्ववाद विरोधी कुरा थियो । त्यो बहुरङ्गको समान हैसियतको कुरा थियो । तिनले बुझेका थिए जीवन छरपष्ट हुन्छ । त्यो अनेकौँ अवयवमा चिराचिरा परेको हुन्छ । आज विचारहरु पनि विनिर्माण भइरहेका छन् । जीवनको सार भनेको भत्किनु, विनिर्माण हुनु रहेछ, छरपष्ट हुनु रहेछ, सूत्रात्मक बन्नबाट टाढा जानु रहेछ । हिजो एउटा दर्शनको एउटा रङ्गमा जीवन आहुती गरेकाहरूलाई आज त्यो छरपष्ट जिन्दगीको जस्केलामा ल्याएर छाड्दै खुसीसाथ मुस्कुराउँदै विनिर्माण गर्ने राजनीतिका धुरन्धर खेलाडीला ई यो भन्दा अघिल्लो विचारमा नायक भनिएको प्रति ती मेरा मित्रलाई कुण्ठा पलाएको हुनसक्छ ।

तर त्यो लेख पूर्णरुपमा पुनरुक्ति गरेर पनि त्यसको अर्थ नबुझ्नु नै सूत्रविहीन जीवनको लोकतान्त्रिक बाटो हो । उनलाई अनगिन्ती रङ्गहरुमा रमाउने स्वतन्त्रता हुन्छ । हिजोको म ले जे देखेको थिएन आजको उनको म ले देख्यो । हुनसक्छ राजनीतिज्ञहरुको आजको म ले जे देखिरहेको छ भोलि यो म विनिर्माण भएर अर्को म बनिने छ । त्यसबेला मात्र यो मुलुकले निकास पाउने छ । अनि यसको अर्थ लाग्नेछ मेरा मित्रको पनि चित्त बुझ्ने छ । यति कुरा पनि नबुझी मान्छे बाँच्नु पर्दा साँच्चै कति पीडा हुँदो हो ! मेरो अहिलेको म अब केही क्षणलाई मुक्त भएको छ । तर पनि मेरो परिचय मेरा असंख्य महरुले बारम्बार भत्काइरहन्छन् । त्यसैमा खुसी लाग्छ किनकि ‘म’ कहिल्यै पनि त्यही ‘म’ नहुने रहेछु । म को यो विनिर्माण आज म को ज्ञानको स्रोत भएको छ । त्यो विनिर्माण ग्रीसेली सरस्वती देवी अर्थात् विद्याको देवता ‘हेलिकन’ भएको छ । म जति भत्किन्छ, त्यति नै सुन्दर बन्दै जाँदो रहेछ । म जति सग्लो रहन खोज्छ, त्यति नै कुरुप बन्दै जाँदो रहेछ ।